मकवानपुर/ ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ग्रामिण महिला सेवा केन्द्र मकवानपुरले सचेतनामुलक सडक नाटक गरेको छ ।
बाल विवाह, लैङ्गिक हिंसा र महिला हिंसा विरुद्ध सशक्तिकरण सम्बन्धी सडक नाटक गरिएको ग्रामिण महिला सेवा केन्द्र अध्यक्ष उर्मिला कार्कीले बताइन् । ग्रामिण महिला सेवा केन्द्रको आर्थिक सहयोगमा युवा सञ्जालले हेटौंडा–१५ चुरियामाईको भोर्लेमा सचेतनामुलक सडक नाटक प्रदर्शनी गरेको हो ।
यसैगरी मनहरी गाउँपालिका–३ हाँडीखोलामा संस्थाको कोषध्यक्ष सुलोचना स्याङ्तानको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।
यसै गरी मकवानपुरगढी गाउँपालिकासँगको समन्वयमा स्थानीय युवा, परिवर्तनको संवाहक कक्षा व्यवस्थापन समितिको समेत समन्वयमा कार्यक्रमगरिएको संस्थाको सदस्य देबकी चौलागाईले बताइन् ।
यसै गरी मानव अधिकार संरक्षण तथा मावन बेचबिखन विरुद्धको जिल्ला सञ्जालले आयोजना गरेको सचेतनामुलक र्यालीमा पनि संस्थाले सहभागीता जनाएको थियो । र्यालीमा संस्थाको अध्यक्ष उर्मिला कार्कीलगायतको उपस्थिती रहेको थियो । ग्रामिण महिला सेवा केन्द्रले ग्रामिण भेगमा महिलाको सशक्तिकरणसँगै बालबालिकाको नेतृत्व विकासको लागि कार्यक्रम गर्दै आएको संस्थाका कार्यक्रक संयोजक दीप न्यौपानेले बताए ।
परिवर्तनको संवाहहरुको कक्षामार्फत १ हजार १ सय ५० बालबालिकाहरुलाई प्रत्यक्ष रुपमा महिला किशोर किशोरी तथा युवालाई हिंसाबाट बच्नको लागि सक्षम बनाइएको कार्यक्रम संयोजक न्यौपानेले बताए ।

अध्यक्ष ग्रामिण महिला सेवा केन्द्र हेटांडा
समाजमा प्रचलित खराब आचरण तथा अभ्यासहरुलाई परिवर्तन गर्न सकारात्मक भूमिका निवार्ह गर्न ग्रामिण महिला सेवा केन्द्रले पहल गर्दै आएको छ । यसै अन्तरगत हाल मकवानपुरमा ५६ वटा कक्षाहरु सञ्चालित छन् । जसमा मनहरी, मकवानपुरगढी,बागमती गाउँपालिका र हेटौंडाको ५ वटा वडामा यो कार्यक्रम सञ्चालित छ ।
यि कक्षामा सहभागी भएर किशोर किशोरीहरुले व्यक्तित्व विकाससँगै नेतृत्वको सिप सिकिरहेका छन् । किशोरकिशोरी, युवा तथा अभिभावकलाई महिला हिंसा, विभेदलगायतको सामाजिक विकृतिबाट माथि उकास्नको लागि यो कार्यक्रम बरदान साबित भएको छ ।
छोटकरीमा यस कार्यक्रमको सफलतालाई बुंदागत रुपमा यसरी प्रष्ट्याउन चाहन्छुः
- किशोरकिशोरी, युवा तथा अभिभावकहरुलाई प्रजनन् स्वास्थ्य अधिकारको सम्बन्धमा सचेत भई यौन तथा प्रजनन् स्वास्थ्य सेवामा सहज पहुंचका लागी वकालत तथा पैरवी गर्न थालेका छन् ।
- युवा महिलाहरु लैङ्गीक हिंसाका विरुद्ध छलफल चलाउन सक्षम भएका छन् ।
- ३४५ जना बालबालिका, किशोर किशोरी तथा युवा महिलाहरु परीवर्तनका संवाहक कक्षाबाट तथा ३८२० जना अन्य दिवसिय कार्यक्रमहरुबाट लाभान्वित भएका छन् ।
