नेपालमा कोभिशिल्ड खोपको गलत प्रभावबारे रिपोर्ट भएको छैन। हृदयाघात र मस्तिष्कघात जस्ता घटना हुँदा कारण खोज्नतिर नलागेर पनि रिपोर्ट नभएको हुन सक्ने एक चिकित्सक बताउँछन्। एस्ट्राजेनेकाको खोपमा कैफियत रहेको समाचार आएपछि यस विषयमा कसरी अगाडि बढ्ने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको प्रवक्ता डा. बुढाथोकी बताउँछन्।
एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोपले केही मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीले नै स्वीकार गरेको छ।
भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले निर्माण गरेको कोभिड-१९ विरुद्धको खोपले केही मानिसलाई ‘साइड इफेक्ट’ हुन सक्ने कागजी रूपमा पहिलो पटक स्वीकार गरेको छ।
एस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको खोपको प्रयोगले दर्जनौं घटनामा मृत्यु र गम्भीर असर गरेको भन्दै कम्पनी विरुद्ध बेलायतको उच्च अदालतमा सन् २०२३ मा मुद्दा परेको थियो। एस्ट्राजेनेका विरुद्ध ५१ वटा मुद्दा परेका छन् भने १० करोड पाउन्डसम्मको क्षतिपूर्ति माग गरिएको छ।
सोही मुद्दाको सुनुवाइमा एस्ट्राजेनेकाले उक्त खोपले केही मानिसलाई ‘साइड इफेक्ट’ हुन सक्ने भनी कागजातमा पहिलो पटक स्विकारेको हो। कम्पनीले अदालतमा पेश गरेको कागजातमा खोपले रगत जम्ने दुर्लभ किसिमको जोखिम बढाउन सक्ने उल्लेख गरेको बेलायती सञ्चारमाध्यम द टेलिग्राफले जनाएको छ।
यो खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका थिए। यही खोपले रगत जमाउने र त्यसले हृदयाघात र मस्तिष्कघात गराउने दाबी गर्दै सन् २०२३ मा मुद्दा दायर गरिए पनि एस्ट्राजेनेकाले त्रुटि स्वीकार गरेको थिएन। गत फ्रेबुअरीमा अदालतमा पेश गरिएको कागजमा खोपका कारण थ्रोम्बोसिस विथ थ्रोम्बोसाइटोपिनिया (टीटीएस) सिन्ड्रोम हुन सक्ने उसले स्विकारेको हो।
टीटीएस भनेको रगत जम्ने र रगतमा प्लेटलेट्स कम हुने समस्या हो। चिकित्सकहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अंग मुटु र मस्तिष्कमा असर गर्छ। यसका कारण धेरैलाई हृदयाघात र मस्तिष्कघात हुने सम्भावना हुन्छ।
रगत जम्ने समस्याले हृदयाघात र मस्तिष्कघात कसरी गराउँछ त? इन्टर्नल मेडिसिनका चिकित्सक डा. अमित गौली एउटा बहावमा बगिरहेको रक्तसञ्चार प्रक्रिया रगत जम्दा अवरुद्ध हुने बताउँछन्। यस्तो हुँदा रगत बाक्लो हुने तथा रक्तनली साँघुरिने भएकाले मुटु, मस्तिष्क र फोक्सोको नलीमा रक्तसञ्चार प्रक्रिया अवरोध भई हृदयाघात, मस्तिष्कघात र अन्य असर पर्ने उनको भनाइ छ।
बेलायतको मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)को तथ्यांकमा प्लेटलेट्सको कमीका कारण रगत जमेर बेलायतमा कम्तीमा ८१ जनाको मृत्यु भएको आशंका गरिएको छ। यस्तो समस्या देखिएकामध्ये पाँचमा एक जनाको मृत्यु भएको उक्त तथ्यांकमा उल्लेख छ।
खोपका कारण क्षति भएमा बेलायत सरकारले क्षतिपूर्ति दिने गरेको छ। गत फेब्रुअरीमा एस्ट्राजेनेका खोप लगाएका १५८ जनालाई क्षतिपूर्ति दिइएको थियो।
सन् २०२१ मा एस्ट्राजेनेका खोप लगाएका मानिसलाई असर देखिएपछि शुरूमा डेनमार्कले यो खोपको प्रयोगमा रोक लगाएको थियो। त्यसपछि त्यसै वर्ष आयरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, आइसल्यान्ड, कंगो र बुल्गेरियामा पनि यसमा प्रतिबन्ध लगाइएको थियो। रगत जम्ने समस्या देखिएपछि जर्मनी, फ्रान्स, इटाली र स्पेन तथा क्यानडा, स्वीडेन, लातभिया, स्लोभेनिया, अस्ट्रेलिया, इन्डोनेशिया र मलेशियाले पनि यो खोपको प्रयोगमा रोक लगाएका थिए।
एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोप भारतमा उत्पादन गरी दक्षिणएशियाली क्षेत्रमा वितरण गर्न सेरम इन्स्टिच्यूट अफ इन्डियाले सम्झौता गरेको थियो। सो खोपलाई भारत र नेपालमा कोभिशिल्डको नामले वितरण गरिएको थियो। यसैले एस्ट्राजेनेका या कोभिशिल्ड खोपको असरको प्रत्यक्ष सम्बन्ध नेपालसँग पनि जोडिन्छ।
के गर्दै छ सरकार?
