नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन गर्न गठन भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको पूरक समितिको प्रतिवेदन सोमबार साँझ बुझे। सिटौला समितिले प्रतिवेदन बुझाएसँगै कांग्रेसभित्र डेढ वर्षदेखि जारी सदस्यता विवाद टुंगो लागेको छ। विवाद सुल्झन नसकेका आधा दर्जन निर्वाचन क्षेत्र र केही वडामा १३औं महाधिवेशनअघिकै क्रियाशील सदस्यताका आधारमा आगामी अधिवेशन गर्नेगरी विवाद समाधान समितिले टुंगो लगाएको हो।
सदस्यताको टुंगो लागेसँगै मंसिरका लागि पछिल्लो पटक तय भएको कांग्रेसको १४औं महाधिवेशन सुनिश्चित भएको आम बुझाइ थियो। तर सभापति देउवा र नेता पौडेलले सिटौला समितिको प्रतिवेदन बुझेको भोलिपल्ट मंगलबार संस्थापन इतर पक्षका जिल्ला सभापतिले सदस्यता नामावली सार्वजनिक गर्न माग राखी पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।
संस्थापन इतर पक्षले यसरी एकातिर पार्टीको महाधिवेशन सुनिश्चित गर्नुपर्ने अडान राखेको छ भने अर्कोतिर नेता पौडेलसहित सभापति देउवाले संयुक्तरूपमा बुझेको प्रतिवेदनप्रति समेत आशंका व्यक्त गरेको छ। पार्टी विधानको व्यवस्थाअनुसार वडासहित सबै तहबाट सिफारिस नभएको क्रियाशील सदस्यतालाई मान्न नसकिने यस समूहको भनाइ छ।
जिल्ला सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन पुगेका नेता शेखर कोइरालाले क्रियाशील सदस्यता सूचीमा सभापति देउवाकै नाम रहेनरहेको टुंगो नभएको बताए। सदस्यता सार्वजनिक गर्न माग गर्दै कोइरालाले भने, ‘पार्टी कब्जा गरेर अगाडि जाने हो भने त्यो दिवास्वप्नमात्रै हुनेछ। नेपालको इतिहासमा कांग्रेसको विशिष्ट पहिचान छ। त्यो लडाइँका लागि हामी सबै एकै ठाउँमा छौं।’
सदस्यता नामावली सार्वजनिक गर्नुपर्ने तथा माथिबाट थपिएको सदस्यता हटाउनुपर्ने अडानले भदौ १८का लागि तोकिएको वडा अधिवेशन हुनेमा आशंका उब्जिएको छ। पटकपटक सर्दै फेरि मंसिरका लागि तोकिएको महाधिवेशन पनि अनिश्चित बनेको छ। तर के संस्थापन इतर पक्षका जिल्ला सभापतिको माग र अडान कायम रहला त ? विगतमा संस्थापन इतरका नेताहरूले केन्द्रीय समितिदेखि विभिन्न तहमा राखेको अडान पूरा नभएको एक नेताले गुनासो गरे।
क्रियाशील सदस्यताको विषयमा पनि त्यही चरणमा प्रवेश गरेको बताउँदै उनले तोकिएको समयमा महाधिवेशन गर्नुपर्छ पनि भन्ने, सदस्यता सार्वजनिक गरेर विधानविपरीत वितरण भएका हटाउनुपर्छ भन्ने दुवै कुरा अब सम्भव नभएको तर्क गरे। ‘कि जस्तो छ त्यसलाई स्वीकार गरेर अधिवेशनमा जानुपर्छ, होइन, विधानविपरीत वितरण भएको सदस्यता नमान्ने हो भने भदौ १८ गतेदेखि वडासहितका तल्लो तहका अधिवेशन तालिका हेरफेर गर्नुपर्छ,’ ती नेताले भने, ‘दुवै कुरा हुनुपर्छ भन्नु केही नहुनु हो।’
संगठन समायोजनका नाममा वितरण गरिएको क्रियाशील सदस्यता स्वीकार नगर्ने अडान संस्थापन इतर पक्षले राखे पनि केन्द्रीय समितिको बैठकमा उक्त समितिका संयोजक उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले पेस गरेको प्रतिवेदन पारित गरेर संस्थापन इतर पक्षले वैधता दिएको थियो। सोही अनुसार वितरण भएको क्रियाशील सदस्यतालाई स्वीकार गर्दै सिटौला नेतृत्व समितिको प्रतिवेदनलाई नेता रामचन्द्र पौडेलले स्वीकार गरिसकेको ती नेताले बताए। ‘प्रतिवेदन स्वीकार गर्ने अनि पार्टी कार्यालयमा धर्ना बस्नुको कुनै अर्थ हुँदैन,’ संस्थापन इतरका एक नेताले भने, ‘भदौमै महाधिवेशन हुनुपर्छ, नभए विशेष अधिवेशनको कुरा अगाडि सारियो तर त्यसमा हामी अडिन सकेनौं।’
