मकवानपुर/ बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम प्रदेशको राजधानी हेटौंडामा विहीबार सम्पन्न भएको छ । हेटौंडाको भुटनदेवी माध्यमिका विद्यालयमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सकिएको मुख्य निर्वाचन अधिकृत न्यायधिश डिल्लीरत्न श्रेष्ठले बताए । कुल ३४७ मतदाता रहेको निर्वाचनमा ३ सय ३८ मात्र मत खसेको छ ।
२ सय ३८ स्थानीय र १ सय १० प्रदेश सभासहित २ सय ४८ मतदाता रहेको निर्वाचनमा प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधन भएपछि प्रदेश सभा सदस्य १ सय ९ रहेको छ । यस मध्ये ३ सय ३८ मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा २ सय ३३ जना गरी ३ सय ३७ जनाले मतदान गरेको आयोगले जनाएको छ । उपनिर्वाचनमा प्रदेश सदस्य र अध्यक्ष/उपाध्यक्ष गरी ९ जनाले मत दिएनन् ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार उपनिर्वाचनमा प्रदेश सभाका ४ जना सदस्यहरुले मतदान गरेनन् । उनका अनुसार हिमाली गोले (माओवादी केन्द्र), रमेश पौडेल (विवेकशील साझा पार्टी), बिराज भक्त श्रेष्ठ (विवेकशील साझा पार्टी), शोभा शाक्य (विवेकशील साझा पार्टी) ले मतदान नगरेका हुन् । यसैगरी उपनिर्वाचनमा मत नहाल्ने ६ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु रहेका छन् । निमा ग्याल्जेन शेर्पा (अध्यक्ष हेलम्बु गाउँपालिका) कोपिला पण्डित (उपाध्यक्ष हेलम्बु गाउँपालिका) सुनिल प्रजापति (नगर प्रमुख भक्तपुर नगरपालिका) युधिष्ठिर खड्का (अध्यक्ष विगु गाउँपालिका) कल्पना भण्डारी (उपाध्यक्ष,मेलुङ गाउँपालिका) रहेका छन् ।
बागमती प्रदेशमा रिक्त राष्ट्रियसभामा उपनिर्वाचन ३ जनाको उम्मेद्वारी रहेको छ । एमालेबाट गृहमन्त्री रामबहादुर थापा मगर,नेमकिपाबाट कृष्णबहादुर तामाङ र स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन् । राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री थापालाई सूर्य चिन्ह, नेमकिपाका उम्मेदवार तामाङलाई मादल चिन्ह र काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह रहेको थियो । आवश्यक प्रक्रिया पुरा गरे पश्चात् केहि समयमै मतगणना सुरु हुने र मत परिणाम आज साँझसम्म सार्वजनिक हुने आयोगले जनाएको छ । आयोगले मत गणनाको नतिजा विहीबार नै सार्वजनिक गर्ने तयारी गरेको छ मतगणना कार्य भर्चुअल विधिबाट सुरु गरिसकिएको छ ।