भारत सरकारले कोभिशिल्ड खोप १० लाख डोज अनुदान दिएपछि २०७७ माघ १४ गते नेपालमा कोरोना विरुद्धको खोप दिन शुरू गरिएको थियो। उक्त पहिलो चरणमा संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा कोभिड-१९ को नियन्त्रण र जोखिम न्यूनीकरणमा खटिने स्वास्थ्यकर्मी र अन्य विधाका फ्रन्टलाइनरलाई खोप दिइएको थियो। यस्तै, चैत १५ मा भारतीय सेना मार्फत नेपाली सेनालाई एक लाख डोज कोभिशिल्ड खोप अनुदान दिइएको थियो।
सोही खोप २०७७ फागुनमा नेपाल सरकारले ९३ करोड रुपैयाँ खर्चिएर २० लाख डोज किनेको थियो। त्यसपछि भने नेपालमा कोभिशिल्ड खोप आएन। ३१ लाख डोज खोप पहिलो र दोस्रो मात्रा गरी करीब १३ लाख मानिसलाई दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन्। उक्त खोपको गलत असरबारे नेपालमा अहिलेसम्म कुनै रिपोर्ट नआएको उनको भनाइ छ।
“यो खोप ल्याउँदा हामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)लाई प्रभावकारिता अध्ययन गर्न भनेका थियौं। एनएचआरसीले प्रभावकारिता राम्रो छ भनेपछि ल्याएका हौं,” डा. बुढाथोकी भन्छन्।
नेपालमा कोभिशिल्ड खोपको गलत प्रभावबारे रिपोर्ट भएको छैन। हृदयाघात र मस्तिष्कघात जस्ता घटना हुँदा कारण खोज्नतिर नलागेर पनि रिपोर्ट नभएको हुन सक्ने एक चिकित्सक बताउँछन्। एस्ट्राजेनेकाको खोपमा कैफियत रहेको समाचार आएपछि यस विषयमा कसरी अगाडि बढ्ने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको प्रवक्ता डा. बुढाथोकी बताउँछन्।
उनी भन्छन्, “पहिलो चरणमा खोप लगाएका मानिसहरूको स्वास्थ्य परीक्षण गरेर रगत जमेको छ/छैन भनेर एउटा अध्ययन गर्ने हो कि भनेर सोचिरहेका छौं, तर कुनै निर्णयमा पुगिसकेका छैनौं।”
विज्ञहरू पनि सरकारले कोभिशिल्ड खोप लगाएका मानिसको तथ्यांक संकलन गरेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन्। त्यसो गर्दा यो खोप लगाएका मानिसमा परेको मनोवैज्ञानिक असर कम हुने उनीहरूको भनाइ छ।
क्लिनिकल रिसर्चर श्रीराम दास यो आकस्मिक अवस्था भएकाले सरकारले कोभिशिल्ड खोप लगाएकाहरूको तत्काल तथ्यांक संकलन गरेर अध्ययन गर्नुपर्ने बताउँछन्। उनका अनुसार हृदयाघात र मस्तिष्कघात भएर अस्पताल भर्ना र मृत्यु भएका बिरामीले कोभिशिल्ड खोप लगाएका थिए कि थिएनन् भन्ने समेत अध्ययन गर्नुपर्छ। त्यस्तै, अस्पतालमा हृदयाघात र मस्तिष्कघात सम्बन्धित चिकित्सक र औषधि तैनाथ राख्नुपर्ने उनको भनाइ छ। “कोभिशिल्ड खोप लगाएकै कारण कसैको मृत्यु भएको प्रमाणित भयो भने सरकारले कम्पनीसँग क्षतिपूर्ति दाबी गर्नुपर्छ,” दास भन्छन्।
एनएचआरसीले भने कोभिशिल्ड खोपले पार्ने असरबारे अध्ययन गर्न चासो देखाएको छैन। एनएचआरसीका प्रमुख कार्यकारी अधिकृत डा. प्रमोद जोशी कोभिशिल्डको विषयमा आएका खबर हेरिरहे पनि त्यसबारे अध्ययन गर्न परिषद्को बैठकमा छलफल नभएको बताउँछन्। “यो विषयमा थप के गर्न सकिन्छ, बैठकमा छलफल गरेपछि निर्णय गर्छौं,” जोशी भन्छन्।
उनका अनुसार कोभिशिल्ड खोपका कारण रगत जम्ने समस्याबारे हालसम्म परिषद्ले पनि अध्ययन गरेको छैन र छुट्टै अध्ययन गर्न अरूले पनि स्वीकृति लिएका छैनन्। हिमाल खबरबाट
मकवानपुर । हेरौंडा उपमहानगरपालिका, १९ वडा कार्यालयको आयोजना एवं कलेज अफ मेडिकल साईन्स (पूरानो मेडिकल कलेज, भरतपुर चितवन) को प्राविधिक सहयोगमा हेटौंडा १९ स्थित नेवारपानी शहरी स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर भएको छ ।