संस्थापन इतर समूह गुटहरूको महासंघजस्तो भएको र नेताहरू आआफ्नो स्वार्थमा केन्द्रित हुँदा २०७४ को आमनिर्वाचनपछि विभिन्न अडान र प्रस्ताव संस्थापनसँग राखिए पनि पछि त्यसै तुहिएको सोही समूहका नेताहरूको बुझाइ छ। आमनिर्वाचनमा पार्टी पराजित भएदेखि त्यसको जिम्मेवारी लिँदै शेरबहादुर देउवाले पार्टी नेतृत्वबाट राजीनामा गर्नुपर्ने माग संस्थापन इतर समूहले राखेको थियो तर अडिन सकेन। उल्टै सभापति देउवाले निर्वाचनमा पार्टी पराजय हुनुमा सिंगो पार्टी पंक्ति जिम्मेवार रहेको आशयको निर्णय गराए।
विधानविपरीत संसदीय र कार्यसम्पादन समिति गठन भएको भन्दै संस्थापन इतर पक्षले दुवै समिति विघटनको माग गर्यो। सभापति देउवाले दुवै समिति विघटन गरिदिए। त्यसपछि नयाँ समिति गठनमा संस्थापन इतर समूह नामै दिन नसक्ने अवस्थामा पुग्यो। जसले गर्दा अहिलेसम्म ती समिति गठन नै हुन सकेनन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमध्ये एक पद आफ्नो पक्षले पाउनुपर्ने अडान इतर पक्षले राख्दै लामो समय छलफल गर्यो। तर सभापति देउवाले उनीहरूका माग सम्बोधन गरेनन्।
पार्टीको विभाग गठन, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितका भ्रातृ संगठनको महाधिवेशन र पार्टीको महाधिवेशनको कार्यतालिकासहितका विषयलाई लिएर संस्थापन इतर समूहले केन्द्रीय समिति बैठक नै बहिष्कार गर्यो। तर संस्थापन पक्षले विभागको संख्या थप गर्नुको साथै महाधिवेशन कार्यतालिका एकपक्षीय ढंगबाट सार्वजनिक गर्यो।
पछि तल्लो तहको अधिवेशनको केही कार्यतालिका हेरफेर गर्नुका साथै भ्रातृ संगठनका केही पदाधिकारीमा संस्थापन इतर पक्षले चित्त बुझायो। नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको तदर्थ समिति गठन भयो। तर कार्यसमितिले अहिलेसम्म पूर्णता पाएको छैन। ६–६ महिनामा कार्यकाल थप गर्न भने इतर पक्षले पनि सहमति जनाउँदै आएको छ।
त्यतिमात्र होइन, संस्थापन पक्षले महाधिवेशन भएको चार वर्षपछि विभाग गठन गरेको भन्दै संस्थापन इतर पक्षले आफूहरू सहभागी नहुने अडान राख्यो। विभाग प्रमुखसहित त्यसका सदस्यहरूलाई बहिष्कार गर्ने निर्णयसमेत गरेको संस्थापन इतर पक्ष त्यसमा पनि अडिन सकेन। निकटहरूलाई विभागमा सहभागी नहुन आग्रहसमेत गर्दै बहिष्कारको निर्णय भएको जनाउँदै एक नेताले भने, ‘आवेगमा निर्णय लिने अनि फुर्सदमा पछुताउँदा हामी निरन्तर चुकिरहेका छौं। अहिले पनि त्यस्तै देखिन्छ।’ नागरिकन्यूज डटकमबाट nagariknews.nagariknetwork.com
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु¥याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, बुधबार सनाखत सक्छौंं र दर्ताको निर्णय पनि बुधबार नै गर्छौं,’ आयोग उच्च स्रोतले मंगलबार राजधानीसँग भन्यो ।
– बिहान ११ बजेदेखि सनाखत
– निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखतमा सहभागी गराइने
आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ । आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको जानकारी दिए ।
नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल समूहले आयोगमा पु-याउनुपर्नेहुन्छ ।
यस्तै, नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा १ सय १५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहनेगरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले गत बिहीबार नियमावली संशोधन गरिसकेको छ । राजधानी दैनिकमा प्रकाशित समाचार सभार