- याेजना निर्माण प्रक्रियामा यूवा सहभागिता सम्बन्धमा स्थानिय सरकार सकारात्मक र प्रतिवद्ध भएको छ ।
- स्थानीय सरकारबाट स्रोत परिचालनका लागी प्रतिवद्धता प्राप्त भएको छ ।
- परिवर्तनका संवाहक कक्षाका सहभागीहरु तथा यूवा सञ्जालका सहभागिहरु बाल विवाह विरुद्ध छलफल चलाउन तथा बाल विवाह रोक्न सहजिकरण गर्न सक्ने भएका छन् ।
- किशोरी तथा यूवा महिला महिनावरी स्वच्छताका लागी व्यक्तिगत सरसफाई ज्ञान तथा सिपको विकास भई आफुले, आफ्नो परिवारको सदस्यहरुले पालना गर्ने तथा दौंतरीहरुलाई समेत बताउन थालेका छन ।
- युवाहरु, विशेषतः युवा महिलाहरुमा प्रजनन् स्वास्थ्य अधिकार प्रतिको धारणमा सकारात्मक परीवर्तन आई आफ्ना दौंतरी, परीवार र समुदायमा समेत प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धि धारणा परीवर्तनमा सघाउ पु-याई रहेका छन् ।
- विभिन्न दिवसिय कार्यक्रमहरु (सडक नाटक, अतिरिक्त त्रियाकलाप, अभिमूखिकरण कार्यक्रम आदि) मार्फत समुदायका मानिसहरु बालबिबाहको नकारात्मक असरको बारेमा सुसुचित भएकाछन् ।
- युवा पत्रकारिता सम्वन्धी तालिममा सहभागी भई युवा महिलाहरु आफ्ना सवालहरु पहिचान गर्नुका साथै आफ्ना सवाल तथा घटनाहरुलाई स्थानिय सञ्चार माद्यममा रिपोर्टिङ् गर्न सक्षम भएका छन् ।
- युवाहरु दौँतरी शिक्षा सञ्चालन गर्न सक्षम भएका छन् ।
- सडक नाटक लगाएत विभिन्न माद्यमहरुद्धारा युवाहरुले लैंगिकता, बालबिबाह आदि सम्बन्धी गलत धारणामा परिवर्तन ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेकाछन् ।
- बालबालिका र युवा महिलाहरु जोखिम पहिचान र उक्त जोखिमहरुबाट बच्ने उपायबारे जानकार र सचेत हुनुका साथै उजुरी संयन्त्रका बारेमा जानकार भएका छन् ।
- परियोजनान्तर्गत सामाजिक, लैंगिक तथा जातिय समावेशितालाई ध्यानमा राखी युवा महिलाहरुलाई एकतावद्ध गर्ने उदेश्यका साथ ४ वटा स्थानिय तहहरु बागमती, मकवानपुरगढी, मनहरी र हेटौँडामा गरि १४ वटा युवा समुहहरु गठन गरि उक्त समुहहरुमा १४४ युवाहरुलाई आवद्ध गरिएकोछ ।
- युवा महिलाहरु वकालत तथा पैरवी सम्वन्धी ज्ञान प्राप्त गरि आफ्ना सवालहरुमा वकालत तथा पैरवी गर्न सक्षम भएका छन् ।
- स्थानीय तहको योजना निर्माण तथा छनौट, निर्णय प्रक्रिया, नितिगत कुरा आदिमा युवाहरुको सहभागिता सुनिश्चित गर्ने उदेश्यका साथ युवाहरुको सहभागिता सम्बन्धि निर्देशिकाको अन्तिम प्रारुप तयार भएको छ ।
सम्बन्धित समाचार
समानताको सवालमा सचेतनामूलक सडक नाटक प्रदर्शन
मकवानपुर/ लोपोन्मुख बनकारी बस्तिमा शिक्षाको पहुँचबारे चर्चा गर्दै अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । ११२ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मकवानपुरको मनहरी गाउपालिका ट्वागंरामा बनकरिया बस्तीमा शिक्षाको पहुँचबारे चर्चा गरिएको हो ।
