सत्ता गठबन्धन आबद्ध नौ दलले सरकारमा सहभागी हुने दलको मन्त्रालयको संख्या र मन्त्रीको नाम टुंगाएका छन् । गठबन्धनमा आबद्ध ११ दलमध्ये नौ दल आजै सरकारमा सहभागी हुँदै छन् ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी गरी ९ दलको सहभागिता हुने भएको हो ।
नेकपा एकीकृत माजवादीका उपाध्यक्ष वेदुराम भुषालले सरकारमा ९ दल सहभागी हुने र शुक्रबार (आज) मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । ‘सरकारमा ९ दल सहभागी हुनेगरी मन्त्रालयको टुंगो लागेको छ, मन्त्रीको नामसमेत लगभग तय भइसकेको हुँदा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भुषालले राजधानीसँग भने ।
कांग्रेसले बिहीबार आफूले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्रीको नाम पनि तय गरिसकेको छ । कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति छ ।
कांग्रेस स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का सरकारमा उपप्रधानसहित सहभागी हुँदै छन् । उनकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएको छ ।
कांग्रेसले अर्थ मन्त्रालयमा प्रवक्ता प्रकाशशण महतलाई पठाउने यसअघि नै तय भइसकेको छ । यस्तै, सहरी मन्त्रालयमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बू र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने कांग्रेसको तयारी छ ।
कांग्रेस उपसभापति खड्का र नेता रमेश रिजालको भने मन्त्रालय तय भइसकेको छैन । उनीहरूमध्ये एकले परराष्ट्र र अर्काले रक्षा मन्त्रालय सम्हाल्नेगरी सभापति शेरबहादुर देउवाले जिम्मेवारी’को निर्णय लिनेछन् । कांग्रेसले मन्त्री र मन्त्रालयको नाम तय गर्ने अधिकार सभापतिलाई दिइसकेको छ ।
यसैगरी, माओवादी केन्द्रले गृह मन्त्रालयसहित ५, एकीकृत समाजवादी र जसपाले २/२ मन्त्रालय पाउनेछ । माओवादी केन्द्रबाट हाल सरकारमा रहेका मन्त्री नै कायम रहनेछन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।
यसैगरी, जसपाबाट अशोक राई र राजकिशोर यादव वा प्रदीप यादवमध्ये एक जना मन्त्री हुँदै छन् । जसपाले शिक्षा र कृषि मन्त्रालय पाएको छ । नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय पाएको छ । सो दलबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्दै छिन् । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै छन् । लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ ।
जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ सो दलबाट अब्दुल खान मन्त्री छन् । उनलाई खानेपानी मन्त्रालयबाट उद्योगमा सरुवा गर्ने तयारी छ । सो दलले एक राज्यमन्त्री पनि पाउनेछ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । सो दलबाट महिन्द्रराय यादव मन्त्री बन्दै छन् भने आमजनता पार्टीबाट प्रभु शाह मन्त्री बन्दै छन् ।
भागबन्डामा केही मन्त्रालय हेरफेर हुने भएपछि भौतिकमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ऊर्जा मन्त्री बन्नेछन् । राजधानी दैनिकबाट
मकवानपुर । नाम बुद्धीरानी चेपाङ । उमेर ११४ वर्ष । ठेगाना मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका –७ छगुङ । कटुसले बारीएकाे सानाे कटेराे उनकाे घर ।
आफ्नाे आँगनमा आएपुगेका गाउँपालिका अध्यक्षलाई नियालेर हेरीन् । गाउँपालिका अध्यक्षसँगै आएकाहरुले उहाँ हाम्राे गाउँपालिकाकाे अध्यक्ष राजकुमार मल्ल भनेपछी हात जाेडेर नमस्कार गरिन बुद्धीरानीले । बुद्धरानी आँखा, राम्ररी देख्दीनन् । कान पनि उस्ताे स्पष्ट सुन्न सक्दिनन् । गरिबी र विपन्नता उनकाे अभिश्रप बन्याे । सन्तान नभएपछि सौतेनी नातिनी ज्वाईंको सहारामा बाँचिरहेकी छन् उनी । चेपाङ भाषामा बाहेक अन्य भाषामा कुराकानी गर्न नजान्ने बुद्धरानी ओछ्यानमै थलिएको लामो समय भइसक्यो । आफ्ना सन्तान नभएपछि उनी बिगत १५ वर्षदेखि सौताकी नातिनी ज्वाईं जतनलालको सहारामा जीवन कटाइरहेकी छन् ।