स्वास्थ्य शिविरमा २२ जनाको मेडीकल टिमले स्वास्य सेवा प्रदान गरेको थियो। शिविरबाट २८९ जनाले सेवा लिएको वडा सचिब राजेन्द्र पोखरेलले बताए ।
स्वास्थ्य शिविरमा दन्त रोग, बालरोग प्रसुती रोग जनरल फिजिसियन अर्थोपिडीक सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविरमा २२ जनाले दन्त जांचको सुविधा लिएको वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।
यसैगरी प्रसुति जांच सेवा २३ जनाले, फिजिसियन सेवा-१४२ जनाले, वालरोग -सेवा २१ जनाले र अर्थोपेडिक सेवा ८१ जनाले लिएका थिए । ती मध्ये १५ जना बिरामीलाई थप उपचारको लागि रिफर गरिएको वडा सचिब पोखरेलले बताए ।
कार्यक्रमको समापनमा नगरप्रमुख मिना कुमारी लामाले स्वास्थकर्मी टिमलाई प्रशंसापत्र प्रदान गर्दै धन्यवाद दिइन ।
मकवानपुर । नेपाल औषधि व्यवसायी संघको तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो प्रदेश अधिवेशन शुक्रबार हेटौडामा भएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायलाई अगाडि बढाउन मन्त्रालय सधैं तत्पर रहेको बताए ।
सर्वसुलभ औषधिको उपलव्धतालाई मध्य नजर गर्दै यसलाई थप व्यवस्थित ढंगबाट अगाडी बढाउनु पर्छ मन्त्री श्रेष्ठले भने ‘औषधी व्यवसायीलाई आर्थिक अनुशासनको पक्षबाट व्यवसायीक क्रियाकलापमा अगाडी बढाउन जरुरी छ ।’ बागमती प्रदेशमा औषधी उत्पादन गर्ने तथा आयात र निर्यात गर्नेहरुलाई एक बनाएर अगाडी बढ्न उनले सुझाब समेत दिए । राष्ट्रिय पुंजी निर्माणको महत्त्वपूर्ण पक्ष निजि र सरकारी क्षेत्रले स्वास्थ्यमा काम गरिरहेको उनकाे भनाइ रहेकाे थियाे । औषधि व्यवसायीहरुले रोजगारी श्रृजना गर्नुका साथै कर तिरेर राष्ट्रलाई आर्थिक रुपमा सवल बनाउन महत्वपूर्ण भुमिका खेलकाे भन्दै मन्त्री श्रेष्ठले प्रशसां व्यक्त गरे ।
औषधीको गुणस्तरमा ध्यानदिन सरकारी पक्षको मात्र काम नभई निजी संस्थाको पनि दायित्व भएकाले यसमा औषधी व्यवसाय सक्रियरुपमा लाग्नुेमा उनले विश्वास लिएको बताए । ‘औषधी व्यवसायीलाई सबल बनाउन र समाजमा प्रतिष्ठित बनाउन बागमती प्रदेश सधै तत्पर रहन्छ’ उनले भने ‘औषधी व्यवसायीसंग मिलेर फार्मेसीसँगको दुरीलाई कायम गर्न जरुरी छ ।’ सर्वसुलभ,गुणस्तरीय र मितव्ययीतानै संस्थाको मुल उदेश्य भएको तर्फ सचेत रहन समेत उनले आग्रह दिए ।
सबै औषधी व्यवसाय नाफामुलक नहुने तर कुनै व्यवसाय समाजमा नाफा कमाउनकै लागी खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धिकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाव समेत दिए। अधिवेशन सफलताको शुभकामना दिदै उनले नँया नेतृत्वमा चयन हुनेले औषधी व्यवसायीको हितको लागि काम गर्नुपर्ने भनाइ राखेका थिए ।
बागमती प्रदेश औषधि व्यवसायी संघका अध्यक्ष धुव्र नारायण श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश स्वास्थ्यमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा औषधि व्यवसायी संघ बागमती प्रदेशका नारायण प्रसाद ढकाल लगायत औषधि व्यवसायीहरुको उपस्थिति रहेको थियो।
