मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–६ स्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा–१७ का १४ वर्षीय युकेश राई डुबेर बेपत्ता भएका थिए । सुरक्षाकर्मीले स्थानीयकाे सहयोगमा खोजीपछि युकेशलाई डुबेको स्थानमै फेला पारी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । देशैभर आगामी साेमबारसम्म भारी वर्षा हुने भएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार (आज) बाट आउँदो सोमबारसम्म भारी वर्षा हुने जनाएको छ।
महाशाखाले शनिबार बिहान बुलेटिन नै आगामी तीन दिन नै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभाव र यसको न्यूनचापीय रेखा पनि सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वामा सरदरस्थान आसपास रहँदा विभिन्न स्थानमा भारी वर्षा भएको हो।
शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति देशका पहाडी भू-भाग, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो नै कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति कोशी र लुम्बिनी, गण्डकी प्रदेशका पहाडी र तराई भू-भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेश, बागमती, र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबार दिउँसो भने कोशी प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
सोमबार दिउँसो कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोमबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनु हुन विभागले अनुरोध गरेको छ।
मकवानपुर । बागमती प्रदेशमा साउन १ गतेबाट ८ मन्त्रालय कायम भएको छ तर मन्त्री भने १४ जना कायम छन् ।
प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रीहरु कार्य विभाजनसहित हेरफेर गर्नु भएको हो । शुक्रबारको कार्य विभाजन अनुसार प्रदेशमा ८ जना विभागीय र ६ जना विना विभागीय मन्त्री कायम भएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले मन्त्रिपरिषदको कार्य विभाजन गरेका हुन् ।
गत बैशाख २२ गतेको मन्त्री परिषद् बैठकले प्रदेशको मन्त्रालय संख्या ८ मा बनाउने निर्णय गरेको थियो ।
यस्तो छ बागमती मन्त्री परिषद्:
१. इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.मधुसूदन पौडेल – मन्त्री – कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय
३.शिवराज अधिकारी – मन्त्री – आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय
४. कञ्चन चन्द्र वादे – मन्त्री – स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय
५. डा. दिनेशचन्द्र देवकोटा – मन्त्री – भौतिक पूर्वाधार विकास मन्त्रालय
६. प्रभात तमाङ – मन्त्री – आर्थिक मामिला तथा योजना मन्त्रालय
७. कृष्ण कुमार तामाङ – मन्त्री – खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय
८. बिन्दु श्रेष्ठ – मन्त्री – उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय
९. किरण थापा मगर – मन्त्री – बिना विभागीय
१०. उर्मिला नेपाल – मन्त्री – बिना विभागीय
११.भरत बहादुर के.सी. – मन्त्री – बिना विभागीय
१२. सुरेश श्रेष्ठ – मन्त्री – बिना विभागीय
१३. जयराम थापा – मन्त्री – बिना विभागीय
१४. बिनु रायमाझी पौडेल – मन्त्री – बिना विभागीय

मकवानपुर । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले मकवानपुर सहित अधिकांश जिल्लामा वर्षा भइरहेकाे छ । विभिन्न स्थानमा बाढी र पहिरोकाे कारण बाटो अबरुद्ध छ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली भएकाे छ । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका धरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश भूभागमा बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरण बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना समेत रहेकाे छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार मंगलबार राति देशभर साधरण बदली हुनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधान चलाउन रोकियो
लगातारको वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएकोले जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ।
प्रशासनले सोमबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाडौंतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको छ। लगातारको वर्षा र पहिरोका कारण सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, जिल्ला आपत्कालीन केन्द्र १२३४ तथा पायक पर्ने स्थानका प्रहरी कार्यालय र स्थानीय तहमा सम्पर्क गर्न सकिने छ ।
फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल समिकरण पुरा भएकाे हाे । खेल्ने चारै टोलीको टुङ्गो लागेको हो ।
आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका हुन् । यही दुई टोली सेमिफाइनलमा भिड्नेछन् इंग्ल्यान्डले एक गोलले पछि परेपनि त्यसलाई उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको हो । यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
नर्वे र स्विटरल्यान्ड सेमिफाइनलमा पराजित भएपछि विश्वकपमा नयाँ टिम विजेता नबन्ने पक्का भएको हो । त्यसअघि नै दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ ले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । स्पेन सन् २०१० पछि विश्वकपको सेमिफाइनलमा पुगेकाे हाे ।
सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।
अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन असार ३१ गते भिड्ने छन् । यस्तै इंग्ल्यान्ड र अर्जेन्टिना बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार हुनेछ । दुबै खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ । सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।