उनको पाखो बारीमा हुने उब्जनीले ३ महिना पनि खान पुग्दैन । बारीको उब्जनीबाट खान नपुग्दा बुद्धरानीका नातिनी ज्वाईं जतनलालले ज्याला मजदुरी गरी कमाएर मुस्किलले सासुआमासहित ९ जनाको परिवार पाल्दै आएका छन् । गरिबी र विपन्नताको चपेटामा झण्डै सवा सताब्दी कटाइसकेकी उनै बुद्धरानी र उनको परिवारलाई भेट्न गाउँपालिका अध्यक्षसहितको टोली समस्या बुझ्न घरमा आइपुगेका थगिए । गाउँपालिकाका अध्यक्ष आउँदै गरेको थाहा पाएर जतनलालले आफ्नी सासुआमालाई कटुसले बारिएको कटेरोबाट उठाएर टिनको छानोयुक्त घरतिर सारे ।
फिजिसिएन डाक्टरसहितको टोलीद्धारा स्वास्थ्य जाँच गरी आवश्यक औषधि र पोषण सामाग्रीसमेत पाएपछि बुद्धरानीका मुजा परेका गालामा खुसीका धर्साहरु देखिए । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ओड्ने कम्मल, फलफूलसहित विभिन्न प्रकारका पोषण सामाग्री हातमा राखिदिँदा बुद्धरानीले खुसीका आँसु झार्दै चेपाङ भाषाबाटै भनिन् ‘मैले यति धेरै कुरा पाएँ अब तिमीलाई म के दिउँ त ?’ जवाफमा मल्लले हास्दै भने–‘तपाईले केही दिनु पर्दैन आमा, आशीर्वाद दिए पुग्छ ।’ चेपाङ र नेपाली भाषाबाट भइरहेको संवादमा दोभाषेको भूमिकामा थिए ७ नम्बर वडाध्यक्ष रामबहादुर प्रजा ।
नागरिकता विहीन उनले सामाजिक सुरक्षा भक्ता पाएकी छैनन् । नागरिकता नभएकै कारण ज्येष्ठ नागरिक भत्तासमेत नपाएकी बुद्धरानीलाई गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अब आफ्नै तलब भत्ताबाट मासिक २ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै तत्काल २ हजार रुपैयाँसमेत हातमा थमाए ।
गाउँमै नागरिकताको टोली ल्याएर बुद्धरानीसहित नागरिकताबिहीनको नागरिकता बनाई भत्ता दिलाइदिने प्रतिवद्धतासमेत जनाए । कटुसको झुप्रोमा राख्ने गरेको थाहा पाएका गाउँपालिका अध्यक्ष मल्लले सासु आमालाई राम्रो स्याहार सुसार र हेरचाह गर्न उनका नातिनी ज्वाईंलाई सम्झाए । नियमित मासिक २ हजार रुपैयाँसहित आवश्यक खाद्यान्न र कपडाहरु नियमित उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए ।
बुद्धरानी जस्तै ज्येष्ठ नागरिकको समस्या सुन्ने र उनीहरुको स्वास्थ्य र पोषणमा ध्यान दिँदै घरमै डाक्टर बोकेर पुग्ने, बिरामी असक्तलाई घरमै स्वास्थ्य तथा अन्य सेवा दिनुका साथै गाउँटोलमै स्थानीय तहले दिने सेवाहरु लिएर जाने अभियान सञ्चालन गरेको राक्सिराङ गाउँपालिकाले आम गाउँबासीबाट स्याबासी पाइरहेको छ । एकीकृत घुम्ती शिविरमार्फत गाउँटोलमै सेवा दिन राक्सिराङ ६ र ७ नम्बर वडामा पुगेको गाउँपालिकाको टोलीले एक दर्जन ज्येष्ठ नागरिकलाई भेटघाट गरी उनीहरुको स्वास्थ्य उपचारसमेत गरेको छ ।
शिविरमार्फत ज्येष्ठ नागरिक भेटघाट, स्वास्थ्य परीक्षण र औषधि वितरण, पोषण सामाग्री वितरण, स्वास्थ्य जाँचसहित कृषि पशुपंक्षीका सेवा प्रदान गरिएको थियो । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँबासीमा सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले गाउँटोलमै पुगी सेवा सञ्चालन गरिरहेको छ ।
एकीकृत शिविरमार्फत घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा प्रदान गरिरहेको छ । राक्सिराङ ७ स्थित जुरेथुममा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरणका साथ स्थानीयलाई तरकारीका बिउ वितरण, पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो ।
खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । बिजुली बत्तीको पहुँच पुगिनसकेको राक्सिराङ ७ का २३ परिवारलाई मंगलबार नै गाउँपालिकाले सोलार प्यानलको सेटसमेत गाउँपालिकाले प्रदान गरेको छ । ६ नम्बर वडामा महिला उद्यमशीलता तालिम सञ्चालन गर्नको लागि गाउँमा नै ६ थान सिलाई मेसिनसमेत पु¥याइएको थियो ।
