मकवानपुर । वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा ६ हजार ८ सय ९५ लक्षित परिवारलाई स्वास्थ्य बिमा गरिदिएको छ ।
मन्त्रालयले २ करोड ३४ लाख १५ हजार ९ सय ५० रुपियाँ प्रिमियम भुक्तानी दिएको हो । प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘क’ र ‘ख’ वर्गका अशक्त र स्वास्थ्य स्वयमसेविकाको बिमाबापत् प्रिमियम भुक्तानी गरिदिएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १ सय ५५ परिवारलाई ३५ लाख ७ हजार ७ सय, भक्तपुरमा ३५ परिवारलाई १ लाख २ हजार ९ सय ५०, ललितपुरमा ५ सय ५० परिवारलाई १८ लाख ७ हजार ७ सय ५०, काभ्रेपलाञ्चोकमा ७ सय २० परिवारलाई २४ लाख ७२ हजार ५०, नुवाकोटमा ५ सय ७३ परिवारलाई १५ लाख ९९ हजार ३ सय ५०, रसुवामा १ सय ८१ परिवारलाई ५ लाख १५ हजार २ सय र रामेछापमा ३ सय १९ परिवारलाई १० लाख ४३ हजार भुक्तानी गरिएको छ ।
धादिङमा ५ सय ९१ परिवारलाई २१ लाख ५२ हजार १ सय ५०, मकवानपुरमा १ सय १ परिवारलाई ४ लाख १० हजार ५ सय ५०, दोलखामा २ सय ७४ परिवारलाई ९ लाख १६ हजार ५०, सिन्धुपाल्चोकमा १ हजार ३ सय १४ परिवारलाई ४६ लाख २२ हजार ८ सय, सिन्धुलीमा ४ सय ७९ परिवारलाई, १५ लाख ७७ हजार ४ सय र चितवनमा १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरिएको छ ।
तथ्यांकअनुसार १३ वटै जिल्लामध्ये सबभन्दा बढी चितवन जिल्लामा भुक्तानी भएको पाइएको छ । महिला स्वास्थ्य स्वयमसेविका १ सय ४, अशक्त ३ सय ७७ र अतिसीमान्तकृत १ हजार १ सय २२ गरी १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरिएको छ ।
प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अघिल्लो पटक मन्त्री हुँदा निर्णय भएबमोजिम सुरुवात गरिएको बताए । पुनः स्वास्थ्य मन्त्री भइ पदभार ग्रहण गरेकै दिन निर्णय गरेबमोजिम काम सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अतिविपन्न वडाका सिफारिस र बिमा अभिकर्तामार्फत छनौट गरिएको मन्त्री श्रेष्ठले बताए ।