‘बाल बालिकाको सर्वोत्तम हितको कुरा म बेला बेलामा यस्तै कार्यक्रममा सुन्छु, अभिभावकहरु, शिक्षकहरु, अधिकारकर्मीहरुबाट सबैले बालबालिकाको हितको कुरा गर्नु पर्छ भन्ने गरेका छन्, तर आफ्नै घरमा आमाबुबाको सम्बन्धबाट पीडित बालबालिकाको हितको लागि कस्ले के गर्ने ?’
एउटी १८ वर्षिया नानीको यो सवालले मलाई चसक्क छोयो । भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रममा उनी बोलिरहेकी थिइन् । क्यामरा अन नभएकोले उनको अनुहार मैले देख्न पाइन । तर, उनको बोलिको गतिले म आभाष गर्दै थिएँ कि उनको आँखा पनि रसाएका छन् ।
‘गाउँपालिका अध्यक्ष ज्यूलाई मेरो यो प्रश्न’ उनले यति बेलेर माइक पनि अफ गरिन् । लगत्तै मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमगाई बोले । ‘बालबालिकामाथि हुने हिंसा, मानसिक टर्चर तथा पारिवारीक बेमेलको कारण सिर्जना हुने कठिन अवस्थाहरुमा हामी सधैं चनाखो छौ । स्थानीय टोल विकास संस्था, वडा कार्यालयले यो समस्याको समाधान गर्न सक्छ, नत्र गाउँपालिकाले नै पनि विवाद मिलाउने काम गर्छ । यो भन्दा महत्वपूर्ण कुरा हामी सिङ्गाे गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारीमा छौ । यो अघि यस्ता समस्या समाधान हुनेछ ।’ अध्यक्षको पनि कुरा टुङ्गियाे ।
आमा बुबालाई सम्बन्ध टुटाउनको लागि अदालतको ढोका खुल्नु नै नानी बाबुहरुको भविष्यको धेरै संभावनाहरुको ढोका बन्द हुन सक्ने जोखिम बढ्नु हो ।
गाउँपालिका अध्यक्ष ज्यूको यि कुरा ति नानीले बुझिन् या बुझिनन् । उनको चाहेको प्रश्नको पूर्ण उत्तर यो थियो कि थिएन, उनले कति गहिरायि चाहेकी थिइन् ? कस्तो घटनाको बारेमा अग्रजसँग के सहयोग चाहन्थिन् गहिरायीमा कोही कसैले जान्न चाहेनन् । या त्यो उपर्यक्त समय भएन । त्यसपछि ति बालिकाले प्रतिप्रश्न पनि गरिनन् । उत्तरले चित्त बुझ्यो वा आफैं मन बुझाएर बसिन् ।
कार्यक्रम अगाडि बढ्दै रह्यो । बालअधिकारकर्मीहरु विभिन्न सवालमा अन्तरसंवाद गरिरहे । यो बिचमा मेरो मानसपटलमा भने धेरै प्रश्नहरु मडारिरहे ।
जीवन सधैं सरल रेखामा सहज गतिमा कहाँ बग्दछ र ? चाहेर वा नचाहेर जीवनको गति प्रायः सधैं बक्र रेखामा आफ्नै गतिमा बढीरहन्छ । ‘सम्बन्ध’ मात्रै जुन यस्तो कुरा हो, यसले बक्ररेखामा कष्टकर बन्ने जीवनलाई सहज बनाउन सक्दछ । जतिवटा पय लगाए पनि डोरीको एकै गाँठो भने झै जतिवटा सम्बन्धहरुको पयबाट जीवन डोर्याउँदै रहेपनि सहज बनाउने जीवनको डोरीमा एउटै गाँठो भनेको नै ‘सम्बन्ध’ हो । डोरीको कुनै ‘पय’ मा कुहिएको ‘गाँस’ पर्न जाँदा त्यहाँनेर डोरी कमजोर हुन्छ, सबै पयहरु उत्तिय बलियो नमक्किएको पर्यो भने, सिङ्गाे डोरीले धेरै भारीहरु बोक्न सक्छ ।
