मकवानपुर । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण प्रदान गरेकाे छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ९ सय ३ जनालाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।
नेपालकाे सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिने छ ।


मकवानपुर । संविधान दिवसकाे अवसरमा ८ जना कैदी बन्दीले सजाय माफी पाएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जना कैदी बन्दीलाई माफी दिएकी हुन् । यसैगरी उनले ५ सय २३ जना कैदी बन्दीकाे बाँकी कैद कट्टा गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी दिइएको राष्ट्रपति कार्यालयका जनाएकाे छ । ५ सय २३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

२ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको काठमाडौंमा बिहीबार आयोजित एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो ।
कार्यक्रमका प्रमुख अतिथि थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । अतिथिमा पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापालगायत थिए ।
तर, उद्घोषकले शाक्यलाई पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री भनेर आसन ग्रहण गराउँदा माओवादी केन्द्रबाट आएका बादललाई भने बाग्मती प्रदेश इन्चार्ज भनेर आसन ग्रहण गराइयो ।
यसले एमाले उपाध्यक्ष शाक्यले पनि अर्का उपाध्यक्ष भीम रावलको नियति भोग्नुपर्ने पक्कापक्की झैं छ । बाग्मती प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहेकी शाक्यले यो विषयलाई विवादको विषय भने बनाइसकेकी छैनन् । तर, प्रशिक्षणमा सम्बोधनका क्रममा भने उनले घुमाउरो पारामा पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै एमाले त्यागेर एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेकी छन् । आफ्नो सम्बोधनका क्रममा पार्टी अध्यक्ष ओलीले भने नेपालमाथि चर्काे गालीगलौजमा उत्रँदै एमालेमा नेपाललाई कुनै ठाउँ नभएको भनाइ राखे ।
एमाले काठमाडौंले गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले २ जेठ २०७५ लाई मानेर अघि बढ्नुको विकल्प नरहेको बताएकी थिइन् । ‘यसमा जालझेल आवश्यक छैन । २ जेठ २०७५ मा जो जो आउँछ, उसैलाई मानेर अगाडि बढौं,’ उनले भनिन् । त्यसभन्दा अघि बढेर उनले भनिन्, ‘विभाजनले कसैको हित गर्दैन, सुदृढ एमाले बनाउन फराकिलो मन बनाएर अघि बढौं ।’
प्रशिक्षण कार्यक्रममा उनले पार्टी अध्यक्षको नाम नलिइकन पार्टी नेतृत्व भनेर अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । नवौं महाधिवेशनपछि व्यवस्थित रूपमा वैचारिक प्रशिक्षण नदिँदा पार्टी अराजकतातिर गएको उनको भनाइ थियो ।
‘जब प्रशिक्षण र वैचारिक छलफलको अभाव हुन्छ, पार्टी कमिटी अराजकतातिर जान्छ, विचार शून्य हुन्छ, गुटबन्दी मौलाउँछ,’ शाक्यले भनिन्, ‘हामी अहिले यसैको सिकार भएका छौं, अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’
उनले कार्यक्रममा पार्टी जनमतको सम्मान गर्न पनि चुकेको धारणा राखिन् । ‘हामीलाई झन्डै जनताले दुई तिहाइको बहुमत दिएको थियो, केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति रहेको थियो तर अहिले यो स्थिति छैन, पार्टीले जनमतको सम्मान गर्न सकेन । फेरि पनि चुनावमा जानुपर्छ, हामी फुट्नुहुँदैन भन्ने कुरा मनमा राखेनौं, पछि जेजे पर्छ, पर्छ भन्ने ढंगले सोच्यौं ।’
उनले स्थानीय तहको निर्वाचनमा जाँदा जनतालाई के भन्ने भनेर नेतृत्वले सोच्नुपर्ने पनि बताइन् ।
शाक्यपछि बोलेका अध्यक्ष ओलीले शाक्यको कतिपय असन्तुष्टिको जवाफ दिएनन् । तर, माधव नेपाल एमालेका लागि आवश्यक रहेको भनाइमा भने ओलीले विमति जनाए ।
‘पार्टीमा अब माधवकुमार नेपालको आवश्यक छैन, उनले पार्टीमा गुटबन्दी मात्र गरे,’ ओलीले शाक्यको भनाइप्रति लक्षित गर्दै भने, ‘हुन त केही साथीहरू अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’
पार्टीका वरिष्ठ नेता नेपालले पार्टी सरकारमा हुँदा साढे ३ वर्षसम्म सरकारको पक्षमा एक शब्द नबोलेको भन्दै असन्तुष्टिसमेत जनाए । सरकारको विरोधमा प्रतिक्रियावादीभन्दा नेपालले चर्को बोलेको ओलीको आरोप थियो । ‘जहिले पनि रोस्टममा उभिएपछि ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ’ भनेर गीत गाउने, कम्युनिस्टको दुई तिहाइको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो भन्ने ?’ ओलीले भने, ‘कसको डुंगा डुब्न लाग्यो ?’
