मकवानपुर । प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयाेजना गिरने राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट गरिएकाे छ । उत्कृष्ट २० कविताका साथै कविहरुकाे समेत नामावली सार्वजनिक गरिएको हाे ।
आश्विन ८ गते प्रकाशित सूचनाबमोजिम प्राप्त कवितामध्ये चितवन, सिरहा, स्याङ्जा, रसुवा, नुवाकोट, दैलेख, भक्तपुर, तनहुँ, काठमाण्डौं, धादिङ, रौतहट, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका १/१, गोरखाका २ र मकवानपुरका ४ कविहरूका कविता छनौट चरणमा परेका प्रदेश युवा परिषद्का कार्यालय प्रमुख शारदा कुमारी मैनालीले जारी गरेकाे सूचनामा उल्लेख छ ।
उत्कृष्ट २० मा पर्न सफल कविहरूबीच असोज २७ गते शनिबार प्रतिस्पर्धा गराइनेछ । रोयल पार्टी प्यालेस हेटौंडा ४ मा हुने प्रतियाेगितामा प्रथम हुने कविले ४० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकाे छ । प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्ने बताइएकाे छ ।
यसैगरी कविता वाचनकाे अवसरमा ‘नयाँ पुस्तामा कविता क्रेज’ विषयक बहस कार्यक्रम गरिने भएकाे छ । यसका साथै कवि विप्लव प्रतीकको एकल कविता वाचन सत्र समेत हुने साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलाले बताए । उनका अनुसार मकवानपुरका स्रस्टालगायतका पुस्तकहरू समेत प्रदर्शनीमा राखिने छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट मंगलबार राति २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जिल्लाको राक्सिराङ गाउँपालिका ५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युबराज प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरुलाई प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले हेटौंडा १५ रातोमाटेबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार मंगलबार राती ११ बजेको समयमा हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्वरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको मोबाईल मार्फत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप गाडीमा लागूऔषध गाँजा आउँदै गरेको जानकारी प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनासाथ उक्त पिकअपलाई चेकजाँचको लागि रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडकखण्डतर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएका थिए । उक्त गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागूऔषध गाँजा अन्दाजी ७० किलो बरामद भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
बरामद गाँजा, पिकअप गाडी, मोटरसाइकल र प्रजा दुबै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । फरार रहेका पिकअप गाडी चालकको खोजीकार्य जारी राखेको समेत बताइएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा साइकल रन प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका र मकवानपुर जिल्ला साईक्लिङ्ग संघको आयोजनामा दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुने भएको हो । असोज २७ गते शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको जिल्ला साईक्लिङ्ग संघले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रोत्साहन पुरस्कार स्वरुप दुई जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने मकवानपुर जिल्ला साइक्लिङ संघले जनाएको छ ।
२५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० वर्ष उमेरसम्मकाले भाग लिन पाउने छन् । यस्तै प्रतियोगितामा मकवानपुर जिल्लाका स्थायीवासी नेपाली नागरिकले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य हुने भएकाे छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषदकाे मंगलबारकाे बैठकले प्रदेश सभाको १२औँ वर्षे अधिवेशन अन्त्यकाे सिफारिस गर्ने निर्णय गरेकाे थियाे । प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषदबाट सिफारिस भई आए बमाेजिम प्रदेश सभाकाे अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषदबाट मंगलबार सिफारिस भइ आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया अनुसार प्रदेशसभाको बैठक अन्त्य गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । बागमती प्रदेशसभाको वर्षे अधिवेशन (दोस्राे अधिवेशन) काे पहिलो बैठक २०८० जेठ ९ गते बसेको थियो ।

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्नेलगायतका ४ वटा निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले बताए ।
बागमती प्रदेश मन्त्रीपरिषद्ले गरेको निर्णयहरु:
१.खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्ने ।
२.चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम ( मकवानपुर, चितवन र धादिङ ) सम्बन्धि कार्यबिधी २०८०, स्वीकृत गर्ने ।
३. प्रदेश सभाको बर्षे अधिवेशन आज असोज २३ गते राती १२ बजे देखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने ।
४. प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने ।