- कविता शर्मा गोर्खाली
१. मर्यादा
भो अब आकाश चुम्न मन छैन
बिस्तारै नाघ्छु खुड्किलाहरू
उचाल्लिने छैन अरुको बोकाइमा
जहाँ स्वार्थका भर्याङ ओछ्याइन्छ
पुंगो अल्झाए झैं अल्झाइन्छ वाचाले
त्यहाँ प्रतिस्पर्धा फगत ऊचाइको
जहाँ अरुकै हातमा हुन्छ रिमोट्
उचाल्ने पछार्ने अथवा जहाँको त्यही
निश्चित छ हार उसैको
जस्ले बाँधेको छ ज्ञानका बिटाहरू
कठोर परिश्रमको जुइना
माऊ योग्य छ प्रशंसाको
तर पनि घँचेड़िन्छ मैदानबाट
पराजित खेलाड़ी झैं सधै सधै उ
अन्तरीक्षको चम्किलो तारा
मात्रै चम्किदिने गर्छ
देखेको छैन धर्साहरु कुनै हत्केलाको
जुनकीरीको झैँ तर यता त
कागलाई बकुल्लो बनाउने होड़ छ
हानाथापी र लुटपाट बिच बजारमा
सडक सडकमा एता उता
जताततै धेरै को मन जित्न सफल छ
आजकाग कलाकार हास्यको
जहाँ अनादि देखि चलि आएको छ
र चलिनै रहने छ प्रक्रिया दोहोरी
को लिने अथवा दिने जस्तो
आइतबारे बजारमा चारखुट्टे
आदिम मानिसको नृत्य
मूक रमिते छ्न चारै तर्फ गन्थन
एक अर्कामा कानेखुसी कस्तो अचम्म
बाँदरको हातमा नरिवल
तव त मन छैन चङ्गा बन्न
खुला आकाश पाए तापनि
नचाउने अर्कै न हो
अकास तर्फ छ मुन्टो
आज सोच्दैछु माटो खेलाउदै
खुड्किला बनाउन छ अलि दरो
जहाँबाट न पच्छारियोस न निमोठियोस
न खोसियोस
मर्यादा एक मुनासिबको ।
२. मन भित्रको मनको सग्लो ऐना हेर्दै
यमको अनिश्चित निम्तोको पखाईमा बाँचेको म
आँफैलाई चेताउनी दिने क्रममा
प्रस्तुत रहनुपर्दाको दोसाँझमा
उभिएर अन्तिम समय गन्दैछु ।
गलत हुन्छ कसैलाई दिँदा उपहार पीडाको
खुसी कसैको डुबाइँदिँदा भेलमा आँशुको
निधो नभएको जीवन डोहोर्याइरहेको हुँदा
अहंको अस्तित्व नै मास्सिन्छ
त्यसैले आफ्नो खुसीमा बाँचेको जिन्दगीले
स्वतन्त्र सत्तामा विलीन हुन चाहन्छ
पाउनु नपाउनुको टोप्लो
वेदनाको डोरीले कस्सेर बाँध्नुहुन्न
कुनै अफसोस नगरी।
अचेल मनभित्र झुण्डिएको
मनको ऐनाले साउती मार्छ
यस्तै भावना चिहाउँछ हृदयमा
अनि झस्किन्छु स्वत:झस्किए पनि
विचार्छु फेरी चाख्न खोज्छु
त्यो ऐनामा दलिएको सत्य अनुभूति।
ऐनासितको आत्मियतामा
शंका उब्जिएको छ
किनकिम अगडी उभिँदा त्यो ऐनाले
मलाई नदेखाएर मेरो अनुहारभित्र
सन्देहको सीमा बेरिएको
नकल प्रतिलिपि देखाउन खोज्छ
छाला कपास उस्ताउस्तै।
मेरा अप्ठ्यारा समयमा
मेरा समयले मलाई गिज्याउँछ।
पदध्वनीको गुन्जनमा शून्य अस्तित्व बोक्ने
एउटा अपरिपक्क म देख्छु आँफै
घरको आँगन निस्कँदा
अनगन्ती असीम यात्रामा निस्किएझैँ
अनुभूत हुने गर्छ अचेल।
तेसैले म पनि उभिन थालेको छु
अचेल मन भित्रको सग्लो ऐना अघि
उसले देखाएको बाटो पहिल्याउन थालेको छु
कर्तव्य र दायित्वको संज्ञा भित्र
रुमलिँदै हाँस्ने र हँसाउने संकल्पमा
तत्पर बनेको छु यमको स्वागतमा
समयको निम्तो पर्खिँदै।
बँगैगाउँ गुहावटी अासाम