- सुशीला शर्मा
हाम्रा ग्रामीण भेगमा बालबालिका परिवारका सक्रिय हिस्सेदार हुने गर्छन् । अभिभावकलाई खेतीपाती, भात–भान्सालगायतका काममा सघाउँदै आएका छन् । आफ्नो परिवारको काम गर्नु र अर्काकोमा गर्नुमा फरक छ । गरिबीले गाँजेका धेरै परिवारका बालबालिका अर्काका घरमा घरेलु कामदारका रूपमा छन् । कतिपय बालबालिका सर्कस तथा इँटाभट्टामा काम गर्छन् । कतिपय खोला किनारमा गिट्टी कुटिरहेका वा बालुवा चालिरहेका भेटिन्छन् । खेल्ने–कुद्ने उमेरमा श्रममा लगाउँदा बालबालिकाको बौद्धिक, शारीरिक र भावनात्मक विकासमा असर परिरहेको हुन्छ ।
एक थरी वर्ग संरक्षणका नाममा हरेक क्षण आफ्ना सन्तान वरिपरि नै भइरहून् भन्ने ठान्छन् र अति आवश्यक दैनिक कार्यसमेत छोराछोरीलाई गराउँदैनन् वा सिकाउँदैनन् । ती काम नोकरचाकरमार्फत गराइन्छन् । अर्का थरी अभिभावक आफू मरिमेटेर छोराछोरीलाई विद्यालय पठाउने गर्छन् र पढेर छोराछारीले
आफ्नो दुःख छिट्टै हटाइदिन्छन् भन्ने आशा राख्छन् । आफ्नो सपना छोराछोरीमार्फत पूरा भइरहेको छ भनेर रमाउँछन् । अभिभावकले आफ्नो सम्पूर्ण आशा बालबालिकामाथि थुपार्नु उनीहरूलाई दबाब दिनु हो । प्रत्येक व्यक्तिको क्षमता फरकफरक हुन्छ भन्ने बुझ्न अभिभावकले सकिरहेका छैनन् । यस्तो व्यवहारले बालबालिकाबाट बालापन खोसिँदै छ ।
अर्को वर्ग छ, जसको जीवनको उद्देश्य नै दैनिक ज्यालामजदुरीबाट सामल जुटाउने अनि खाने–पिउने हुन्छ । उनीहरूको धेरै ठूलो सपना छैन । सन्तान लड्दैपड्दै हुर्किरहेका हुन्छन् । त्यही समाजभित्रका कतिपय तेज बालबालिकाले संघर्ष गर्दै जीवन रूपान्तरण पनि गरेका छन् । कोही अभिभावक अझैं सर्वहारा जीवनमै रमाइरहेका हुन पनि सक्छन् । यसरी बालबालिकाको हुर्काइ भिन्न भए पनि उमेरअनुसार हुर्कन पाउने उनीहरूको अधिकारलाई भने चासो दिइएको पाइँदैन । जुनै वर्गको भए पनि बालबालिका आखिर बालबालिका नै त हुन् !
