मकवानपुर । बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदी बीचमा आज बुधबार भेटवार्ता तथा छलफल भएको छ ।
भेटमा आयोगका अध्यक्ष सुवेदीले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा गरेको सिफारिस कार्यान्वयन गराउँन सहजीकरणका लागि प्रदेश प्रमुख शर्मालाई आग्रह गरेका छन् ।
२०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको छानविन, परिचयपत्र वितरण, सम्बन्धित ऐन नियम एवं नीतिमा भए बमोजिम उनीहरुका लागि प्रदान गरिनुपर्ने सुविधाका बारेमा चर्चा गरेका थिए ।
प्रदेश प्रमुख शर्माद्वारा आयोगले लामो समयदेखि गर्दै आइरहेको कामको प्रशंसा गर्दै आयोगका सिफारिस कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुसंग समन्वय तथा आवश्यक सहजीकरण गर्ने बताए ।
भेटघाट तथा छलफलमा आयोगका सदस्यहरु सुनिलरञ्जन सिंह, सहसचिव कृष्णप्रसाद पुडासैनी, उच्च सरकारी वकिलको कार्यालय, हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, बागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, उपसचिव कृष्णप्रसाद आचार्यको समेत उपस्थिति थियो ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर ९ मा ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरु विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले पार्टी सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।
९ नम्वर वडा समितिका सभापति बिन्दु लामाको सभाध्यक्षता तथा बानिंयाकाे प्रमुख आतिथ्यतामा लामसुरे टाेल विकास कमिटि गठन तथा नयाँ सदस्य पार्टी प्रवेश कार्यक्रमकाे अवसरमा पुष्पनाथ नेपालको अध्यक्षतामा टोल समिति समेत गठन गरिएको छ । कांग्रेस हेटौंडा वडा नम्वर ९ समितिको आयोजनामा मंगलबार भएको कार्यक्रमबाट नेपालकाे अध्यक्षतामा टाेल कमिटी गठन भएकाे हाे । यसैगरी टोल कमिटिकाे उपाध्यक्ष अग्नि सुबेदी, सचिव नविन रेग्मी, कोषाध्यक्ष माधव रेग्मी तथा सदस्य बुद्ध लामा, दिपेश अर्याल र अजय ढुंगाना लगायत रहेको छन् ।
कार्यक्रममा बानियाँले कांग्रेस कार्यकर्ताहरुलाई सम्पूर्ण जनताको घर घरमा गएर नेपाली कांग्रेसको ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानको बारेमा जानकारी गराउँन आग्रह गरे । उनले जनताका घर घरमा जाँदा कांग्रेसले आजसम्म गरेका राम्रा काम र भोलीका दिनमा गर्ने कामका बारेमा जानकारी समेत लिएर जान अग्रह गरेका छन् ।
कम्युनिष्टहरुको जस्तो झुटा आश्वसन र भ्रम नभई जनताका वास्तविक पिर र मर्का समाधान गर्ने अभियान लिएर जानुपर्ने बताए उनले बताए । सभापति बानियाँले कम्युनिष्टहरुले एमसीसीको बारेमा भ्रम छरेको भन्दै देशमा व्याप्त रहेको गरिबी, अशिक्षा, भोक र रोगको अन्त्यका लागि एमसीसी अनुमादोन गरेको जनतालाई बुझाउन निर्देशन दिए
वडा समिति सचिव प्रदिप पराजुलीले सहजीकरण गरेको कार्यक्रममा कांग्रेस मकवानपुर पूर्व सभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सदस्य आनन्दराम पराजुली, संगीता सिग्देल, प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति राजेश बानियाँ, संघीय सचिव दोर्जे लामा स्याङतान, प्रदेश सचिव गोकर्ण सुबेदी, नगरसभापति उत्सव इटेनी, तरुणदल ९ नम्वर वडा अध्यक्ष हिस्की राना मगरलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । ।
मकवानपुर/ प्रहरीले लागुऔषध अफिम खेती फडानि अभियान अन्तरगत दोस्रो दिन ३५ विगाहा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
गाँजा तथा अफिम खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले मिति आज मंगलबार मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ४ अन्तर्गत चौकिटार, मादल सिंह क्षेत्रको अफिम नष्ट गरेको हो ।
यसैगरी मकवानपुरको कैलाश गाउँपालिका ४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका ७ अन्तर्गत बिलासी, ताम्लाङ र वडा ८ अन्तर्गत रुपलाङ, डुडलुङलगायतको वडा क्षेत्रमा ३५ बिगाहमा लगाएको अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्त प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।
मकवानपुर/ प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा आज मंगलबार भएको खेल अन्तरगत क्रिकेटमा काठमाडौं विजयी भएको छ । प्रतियोगिताको ब्याटमिन्टन अन्तरगत चितवन र धादिङ प्रथम भएका छन् ।
