पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भन्ने विषयमा सत्तारूढ दलहरू विभाजित बनेका छन् ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका धेरै नेताहरू संवैधानिक व्यवस्थाअनुसार पहिले स्थानीय तहको निर्वाचनको पक्षमा रहे पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यस सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री देउवालाई सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि गर्नेगरी व्यवस्था मिलाउन दबाब दिँदै आइरहेको स्रोतको दाबी छ ।
उनीहरूको दबाब प्रधानमन्त्री देउवाले अस्वीकार गर्न सकेका छैनन् । तर, आफ्नै पार्टीभित्र पहिला स्थानीय तहको निर्वाचन गराउन तीव्र दबाब आएपछि प्रधानमन्त्री देउवा पनि अलमलमा परेका छन् । यद्यपि, यस विषयमा कांग्रेसको औपचारिक धारणा पनि बाहिर आउन सकको छैन । कांग्रेसका अधिकांश नेताहरू पहिला स्थानीय तहकै निर्वाचन गराउनुपर्ने पक्षमा छन् ।
सत्ता गठबन्धनभित्रका अन्य दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा पहिले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पक्षमा छन् । नेकपा एस भने तीनै तहका निर्वाचन एकै चरणमा गर्न पनि तयार देखिएको छ । राष्ट्रिय जनमोर्चा स्थानीय तहको निर्वाचनकै पक्षमा उभिएको छ ।
निर्वाचनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि संविधानअनुसार नै पहिले स्थानीय तहको निर्वाचन हुनुपर्ने अडान राख्दै आएको छ । एमालेले संविधानले स्थानीय तहमा जनप्रतिनिधिविहीनताको कल्पना नगरेको भन्दै स्थानीय तहको निर्वाचनमा नै पहल गरिरहेको छ ।
कांग्रेस महामन्त्री गगन थापाले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर राख्न नसकिने र संविधानले त्यो कल्पना नगरेको भन्दै पहिले स्थानीय तहकै निर्वाचनमा सरकार अघि बढ्नुपर्ने बताउँछन् ।
‘गठबन्धनका बीचमा निर्वाचनका विषयमा संवाद र छलफल जारी छ, संविधानअनुसार पहिले स्थानीय तहको निर्वाचन हुनुपर्छ, स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर राख्न सकिँदैन,’ कांग्रेस महामन्त्री गगन थापाले भने ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवानिकट नेता रमेश लेखकले पनि संविधान र ऐनअनुसार पहिला स्थानीय तहको निर्वाचन हुनुपर्नेमा आपूmहरूको जोड रहेको बताए । लेखकले यही २०७९ साल जेठ ५ गते स्थानीय तहको पदावधि सकिने भएकाले सोअगावै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा आफूहरूको जोड रहने लेखकको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि पहिले स्थानीय तहकै निर्वाचन हुनुपर्ने बताए । ‘जुन तहको समय पहिले सकियो, त्यसैको निर्वाचन गर्दै जानुपर्छ, सबैलाई थाहा छ पहिले स्थानीय तहकै समय सकिँदैछ,’ केसीले भने ।
नेकपा एमालेका नेता सुवास नेम्वाङले संविधान, कानुन र अभ्यास सबै हिसाबले पहिले स्थानीय तहकै निर्वाचन हुनुपर्ने बताए । ‘संविधान, कानुन र अभ्यास सबै हिसाबले पहिले स्थानीय तहकै निर्वाचन हुनुपर्छ, निर्वाचन आयोगको सिफारिस पनि त्यही छ, निर्वाचन गर्न ढिला भयो भने स्थानीय तहको निर्वाचन नहुने स्थिति हुन सक्छ, सत्ता पक्षले त्यस सम्बन्धमा सोचाइ राख्नुपर्छ,’ एमाले नेता नेम्बाङले भने ।
सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्र भने पहिले स्थानीय तहको निर्वाचनमा जान तयार छैनन् । उसले पहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नै जोडबल गर्दै आइरहेको छ ।