जुन भारीलाई भारीको रुप दिन,कसिलो बनाउ, डोरीलाई डोरीको रुपमा राख्ने सबैभन्दा महत्वपूर्ण काम त्यहीँ एउटा गाँठोले गर्दछ । अर्थात् जीवनमा ‘सम्बन्ध’को गाँठो । त्यही सम्बन्ध पनि चाहे जस्तो हुन सक्दैन । या भनौ चाहे जस्तो बनाउन सकिएन भने जीवन कहाँनेर चुडिने हो पत्तो हुन्न,बिचमा मक्किएको गाँसको पय परेको डोरी जस्तै । १८ वर्षिया ती नानीले उठाएको त्यो सवालमा मेरो मथिङ्गल अझै पनि रगमगाइरह्यो । साँच्चै सम्बन्ध संधै सुमधुर रहंदो हो त, हजारौं नानीबाबुको जीवन कस्तो मज्जाले फक्रँदो होला है खुल्ला आकाशमा । कति प्रगति गर्दा हुन् तिनीहरुले खुलेर यो धरतीमा ।
जीवन सधैं सरल रेखामा सहज गतिमा कहाँ बग्दछ र ? चाहेर वा नचाहेर जीवनको गति प्रायः सधैं बक्र रेखामा आफ्नै गतिमा बढीरहन्छ । ‘सम्बन्ध’ मात्रै जुन यस्तो कुरा हो, यसले बक्ररेखामा कष्टकर बन्ने जीवनलाई सहज बनाउन सक्दछ ।
आमा बुबाको सम्बन्धकै कारण बालबालिका पीडित हुनुपर्ने यो जत्तिको विडम्बना अर्को के होला र? जन्मदाताले नै सन्तानलाई बेवास्ता गर्दाको मार्मिक पीडामा जकडिएर हुर्किएपछि त्यो सन्तानले भोलीको भविष्य कस्तो बनाउँला ? उसलाई शिक्षाको प्रयाप्त ज्योती कसरी प्राप्ता होला ? आमा बुबा जसले संसार टेकाउँछन्, उनीहरु हुदाँहुदै उनीहरुबाट आभाष हुन नसकेको आफ्नोपन अरु को बाट प्राप्त गर्नसक्लान् यस्ता बालबालिकाहरुले ।
अर्को घटनाको याद आयो ।
केही दिन अगाडि जिल्ला अदालत परिसर पुग्दा एक जना अधबैंसे पुरुष भेटिए । साथमा थिइन् सानी नानी । नजिकै थिइन् अर्की अधबैंसे महिला । साथमा आएका अन्य केही महिलाहरुको गुनगुन आवास सुनेर थाहा लाग्यो कि उनीहरु सम्बन्ध विच्छेदको लागि अदालत परिसरमा थिए ।
कोरोना महामारीको कारण अघिल्लो वर्षको लकडाउनमा घरैबस्दै बिग्रेको अरे सम्बन्ध ।
‘कसरी के भयो र’ मैले जान्न चाहे ।
‘अघिपछि त खाना खायो अफिस गयो, साँझमा घर आयो, थोरै समय हुने भेट खासै तनाव दिन्नथ्यो, लकडाउनको समयमा अति नै भयो, बच्चाको अगाडि सधैंभरी झगडा, अनि छुट्टीन थालेको ।’
ति महिलाको आफन्त रहेछिन् अर्की महिलाले एकै स्वाशमा यत्ति भनिन् ।
‘कति वर्ष भयो विहे भएको ?’
‘१३ वर्ष, लब म्यारिज, पहिलो अति राम्रो थ्यो, पोहोरबाट खै के भयो उनीहरु नै जानुन्’ ती महिलाले थपिन् ।
‘अनि बच्चा ?’ मैले सोधे ।
‘९ वर्षकी नानी छ, खै अदालतले के भन्छ कुन्नि ।’
घडी हेर्दै उनीहरु अदालतभित्र पसे । म गेटबाट बाहिरीएँ ।
म गेटबाट त बाहिरीएँ तर मन बाहिरिन पटक्कै मानेन । आँखामा ति ९ वर्षिया नानी घुमिरहिन् ।
…… फुलबुट्टे पिङ्क कलरको फ्रक लगाएकी, पँहेलो फूलवाला हेडबिन शिरमा अड्याएर कपाल छाडेकी, सामान्य चप्पल, आँखामा गाजल लगाएकी ती नानी । अब ति नानीले बाबाबाट आमा बाबा दुबैको वा आमाबाट बाबा आमा दुबैको माया कसरी पाउलिन् ?