बाल मजदुरी बालअधिकारका धाराहरूले स्विकार्दैनन् । तर निम्न वर्गीय बालबालिकालाई आफ्ना अभिभावकसँगै काम गर्नुपर्ने बाध्यता छ । अनि यस्ता श्रमिक बालबालिकामा पढ्नुपर्छ भन्ने चेत पनि विकसित हुन कठिन हुन्छ । पढ्नै पाए पनि उनीहरूले यसलाई निरन्तरता दिन सक्ने वातावरण परिवारमा हुन्न । कतिपय बालबालिका पढ्न विद्यालय पनि जान्छन् र बाँकी समय मजदुरी पनि गर्छन् । यस्तो अथक मिहिनेत गरे पनि उनीहरू पढाइमा धेरै लामो समय टिक्न सक्दैनन् । कुनै न कुनै बेला विद्यालय छुटिहाल्छ । उनीहरूले सुन्दर भविष्यको कल्पना पनि गर्न सक्दैनन् ।
नेपालमा बाल श्रममा निर्भर परिवार निकै छन् । लालनपालन गर्न नसकेपछि उनीहरूलाई श्रममा लगाउन बाध्य छन अभिभावकहरू । यसले बालबालिकाको मनोविज्ञान र स्वास्थ्यमा निकै असर पुर्याइरहेको छ । बालबालिकाले काम गर्ने स्थान पनि सुरक्षित हुँदैनन् । समाजमा असमान पुँजी वितरणका कारण गरिब परिवार झन् गरिब, धनी झन् धनी भइरहेका छन् । यसको मार निम्न आय भएका परिवारका बालबालिकामा पनि परिरहेको छ । पढ्ने उमेरमा श्रममा खटिँदा भविष्य अन्धकार भइरहेको छ ।
बालबालिका हुर्कंदै गर्दाको समय संवेदनशील हुने गर्छ । यस्तो बेला परिवारले निकै हेरचाह गर्नुपर्ने हुन्छ । परिवार, समाज र राज्यको सकारात्मक भूमिका रहे बालबालिकामाथि भइरहेको अन्याय र शोषण कम गर्न सकिन्छ । बालापनको सुरक्षा र विकास कसरी गर्ने भन्ने प्रश्न दिनदिनै जटिल बन्दै गइरहेको बेला यो विषयमा सबैभन्दा पहिले अभिभावक सचेत हुनुपर्छ । बालबालिकाको सुरक्षा परिवारभित्रै हुने हो । अभिभावकले बालबालिकालाई अतिरिक्त आर्थिक भार थोपर्नु हुन्न । बाल अधिकारका बारे पनि उनीहरू जानकार हुनुपर्छ । कतिले त बाध्यतावश बालबालिकालाई श्रममा धकेलिदिएका हुन सक्छन् । यस्तो परिवारको पहिचान गरी तिनको आर्थिक अवस्था कसरी उकास्ने भन्नेमा राज्यले ध्यान दिनु जरुरी छ । यस क्षेत्रमा राज्यको बलियो पहलकदमी आवश्यक छ ।
कुनै तनाव–झन्झटबिना पढेर, खेलेर समय बिताउनुपर्ने बालबालिकाले खानकै लागि श्रम गर्नुपर्ने वातावरणको अन्त्य हुनुपर्छ । प्रत्येक अभिभावकले बालबालिकाको अधिकारबारे सोच्नुपर्छ, उनीहरूको बालापन बचाउने उपाय खोज्नुपर्छ । बालबालिकाको प्रतिभा पहिचान गरी निखार्ने अवसर विद्यालयले दिलाउनुपर्छ । कानुनले बाल श्रम रोके पनि, व्यवहारमा रोकिएको छैन । यसलाई रोक्न अभिभावक, विद्यालय तथा राज्यले पनि विशेष पहल गर्नुपर्छ । इकान्तिपुरबाट
मकवानपुर । बारा जिल्लामा भएको पाँचौं नकआउट भलिबल प्रतियोगिताको उपाधि केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान मकवानपुरले जितेको छ । बुधबार बारा जिल्लाको कोहल्वीमा सम्पन्न फाइनल खेलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
बाराको कोहल्वीस्थित जनजागृति महिला तथा पुरुष उत्थान केन्द्रको आयोजना तथा कोहल्वी नगरपालिकाको आर्थिक सहयोगमा भलिबल प्रतियोगिताको भएको हो । फाइनल खेलको पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा २८–२६ को प्रतिस्पर्धात्मक नजिता निकालेको थियो । तेस्रो सेट २५–१९ ले जित्दै २–१ ले खेल आफ्नो पक्षमा पारे पनि चौथो सेट प्रतिस्पर्धात्मक २६–२८ ले हार्न पुग्यो । २–२ को बराबरीमा पुगेपछि अन्तिम सेट प्रतिष्ठानले १५–९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको प्रतिष्ठानका महासचिव वसन्त कुमार सिटौलाले जानकारी दिए ।
उपाधिसँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले एक लाख रुपैयाँ नगद हात पारेको छ भने दोस्रो हुने समाज सेवा युवा क्लबले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा प्रतिष्ठानका अशोक श्रेष्ठ उत्कृष्ट खेलाडी, विवश आले उत्कृष्ट सेटर घोषित हुँदा समाज सेवा युवा क्लबका सुरेन्द्र गुराउ उत्कृष्ट स्पाइकर घोषित भए ।
प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । कमल विडारी प्रतिष्ठानको टिम व्यवस्थापक रहेकोमा फाइनल खेलमा टिमलाई हौसला प्रदान गर्न प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुसराज, महासचिव बसन्त सिटौला र कोषाध्यक्ष छवि सुवेदी पनि कोहल्वी पुगेका थिए ।
यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीद्वारा बिद्यालमा तोडफोड,पीडितलाई सुरक्षा चुनौती
Tags: No Comments
मकवानपुर/ पुर्वीमकवानपुर एउटा बिद्यालयमा बिद्यार्थीहरूले तोडफोड गरेर क्षति पुर्याएका छन् ।
आफूहरूमाथि शिक्षकहरूले यौन दुर्व्यवहार गरेको भन्दै मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर ८ मा रहेको जनता माविका बिद्यार्थीहरू तोडफोडमा उत्रेका हुन् । घटना सार्बजनिक भएपछि आफूहरूमाथी सुरक्षा चुनौती भएको पीडितहरूले बताएका छन् ।
जनता माबिका शिक्षकहरू रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले फापरबारी-३ का छात्राहरूलाई लामो समयदेखि लगातार यौन दुर्व्यवहार गरेको भन्दै बिद्यालय प्रशासनसमक्ष निवेदन दिएका थिए । निवेदनपछि बिद्यालय प्रशासनले राखेको छलफलमा आफूहरूलाई चित्त नबुझेपछि तोडफोड गरेको छात्राहरूले बताएका छन् ।
बिद्यालयका ३ जना शिक्षकले कक्षाकोठामा रहँदा गलत नियतले संबेदनसिल अंगहरूमा छुने, अपशब्द बोल्ने गरेको बिरुद्व कक्षा ९, १० र ११ मा अध्ययनरत छात्राहरूको आरोप छ । सरहरूको कक्षामा बेन्चको छेउमा समेत बस्न डरमर्दो हुने गरेको छात्राहरूको भनाई छ।
अफूहरूलाई शिक्षकहरू व्यवहार असह्य भएपछि छात्राहरूले १४ चैतमा शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकविरुद्ध विद्यालयमा निवेदन दिएका थिए।
निवेदनपछि छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो। बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका प्रधानाध्यापक बसन्त राईले जानकारी दिए।
तोडफोड पछि विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार शिक्षकहरू बिदामा रहेकाले पक्राउ गर्न सकिएको छैन । यसबारे जिल्ला प्रहरी कार्यालय मकवानपुर सहीत जिल्लाका अधिकारकर्मी संघसंस्थामा उजुरी प्राप्त भएको बताईएको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए।
तोडफोडबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रध्यानाध्यापक राईले बताए । आफूहरूलाई नियमितरूपमा दुर्व्यवहार भएपछि आन्दोलनमा उत्रेर बिद्रोह गर्नु परेको विद्यार्थीहरूले बताएका छन् । घटनाबारे आज कार्यालयमा जानकारी प्राप्त भएको र यसबारे अनुसन्धान भइरहेको सिविन बाल हेल्पलाईन मकवानपुरले जनाएको छ । घटनाबारे मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सन्जालले पनि आफ्नो ध्यानाकर्षण भएको र घटनाबारे भोलि स्थलगत रूपमा अनुसन्धानको काम सुरू गर्ने बताएको छ ।