निर्वाचन आयोगले भने सरकारसमक्ष स्थानीय तहको निर्वाचनको मिति नै प्रस्ताव गरिसकेको छ । आयोगले १४ र २२ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सकिने भन्दै दुईवटा मिति सरकारसमक्ष प्रस्ताव गरेको थियो । आयोगले ५ जेठमा स्थानीय तहको समयावधि सकिने बताउँदै आइरहेको छ ।
तर, सत्ताधारी दलहरू भने समयावधिका विषयमासमेत अलमलमा छन् । उनीहरू स्थानीय तहको समयावधि सम्बन्धमा संविधान र कानुनविद्हरूसँग परामर्श गर्ने तयारीमा छन् । राजधानी दैनिकबाट साभार
कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोलसमेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन । तर, महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै अस्पतालमा अक्सिजन प्लान्ट पुग्दो छैन ।
दोस्रो चरणको कोरोना संक्रमणमा १० हजार बढीको मृत्यु भएको तथ्य ताजै छ । यसपटक के हुने हो अनुमान गर्न सकिन्न । यस्तो अवस्थामा पनि नेपाली नागरिक हाँसीखुसी बसेको अनुभव गरेकी छिन् कलाकार प्रियना आचार्य ‘मुन्नी’ले ।
पछिल्लो समय म्युजिक भिडियो र हास्य टेलिशृंखला ‘सक्किगो नि’मा व्यस्त मुन्नीलाई नेपाली समुदायजस्तो सानो कुरामा खुसी हुने प्राणी अन्त कतै भेटिँदैनजस्तो लाग्छ । ‘नेपालीलाई खुसी हुन ठूलो कुरा चाहिँदै चाहिँदैन, सानो कुरामा पनि खुसी भेटिन्छ यहाँ,’ उनले भनिन् ।
अहिले कोभिड संक्रमणले उनको कामको चाप घटेको छ । बिहान कथ्थक नृत्यको क्लास लिने मुन्नी घाम तापेर, मुभी हेरेर अनि पुस्तक पढेर बाँकी दिन बिताउँछिन् । ‘आफूलाई मन लागेको काम गर्न पाएपछि मान्छे त्यसै खुसी हुन्छ । डेढ घन्टा कत्थक नाचेपछि म खुसी भइहाल्छु,’ खुसीको स्रोत उल्लेख गर्दै भनिन् ।
‘मलाई बेलायतकाे त्यो भव्यताले पटक्कै आकर्षित गरेन । बेलायतवासीको रोबर्टजस्तो जीवनशैली देख्दैमा वाक्क भइसकेकी थिएँ,’

चितवनको भरतपुरमा हुर्केकी मुन्नी प्लस टु सकेपछि उच्च शिक्षा अध्ययनका लागि आठ वर्ष बेलायत बसिन् । उनका साथी भाइ मात्रै होइन इष्टमित्रसमेत मुन्नी फेरि फर्केर नेपाल आउँछिन् भनेर सोचेका थिएनन् । चिल्लो सडक, मिलेको बस्ती, सुकिला मान्छे, सबै कुरा सिस्टममा चल्नेबेलायतको प्रशंसा गर्नेहरू विश्वभर छन् । ‘त्यस्तो ठाउँमा पुगेकी मुन्नी फर्किन्न, उतै सेटल हुन्छे’ धेरैले यस्तै भनेका थिए उनका बारेमा ।
भरतपुरमा हुर्केकी नेपाली चेली ‘मुन्नी’लाई भने बेलायतको त्यो भौतिक सुख सुविधाले पटक्कै आकर्षित गरेन । बेलायतमै म्युजिकल एन्ड थिएटर पढेकी मुन्नीले चाहेको भए राम्रै काम पाउँथिन् । पारिश्रमिक गतिलै हुन्थ्यो । घर, गाडी समस्या थिएन । उनी भन्छिन्, ‘मलाई त्यो भव्यताले पटक्कै आकर्षित गरेन । बेलायतवासीको रोबर्टजस्तो जीवनशैली देख्दैमा वाक्क भइसकेकी थिएँ,’ उनले भनिन् ‘स्वदेशी होस् या विदेशी बेलायतमा बसेपछि प्रत्येक घन्टा पैसामा कन्भर्ट हुन्छ ।’
सामान्य चाडपर्वमा पनि वल्लो घर, पल्लो घर चहार्दै हुर्किएकी मुन्नी घरमा पाहुना आउँदा अर्को पर्व थपिएको महसुस् गर्थिन् । बेलायतवासीको अनुभव सुनाउँदै भन्छिन् ‘त्यहाँ त सपरिवार जम्मा भएर एकैपटक खाना खाने संस्कार पनि हुन्न ।’
एकै घरमा पनि एक जना ड्युटी जान्छ । अर्को आउँछ । पारिवारिक जमघट, छलफल केही पनि हुन्न । आफूबाहेक दोस्रो व्यक्तिका सन्दर्भमा सरोकारै राख्न नभ्याउने शैली उनलाई फिटिक्कै मन परेन । आर्थिक रूपमा नेपाल गरिब भए पनि संस्कारका हिसाबले निकै धनी भएको अनुभव गरेकी मुन्नी अब यही मुलुकमा धुवाँ धुलो पचाउँदै रंगकर्ममै रमाउने सोचमा छिन् ।
