मकवानपुर । साथी हत्या गरि फरार मकवानपुर बकैया गाँउपालिका भीमराज भोलनलाई मकवानपुर प्रहरीले शनिबार साँझ पक्राउ गरी आइतबार सार्वजनिक गरेकाे छ ।
कार्तिक २१ गते शुक्रबार बकैया ४ नयाँ दमार सिमाद खोला किनारको फुटबल मैदानमा सोही गाउँका २० वर्षीय विकास वाईवा र भोलनको विवाद हुँदा भोलनले विकासमाथि खुकुरी प्रहार गरेका थिए । चौरमा बसी चुरोट खाइरहेको अवस्थामा विवाद हुँदा भोलनले आफ्नो साथमा बोकेको धारिलो हतियार खुकुरीले एक्कासी प्रहार गरी घाइते बनाई लखेटी शरीरको विभिन्न भागमा प्रहार गरी घाँटी छिनाई शरीरबाट टाउको अलग गरी फरार रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।
घटनापछि भागेका भोलनलाई जिल्लाका सबै नाकामा प्रहरी परिचालन गरेर खोज्ने क्रममा २७ घण्टापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । भोलन भागेर ललितपुरको बागमती गाउँपालिका २ माल्टामा पुगेका थिए । स्थानीयले उनको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए। स्थानियको खबरपछि ईलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरको प्रहरी टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भोलनलाई ल्याइएको प्रबक्त्ता रानाले बताए ।
भोलनलाई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखी कर्तव्य ज्यान सम्बन्धी कसुर अनुसारकाे कारवाहीकाे लागि अनुसन्धान भइरहेको रानाले जानकारी दिए ।