जुरेथुममा आयोजित स्वास्थ्य शिविरमा गर्भवतीको भिडियो एक्सरे सेवादेखि क्षयरोग परीक्षणको लागि खकारको नमूना संकलनसमेत गरिएको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए । एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो । यसअघि ४ र ९ नम्बर वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा चैत २२ गतेलाई एकीकृत शिविरको कार्यक्रम तय गरेको छ । ३ र ५ नम्बर वडाका नागरिकलाई चैत १८ गते घरघर पुगी सेवा दिने कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
गाउँगाउँमा सिंहदरबार भन्ने भनाइलाई चरितार्थ पार्नकाे लागि पनि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षहरुले स्थानीयवासीहरुकाे समस्यामा मल्हम पट्टी गर्नु उनीहरुकाे दायित्व हाे । स्थानीय गैरसरकारी संस्थाहरुकाे समन्वयमा समेत बेला बेलामा विभिन्न सचेतानामुलक, शैक्षिक कार्यक्रम गर्ने गरिएकाे अध्यक्ष मल्लले बताए ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
चैत १५ गते बुधबार बिहान ४ बजेको समयमा बा २५ प १९०८ नम्बरको मोटरसाइकलले धरान हेटौंडा सडक खण्डको बागमती ८ साततलेमा बकैया ८ खजुरीदमारका ५० वर्षीय दिल बहादुर स्याङ्तानलाई ठक्कर दिदा घाइते भएका थिए । फापरवारीबाट हेटौंडा जादै गरेको उक्त मोटरसाइकलको ठक्करबाट घाइते स्याङ्तानलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय फापरवारीका प्रहरी बरिस्ठ नायब निरीक्षक बिदुरचन्द्र अधिकारीले जानकारी दिए ।
घाइते स्याङ्तानलाई बिहान ६:१० बजे हेटौंडा अस्पताल ल्याउदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल चालक सम्पर्कमा नरहेको तर मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भइरहेको छ ।
मकवानपुर । आपसी विवादले चर्को रूप लिएपछी हात हालाहालको अवस्था आईलाग्यो ।
हातपातमा एकले अर्कोको कान टोकेर चुडालिदिए, घटना प्रहरीमा आईपुग्यो तर,प्रहरीले लिखित रूपमा मिलापत्र गरेर पठायो । यो घटना हो मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिकाको ।
गाउँपालिकाको घटनामा आफू पीडित भएको भन्दै किटानी जाहेरी दिन आएका पीडितलाई प्रहरीले नै धम्क्याएर मिलापत्र गराएको पीडितको गुनासो । मकवानपुर प्रहरीले पछील्ला केही महिनायता जाहेरी दर्ता गराउनुको सट्टा मिलापत्र गराउँदै आएको छ ।
सोर्स, फोर्स र भनसुनका आधारमा अपराधका घटनामा पनि मकवानपुर प्रहरीले जाहेरी लिएर कानून बमोजिम कार्बाही गर्नुको सट्टा लिखित रुपमा मिलापत्र गराउने गरेको हो । बिशेषगरी कुटपिटका घटनामा प्रहरीले ज्यानमार्ने उद्योगमा जाहेरी दर्ता गराउनुको सट्टा लिखीत रुपमा मिलापत्र दवाब वा त्रास देखाएर पिडित पक्षलाई थप पिडा दिनेगरी मिलापत्र गराउनेगरेको हो ।
पछिल्लो घटना मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एक जनामाथि निर्घात कुटपिट गर्दै कानै टोकेर छिानाल्दा समेत मकवानपुर प्रहरीले जाहेरी लिन नमानेको र पिडकलाई मात्रै हैन पीडितलाई समेत कार्बाही हुन्छ भन्दै मिलापत्र गराएको गुनासो छ। जाहेरी लिएर कानून अनुसार कार्बाही गर्नुको सट्टामा लिखीत रुपमानै मिलापत्र गराइएको हो ।
सोमबार बिहान ११ बजे आफ्नै बारेमा मकै छर्न पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् । न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले जानकारी दिइन ।
संगीताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता टेकबहादुर कार्कीले आफुकहाँ जाहेरी लिएर नआएको दावि गरे । कान टोकेर छिनाइएका व्यक्तिले पनि कुटपिट गरेको र दुबै पक्षले जिल्ला प्रहरी कार्यालयमा लिखीत रुपमा मिलापत्र गरेर गएको कार्कीले बताए ।
