जुनु खड्का
जाडो छल्न हिमाली भेगबाट
आउने सुगाको हुल जस्तो
जमात देखिएको छ
फेरिएको मुखमुद्रामा,
भिखका कागजी झोलीहरू
भिरेर आफ्ना ताण्डव
नृत्यहरूको साक्षी नभए झैँ गरी
वचनको लेपन लगाउँछन्
तर विडम्बनापूर्ण कुरा
निष्पक्ष देशभक्त भएको उनीहरूको
विश्लेषण त एकोहोरो जोगीकै
आवाजको अलख अलख
जत्तिकै सुनाएको छ
भिक्षाको आशमा विपरीत ध्रुवलाई
जोड्ने,भाँचिएकै मनहरूबाट पनि
नयाँ पलुवा अङ्कुरण गराउने
होडबाजीमा कठै!
सक्षम वा असक्षम कसको हातमा
यो देशको भविष्यलाई कुन
तार जालीको घेराउभित्र
बाजि मार्ने हुन् पत्तो छैन्
उनीहरूलाई आफ्ना असफल
परीक्षाको कुनै गम छैन्
आफ्नै हारमा जितको शंखघोष
गर्दै हिँड्ने जमातको
पनि यहाँ कमी छैन्
खै कुन विपक्ष मिलेर पक्ष हुने हो
निश्चितता छैन
कुहिरोका काग झैँ नेपाली जनता
यी जमात देखेर कहिलेसम्म कसरी
हराइरहने? उफ!!
शुक्लागण्डकी नगरपालिका तनहुँ