नेपालको संविधान २०७२ मा भएको सिमान्तकृत वर्ग, महिलाको अधिकार, समानताको हक, शिक्षाको हकको बारेमा प्रशिक्षण दिइएको थियो । बनकरिया महिलाको समस्या र बनकरिया बालबालिकाको शिक्षामा पहँुच नपुग्नुको कारण र उक्त समस्या समाधानको सरोकारवालाको भुमिकामा समेत छलफल गरीएको थियो । शिक्षाको लागि राष्ट्रिय अभियान, डेक नेपाल र मेन ईगंज एलायन्सको संयुक्त आयोजनामा लोपउन्मुख बनकरिया समुदायको शिक्षामा पहुच बिषयमा छलफल तथा अन्तर्कृया गरिएको अभियानका जिल्ला संयोजक बुद्ध बिर लामा बताए ।
महिला आर्थिक रुपमा सशक्तिकरण नहुँदा महिला हिंसा हुन सक्ने भएकोले आर्थिक रुपमा सक्षम हुन सक्नु बनकरीयालाई प्रेरित गरिएको थियो । बनकरीया महिलालाई अधिकार प्राप्तिको लागि महिलाको भुमिका र जिम्मेवारी बिषयमा सहजिकरण गरिएको थियो । कार्यक्रममा सहजिकरण गर्दै अधिकारकर्मीहरुले बनकरिया महिलाहरुलाई सिप सिक्न अभिप्रेरित गरेका थिए । महिला किन हिंसामा पर्न सक्छन् र यसबाट कसरी जोगिन सकिन्छ भन्ने बारेमा ग्रामिण असहाय बालबालिका सामुदायिक पुर्नस्थापना केन्द्र कार्यक्रम प्रबन्धक केदार आचार्यले अनुशिक्षण गराएका थिए ।
यसैगरी नारि संरक्षण केन्द्र कार्यक्रम संयोजक राम मिजारले बनकरिया बालबालिकाको बालअधिकार स्थापितको लागि अभिभाबकको महत्वपुर्ण जिम्मेवारी हुने औल्याए । महिलाले आयआर्जनमा बिशेष जोड दिनु पर्ने र जन्मदर्ताको महत्वको बारेमा जानकारी गराइएको थियो ।
यसैगरी डेक नेपाल कार्यक्रम संयोजक मानबहादुर बाईबाले समाजिक समाबेशिकरणका बारेमा जानकारी गराइएको थियो । स्थानीय क्षेत्रको विकासको प्रतिफल सबैले समान र समानुपातीक रुपमा पाउनु पर्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । राज्यले कसैलाई पनि बन्चितीकरणमा पार्न नहुने र यसको लागि नागरिक आफैं पनि सचेत हुनुपर्ने औल्याइएको शिक्षाको लागि राष्ट्रिय अभियान जिल्ला संयोजक लामाले बताए ।

कार्यक्रममा बनकरिया महिला प्रमुख सन्तमाया बनकरियाले यस्ता सचेतनामुलक कार्यक्रम बस्तिमा आवश्यक रहेको बताइन् । महिलाको काधमा नयाँ जिम्मेवारी थपिएको महशुस गरि बनकरिया महिलाले आयआर्जनमा जोड दिदै महिला हिंसा अन्त्य गर्न सकिने उनले बताइन् । कार्यक्रममा सहभागी सुन्तलि बनकरिया, साबित्री बनकरियालगायतले महिलाले सिपमुलक कामगर्न पर्नेमा आफूहरु सचेत भएको बताएका थिए । कार्यक्रममा सहभागी श्याम बनकरिया, भिमलाल बनकरियाले महिला हिंसा नगर्ने बारे प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय अभियानको बागमती प्रदेश संयोजक एबं मेन ईंगेज एलायन्स बागमती प्रदेश संयोजक प्रकाश खतिवडा, नारि शिप सृजना केन्द्र कार्यकारी निर्देशक चिरन्जीवि पौडेल, डेक नेपाल कार्यक्रम संयोजक मानबहादुर बाईबा, ग्रामिण असहाय बालबालिका सामुदायिक पुर्नस्थापना केन्द्र कार्यक्रम प्रबन्धक केदार आचार्य, नारी संरक्षण केन्द्र कार्यक्रम संयोजक राम मिजारलगायतको उपस्थिती रहेको थियो ।