मकवानपुर । १४ बैशाख २०८१, मध्यान्ह १ बजेतिर एक जना ज्येष्ठ नागरिक बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय पुगे । हतार र निराश देखिएका उनले स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठसँग भेट्ने इच्छा प्रकट गरे । जनताका प्रतिनिधि हुन् मन्त्री, भेट्न नमिल्ने कुरै भएन । उनलाई अनुमती प्राप्त भयो, उनी मन्त्रीको कार्यकक्षमा पुगे । मन्त्री श्रेष्ठका सामु आफ्नो गुनासो राखेः “बुढेसकालमा उपचारको लागि सहज होला कि भनेर स्वास्थ्य बिमा गरेँ, बुढौली उमेर स्वास्थ्यमा केही समस्या केही छन्, उपचार सुविधा लिइरहनु पर्छ, तर जहिले पनि अस्पतालमा आयो कि दोस्रो दर्जाको नागरिकको व्यवहार हुन्छ, स्वास्थ्य जाँचदेखि औषधि लिनसम्म ‘बिमावाला’ भनेर हेपिन्छ, कति सहने, कहिलेसम्म सहने ।”
‘दोस्रो दर्जाको नागरिक’ यो शब्दले मन्त्री श्रेष्ठलाई भित्रभित्र बिज्यो, उनी तत्काल अस्पतालको अनुगमनमा निस्के । केही मिनेट भित्रै अस्पताल पुगे, जहाँ २ दिनदेखि फार्मेसीबाट औषधि नपाएर दुख खेपिरहेकाहरुको भीड थियो । मन्त्रीलाई भेटेर उनीहरुले आफ्नो दुखेसो पोखे, “जहिले सिस्टम चलेन भन्ने, बरु बिमा कार्यक्रम खारेजी गर्नुहोस्, हामीलाई ज्यूदै मार्ने काम नगर्नुहोस ।” अस्पतालका कर्मचारीको तिता व्यवहार÷बोलीले आफूहरु आजित भएको उनीहरुले बताए । अस्पतालले पर्याप्त पिउने पानी समेत उपलब्ध नगराएको, २ दिन देखि सिस्टम नचलेको भन्दै बिमाबाट औषधि नपाएको, कर्मचारीले नमिठो व्यवहार गरेको सेवाग्राहीहरुले गुनासो गरे ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री श्रेष्ठले अनुगमनपछि उनै ज्येष्ठ नागरिकले भने जस्तै पाएको प्रतिक्रिया दिए । ‘दोस्रो दर्जाको नागरिक’ बनाएको भन्ने गुनासो सुनेर बुझ्न आएको त्यसमा सत्यता रहेछ” मन्त्री श्रेष्ठले मिडियासँग भने “तत्काल केही सुधारको लागि निर्देशन दिएको छु ।” अस्पतालका निमित्त अस्पताल निर्देशक डा. श्रीधर अर्याललाई मन्त्री श्रेष्ठले स्वास्थ्यकर्मी तथा कर्मचारीको बोली, व्यवहार र अस्पतालको सेवा सुविधामा सुधारको लागि निर्देशन दिए ।
अनुगमन गर्दै मन्त्री श्रेष्ठले बिरामीको स्वास्थ्य अवस्था समेत बुझेका थिए । अस्पतालमा उपचारका क्रममा सर्वसाधारणहरुले राखेका अपेक्षालाई सम्बोधन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् ।
अस्पतालमा आएका सबैको लागि पर्याप्त पिउने पानी, अपाङ्गामैत्री, महिलामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिएका हुन् । बिरामीको उपचारका लागी ओपीडी बढाएर भए पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उनले निर्देशन गरे ।
मन्त्री श्रेष्ठले हेटौंडा अस्पतालको स्तोरोन्नतिका लागी आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्था बारे जानकारी लिएका थिए । उनले अस्पतालको जनरल वार्ड, ईमरजेन्सी, सर्जिकल वार्ड, प्रसुती वार्ड, अप्रेसन थिएटर, आईसीयू, एचडीयूलगायत विभिन्न कक्षको अनुगमन गरे । हेटौंडा अस्पतालमा ईमरजेन्सी र ओपीडीमा दैनिक औषत एकहजार ३०० जनाले सेवा लिने गरेका छन् ।
“जनताको करबाट तलब खाएका कर्मचारीले उनै जनतालाई सेवामा विभेद गरेको कसरी सहने” मन्त्री श्रेष्ठले निमित्त अस्पताल निर्देशक अर्याललाई भने “अबको ३ देखि ५ दिनभित्र ९० प्रतिशत समस्या सम्बोधन गरेर देखाउनुहोस् ।” बिमाबाट पाइने औषधिबारे बोर्ड नै बनाएर सूचित गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । “फार्मेसीमा औषधिको अभाव भन्ने शब्द सुन्नै चाहन्न”, मन्त्री श्रेष्ठले भने “अभाव हुन किन दिने, व्यवस्थापन त अस्पतालले गर्ने हो बिरामीलाई दुख किन दिने ?”
