- बसन्त अनुभव
श्यामप्रसादको छोरा सानैदेखि अलि फटाहा प्रवृतिको थियो । उ आफ्ना साथीभाइ सँग चल्ने, जिस्कने, झगडा गर्ने गर्दथ्यो । पढ्ने कक्षामा पनि हल्ला गर्ने, नपढ्ने भएकोले शिक्षकबाट गाली नखाएको वा सजाय नपाएको दिन हुदैनथ्यो ।
छोराको आनीबानी थाहा हुँदाहुदै पनि बच्चै भएकोले उनी केहि भन्दैनथे । केटाकेटीलाई हप्काएर, गाली गरेर वा सजाय दिएर सुधार्न सकिदैन र गर्नुपनि हुदैन भन्ने उनको मान्यता थियो । मायाले सम्झाएर भने सहि बाटोमा ल्याउन सकिन्छ भन्नेमा भने विश्वस्त थिए उनी । उनी त्यही मौकाको खोजीमा थिए ।
एकदिन छोराले विद्यालयबाट फर्कने बित्तिकै अँध्यारो अनुहार लाउदै भन्यो ।”बाबा ! विद्यालयमा सरहरूले मलाईमात्र पिट्नुहुन्छ, अरूलाई भने माया गर्नुहुन्छ, किन? साथीहरू पनि मसँग खेल्नै मान्दैनन्, म के गरुँ ।” जवाफमा श्यामप्रसादले छोरालाई बार बारेको ठाउँमा लिएर गए । अनि झालमा फलेको काक्रो र एरेलु टिपेर ल्याउने भने ।
छोराले भनेबमोजिम टिपेर ल्यायो अनि उनको हातमा दियो । श्यामप्रसादले छोराको हातमा काक्रो दिदै खाएर त्यसको स्वाद भन्न भने । उसले मिठो मानीमानी खायो । काक्रो खाइसकेपछि ऐरेलु पनि त्यसैगरी खान भने । उसले ऐरेलु टोकेको मात्र थियो । थुक्दै उल्टि गर्यो र बचेको ऐरेलु टाढा मिल्काइदियो अनि दौड्दै गएर ऐरेलुको फलहरु सबै टिप्दै फाल्यो तर काक्रोलाई केहि गरेन ।
त्यो देखेर श्यामप्रसादले भने । “छोरा, तिमीले काक्रोलाई केहि गरेनौ तर ऐरेलु सबै टिपेर फाल्यौ, किन ?””काक्रो मिठो छ, तर त्यो (ऐरेलुलाई देखाउदै ) तितो कोक्काउने छ । त्यसको त झाल नै उखेलेर फाल्नुपर्छ ।””हो छोरा ! जसले पनि काक्रो जस्तै मिठो गुण भएको बस्तुलाई राम्रो मान्छन् तर तिमीले जस्तै तितो गुण भएको त्यो ऐरेलुलाई रुचाउदैनन । त्यसैले तिमी पनि ऐरेलु जस्तो तितो नभएर काक्रो जस्तो मिठो हुनसक्यौ भने सबैले माया गर्छन्, बुझ्यौं ।”
घोराही उपमहानगरपालिका १४, दाङ
2 Comments
वसन्त अनुभव
हार्दिक आभार एवं धन्यवाद आरपी गुरागाई सर एवं सही खबर डटकमलाई, यो माया र सद्भावका लागि ।🙏🌹❤️
सहीखबर डेस्क
स्वागतम सर