मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा चुनावी अभियान चलिरहदा आफ्नो प्रतिस्पर्धी दल तथा उम्मेदवारलाई गाली गलौच गर्ने क्रम समेत देखिएको छ । अर्को दलका शिर्ष नेतालाई उछितो काढने र आफ्नो को गुणगान गाउनमै समय खर्चिदैछन उम्मेदवारहरु । निर्वाचनको मर्म र आ आफ्नो मुल मुद्दा जनतालाई बुझाउन सकेको देखिदैन ।
मकवानपुर जिल्लाको सन्दर्भमा समेत उम्मेदवारहरु मुल मुद्दामा भन्दा सतही रुपमा घरदैलो तथा सभा गर्दैछन । भातृ संघ संगठनले गरेको अन्तरक्रियामा समेत उम्मेदवारको भाषणमा समेत मुल बिषयले प्रवेश पाउदैन । मकवानपुरको हेटौंडामा भएको गठबन्धन दलको नगरस्तरीय युवा भेलामा प्रतिनिधि सभा २ का उम्मेदवार बिरोध खतिवडाले एमाले अध्यक्ष केपी ओलीलाई दासहरुको झुण्ड थुपारेको आरोप लगाए । सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य खतिवडाले एमाले अध्यक्ष ओलीसंग दासहरु मात्र रहेको छ, चुनावको नतिजापछि कोही नहुने दावी गरेका छन ।
युवा भेलामा उनले यो चुनावमा एमाले पत्तासाफ हुने बताए । ‘२ तिहाईको सरकार ढल्यो । पार्टी फुट्यो । स्थानीय निर्वाचनमा लज्जास्पद हार हुँदा पनि अझै एमाले अध्यक्षको चेत खुलेको छैन’, उनले भने, ‘ओली कम्युनिस्टको नाममा कलंक भएर निस्किए ।’ एमालेले देशद्रोही, विखण्डनकारी, दमनकारी र मन्डलेसंग एकता गरेको आरोप लगाउँदै उनले यसबाटै एमालेको नीति र विचार प्रष्ट भएको बताए ।
गठबन्धनको माहौल देखेर विरोधीहरु अत्तालिएको उनको आरोप थियो । चुनावको समयमा हुनसक्ने चलखेलको बिषयमा सतर्क रहन र मतदातालाई बुझाउन खतिवडाले युवाहरुलाई अनुरोध समेत गरे । ‘गठबन्धनको उद्देश्य सहित आफ्ना नेताहरुको पहलमा भएका राम्रा कामहरुको बिषयमा समेत जनतालाई बुझाउने कार्यमा लाग्न युवाहरुलाई अनुरोध गर्दछु’, उनले भने । गठबन्धनले हारे मुलुकमा फेरि प्रतिगमनको खतरा हुने उनको भनाई थियो ।

चुुनाव जितेपछि पनि जनतासंगै हुनेछु : डिना
सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता जनाएकी छिन् ।
मतदाताकोमा पुग्ने क्रममा धेरैले यसअघि जितेर गएका नेताहरु गाउँ नफर्केको गुनासो गरेको भन्दै उनले जनताको समस्या र गुनासो सुन्न कम्तिमा महिनामा एक पटक गाउँगाउँ जाने प्रतिबद्धता जनाएकी हुन् ।
लोकतान्त्रिक–बाम गठबन्धनको हेटौंडा उपमहानगरस्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘म सांसद् बन्नका लागि मात्रै तपाईंहरुको माझ आएको होइन, समानुपातिकको सहज बाटोबाटै सांसद् बन्न सक्थें । जनताको सुखदुःखमा साथै रहन्छु, यहाँका युवामाझ रहेर काम गर्छु भनेर आएको हुँ ।’ पटक पटक मन्त्री र माननीय भएकाहरु पनि अहिले आफूसंगको प्रतिस्पर्धामा रहेको भन्दै डिनाले उनीहरुले मकवानपुरको विकासमा के गरे त्यो खोज्न अनुरोध गरिन् ।
‘चुनावमा मत नपुगेपनि हामी निरन्तर मकवानपुरको विकास र यहाँका जनताको सुखदुःखमा साथै छौं’, उनले भनिन्, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् त्यसपछिको ५ बर्ष हेर्नुहोस् ।’ मतदातालाई सचेत गराउने र जनतालाई सही तरिकाले गठबन्धनको पक्षमा भोट हाल्न लगाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने उनकोे भनाई थियो ।
आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता डिनाले जनाइन् । बजारको समस्या समाधान, कलकारखाना स्थापना, रोजगारीको सृजना गर्ने डिनाले योजना सुनाइन् । गर्व गर्न लायक प्रदेश राजधानी बनाउने उनको भनाई थियो ।

बोलेको कुरा पूरा नभए अर्को पटक आउँदैनौं : पराजुली
लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले ‘हामी जे बोल्छौं, त्यो पूरा गर्छौं, गर्न नसक्ने काम बोल्दैनौं भनेका छन् । युवा भेलामा उनले भने, ‘तपाईंहरुको काम गर्न, सेवा गर्न आएका हौं । बोलेको कुरा पूरा गर्न सकेनौं भने अर्को पटक हात जोडेर आउँदैनौं । हामी काममा विश्वास गर्छौं ।’
