मकवानपुर । देशमा मनसुनी वायुको प्रभाव रहेकाेले शनिबार बिहानबाट देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
शनिबार राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएकाे छ ।
भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
मकवानपुर । कवि जुनु घिमिरेको कविता संग्रह “पसिनाको घर ” शुक्रबार सार्वजनिक गरिएको छ । कवि घिमिरेद्वारा रचिएका ४२ वटा कविता समेटिएको संग्रह धनकुटामा शुक्रबार सार्वजनिक गरिएको हो ।
कविता संग्रहलाई प्रमुख अतिथि साहित्यकार, समाजसेवी गर्गाचार्य समुदायिक विश्वभाषा पुस्तकालयका संरक्षक टिकाप्रसाद लामिछाने,बिशेष अतिथि धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक डा यज्ञप्रसाद गुरागाई, कविकी आमा बिमला घिमिरे लगायतबाट सार्वजनिक गरिएको हो ।
बिशेष अतिथि डा.गुरागाईले पसिनाको घरमा जिवन भोगाइका बिषयलाई समेटेकोले कविता संग्रह उत्कृष्ट रहेको बताए ।

जीवनचक्रमा देखेका सुनेका र भोगेका बिषय बस्तुलाई सिर्जना गरेर कविता संग्रह तयार पारिएको कवि घिमिरेले बताइन ।
सल्लेरी साहित्य संगमको आयोजनामा भएको लोकार्पण कार्यक्रमको संयोजन जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा न ७ ले गरेको थियो ।
कार्यक्रममा साहित्यकार भोलानाथ घिमिरे, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, धनकुटा बहुमुखी क्यापसका सहायक क्यापस प्रमुख मानबहादुर भण्डारी, शिक्षासेवी दामोदर दाहाल, जेष्ठनागरिक टिकाप्रसाद घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन देबकला कार्कीले गरेकी थिइन ।
मकवानपुर । कृषि विकास बैंक हेटौंडा शाखाले हेटौंडा अस्पताललाई टेलिभिजन सहयोग गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत टेलिभिजन सहयोग गरेको हो ।
अस्पतालमा आउने बिरामी तथा बिरामीको आफन्तलाई सेवा पुग्नेगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल हेटौडालाई टेलिभिजन हस्तान्तरण गरिएको हो । अस्पतालका अध्यक्ष राजेश प्रशाई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटा, अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईं, लेखा अधिकृत खिमानन्द पौडेल,अस्पतालका नर्सिङ प्रमुखको उपस्थितिमा टेलिभिजन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । झण्डै एक लाख रुपैयाँ पर्ने ६५ इन्चकाे टेलिभिजन प्रदान गरिएकाे हाे ।
कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतम, हेटौडा शाखाका प्रबन्धक तीर्थराज पौडेल तथा बैंकका कर्मचारीहरु समेतको उपस्थितिमा टेलिभिजन हस्तान्तरण गरिएको हो । कृषि विकास बैंकले देशभरको २८५ भन्दाबढी शाखाबाट आधुनिक बैकिङ सुविधा सहित कारोबार गरिरहेकोले बैंकको सेवाबाट लाभ लिन कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटाले बैंकको संस्थागत सामाजिक कार्यक्रम अन्तरगत प्राप्त सहयोगबाट अस्पतालका सेवाग्राही लाभान्वित हुने बताए । यसबाट स्वास्थ्य सम्बन्धी उपयोगी सूचना तथा जानकारी प्रदान गर्नको सहज हुने अपेक्षा गरिएकाे हेटौडा शाखाका प्रबन्धक तीर्थराज पौडेलले बताए ।
मकवानपुर । आगामी आर्थिक वर्षको लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा न ४ ले स्थानीय सरोकारवालाहरुसँग योजनाबारे छलफल गरेको छ ।
आगामी आर्थि वर्ष २०८०।०८१ को लागि स्थानीय आवश्यकताको सम्बोधन गर्दै बजेट तथा कार्यक्रमहरु लागु गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको वडा अध्यक्ष प्रकाश थापाले बताए । स्थानीयहरुले खानेपानीकाे व्यवस्थापन, सडक बाटो तथा तटबन्धनमा बढी योजना मागेका छन् ।
यस्तै कृषिका योजना, शिक्षा, स्वास्थ्यका योजनाहरु पनि स्थानीयले माग गरेको थापाले बताए । स्थानीयको माग बमोजिम कार्यक्रम ल्याउन बजेटको बेवस्था गरिने उनले बताए । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षकाे लागि बजेट सार्वजनिक गरिसकेकाे छैन ।
मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
आज भएको दोस्रो बैठकमा प्रतिपक्षले विरोध गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
प्रदेश सरकारले बजेटलाई समावेशी ढंगबाट वितरण नगरेको, हुदै नभएको वडामा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएकोलगायतको विषयको कारण प्रमुख प्रतिपक्ष एमाले र राप्रपाले बैठक अवरुद्ध गरेका हुन् ।
बागमती सरकारले असार १ गते आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरेपछि १२ दिनपछि आज सुरु भएको छलफलको प्रारम्भमै प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमाले सांसदहरुले उठेर बैठक बहिष्कार गरेका हुन् ।
थपलियाले प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने बताए । बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै उनले यस्तो बेथितीको अन्त्य जरुरी भएको बताए ।
बजेटमा मकवानपुर, काभ्रे, रामेछाप, काठमाडौंमा वडा नै नभएको स्थानमा बजेट विनियोजन भएको छ । यसप्रति उनले सरकारले लज्जाजनक काम गरेको आरोप लगाए । बजेट पुनर्लेखन गरेर समावेशी बनाएरमात्र पास गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।
एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका छन् । यस अघि बसेको बैठक ५ वटा विषयगत समिति बनाएर स्थागित गरिएको थियो । अहिले फेरी साझ ६ बजेसम्मको लागि स्थागित गरिएको हो ।