जनशक्ति अभाव भए थपेर पनि समस्या सम्बोधन गर्न उनले सुझाव दिए । कार्ययोजना बनाएर अस्पताल सुधारमा लाग्न उनले आग्रह गरेका छन् । “अब केही दिनभित्र मन्त्री हैन सेवाग्राही बनेर म आउँछु, अनि हेर्छु अस्पतालको अवस्था” उनले भने । डा अर्यालले आगामी दिनमा बिरामीले उपचारका क्रममा कुनै पनि सास्ति खेप्नु नपर्ने गरी सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले कुनैपनि अस्पतालको परिकल्पना नर्स बिना गर्न नसकिने बताएका छन् । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा ‘चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८१/८२ को तर्जुमा गोष्ठी कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
उनले अस्पताललाई नर्स अपरिहार्य रहेकाे बताउँदै नर्सको महत्व अस्पतालको सेवासुविधासँग जोडिएको विषय भएको धारणा व्यक्त गरे । अस्पताल व्यवस्थापनका विषयमा विशेषज्ञ डाक्टरहरुको मात्रै कुरा उठ्ने र तालिममा पनि नर्सको सहभागिता कम भएको मन्त्री श्रेष्ठको भनाई छ । नर्स विना अस्पताल व्यवस्थित हन नसक्ने उनले बताए । डाक्टर र नर्सलाई समान अवसर प्रदान गर्नु पर्ने समेत उनले आग्रह गरे । डक्टरले पर्याप्त सुविधा पाइरहँदा नर्सलाई पनि सेवा सुविधा दिन कञ्जुसाई गर्न नहुने उनले बताए ।
नेपाल सरकारले दिएको सुविधालाई समान रुपमा प्रयोग गर्न र संस्थाको सम्पूर्ण विकासमा समानता हुन आवश्यक भएको उनले बताए । औषधीको प्रयोग गर्दा अनावश्यक खर्च नगर्न चिकित्सकहरुलाई सुझाव दिनुका साथै औषधीको गुणस्तरलाई पनि ध्यान दिन आग्रह गरे । प्राप्त बजेटबाट थोरै कार्यक्रम गर्न सकिए पनि त्यसमा गुणस्तरीयता कायम गर्दै नागरिकले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्नेमा उनको भनाई थियाे । चिकित्सकहरुलाई आफ्नो क्षमता अधिकतम स्वास्थ्य क्षेत्रमा लगाउन र काम गर्ने दौरानमा आर्थिक मुनाफाको पछि नलाग्न उनको निर्देशन समेत दिए ।
निर्देशनालयका निर्देशक दिपक तिवारीको अध्यक्षतामा दुईदिनसम्म सञ्चालित कार्यक्रममा विभिन्न अस्पतालका प्रमुखहरुले आफ्ना प्रस्तुतीकरण प्रस्तुत गर्नुका साथै आगामी २०८१÷८२ का लागि रणनीतिक महत्वका योजनाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निकायका निर्देशक, प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्ट, जनस्वास्थ्य कार्यलयका प्रमुख र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखलगायतको उपस्थिति थियो ।
मकवानपुर । मानसिक स्वास्थ्य समस्याप्रति गम्भिर हुन माग गर्दै बामगती प्रदेशको स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
मानसिक स्वास्थ्य सेवामा टेलिमेडिसिन सेवालाई स्थानीय तहका अस्पतालमा जोड्ने कार्यक्रमहरु लागु गरिनु पर्ने माग गरिएको हो । प्रदेश अन्तरगतका निकायहरुमा एक कार्यलय एक मनोविमर्शकर्ताको व्यवस्था गर्न समेत सरोकारवालाहरुले माग गरेका हुन् ।
मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुको उपचार, समस्याको सम्बोधन तथा सुनुवाईमा समस्या भएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । बागमती प्रदेशमा नव नियुक्त स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठसँग उनीहरुले यस्तो माग गरेका हुन् । प्रदेश सरकारले सञ्चालन गर्ने जनस्वास्थ्यका सबै कार्यक्रमहरुमा मानसिक स्वास्थ्य सेवालाई एकिकृत गर्न माग गरिएको हो ।