‘मुन्नी’ भइसकेपछि घुम्ने सिलसिलामा उनी तराईका धेरै ठाउँ पुगिन् । टिभीमा ‘मुन्नी’लाई हेरेका दर्शकहरूले भनेछन्, ‘हामीले त सोचेका थियौं तपाईं मधेसकै हुनुहुन्छ होला, मधेसको नभए पनि तपाईं पक्का मधेसी देखिनुहुन्छ ।’ दर्शकका यस्ता प्रतिक्रियाले रोमाञ्चित हुन्छिन् उनी ।

अनि मुन्नी भइन्
दुई वर्षअघि सर्वनाम थिएटरमा रामबाबु रेग्मीको निर्देशनमा ‘निकास भर्सेज निकास’ भन्ने एउटा नाटक मञ्चन भएको थियो । त्यसमा एउटा पात्र थियो भारतबाट आएर नेपाल बसेकी ‘मुन्नी’ । मुन्नीको क्यारेक्टर भर्खर बेलायतबाट फर्किएकी प्रियनाको भागमा प-यो । नाटक मञ्चन सकिएपछि युनिटकै मान्छेहरूले प्रियनालाई ‘मुन्नी’ भनेर बोलाउन थाले । अहिले उनको प्रियना भन्ने नाम झन्डै झन्डै कोमामा छ । निर्देशकदेखि दर्शकसमेतले ‘मुन्नी’ भनेरै बोलाउँछन् ।
‘मलाई त मुन्नी भन्ने क्यारेक्टर नाट्येश्वरीको प्रसाद जस्तो लाग्छ, अडियन्सले पनि मुन्नीलाई निकै माया गर्नुभएको छ,’ मुन्नी हुन पाएकोमा गर्व गरिन् उनले ।
‘मुन्नी’ खासमा मधेस मूलकी पात्र हो । चितवनको भरतपुरमा हुर्किएकी प्रियनालाई धेरै दर्शकले मधेसकै चेलीका रूपमा बुझ्दा रहेछन् । मुन्नी जहाँ हुकिइन् त्यहाँ पक्की घर र कालोपत्रे सडक छ । तर, मुन्नी भन्ने पात्र मधेसको पनि अलि दुर्गम क्षेत्रमा हुर्किएकी पात्र हुन् ।
आफूलाई चितवनको थारू बस्तीमा रहेका खबडाले छाएका घर मनपर्ने धारणा राख्ने मुन्नीले तराईमा फुसको छानाको घर देख्दा अहिले पनि प्रिय लाग्ने बताइन् । ‘मलाई अहिले पनि तराईमा सानासाना फुसले छाएको घर, तोरी फुलेको बारी असाध्यै राम्रो लाग्छ, पहाडको उकालो ओरालोभन्दा तराईको सम्म भूभाग नै बढी रमाइलो लाग्छ,’ उनले भनिन् ।
‘मुन्नी’ भइसकेपछि घुम्ने सिलसिलामा उनी तराईका धेरै ठाउँ पुगिन् । टिभीमा ‘मुन्नी’लाई हेरेका दर्शकहरूले भनेछन्, ‘हामीले त सोचेका थियौं तपाईं मधेसकै हुनुहुन्छ होला, मधेसको नभए पनि तपाईं पक्का मधेसी देखिनुहुन्छ ।’ दर्शकका यस्ता प्रतिक्रियाले रोमाञ्चित हुन्छिन् उनी ।
थिएटरकर्मीलाई बाँच्न अझै गाह्रो
थिएटरप्रति विशेष मोह राख्ने मुन्नी स्कुल पढ्दैदेखि नृत्य र नाटकमा सहभागी हुन्थिन् । उनी जहाँ हुर्किइन् भारतीय र नेपाली नृत्यहरू प्रस्तुत हुन्थ्यो । त्यही वातावरणमा हुर्किएकी मुन्नी भन्छिन्, ‘मैले त्यहीँबेला कलाको बीउ रोपेको थिएँ, अब आफैंले रोपेको बिरुवा हुर्काउने सोचमा छु ।’ नेपालमा नाट्यकर्मीको भविष्य अझै असुरक्षित रहेको अनुभव गरेकी मुन्नी सुरक्षित होला भन्नेमा आशावादी छिन् ।
हास्य टेलिशृंखला ‘सक्किगो नि’मा नियमित काम गरेकी मुन्नी सातामा दुई दिन सोही सिरियलको सुटिङमा व्यस्त हुन्छिन् । अन्य समयमा म्युजिक भिडियोमा काम गर्छिन् । दुई वर्षको अवधिमा ५० भन्दा बढी भिडियोमा काम गरेकी मुन्नी रियालिटी सो ‘डान्सिङ विथ स्टार’मा दोस्रो भएकी थिइन् ।
नेपाली समाजमा छोराछोरीबीच हुने विभेदलाई नजिकबाट देखेकी मुन्नीले रंगकर्ममा पनि नारी र पुरुषबीच खाडल रहेको अनुभव गरेकी छन् । महिला र पुरुष कलाकारबीच पारिश्रमिकमै विभेद रहेको बताउँदै मुन्नी भन्छिन्, ‘आशा गरौं यो विभेद धेरै समय रहँदैन ।’
काठमाडौंले दिएको खुसीमा मस्तले रमाइरहेकी मुन्नी काठमाडौंको प्रदूषणप्रति भने चिन्तित छिन् । अहिले नेपालका धेरै सहरमा धुवाँधुलो बढ्नुमा अव्यवस्थित सहरीकरण हो भन्ने उनको ठम्याइ छ । नेपाली समाजमा छोराछोरीबीच हुने विभेदलाई नजिकबाट देखेकी मुन्नीले रंगकर्ममा पनि नारी र पुरुषबीच खाडल रहेको अनुभव गरेकी छन् । महिला र पुरुष कलाकारबीच पारिश्रमिकमै विभेद रहेको बताउँदै मुन्नी भन्छिन्, ‘आशा गरौं यो विभेद धेरै समय रहँदैन ।’