प्रशिक्षण कार्यक्रममा ओलीले नेपाललाई खरानी घसेर तीर्थयात्रामा हिँडेको मान्छेसमेत भन्न पछि परेनन् । ‘घरमा आगो लगाएर खरासी घसेर तीर्थयात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । तर, माधव नेपालले झुक्याएका, भ्रममा पारेका नेता कार्यकर्ता पार्टीमा फर्किनुस् ।’
प्रशिक्षण कार्यक्रममा एमाले महासचिव पोखरेलले राष्ट्रिय हित र जनताका मुद्दामा पार्टी परिचालन हुनुपर्ने बताएका थिए । त्यसका लागि उनले नेताकार्यकर्तालाई जनपरिचालनका रूपमा परिचालनको नीति अघि बढाइने बताएका थिए । ‘अनि मात्र एमालेलाई एमाले जस्तै बनाउन सकिन्छ । एमाले कागजको फूलजस्तो होइन, बासना दिने फूलजस्तै बनाउनुपर्छ । जनतासँगको सम्बन्ध टुट्यो भने, नाम झन्डा रहला तर परिवर्तनको वाहक एमाले हुँदैन’, महासचिव पोखरेलको भनाइ थियो ।
उनले नेता कार्यकर्तामा धेरै समस्या रहेको भन्दै उनले कार्यकर्तामा अध्ययन र प्रशिक्षणको पनि कमी भएको बताएका थिए । एमाले स्थायी समिति सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज बादलले भने एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका थिए ।
‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो, श्रमजीवीको पार्टी हो,’ उनले भनेका थिए । राजधानी दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे
मकवानपुर । सरकारले दसैं, तिहार र छठवर्पलाई लक्षित गरि असोज १ गते शुक्रबारदेखि खाद्यन्न सुपथ मूल्य पसल सञ्चालन गरेकाे छ । विगत वर्षदेखि नै दसैं, तिहार र छठ पर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले खाद्यन्नका सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको छ ।
यो वर्षमा पनि सोही प्राणालीलाई निरन्तरता दिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलका अनुसार देशका विभिन्न ३९ वटा जिल्लाको ४३ स्थानमा खाद्यन्न सुपत मुल्य पसल सञ्चालन भएका छन् । सुपथ मुल्य पसल १ असोज देखि २४ कार्तिक गत सम्म सञ्चालन हुने छन् । सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसन मार्फत सुपथ मुल्य पसल सञ्चालन भएका छन् ।
तर हेटौंडामा भने सुपथ मूल्य पसल खोल्ने कुनै तयारी रहेको छैन । साल्ट ट्रेडिङ कर्पोरेशन मकवानपुरले हेटौंडामा सुपथ मूल्य पसल खोल्ने कुनै सम्भावना अहिलेसम्म नदेखिएको जनाएकाे छ । कर्पाे रेशन मकवानपुरले अहिले नुन मात्र रहेको जनाएकाे छ । सरकारसंग चिनी समेतको माग गरिएकाेमा चिनी उपलब्ध हालसम्म उपलब्ध भएकाे छ । प्रर्याप्त खाद्य बस्तु नभएकाले हेटौंडामा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिने साल्ड ट्रेडिङ मकवानपुरले जनाकारी दिएकाे छ । तर केन्द्रले सुपथ पसल सञ्चालन गर्न पत्राचार गरेमा जे भएकाे खाद्यवस्तुकाे पलस सञ्चालन गरिने भएकाे छ ।
चाडपर्वमा उपभोक्तालाई राहत दिन सरकारले खाद्यन्नका सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेकाे छ । सुपथ पसलमार्फत उपभोक्तालाई चिनी, नुन, चामल, फापर, घिउ र खसीबोकामा छुट हुने छन् । सरकारले सञ्चालन गरेकाे सुपथ पसलबाट चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ, चामलमा प्रतिकेजी ५ रुपैयाँ, फापर, सिमी र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट हुने छ ।
खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा तथा साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ ।
खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ तथा पिठो, चिउरा, तोरीको तेल, सनफ्लावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने उपभोक्ताले खाद्य कम्पनीको अनलाइन मार्फत माग गरे पनि छुट मुल्यमा नै उपभोक्ताको घरमा पुर्याउने व्यवस्था गरेकाे जनाएकाे छ । दसैंमा खसीबोकाको खपत धेरै हुने हुनाले निजी क्षेत्रका व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठगिने भएकाेले बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने गरेको छ ।
मन्त्रालयका अनुसार दशै तिहार र छठपर्वमा अत्यावश्यक वस्तुमा छुट दिनका खाद्य कम्पनीलाई एक करोड ७५ लाख र कर्पाेरेसनलाई एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ । कम्पनी र कर्पाेरेसनका उपत्यकासँगै मुलुकभर रहेका आफ्ना बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्यान्न बिक्री गरिनेछ ।
वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले एक साता कुर्ने भएको छ । एकल बहुमत रहेको एमाले विभाजन भएसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यात्यमक अवस्था सिर्जना भएको छ । विपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिनका लागि एक साताको समय दिने सहमति गरेको हो ।
‘राजनीतिमा इमानदारिता हुन्छ । हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन एक साताको समय दिएका छौं । यस अवधिमा सदन बोलाएर विश्वासको मत लिने वातावरण बनेन भने हामी सरकार फेर्ने प्रक्रियामा अगाडि बढ्छौं,’ माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने । उनले मुख्यमन्त्रीले एक साताभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि नबढाए अविश्वास प्रस्ताव दर्ता गरेर अगाडि बढ्ने सहमति विपक्षी दलहरूबीच भएको बताए ।
उनका अनुसार अविश्वासको प्रस्ताव दर्ता भएको बढीमा साता दिनभित्रमा प्रदेश सरकार फेर्ने गरी विपक्षी गठबन्धनले तयारी अगाडि बढाइसकेको छ । विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम छिनोफानो नहुँदा अविश्वासको प्रस्ताव अगाडि बढाउन समस्या भइरहेको छ । प्रदेशमा नयाँ सरकार गठनका लागि सदनमा ५५ मत आवश्यक पर्छ । माओवादी केन्द्रको २३, कांग्रेसको २२ र नेकपा (एकीकृत समाजवादी) को १३ गरी विपक्षी गठबन्धनसँग ५८ मत छ । यस्तो अवस्थामा विपक्षीको सरकार बन्ने निश्चित छ ।
बैठकमा विवेकशील साझा पार्टीलाई पनि सरकारमा ल्याउन पहल गर्ने सहमति भएको छ । ‘सरकार फेर्न विवेकशील तयार देखिएको छ । तर सरकारमा जाने विषयमा निर्णय गरेको छैन । हामीले उहाँहरूलाई सरकारमा पनि ल्याउन पहल गर्नेछौं,’ जम्मकट्टेलले भने । उनले सरकारको नेतृत्व र समयको विषय भने टुंगिएको बताए । ‘आधा/आधा कार्यकाल सरकारको नेतृत्व गर्ने लगभग निश्चित छ । कुन दलले पहिला भन्ने हो,’ उनले भने ।
सरकारको नेतृत्व आधा/आधा कार्यकाल गर्ने विषयमा कांग्रेस र माओवादी एक मत छन् भने एकीकृत समाजवादीको फरक मत छ । ‘सरकारको नेतृत्व र समयको विषयमा छलफल गरे पनि सहमति भएन । गठबन्धनमा रहेका दलको शीर्ष तहबाटै टुंग्याएर अगाडि बढ्ने गरी छलफल सकिएको छ,’ बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार एकीकृत समाजवादीले पूरै कार्यकाल सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गरिरहेको छ । मुख्यमन्त्रीको दौडमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे छन् । नेतृत्व हत्याउन दुवैले आ–आफ्नो लबिइङ गरिरहेका छन् । सुवास विडारीले लेखेकाे समाचार इकान्तिपुरमा साभार