अन्तरराष्ट्रिय नारी दिवस (International women’s day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो।
१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख उदेश्य महिलाहरूलाई मताअधिकार दिनु थियो । त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन। १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे । अन्तरिम सरकारले महिलाहरूलाई भाेट दिने अधिकार दियो।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने गरिएकाेमा यद्यापि कायमै छ ।
त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। यी २ क्यालेन्डरमा केही फरक तिथि मिति हुन्छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो। विभिन्न वेवसाइटहरुकाे सहयाेगमा
हाम्रो समाजले छोरालाई कुल दीपकको रूपमा मान्ने गरेको भएता पनि छोरी घरकी लक्ष्मी र दीपक दुवै हुन् । घरको प्राण हुन् । छोरी बिनाको घर नुन बिनाको तरकारी जस्तै फिक्का, अपुरो र अधुरो हुन्छ । घरको साज सज्जा एवं मान सम्मान नै छोरी हुन् । छोरी हुँदा घरको कुना काप्चा उज्यालोले धपक्क बलेको भान हुन्छ ।
हाम्रो दिमागले जे कुरालाई धेरै जोड दिएर सोचिरहेको हुन्छ त्यही नै सपनी बनेर आउने रहेछ । सपनीमा जहिले पनि सानी छोरी घरमा फुर् फुर् पर्दै यताउति कुँदेको र आफू पनि अत्यन्त खुसी भएर उसको बालापनमा रमाउँदै सरिक भएको देख्ने गर्छु । तर ब्युँझँदा फेरि निराश पनले डुबाउँछ । सपना त सपना हो तर पनि मन मान्दैन । सपनाकी सानी नानीको उमङ्ग, खुसी र निष्कपट हाँसोसँग मेरो नाता गाँसिसकेको छ । सुत्ने बेलामा जहिले पनि भगवानसँग प्रार्थना गर्छु कि आज पनि छोरी मेरो सपनीमा आओस् र म ऊसँग निर्धक्क भएर खेल्न पाउँ भनेर ।
उज्यालो बाटुलो अनुहार, अनारका दाना झैँ टम्म मिलेका दाँत, हाँस्दा गालामा बन्ने खोपिल्टा, मृगका झैँ लामा आँखाले मेरो मातृत्व स्नेह छचल्किएर उनी माथि पोखिने गर्छ । एक दिन सपनामा खेल्दै गर्दा अचानक उसले मलाई भनी “मामु म धेरै बाँच्न चाहन्छु, हजुर हुनुहुन्छ मलाई केही हुँदैन नि है” ।
मैले पनि उसको हो मा हो मिलाउँदै भने “हो नानु तिमी अहिले सानी छौ ठुलो हुन बाँकी नै छ । यो संसारमा तिमीले सफलताका पाइलाहरू चालेर उच्च शिखर चढ्नु छ, तिमी मेरी छोरी भएकोमा मैले गर्व बोध गर्नु छ, त्यसैले तिमी बाच्नु पर्छ र तिमीलाई बचाउने हर सम्भव प्रयास म गर्ने नै छु” ।
तर यसो भनिरहँदा मेरो मन आत्तिइरहेको थियो किनकि म आफै आफ्नै देश, समाज र आफ्नै परिवारबिच असुरक्षित महसुस गरिरहेको बेलामा कसरी छोरीलाई सुरक्षा दिन सक्छु भनेर । तीन वर्ष पनि नपुगेका दुधे बच्ची बलात्कार गरेर मार्ने मेरो देशमा मानवता हराई रहेको छ, नैतिकता गुमिरहेको छ, विवेक शून्य भइरहेको छ, अहंता र आपराधिक क्रियाकलाप बढिरहेको छ । यस्तो अवस्थामा छोरीको सुरक्षाको प्रश्न उठ्दा अचानक मेरो दिमाग रन्थनियो र “छोरी तिमिलाई म बचाउन सक्दिन” भन्न पुगेछु ।