कोभिडको संक्रमण बढ्दै गएको अनुभव गरेकी मुन्नी सबैलाई सचेत हुन आग्रह गर्दै भन्छिन्, ‘हामी सचेत भयौं भने मात्रै पनि हामी हाम्रो खुसी हाम्रै घरमा राख्न सक्छौं ।’ राजधानी दैनिकबाट साभार
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फेरि सरेकाे छ । मकवानपुरसहित १६ जिल्लाको अधिवेशन यही माघ १५ गतेका लागि तय गरिएको थियो । यसअघि मकवानपुरसहित १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभा निर्वाचनको प्रक्रियामा लाग्नु पर्ने बताउँदै पुस २७ गते हुने भनिएको अधिवेशन माघ १५ गतेका लागि सारिएको थियो । त्यसअघि प्रदेश अधिवेशनको तयारी भन्दै पूर्वनिर्धारित जिल्ला अधिवेशन सारिएको थियो ।
कोभिड–१९ संक्रमण तीव्र भएको भन्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ महामारी सहज भएर जनजीवन सामान्य भएपछि अधिवेशनको मिति तय गरिने जनाएको छ ।
महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी छ । प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा मकवानपुरसहित चितवन, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा अधिवेशन रोकिएको थियो । गण्डकी प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशको बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कोरोना महामारी र नियन्त्रण र सरकारको ६ महिने काम कारबाही, आगामी निर्वाचन, समसामयिक राजनीतिक लगायतका विषयमा उनकाे सम्बाेधन केन्द्रित हुने छ । गत असार २९ गते देउवा प्रधानमन्त्री भएका थिए ।
मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि तीव्र गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो की कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । अल्का अस्पताका चिकित्सक डा रक्षा गौतम आफूमा काेराेनाकाे जस्ताे लक्षण देखिएमा पीसीआरु परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । ओमिक्राेनलाई सामान्य रुपमा हेर्न नहुने उहाँकाे भनाइ छ ।
यही विषयमा डा. रक्षा गौतमसँग गरिएकाे कुराकानी :
अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिरामीकाे चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरुको चाप धेरै बढेको छ । गएकाे दुईहप्ता देखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।
लक्षणका आधारमा आम सर्वसाधारणले काेभिड १९ काे डेल्टा हाे कि ओमिक्राेन कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो, कमन कोल्डको आधारभूत लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ ।
फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । सबै फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लु मा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु पर्यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहीँ अलिकति गाह्रो छ । तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहीँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वादपनि गएको हामीले यसपालि पाएका छौँ । र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दाखेरी यो पिक सिजन भइराखेको छ कोभिडको । हामीले बिरामीहरुलाई हेर्दाखेरी पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्लुयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैनँ । पीसीआर गर्नैपर्छ ।
मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?
मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरु मन तातो पानि खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने त्यो चाहीँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन कमन कोल्ड हुँदाखेरी ओपीडीमा धाउनु पर्दैन । जहाँ ज्वरो हुँदैन बिरामीलाई । जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्ने बित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो ।
प्रायः हामीले प्याटर्न हेर्दाखेरी बिरामीलाई तिन दिनसम्म ज्वरो आएको । तिन दिन पछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरुले । अहिले जनचेतना धेरै जाग्या छ । कतिपयलाई तिन दिनभन्दा बढी ज्वरो आइराछ । ज्वरो १०२, १०३ डिग्री भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दाखेरी पनि ज्वरो घटेको छैन । जिउ दुखिराखेको छ । छाति भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानु भएको छैन । एकदमै कमजाेर हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपीडीमा ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।
यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?
दुईथरी बिरामी हुनुहुन्छ । एकथरी रुघा लाग्ने बित्तिकै जँचाउन आउनुहुन्छ । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । आराम गर्नु भन्छौँ । रेष्टले नै निको हुन्छन् आधा भन्दा बढी । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरे पनि निको भइराखेको छ धेरैलाई । कति चाहीँ धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन अस्पताल । श्वास प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन । दीर्घ रोग लागेका बिरामीहरु हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नु । एकचोटी आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातीको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।
अन्त्यमा, विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
सुझाव म के दिन चाहान्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पीसीआर गरेर छुट्याउन सक्दैनौँ । डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने भ्रम छ हामीकहाँ । हामीले पेसेन्टको लक्षण हेरेर तपाईँहरुलाई भन्न सक्दैनौँ । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त ।
त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरुको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेला देखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपीडीमा । अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरु लगाउने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिँड्ने, यो कुरा हामीले भनिरहेका छौँ बारम्बार मानिसहरुलाई बानी बसोस् भनेर । ९० प्रतिशत बिरामीहरुको अहिले माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आईसीयू, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । ओमिक्रोन हो केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरु नराम्रो अवस्थामा गएको पनि हामीले देखेका छौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई मेराे आग्रह छ ।उज्यालाे अनलाइन डटकमबाट