काठमाडाैं । संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दैछ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएकाे छ ।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठ लगायतबाट प्राप्त विरोधको सूचनालाई निर्णयतार्थ प्रस्तुत गरिने कार्यसूची रहेकाे छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभाका उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समेत कार्यसूची बताइएकाे छ ।
त्यस्तै राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ ।
मकवानपुर । मनसुनी वायुको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ । जसकाे प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेहाे जल तथा माैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको साथै कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा पनि भइरहेको महाशाखाले जानकारी दिएकाे छ । आज असार २९ गते दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरी सम्भावना रहेको छ । शुक्रबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकाे थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएकाे छ । हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेकाे छ।
जुनु घिमिरे
हिजो मेरी आमासँग
सपनाहरू थिएनन्
तर
जीवन थियो
आज मसँग सपनाहरू छन्
तर
भने जस्तो जीवन छैन ।
यस्तो लाग्थ्यो
आमालाई हेर्दा
सपना बेगरका जीवन के जीवन ?
जहाँ पुग्नुको उद्देश्य हुँदैन
उद्देश्य प्राप्ति गर्दाको
खुसी के हो थाहा छैन
फगत आमाको जिन्दगी
चलिरहयो चलिरहयो ।
आज मसँग
धेरै सपनाहरू छन्
उँचाइको भोक लागेको छ
प्राप्तिको प्यासले सताएको छ
त्यसैले जीवनका भोकहरू
अव्यवस्थित छन्
जिन्दगीका तिर्खाहरू
पानी पानी भन्दैछन्
तर मसँग
न पिउने फुर्सद छ
न खाने फुर्सद ।
मात्र मलाई पछ्याउँदै आउँने
जीवनका उद्देश्यहरू छन्
जिन्दगीका सपनाहरू छन्
तिनै सपनाहरूले
मलाई कुदाइ रहन्छन्
म कुदिरहन्छु
थाहा छैन
मेरो जीत कहाँ पुगेर हुन्छ ?
पुग्ने कुनै स्थान तोकिएको छैन
तर म कुदिरहन्छु
जिन्दगीको म्याराथनमा
सफलताको आश बोकेर ।
जब मेरा आँखाले
सपनाहरू खेलाउन थाले
त्यसबेला मेरी आमा
मलाई बिचरा लाग्थ्यो
मेरो हातहरुले योग्यताका
प्रमाणपत्रहरू बटुलेका थिए
आमाको त
प्रमाणपत्र भनुँ वा तक्मा
तिनै खस्रा हातहरू थिए
खडेरीले धाजा पारेका
खेतहरू जस्तै पैताला थिए
अनि
उसिनेर फुटेको
आलु जस्तै आमाका कुर्कुचाहरू ।
दुःख,अभाव,थिचोमिचो आँसु
धेरै थरिका निशानी
देख्थेँ म आमाको जीवनमा
अनि मलाई लाग्थ्यो
के यो पनि जीवन हो ?
म आमाभन्दा
धेरै अगाडिको पुग्न चाहन्थें
र
आज
सपनाहरू भरी कसेर
दौडिरहेछु
तर बिडम्बना
मेरी छोरी मलाई भनिरहन्छिन्
अरे मामु,
यो पनि जिन्दगी हो ?
धनकुटा हाल दुवाकोट भक्तपुर
घिमिरेकाे भर्खरै प्रकाशित पसिनाको घर कविता संग्रहबाट
मकवानपुर । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
आइतबार राती देशभर आंशिक देखि सामान्य रहनेछ। कोशी प्रदेश सहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशााखाले जनाएकाे छ ।
हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियाे । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।
विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।
विद्यालय शिक्षाको लागि सबैभन्दा महत्त्वपूर्ण मानिदै आएको यो परिक्षाको लागि मकवानपुरबाट ६ हजार ३३३ जना विद्यार्थी सहभागी भएका थिए । यसैगरी बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको गरी १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी हुने भएका थिए ।