प्रदेश अन्र्तगत रहेका अस्पतालहहरु तथा केन्द्रद्धारा सञ्चालित अस्पतालहरुबाट नै भर्ना गरि मानसिक स्वास्थ्य सेवा दिने व्यवस्था मिलाउन सरोकारवालाहरुले माग गरेका हुन् । बीमाबाट उपलब्ध औषधीको व्यबस्थापन गरी समस्या भएको व्यतिmको आवश्यकता अनुसार अति आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्न समेत मानसिक स्वास्थ्य समस्या भएकाहरुले माग गरेका हुन् ।
प्रदेशले मानसिक स्वास्थ्य सम्बन्धी कर्मचारी र स्वास्थ्यकर्मीहरुका लागि (महिला स्वास्थ्य स्वयम सेविका) सम्बन्धी तालिम प्रदान गर्न समेत माग गरेका छन् । पछिल्लो समय आत्माहत्याको अवस्था बढ्दो रहेको र मानसिक स्वास्थ्य समस्या यसको मुख्य कारण भएकोले रोकथामका लागी सरकारी, गैह्रसरकारी तथा निजि क्षेत्रसंग बहुक्षेत्रीय समन्वय तथा सहकार्यको समेत माग गरिएको छ ।
पहुँच नपुगेका क्षेत्रका व्यक्तिहरुको मानसिक स्वास्थ्यको सेवामा पहुँच बढाउन त्यस्ता क्षेत्रहरुलाई समेट्ने गरि त्रैमासिक रुपमा मानसिक स्वास्थ्य सेवा क्याम्प सञ्चालन गर्ने नीति बनाईनु पर्ने, मानसिक अपांङ्गता भएका व्यक्तिहरुलाई अत्यावश्यकताको आधारमा विषेश प्याकेज मार्फत् सहुलियत सहितको विषेश सेवा प्रदान गर्ने बारे नीतिगत रुपमा समावेश गरिनुपर्ने, स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको मातहतमा रहनेगरी सम्बन्धित विज्ञहरुको प्राविधिक समिति बनाई जिल्ला तहमा मानसिक स्वास्थ्य कार्यक्रमलाई प्रबद्र्धन गर्नुपर्ने माग गरिएको मनोसामाजिक स्वास्थ्य समस्या अनुभव गरेकी बन्दना तामाङले बताइन् । कोशिश मकवानपुरको सहजीकरण तथा समन्वयमा उनीहरुले मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
मनोसामाजिक स्वास्थ्य समस्या अनुभव गरेका व्यत्तिहरुले माग गरेको विषयमा आफू सकारात्मक रहेको स्वास्थ्य मन्त्री श्रेष्ठले बताए । आफूले स्वस्थ्य मन्त्रालय सम्हाल्ने बितिकै पहिलो निर्णयको रुपमा नै यो कामको थालनी गरेको बताउँदै मन्त्री श्रेष्ठले अबको २ साता भित्र मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुलाई उपचारार्थ वेड नै छुट्याउने आश्वान दिए । “मैले आफैं पनि प्राथमिकतामा राखेको क्षेत्र हो, झन् उहाँहरुले ज्ञापन पत्र दिनुभएपछि मलाई दरिलो आधार पनि बन्यो, अब कार्यान्वयनमा झनै सजिलो हुन्छ” मन्त्री श्रेष्ठले भने ।
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा कुल जनसंख्याको २ दशमलब २ प्रतिशतमा अपाङ्गता भएका व्यक्तिहरु छन् । कुल अपाङ्गताको ४ दशमलब २८ प्रतिशतमा मनोसामाजिक अपाङ्गता छ । अर्थात संख्यागत रुपमा हेर्दा मनोसामाजिक अपाङ्गताको विवरणमा नेपालमा महिला १३ हजार ७२ जना र पुरुष १४ हजार ९७३ जनामा मनोसामाजिक स्वास्थ्य समस्या छ । बागमती प्रदेशमा मात्रै महिला २ हजार ७९७ पुरुष र २ हजार ८६३ जना छन् ।
मकवानपुर जिल्लामा महिला २३० पुरुष २९४ र हेटौंडा उपमहानगरपालिका महिला ७८ पुरुष १०७ जनामा मनोसामाजिक स्वास्थ्य समस्या छ । तथ्याङ्क अनुसार प्रत्येक ४ मध्ये १ जना व्यक्तिले आफ्नो जीवनकालमा कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने आँकलन गरिएको छ । साथै अपाङ्गता गराउने विभिन्न प्रमुख १० कारणहरु मध्ये ५ वटा मानसिक स्वास्थ्य समस्याबाट हुने गरेको देखाएको छ ।
नेपालको परिपेक्षमा ६० लाख मानिसहरु अर्थात् कुल जनसंख्याको २५ देखि ३० प्रतिशत मानसिहरु कुनैन कुनै किसिमको मानसिक स्वास्थ्य समस्यमा रहेका छन् । नेपालमा नसर्ने रोगको भारको १८ प्रतिशत मानसिक रोगले ओगटेको छ । त्यस्तै विश्वव्यापी रुपमा नेपाल वार्षिक आत्महत्याको दरमा सातौ स्थानमा रहेको छ ।
