मकवानपुर । पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नवीन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपमा एकल अग्रता कायम गरेका छन् । पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन ।
नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर समुहका खेलाडीहरुको सहभागीता रहेको च्याम्पियनशीपको दोश्रो दिन आईतबार तेश्रो, चौथो तथा पाचौं चरणका खेल खेल सम्पन्न भए । शतप्रतिशत नतिजा निकालेका तण्डुकारले तेश्रो चरणमा भक्तपुरका बलराम नापीत तथा चौथो चरणमा रुपन्देहीका विजय गुरुङलाई पराजीत गरे । पाचौं चरणको समाप्तिमा तण्डुकार ५ अंकका साथ शिर्षस्थानमा रहेका छन् ।
दुई खेलमा बराबरीमा रोकिए पश्चात पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् । पाचौं चरणमा काठमाडौका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराउन सफल भएका बद्रीलाल तेश्रो चरणमा कास्कीका रामबहादुर क्षत्रीसँग तथा चौथो चरणमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँग अंक बाड्न पुगे । पाचौं चरण पश्चात बद्रीलाल तथा विजय गुरुङको समान चारचार अंक भएको छ । विजयले तेश्रो चरणको खेलमा काठमाडौका जर्नादन श्रेष्ठ तथा पाचौं चरणमा बाँकेका तीर्थ बहादुर विकलाई हराए ।
फिडेमास्टर विलमलाल श्रेष्ठ, पुण्यमान कर्माचार्य, राजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल, जर्नादन श्रेष्ठ, रामबहादुर क्षत्री तथा भरत धिमालले समान ३ दशमलब ५ अंक बनाएका छन् । त्यसैगरी तिर्थबहादुर विक, बलराम नापित, लवकुमार श्रेष्ठ तथा सिताराम अग्रवाल समान तीनतीन अंकमा रहेका छन् ।
स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी च्याम्पियनशीप अन्र्तगत सोमबार छैटौं तथा सातौं चरणका खेल सञ्चालन गरिनेछ । सोमबार बिहान आठ बजे शुरु हुने छैठौं चरणको पहिलो बोर्डमा नविन तण्डुकार र बद्रीलाल नेपालीको भिडन्त हुनेछ । त्यसैगरी दोश्रो बोर्डमा च्याम्पियनशीपका शिर्ष खेलाडी विलमलाले विजय गुरुङसँग प्रतिष्पर्धा गर्नेछन् ।
मकवानपुर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कुल ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छापिएको जनाएको छ ।
प्रतिनिधिसभा तर्फ प्रत्यक्ष निर्वाचनका लागि १ करोड ९८ लाख ७१ हजार थान र प्रदेश सभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान मतपत्र छापिएको आयोगले जनाएको छ । यसैगरी, प्रतिनिधिसभा समानुपातिक निर्वाचनको लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभा समानुपातिकका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ भएको हो ।
निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कायम भएका छन् । जसमा पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ तथा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ कायम भएका छन् । अन्य मतदाता १ सय ८५ जना छन् ।
आयोगले निर्वाचनका लागि स्थायी मतदानस्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरेको आयोगका सहायक प्रवक्ता ऋषीराम भुषालले जानकारी दिए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट अस्थायी मतदानस्थल १ सय ५४ सिफारिस भएर आएको तर आयोगबाट स्वीकृत भने भइसकेको छैन ।
मकवानपुर । काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले ५ हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।
रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।
काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भए । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुईदुई अंकका साथ अग्रता लिन सफल भए ।
च्याम्पियनशीपका शिर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे । त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जीत हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए ।
रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथी जीत दर्ज गरे । दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् । पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनशीपको व्यवस्थापन स्पोर्टस एण्ड ईभेन्टस नेपालले गरेको छ ।
गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ । नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडी हरुलाई मध्येनजर गर्दै नेशनल सिनियर (भेट्रान्स) च्याम्पियनशीपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामा मार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्ड समेत प्रयोगमा ल्याएको छ ।
सातै प्रदेशका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पिनशीपको कुल पुरस्कार राशी १ लाख ७४ हजार रुपैंया रहेको छ । स्विस लिग अनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । शनिबार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्र्तगत प्रायोजन गरिएको यस च्याम्पियनशीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । च्याम्पियनशीप अन्तरगत आईतबार तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ ।
मोरङ (बिराटचोक) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका छन् । शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा १२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नारा लगाएका थिए ।
रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन् ‘धेरै पटक अरूलाई हेर्यौं अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नुहुँदो रहेछ भनेर समर्थन गरेको हो । हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हेरौँ भनेर हो ।’
चौधरीले महिला प्रतिनिधि आउँदा आफ्नो समस्या गुनासो सुनाउन समेत सहज हुने जिकिर गर्दै भनिन् ‘पुरुष प्रतिनिधि आउँदा के भन्ने के बोल्ने भन्ने हुन्थ्यो । महिला नै प्रतिनिधि हुँदा समस्या सुनाउन समेत सहज हुने रहेछ ।’ मोरङ ३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कङ्ग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यश क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा चिन्ताजनक अवस्थामा रहे पनि थापालाई महिला तथा युवाहरूले बलियो साथ दिएका छन् ।
यस अघि शुक्रवार समेत घरदैलोका क्रममा थापालाई पथरीशनिश्चरेका स्थानीय महिलाहरूले फुल माला र अबिरसहित उत्साहजनक ठंगले स्वागत गरेका थिए । त्यस्तै बेलबारी, कानेपोखरी र पथरीका सुकुम्वासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए । जस कारण पनि थापाको उपस्थिति कङ्ग्रेस र एमालेको लागि चिन्ताजनक बन्दै गएको छ ।