मेरो कुरा सुनेर खेल्दै गरेकी छोरीको अनुहारबाट खुसी र हाँसो अचानक हरायो । जड बनी पत्थरको मूर्तिमा परिवर्तन भइन । म भने अँध्यारो खाईमा झर्दै गर्दा सपनाबाट ब्युँझिएँ । त्यस दिन देखि मैले नजन्माएकी मेरी सानी छोरी सपनामा आउन छोडिन् । जति सम्झेर सुत्दा पनि उनी आइनन् । उनलाई सपनीमा भेट्ने लालसाले सधैँ भगवान् पुकार्दै सुत्थे तर मेरी मायाकी खानी कता हराइन् थाहै भएन ।
एक दिनको कुरा हो, अचानक निर्मला, भगिरथी, सङ्गीता लगायतका छोरीहरू मेरो सपनीमा आए । सबै जना अत्यन्त दुःखी, दुब्ला, पातला ख्याउटे देखिएका थिए । उनीहरूलाई हेर्दा यस्तो लाग्यो कि वर्षौँदेखि भोकै छन् । शरीर सुकेर बाँसको भाटा जस्तो, अनुहार चाउरिएर मुजा परेको थियो । सुन्निएर फुलेका आँखाबाट बलिन्द्र आशुका धारा झर्ना बनी झरिरहेका थिए ।
पीडा र अपमानको ज्वालाले शरीर दन्किरहेको थियो । उनीहरूले मलिन एवं अँध्यारो अनुहार लगाउँदै एकै स्वरमा भने “आमा हाम्रो के दोष थियो र हामी मारियौँ ? हामी पनि सृष्टिकर्ता नै थियौँ, सबै पुरुषहरूलाई जन्म महिलाले नै दिने होइन ? हात समाएर हिँड्न र बोल्न सिकाउने पनि महिलाले नै होइन ? उनीहरूको बालापनमा आफूलाई चुर्लुम्म डुबाएर उनीहरूको सपनामा आफ्नो सपना देख्ने पनि महिला नै होइन र ? फेरि कहाँ गल्ती भयो ? नारी सर्बते पूज्यति भनेर किन भनेको ? यस्तो अपमानजनक मृत्यु हामीलाई किन लेखियो ? राज्य किन मौन छ, राज्यलाई किन दुख्दैन आमा ? हामीलाई निमोठेर मार्दा पनि यौन पिपासुहरू किन खुलेआम हिँडिरहेका छन् ? हाम्रो बाच्न पाउने अधिकार छैन ? असिना परे जस्तै गरी एक पछि अर्को गरी उनीहरूका प्रश्नहरू बर्सिँदै गए ।
म भने अवाक् भएर उनीहरूलाई हेरिरहे । अझ अगाडि उनीहरूले भने “आमा मृत्यु त सबैको एक दिन हुन्छ नै मारेका मात्रै भए पनि हुन्थ्यो तर किन हाम्रो शरीरमा उनीहरूको रजाइँ ? यो अपमानको पीडाले आत्मा भतभती पोलिरहेको छ, हामीलाई चैन छैन, जति गरे पनि यो पीडा र डाहाबाट मुक्ति पाउन सकेका छैनौँ । हामीलाई मुक्ति देऊ आमा । मुक्ति देऊ” उनीहरू एकै स्वरले डाको छोडेर रुन थाले । त्यो रुबाईमा विरह र असह्य वेदना थियो । म पनि उनीहरूसँग सँगै रुन पुगेछु । ब्युँझिँदा आशुले सिरानी निथ्रुक्क भिजेको थियो ।