एमालेले जनमतको अपमान गरेकाेले अहिले उसँग कुनै एजेण्डा नै नभएको आरोप समेत पराजुलीले लगाएका छन् ।एजेण्डाविहीन एमालेले अहिले गठबन्धन भत्काउन अनेक षड्यन्त्र गरिहेको बताए । युवा भेलामा उनले मकवानपुरको क्षेत्र नम्बर १ का एमालेका नेता कार्यकर्ता समेत गठबन्धनलाई मतदान गर्न तयार रहेको दावी गरे ।
‘एमालेका असली नेता कार्यकर्ताहरु अहिले पीडामा छन् । एमालेमा बर्षौं काम गरेका नेताहरुलाई पाखा लगाएर व्यवस्था विरोधीलाई टिकट दिएको छ’, पराजुलीले भने, ‘हामी साझा उम्मेदवार हौं, साझा भएरै काम गर्नेछौं । एमालेको पनि काम गर्छौं ।’ निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक भोट माग्नै नआउने उनको भनाई थियो ।
पछिल्लो समय आर्थिक प्रलोभन देखाउँदै केही उम्मेदवार गाउँ डुलिरहेको जानकारीमा आएको भन्दै उनले अहिले पैसा बाँड्नेले पछि भ्रष्टाचार गर्ने भएकोले सतर्क रहन अनुरोध गरे । जागरुक युवाहरुले अब परिवर्तनको पक्षमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने र मतदान गर्न लगाउनुपर्ने उनले सुझाव दिए ।
तरुण दलका नेता सुशील सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली पाख्रीन, कांग्रेस मकवानपुर सचिव ईश्वर पाठक, युवा संघ केन्द्रीय सचिवालय सदस्य कविन पन्त, वाइसीएल जिल्ला अध्यक्ष लवराज ठकुरी, युवा संघ नगर इन्चार्ज सफल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले मर्यादित महिनावारी बारे अभियान सुरू गर्ने भएको छ ।
महिलाको सबै प्रकारको अधिकार सम्बोधनको लागि सबैभन्दा पहिले मर्यादित महिनावारी सवालमा ध्यान पुग्नुपर्ने भएकोले मकवानपुरमा यो अभियानको जरुरत रहेको केन्द्र अध्यक्ष सुलोचना स्याङ्तानले बताइन् ।
ग्रामीण महिला सेवा केन्द्रले दौँतरी शिक्षा अन्तरगत यसबारे शिक्षा प्रदान गर्ने तयारी गरिएको होव्ल । किशोरी, युवा सन्जालले सडक नाटक, हाजिरी जवाफ जस्ता अतितिक्त क्रियाकलापबाट अभियानको रूपमा काम गरिने कार्यक्रम संयोजक दिपक न्यौपाने ।
मर्यादित महिनावारीको अवस्थाबारे बुझाई नेतृत्वमा समेत सही बुझाई नभएकोले समस्या भएको अभियन्ता राधा पौडेलले बताइन् । महिनावारी बिभेदले सिर्जना गर्ने शक्ति असन्तुलनले महिला हिंसाको सवाललाई अझै बढवा दिएको पौडेलले बताइन् ।
“बाल विवाह रोकथाम, महिला हिंसा न्यूनीकरणको लागि विभिन्न कार्यहरू गरिदै आएको छ,तर यसको लागि सबैभन्दा पहिले घरलाई नै मर्यादित बनाइनुपर्नेमा यो नै बांकी छ” पौडेलले भनिन् ।
ग्रामीण महिला सेवा केन्द्रले मकवानपुरमा प्लान नेपालको साझेदारीमा विभिन्न सचेतनामुलक काम गर्दै आएको छ । आगामी दिनमा मर्यादित महिनावारीको सवालमा काम गर्नकोलागी अभियान सुरू गर्ने तयारी भएको अध्यक्ष स्याङ्तानले बताइन् ।
यसको पुर्वतयारी स्वरूप केन्द्रले अभियन्ता राधा पौडेल र राधा फाउन्डेसनको सहकार्यमा कार्ययोजना बनाउनको लागि छलफलसमेत गरेको छ ।
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ मदतान गर्न पाउनेकाे लागि अस्थायी मतदान केन्द्र ताेकिएकाे छ ।
निर्वाचन आयाेगले अस्थायी मतदाताहरूले मतदान गर्ने गरी ७७ जिल्लाका लागि १ सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको हाे । आयाेगले ताेके अनुसार मकवानपुर जिल्लामा २ वटा अस्थायी मतदान केन्द्र रहेकाे छ । मकवानपुरमा जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा कारागार कार्यालय भीमफेदीलाई अस्थायी मतदान केन्द्र ताेकिएकाे हाे ।
आयाेगले नेपालको संविधान २०७२ मा जारी भए पछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो । मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजायँ पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिहरूले प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ मतदान गर्ने गरी मतदान केन्द्र ताेकिएकाे हाे ।
मतदान प्रक्रियाका लागि अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने उल्लेखित व्यक्तिहरुले प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ मतदान गर्न पाउने आयाेगले जनाएकाे छ । मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी व्यवस्था मिलाइए छ । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरेको छ ।
अस्थायी मतदान केन्द्रको नामावली



मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् ।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन् ‘मंसिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन । यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह पनि हो । यो पटक देशभर युवाहरू परिवर्तनको लागि बिद्रोह गरिरहेका छन् ।’
उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरूलाई विकल्प दिन युवा पुस्ता मैदानमा आउन बाध्य भएको जिकिर गरेकी छन् । उनले भनिन् ‘पार्टी बचाउने नाममा आफ्नो छोरा, नाति, बुहारी खाडी पठाउने, छोराछोरी कहिले फर्किएर आउलान् भनेर बुवा आमा कुरेर बस्ने, अनि छोरो सग्लो आउँछ कि बाकसमा आउँछ थाहा छैन । यस्तो राजनीति कहिलेसम्म गर्ने ? यो पटक युवा जागेका छन् । युवालाई निराश नबनाई दिनुहोस् ।’
थापाले युवा पुस्तालाई जनताले निराश बनाए फेरि पनि देशको अवस्था उस्तै रहने बताएकी छन् । ‘आज पनि हाम्रो देशलाई सतीले सरापेको देश भन्छन् । यस्तो नहोस् कि अब युवाले सरापेको देश बनोस् ।’
उनले साँच्चै नेपाली जनताले विकास चाहने हो भने जुनसुकै पार्टी भएपनी नयाँ अनुहार र युवा जोसलाई नीति बनाउने स्थानमा पुर्याउनुको विकल्प नरहेको बताएकी छन् । आफ्नो पार्टीका नेतृत्वलाई सुधार्न भएपनी जनता परिवर्तनको पक्षमा उभिने विश्व व्यक्त गरेकी छन् ।
मकवानपुर । निर्वाचन आयाेगले बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टिकरण साेधेकाे छ । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेकाे विषयमा आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको हाे ।
आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ । पत्रमा भनिएको छ –निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने व्यवस्था छ ।’
बागमती प्रदेश सरकारले गत असोज ३० मा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो । यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को प्रतिकूल रहेको देखिन्छ । आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्न समेत निर्देशन दिएको छ ।
आयोगले मुख्यमन्त्रीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भई सकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश जारी गर्ने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को (ख) को उल्लंघन भएको देखिएकोले यहाँलाई र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश ल्याउने गरी भएको निर्णयलाई किन बदर गर्नु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।
त्यस्तै प्रमुख सचिवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेशहरू किन ल्याउनु परेको हो ? साथै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश ल्याउने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को खण्ड दफा (५) को (ख) को उल्लंघन भएको देखिएकाले यहाँलाई समेत उक्त निर्णयको लागि जिम्मेवार ठह-याई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? जवाफ पेश गर्न भनिएको छ ।