जसरी आमा बाबाले सहजै सम्बन्ध छुटाउनको लागि अदालतको बाटो रोजे, के ती नानीको जीवन पनि सहजै अगाडि बढ्ला त ? यो अघिल्लो वर्षको कोरोना महामारीले निम्त्याएको घटना थियो त्यो । हामी फेरि निषेधाज्ञाको परिधिमा छौ । यस वर्ष फेरि कोरोना महामारीको झनै डरलाग्दो चपेटामा परेका छौ । थाहा छैन, यस्ता हजारौं नानीबाबुहरुको आमा बुबाले सम्बन्धलाई समझदारीमा अगाडि बढाउन नसकेकै कारण अदालतको ढोका ढकढक्याउने छन् । बस् उनीहरुलाई अदालत खुल्ने दिनको प्रतिक्षा छ सायद । आमा बुबालाई सम्बन्ध टुटाउनको लागि अदालतको ढोका खुल्नु नै नानी बाबुहरुको भविष्यको धेरै संभावनाहरुको ढोका बन्द हुन सक्ने जोखिम उत्तिकै बढ्नु हो (मेरो बुझाइमा, केही अवस्था फरक पनि हुन सक्लान् ।)
सम्बन्धको डोरी कसिलो बनाउनको लागि समझदारी, अर्थात एकापसको बुझाइ अनिवार्य सर्त रहन्छ । ढुङ्गाेलाई माटोको भर भनेझौ दुबैलाई दुबैको आड–भरोस, भर–थेग हुँदा मात्रै सम्बन्धमा मिठास जन्मन्छ । र, त्यही मिठासमा सन्तानको भविष्य फक्रन्छ निस्फिक्रीले । एउटाले अर्कोको आवश्यकता, दुख पीडा, पीरमर्कामा साथ नदिने हो भने किन देखावाटी सम्बन्धमा रहनु भन्ने धारणा बढेको छ । आमा बुबाको सम्बन्ध आफैंमा सन्तुष्टि हुन सकेन भने सन्तानको सउज्वल भविष्य कसरी संभव छ । झ्वाट्ट सुन्दा सामान्य लागेपनि यहाँ सबैभन्दा गहिरो कुरा सेचना कै अभाव छ । के श्रीमान् श्रीमतीको सम्बन्धलाई समझदारीमा कसिलो बनाउने कुरामा दुबै सचेत भैदिए सम्बन्ध समझदारीमा चल्दैनथ्यो होला त ? यसो भन्दैमा महिलामाथि हुने हिंसा सहेरै बसौ भन्न खोजिएको अर्थ नलगाइयोस् । आमाबुबा सेचत भएमा बालबालिकाहरु आफ्नो अभिभावकहरुको आफ्नोपन नपाएर बैचैन हुनुपर्ने अवस्था आउँन्न ।
पुनः त्यहीँ १८ वर्षिया नानीको सवालमा फर्कन चाहन्छु, ‘आफ्नै घरमा आमाबुबाको सम्बन्धबाट पीडित बालबालिकाको हितको लागि कस्ले के गर्ने ?’ आमा बुबाबाहेक अन्य पक्षको जिम्मेवारी छ कि छैन यहाँ ? अहिले कोरोना महामारीको कारण सबै बालबालिका घरको चौघेरामा सिमित बस्न बाध्य छन् । उसैपनि उनीहरुलाई घर भित्र भन्दा बाहिर रमाएको आदत बढी छ । स्कुलको कक्षा कोठा, चौर, अतिरीक्त कक्षाहरु, घर–छिमेकको खेल मैदानहरु साथीभाइहरु सबैलाई बिरानो मान्न बाध्य छन् आजको परिस्थितीमा बालबालिकाहरु । यतिमात्रै हैन दैनिक सयौं बालबालिकाहरु कोरोना संक्रमणबाट पीडित भइरहेका छन्, कतिले त अभिभावकाको न्यानो काम समेत गुमाइसकेकका छन् कोरोनाकै कारण । यो सकसपूर्ण घडीमा सबै सन्तानको रक्षा गर्नु जरूरी छ, बालबालिकाहरूलाइ उनीहरूकाे इच्छा अनुसार रमाउने वातावरण प्रदान गर्दै सिप कला काैशलतालाइ प्राेत्साहन गर्दा मात्रै पनि सकारात्मक प्रभाव पर्नसक्छ ।
अब यहाँनेर बालबालिकाको सर्वोत्तम हितको सवाल के हो ? कसले ध्यान दिने यस्तो
परिस्थितिमा बालबालिकाको हितको खातिर ? महामारीको कारण त्रसित बालमनोविज्ञानको लागि कसले के गर्ने ? स्वास्थ्य स्वस्थ बालबालिकाहरुको लागि मानसिक स्वास्थ्य पनि ठिक राख्न घरलु वातावरण ठिक राखेर पनि धेरै हदसम्म अभिभावकले भूमिका निर्वाह गर्न सक्छन् ।
बालबालिकाहरुलाई उनीहरुको इच्छा अनुसारको गतिविधिमा संलग्न हुन प्रेरित गर्ने, उनीहरुसँगै खेल्ने रमाउने गरिदिँदा नै पनि धेरै हदसम्म उनीहरुको बैचेनलाई कम गर्न सकिन्छ ? टोल टोलमा स्थानीय सरकार छ । यो अवस्थामा बालबालिकालाई घरैमा रहेर रमणीय वातावरणमा सिकाइलाई बढावा दिने प्रकारको कार्यक्रमहरु ल्याउनु पर्छ । बालअधिकारको क्षत्रमा कार्यरत संघसंस्थाहरुले बालबालिकाको आन्तरीक क्षमता प्रस्फुटको लागि कार्यक्रमहरु सञ्चारमाध्यमार्फत गर्न सक्छन् । यो विषय अवस्थालाई अवसरको रुपमा लिने सकिने प्रकारको कार्यक्रमहरु ल्याउन किन पहल नगर्ने ? (सहीखबर साप्ताहिकको प्रिन्ट संस्करणबाट)