स्थानीय शिक्षक र स्थानीय विद्यार्थी भएकोले पनि उजुरीपछि उनीहरूले सुरक्षित रहन डर भएको बताए । “हामीलाई समर्थन गर्दै दुर्व्यवहार विरुद्धमा आवाज उठाउने अरू साथीहरू र सरहरूलाई पनि गाउँमा बस्न डरमर्दो भो” एक छात्राले भनिन् “हामीले गलत कदमलाई गलत भनेका हौ, ति सरहरूलाई कारवाही होस् ।”
जनता माबि हेटौंडाबाट ६५ किमी पुर्वमा पर्दछ ।
मकवानपुर । बिकासको पुर्वाधार अन्तरगत अनिवार्य मानिने विद्युतीय सेवाको धेरै अपेक्षा गरे उनीहरूले । उनीहरू अर्थात मकवानपुर जिल्लाको बिकट राक्सिराङ्ग गाउँपालिका, यसै पालिकाको बिकट वडा ९ का चेपाङहरूले ।
राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक बत्ती पुगेको छ तर विद्युतीय लाइन हैन । अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा मुख्य लाइन अझै जडान हुन नसक्दा पेल्ट्रिक सेटमार्फत बिजुली पुर्याइएकाे हाे ।
बिजुली नभएकोले त्यहाँका चेपाङहरु सल्लाको दियालो बालेर घरलाई उज्यालो पार्ने गर्थे । गाउँमा बत्ती बाल्न पेन्ट्रिक सेट उद्घाटन भएसँगै त्यहाँका चेपाङको घरको अध्यारो हटेको छ । सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेन्ट्रिक सेट उक्त स्थानमा सञ्चालनमा ल्याईएको छ । ४ किलोवाट क्षमताको पेन्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय चेपाङ हर्षित भएका छन् ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत प्राधिकरणमार्फत बिजुली बत्ती पुगेको छैन । गाउँपालिकाको केहि स्थानमा यस्तै पेन्ट्रिक सेट सञ्चालन गरेर बत्ती बालिएको छ भने कतिपय स्थानका चेपाङ समुदाय अझैपनि अध्यारोमा नै बस्न बाध्य छन् । अध्यक्ष मल्लले गाउँपालिका भरिमा करिव २० वटा पेन्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार सो पेन्ट्रिक सेटबाट केहि वडाका घरधुरीलाई बत्ती पुगेको भएपनि अझै केहि वडा अध्यरोमा नै बस्न बाध्य छन् ।
कुल २३ लाखमा जडान भई सञ्चालनमा आएको पेन्ट्रिक सेटको लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने गाउँपालिकाले ६ लाख रुपैयाँ खर्चिएको छ । बाँकी ४ लाख रुपैयाँ बराबरको स्थानीय बासिन्दाले श्रमदान गरे । २०७७ सालको पुसबाट सुरु भएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएर सञ्चालनमा आएको सञ्जालका कार्यकारी निर्देशक प्रविन्द्र शाक्यले जानकारी दिए ।
राक्सिराङ-९ का वडाध्यक्ष रामकुमार बाल्पा थिङकाे अध्यक्षतामा भएकाे पेल्ट्रिक सेट उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, नेपाली कांग्रेस राक्सिराङ सभापति विरेन्द्र जिम्बा, मानव अधिकार सञ्जाल मकवानपुरकी माया लामा, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयाेजक कुमारी वाइबालगायतकाकाे आतिथ्यता रहेकाे थियाे ।
गाउँमा बत्ति पुगेपछि आफूहरूको दैनिकीमा सहजता आउने भन्दै चेपाङहरूले खुसी ब्यक्त गरेको गाउंपालिका अध्यक्ष मल्लले बताए ।