महिला, किशोरी, बालिका एवं बृद्घहरु गाउँ गाउँमा, बाटोघाटो र घरमै बलात्कारको सिकार भई रहेका छन् । बलात्कार पछि पनि पोल खुल्ने डरले बीभत्स हत्या गर्ने तर्फ अपराधीहरू बढिरहेका छन् । कडा दण्ड सजायको अभाव, राजनीतिमा अपराधीकरण बढ्दै जाँदा र यस्ता अपराधहरूबाट सजिलै उन्मुक्ति पाउने भएबाट समाजमा महिला र बालिकाहरू असुरक्षित हुँदै गएका छन् । यस्ता अपराधको विरुद्ध राज्य र समाज ढाल बनी उभिएर पीडकलाई हदैसम्मको सजाय दिएर पीडितलाई न्याय दिनुपर्नेमा अपराधी खुल्ला खुल्ला हिँडिरहेका छन् भने पीडितले अमानवीय यातनाका साथ अपमानजनक मृत्युवरण खेप्नुपरिरहेको छ ।
अझ समाजका अगुवाहरूले बलात्कारीलाई जोगाउने, पीडित पक्षमाथि दबाब दिने, पञ्चायती बसेर मिलाउने, पीडक छाती फुलाएर हिँड्ने र पीडित लाञ्छित भएर अपमान र अन्यायको ज्वालामा दन्किनु पर्ने अवस्था छ । अहिलेको “पल” प्रकरणलाई नै हेरौँ न, मुलुकी अपराध संहिता, २०७४ को दफा (२१९)को २ बमोजिम कसैले मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयनमा समस्या आइरहेको छ । दोषी दुवै हुन तर पितृ पितृसत्तात्मक नजरको चस्माले हेरिएकोले पीडित बालिका बढी प्रताडित भइरहेकी छन् ।
नाबालकको उमेर घटाउने, बढाउने पक्षमा बहस भई रहेछ, उनलाई मात्र गलत ठहर्याइएको छ, इज्जत भन्ने शब्द उनको शरीरसँग मात्र जोडिएको छ । उमेरको कुरा गर्दा १८ वर्ष भन्दा कम उमेर परिपक्व निर्णय गर्न सक्षम नहुने हुनाले सरकारी जागिर खान, निर्वाचनमा उम्मेदवार बन्न र विवाह गर्न बन्देज लगाइएको हो । समाजलाई नैतिक रूपमा संचलान गर्न र पीडितलाई न्याय दिन यस्ता कानुन निर्माण गरिन्छन् । कानुनले दोषी मानेको व्यक्ति पुरुष भएकोले उसलाई फसाउने प्रयासको रूपमा चित्रित गरिँदै छ । जबकि पीडित पनि नाबालिग छन् उनले अपरिपक्व निर्णय लिइन् अब उनलाई न्याय दिनुपर्छ भन्नेतर्फ समाजको ध्यान जान सकेको छैन ।
कानुनले गर्न नहुने भनेको काम पीडकले गरेका छन् । देशको कानुन थाहा छैन भनेर कसैले पनि उन्मुक्ति पाउँदैन । तर उनैको पैरवी गर्नमा समाज लागि परेको छ । पीडितका बाबुआमासमेत अपमानको रापमा जलिरहेका छन्, दैनिक मर्दै बाँचिरहेका छन् । समाज भने पीडितलाई नै थप पीडा दिनमा व्यस्त छ ।
एकचोटि सबैले आफूलाई यो स्थानमा राखेर मात्रै हेरौँ त कस्तो हुन्छ ? आज हरेक छोरीका बाबु आमा एकातिर छोरीलाई पितृ पितृसत्तात्मक सोचको दोषी चस्माको हेराइबाट कसरी जोगाउने भन्नेमा चिन्तित छन् भने अर्कोतिर बलात्कार गरी मारिएका छोरीहरूको मृतात्माले न्याय र शान्ति नपाएकोमा छटपट्टिरहेका छन् । आफैलाई धिक्कारिरहेका छन् । अन्यायको ज्वालामा जिउँदो लास बनेर जलिरहेका छन् । निर्मला, भगीरथ, सम्झना, नमिता, सुनिता लगायतका ज्ञात एवं अज्ञात अन्य थुप्रै बलात्कार पछि बीभत्स हत्या गरिएका छोरीहरूका आत्माले धिक्कारेको मेरो देशमा छोरी नहुनेले आफूलाई भाग्यमानी ठान्नु पर्ने अवस्था आएको छ । पितृसत्तात्मक सोचको अन्त्य गर्नमा पहल गर्न सके मात्र नारी दिवसले सार्थकता पाउने छ, हैन भने नारामा मात्रै सीमित रहने गरी मनाइने नारी दिवसको कुनै औचित्य छैन । प्रशासन डटकमबाट