प्रजनन उमेरका महिलाहरुमा मातृ मृत्यूदरको १६ प्रतिशत आत्महत्याले ओगेटेको तथ्यांक रहेको छ । नेपालको ९० प्रतिशतभन्दा बढि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु उपचारबाट बञ्चित हुने गरेको कोशिश मकवानपुरकी पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
कार्यक्रमम गैरसरकारी संस्था महासघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, जिल्ला अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुर प्रमुख माया तामाङ्, फिल्ड सुपरभाइजर मन लामा, मनोसामाजिक स्वास्थ्य समस्या अनुभुती गरेका व्यक्तिहरुको उपस्थिती रहेको कोशिशकी पैरवी अधिकृत लामाले बताइन् ।
मकवानपुर । वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा ६ हजार ८ सय ९५ लक्षित परिवारलाई स्वास्थ्य बिमा गरिदिएको छ ।
मन्त्रालयले २ करोड ३४ लाख १५ हजार ९ सय ५० रुपियाँ प्रिमियम भुक्तानी दिएको हो । प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘क’ र ‘ख’ वर्गका अशक्त र स्वास्थ्य स्वयमसेविकाको बिमाबापत् प्रिमियम भुक्तानी गरिदिएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १ सय ५५ परिवारलाई ३५ लाख ७ हजार ७ सय, भक्तपुरमा ३५ परिवारलाई १ लाख २ हजार ९ सय ५०, ललितपुरमा ५ सय ५० परिवारलाई १८ लाख ७ हजार ७ सय ५०, काभ्रेपलाञ्चोकमा ७ सय २० परिवारलाई २४ लाख ७२ हजार ५०, नुवाकोटमा ५ सय ७३ परिवारलाई १५ लाख ९९ हजार ३ सय ५०, रसुवामा १ सय ८१ परिवारलाई ५ लाख १५ हजार २ सय र रामेछापमा ३ सय १९ परिवारलाई १० लाख ४३ हजार भुक्तानी गरिएको छ ।
धादिङमा ५ सय ९१ परिवारलाई २१ लाख ५२ हजार १ सय ५०, मकवानपुरमा १ सय १ परिवारलाई ४ लाख १० हजार ५ सय ५०, दोलखामा २ सय ७४ परिवारलाई ९ लाख १६ हजार ५०, सिन्धुपाल्चोकमा १ हजार ३ सय १४ परिवारलाई ४६ लाख २२ हजार ८ सय, सिन्धुलीमा ४ सय ७९ परिवारलाई, १५ लाख ७७ हजार ४ सय र चितवनमा १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरिएको छ ।
तथ्यांकअनुसार १३ वटै जिल्लामध्ये सबभन्दा बढी चितवन जिल्लामा भुक्तानी भएको पाइएको छ । महिला स्वास्थ्य स्वयमसेविका १ सय ४, अशक्त ३ सय ७७ र अतिसीमान्तकृत १ हजार १ सय २२ गरी १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरिएको छ ।
प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अघिल्लो पटक मन्त्री हुँदा निर्णय भएबमोजिम सुरुवात गरिएको बताए । पुनः स्वास्थ्य मन्त्री भइ पदभार ग्रहण गरेकै दिन निर्णय गरेबमोजिम काम सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अतिविपन्न वडाका सिफारिस र बिमा अभिकर्तामार्फत छनौट गरिएको मन्त्री श्रेष्ठले बताए ।
मकवानपुर । नेपाल हृदयराेग निवारण प्रतिष्ठान मकवानपुर सभापतिमा विजयकुमार वैद्य चयन भएका छन् । शनिबार हेटौडामा भएकाे प्रतिष्ठान मकवानपुर शाखाकाे १८ ओैँ बार्षिक साधारण सभा तथा अधिवेशनले वैद्यकाे अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।
अधिवेशनले प्रतिष्ठानकाे उपसभापतिमा ध्रुव भुजेल, सचिवमा प्रल्हाद घिमिरे, काेषाध्यक्षमा अनिता न्याैपाने, सहकाेषाध्यक्षमा निर्मला व्लाेन, सदस्ययहरुका त्रैलाेक्य माेहन ठिके, कृष्णगाेपाल बर्ताैला, पम्फा बानियाँ लगायत रहेका छन् ।
साधारण सभा तथा अधिवेशनलाई सम्बाेधन गर्दै सामाजिक विकास मन्त्री कुमारी मुक्तानले मकवानपुर जिल्ला विगतकाे इतिहासमा टेकेर धेरै अघि वढिसकेकाे बताइन् । ‘मकवानपुर जिल्ला ड्राइभरहरुकाे जिल्ला भनेर चिनिन्थ्याे तर स्वास्थ्य क्षेत्रमा फड्काे मारेकाे छ’ उनले भनिन् ‘हाल जिल्लामै विश्वविधालय स्थापनाकाे लागि प्रक्रियागत रुपमा अघि वढेकाे छ ।’