गम्भिर खालका विषयमा पनि प्रहरीले मिलापत्र गराउने यो पहिलो घटना होइन । विभिन्न समयमा मकवानपुर प्रहरीले कुटपिटका घटनामा पिडितलाई थप पिडा दिनेगरी दवाबमा मिलापत्र गराउने गरेको छ । न्यौपाने र अरु दुइजनाका विषयमा ऐलानी जग्गाको विषयमा झगडा भएको र कुटपिट गरेर कान समेत छिनाइएको हो ।
सामान्य विवाद जसरी ज्यानै मार्ने उद्योगलाई पनि सामासुम पार्न खोजेको लोहनीले गुनासो गरिन ।
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्रले जिल्लाको विभिन्न पालिकाकाे विभिन्न वडाकाे ३९० घरपरिवारमा खाद्य सुरक्षा, लैङ्गिक हिंसा बालविवाह र व्यवहार परिवर्तन सन्चार सम्बन्धी अध्ययन तथ्य सार्वजनिक कार्यक्रममा गरेको छ ।
अध्ययनमा सहभागी मध्ये अझै पनि ३ दशमलव ६ प्रतिशतले खुला ठाउँमा दिशा गर्ने गरेको पाइएको छ । नेपाल खुला दिशा मुक्त घोषणा भैसक्दा पनि अझै सबै सर्वसाधारणहरुको शौचालय पहुँच नभएको यो अध्ययनले देखाएको छ ।
यसैगरी अध्ययनमा सहभागी मध्ये ५ दशमलव ४ खुल्ला स्थानको पानी पिउने गरेका छन् । कृषि क्षेत्रमा संलग्नहरुलाई सबैभन्दा ठूलो समस्या बीउ मलको समयमा उपलब्धता नभएको पाइएको अध्ययनकर्ता दीप न्यौपानेले बताए ।
उनीहरु मध्ये १० प्रतिशतलाई मात्रै बर्षदिनसम्म खान पुग्ने ४५ प्रतिशतलाई ३ महिना मात्रै खान पुग्ने अध्ययनको क्रममा पाइएको न्यौपानेले बताए ।
यसैगरी ४४ प्रतिशत महिलाले घरायसी निर्णय प्रकृयामा आफ्नाे आंशिक सहभागीता हुने गरेकाे र ५६ प्रतिशतले पूर्ण सहभागीता हुने गरेकाे बताए । ३५ प्रतिशत महिला अझै सहकारीको आर्थिक कारोबार गर्नबाट बन्चित देखिएको छ । “सहकारीमा महिलाको पहुँच छ तर अझै धेरै सुधार आवश्यक छ” न्यौपानेले भने ।
७१ प्रतिशत परिवारले मासिक औषत २ हजार रुपैयाँ अल्कोहलमा खर्च गर्ने गरेको अध्ययनमा पाइएको थियो । यसैगरी अध्ययनमा सहभागी मध्ये ६१ प्रतिशत पुरूष, १८ महिला र १० महिला पुरूष दुबैको जग्गा स्वामित्व रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।
सानै समूहमा गरिएको अध्ययनले पनि एक प्रकारको प्रक्षपण पाइएको भन्दै विश्लेषक डाक्टर राजु क्षेत्रीले स्थानीय तथा प्रदेश सरकारले अभिभावकत्व गर्नु पर्ने बताए । परिवारको आर्थिक निर्णय २१ प्रतिशत महिलाको लिने गरेको अध्ययनले देखाएको क्षेत्रीले बताए । समाजमा बालबिबाहको घटना कस्तो छ भन्ने सवालमा ७८ प्रतिशतले बाल विवाह हुने गरेको जवाफ दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले खाद्य सुरक्षा र उत्पादन बजारीकरण प्रभावकारी नहुदा समस्या भएको बताए । तालीम लिने र छोड्ने परम्परा छोडेर तालीम र सिपलाई व्यवसाय र जिविकोपार्जनमा जोड्नु पर्ने घलानाले बताए । स्थानीय तहले यस्ता सवालमा ध्यान दिनुपर्ने घलानले बताए ।
यसै गरी कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जग्गा बांझो राखेको कारण खाद्य असुरक्षा बढेको बताउँदै परिवारको एक सदस्य वैदेशिक रोजगारमा गएपछि गाउँ छोड्ने गलत परिपाटीको कारण पनि समस्या भएको औल्याए ।
गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटाले स्थानीय तहहरूले समन्वयकारी भूमिका निर्वाह गर्दै हिंसा न्यूनीकरण, बालमैत्री स्थानीय शासन दीगो कार्यान्वयन गर्नु पर्ने बताइन् ।
यसैगरी मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा वडा अध्यक्षको नेतृत्वले स्थानीय सबैप्रकारको समस्या समाधन हुने बताए । कार्यक्रम ग्रामिण महिला सेवा केन्द्र अध्यक्ष सुलाेचना स्याङ्ताकाे अध्यक्षतामा भएकाे थियाे । खाद्य सुरक्षा बालबामैत्री स्थानीय तह र हिंसा न्यूनीकरणकाे सवालमा गैसस र सरकारी निकायबाट सहकार्य आवश्यक भएकाे सरकाेवारवालहरुले बताएका थिए ।