मकवानपुर । मामाघर नेपाललाई राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले सहयाेग गरेकाे छ । संघको ३२ औं वार्षिकोत्सवको अवसरमा मामाघर नेपाल मकवानपुरलाई ११ हजार १ सय १ रुपैयाँ सहयोग गरिएकाे हाे ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले स्थापना दिवसमा मनाव सेवामा समर्पितलाई संस्थालाई सहयोग गर्दै आएको संघले यस बर्षकाे दिवसमा मामाघर नेपाललाई गरेकाे हाे । सम्पूर्ण कर्मचारीहरु एकजुट होऔं पेसागत हक, हित र संस्थाको सम्बद्र्वन गरौँ भन्ने उद्देश्यका साथ स्थापना भएकाे राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले हरेक वर्ष संघ संस्थालाइ सहयाेग गर्दै अाएकाे छ। यस वर्ष भने शैक्षिक, स्वास्थ्य र सामाजिक रुपमा बालबालिकाको विकास र वृद्विमा सहयोग पुर्याइरहेका मामाघर नेपाललाई सहयोग गरेको संघ नेपाल केन्द्रिय समिति कोषाध्यक्ष रविन्द्र चौलागाईले बताए ।
मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले अहिले ५९ प्रतिशत संघसंस्था मनाव सेवामा समर्पित हुँदा व्यवसायको रुपमा सञ्चालन भइरहेको बताए । सरकारले बालगृह तथा मनाव सेवा जस्ता संघसंस्था जिल्ला जिल्लामा स्थापना गरी सञ्चालन गराउन पराजुलीले आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैक नेपाल कर्मचारी संघ शाखा कार्यालय मकवानपुर हेटौंडा प्रारिम्भक कमिटीका अध्यक्ष विष्णु विश्वकर्मा, रामहरि अधिकारी, सागर लामिछाने, बलराम अर्याल लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ४ सय २१ जना नेकपा एमाले प्रवेश गरेका छन् । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा बिभिन्न पार्टी परित्याग गरी एमालेमा ४ सय २१ जना प्रवेश गरेका हुन् ।
नेकपा एमालेको आयोजनामा पार्टी शुद्धीकरण तथा पाटी प्रवेश कार्यक्रमका अवसरमा नेपाली काग्रेस, राप्रपा, नेकपा माओबादी लगायतका पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।
पार्टी प्रवेश कार्याक्रममा एमालेका क्षेत्र नम्बर १ का सांसद तथा अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राइ, एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतले पार्टीमा प्रवेश गर्नेहरुलाई खादा र टिका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले मकवानपुरका नेता बद्री लम्साल, कमल बिष्ठ, हेटौंडा १७ का वडा अध्यक्ष भैरव राइ, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, नरहरी महत लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटौंडा क्याम्पसका संस्थापन अध्यक्ष स्वर्गीय श्रीचन्द्र पौडेल शर्माको स्मृतिमा छात्रवृति कोष स्थापना गरिने भएको छ।
हेटौंडा क्याम्पसको स्थापनाकाल देखि निरन्तर २८ वर्षसम्म क्याम्पस संचालन समितिको अध्यक्ष रहि क्याम्पसलाई गरेको योगदानको कदर गर्दे उनको स्मृतिमा १० लाखकाे ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृति कोष’ स्थापना गरिने लागिएकाे हाे ।
छात्रवृत्ति कोष १० लाख रकमको रहने हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताए । क्याम्पसको संचालक समितिको निर्णयले छात्रवृति कोषको कार्यविधि निर्माणको लागि प्राध्यापक अर्पण पराजुलीको संयोजगत्वमा ५ सदस्यीय समिति समेत गठन भईसकेको छ ।
मानन्धरले समितिको कार्यविधिले कति विद्यार्थीलाई छात्रवृति दिने मिल्ने भन्ने निर्क्यौल गर्ने र उक्त छात्रवृति क्याम्पसका विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने बताए । संस्थापक अध्यक्ष स्वर्गीय शर्माको २०७७ साल बैशाख २० गते निधन भएको थियो।