मुक्तानले जिल्लामा मुटु अस्पताल बनाउने साेच रहेकाे र त्याे पुरा गर्ने बताइन् । उनले सरकारी नेतृत्व तहमा रहेकाे बेला हाेस या नभएकाे बेला आफूले निरन्तर सहयाेग गर्ने प्रतिबद्दता व्यक्त गरिन् ।
हेटौंडा शाखा सभापति हरिवंश भेटुवालकाे सभाध्यक्षता तथा सामाजिक विकास मन्त्री मुक्तानकाे प्रमुख आतिथ्यतामा भएकाे साधारण सभा तथा अधिवेशनमा जिसस प्रमुख ललित बहादुर घलान, संविधान सभा सदस्य प्रहाल्द लामिछाने, नेपाल हृदयराेग निवारण प्रतिष्ठान बागमती प्रदेश संयाेजक भाेजराज पौडेल, प्रतिष्ठानका सल्लाहाकार तथा विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष ह्याग्रिव आचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मनाेसामाजिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालय बागमतीमा ज्ञापन पत्र बुझाएका छन् । मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालाई उनीहरुले विशेष सवालमा सम्बाेधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको तर्फबाट धिरज लामा,मायादेवी गौतम, प्रर्मिला बरैली, बन्दना थिङ तामाङ, विशाल मोक्तान, पुतली स्याङबो, रन्जना ढुङगानालगायतले ज्ञपान पत्र बुझाएका हुन् । मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यको विषयलाई बजेट विनियोजन मार्फत् प्राथमिकतामा राखी सम्बोधन गरिदिने उनीहरुले माग गरेका छन् ।
मानसिक स्वास्थ्य विना पूर्ण स्वास्थ्य सम्भव नभएकाे बताउँदै उनीहरुले प्रदेश सरकारको बार्षिक बजेट परिचालन गरि मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत संस्थाहरुसंग साझेदारी गरिनु पर्ने, मानसिक स्वास्थ्य सेवामा टेलिमेडिसिन सेवालाई स्थानीय तहका अस्पतालमा जोड्ने कार्यक्रमहरु गरिनुपर्ने, प्रदेशले सञ्चालन गर्ने जनस्वास्थ्यका सबै कार्यक्रमहरुमा मानसिक स्वास्थ्य सेवालाई एकिकृत गरिनुपर्ने, प्रदेश अर्न्तगत रहेका अस्पतालहहरु तथा केन्द्रद्वारा सञ्चालित अस्पतालहरुबाटनै भर्ना गरि मानसिक स्वास्थ्य सेवा दिने व्यवस्था मिलाइनुपर्ने माग गरेका हुन् ।
बिमाबाट उपलब्ध औषधीको व्यवस्थापन गरी समस्या भएको व्यक्तिको आवश्यकता अनुसार अति आवश्यक औषधीहरु निःशुल्क प्रदान गरिनुपर्ने, प्रदेश अन्तगतका निकायहरुमा एक कार्यलय एक मनोविमर्शकर्ताको ब्यबस्था गरिनुपर्ने, पहुँच नपुगेका क्षेत्रका व्यक्तिहरुको मानसिक स्वास्थ्यको सेवामा पहुंच बढाउन त्यस्ता क्षेत्रहरुलाई समेट्ने गरि त्रैमासिक रुपमा मानसिक स्वास्थ्य सेवा क्याम्प सञ्चालन गर्ने नीति बनाईनुपर्ने, मानसिक अपांगता भएका व्यक्तिहरुलाई अत्यावश्यकताको आधारमा बिषेश प्याकेज मार्फत् सहुलियत सहितको विषेश सेवा प्रदान गर्ने कुराहरुलाई नीतिगत रुपमा समावेश गरिनुपर्ने माग गरेकाे समन्वय तथा सहजिकरण गर्दै आएकाे संस्था काेशिश मकवानपुरकी पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
नेपालको राष्ट्रिय जनगणना २०७८ काे तथ्याङ्क अनुसार कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । त्यसैगरी कुल अपाङ्गताको ४.२८ प्रतिशतमा मनोसामाजिक अपाङ्गता छ । मनोसामाजिक अपाङ्गताको विवरण अनुसार नेपालमा महिला १३ हजार ७२ र पुरुष १४ हजार ९७३ जना छन् । यसैगरी बागमती प्रदेशमा महिला २ हजार ७९७ र पुरुष २ हजार ८६३ जनामा मनोसामाजिक अपाङ्गता छ । मकवानपुर जिल्लामा महिला २३० पुरुष २९४ जना छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकामा महिला ७८ पुरुष १०७ जनामा मनोसामाजिक अपाङ्गता छ ।