यस्तै हेटौंडाको क्याम्पा रंगशालामा भएकाे फुटबलक अन्तरगतकाे पहिलो खेल सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ । पहिलो हाफमा सिन्धुलीले २ गोल गरेको थियो । खेलको दोस्रो हाफमा ४ गोल थप गर्दै ६–० गोल अन्तरले सिन्धुली क्वाटरफाइनल प्रवेश गरेको हो ।
दोस्रो खेलमा भक्तपुर विजयी भएको छ । रसुवालाई ६–० गोल अन्तरले हराउदैं भक्तपुर क्वाटरफाइनल प्रवेश गरेको हो ।
भोली बुधबार दुईवटा खेल हुनेछन् । पहिलो खेल धादिङ र काभ्रेपलान्चोकबीच हुनेछ । दोस्रो खेल सिन्धुली र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताइन् । खेल नकआउट चरणमा खेलाइएको छ ।
ब्याटमिन्टन खेलमा चितवन र धादिङ प्रथम
हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा पुरुष तर्फ चितवन प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अंकले हराउदैं चितवन प्रथम भएको हो । दोस्रो स्थानमा ललितपुर, तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेको खेल संयोजक दीपक थापाले बताए ।
महिला तर्फभने धादिङ प्रथम भएको छ । फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–२ अंकले पराजित गर्दै प्रथम भएको हो । त्यस्तै, दोस्रो स्थान सिन्धुपाल्चोक, तेस्रो स्थान ललितपुर र नुवाकोट भएको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्टले बताए । ब्याटमिन्टन टिम इभेन्टको आधारमा खेलाइएको थियो ।
प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मन्त्रालयका सचिव, परिषद्का सदस्य सचिवलगायतले मेडल, प्रमाण र नगद सहित पुरस्कृत गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः तीस हजार, चौबिस हजार र अठार हजार प्राप्त गरेका छन्।
महिला क्रिकेटमा काठमाडौं विजयी
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ काठमाडौं विजेता भएको छ । चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट गुमाएर २० ओभरमा १६२ रन बनाएको थियो । काठमाडौंको तर्फबाट कन्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३ रन बनाइन् ।
चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएका थियो । भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले विजेता र उप विजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरेका थिए ।
पुरुष तर्फको खेल भने भोली बुधबार हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबीच हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।
मकवानपुर/भारतीय बजारमा थोत्रा भएका ट्रकहरु नेपाली बजारमा चलाउने गरेको भन्दै त्यस्ता थोत्रा ट्रकको डम्पिङ हटाउन माग गर्दै ट्रक व्यवसायीहरुले बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई ७ दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । आज मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले ५ बुदे माग राखेको छ ।
इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएकोले ७ दिनभित्र मूल्य समायोजन गर्न महासंघले माग गरेको छ । तोकिएको समयमा माग पुरा नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी महासंघले दिइएको छ । वैज्ञानिक प्रणालीका आधारमा भाडावृद्धि गर्न सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरे अनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको हो ।
महासंघका अनुसार भाडा वृद्धि गनुपर्ने, भारतीय र चिनियाँ सवारी साधन रोक्नु पर्ने, भारतमा इन्धन तस्करी रोक्नुपर्ने, ट्रकको पार्किङस्थल बनाउनु पर्ने लगायतको माग गरिएको छ । इन्धनको मूल्य १ सय ४ रुपैयाँ हुँदा बढेको भाडा इन्धनको मूल्य १ सय ३३ रुपैयाँ पुग्दा पनि नबढ्दा यातायात सञ्चालनमै समस्या परेको,मुलुकलाई चाहिने भन्दा बढी ट्रक हुँदाहुँदै पनि भारतीय गाडीहरु निर्वाध आइरहेको र कानुनले तोकेभन्दा बढी भारवहन गरिरहेको, नेपाली ट्रक भारतमा ५ किलोमिटर परसम्म जाँदा पनि प्रवेशका लागि दुतावासको सिफारिस लगायतको झण्झट रहेको, तातोपानी नाका हुँदै ठूला कन्टेनर नेपाल प्रवेश गर्दा त्यसक्षेत्रका नेपाली कन्टेनर व्यवसायी मारमा परेको जस्ता समस्याहरु दर्शाइएको छ ।
यसैगरी भारतीय सीमा क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको आरोप लगाउँदै यसको नियमन गर्न माग गरिएको छ । यसैगरी मुख्य राजमार्गमा पार्किङ स्थल नबनेकाले दुर्घटना बढेको औल्याउँदै ५० किलोमिटरको दूरीमा पार्किङ वे व्यवस्था गर्न माग गरिएको छ ।