मकवानपुर । मकवानपुरमा लामखुटेको टोकाईवाट हुने डेङ्गु रोगको बिरामी कम भएको पाइएको छ । चालू आर्थिक वर्षको चार महिनाको अबधिमा विगतको तुलनामा डेङ्गु रोगको बिरामी कम भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
गत साउनदेखि कात्तिक महिना हुने यो रोगका बिरामी यस वर्ष कम रहेको पाईएको बताइएको छ । कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउन देखि कात्तिक महिनाको २३ गते सम्ममा १३ जनामा सो रोग फेला परेको वताइएको छ ।
गत आर्थिक वर्षमा तीन हजार भन्दा वढी व्यक्तिमा उक्त रोग फेला परेको थियो । चालू आर्थिक वर्षको हालसम्ममा साउन एक महिला र दुई पुरुष, भदौमा एक महिला र तीन पुरुष तथा असोजमा दुई महिला र चार पुरुषमा सो रोग देखा परेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकरी दिए । ज्वरो जाचँको क्रममा १३ जनामा सो रोग देखिएको हो ।
यस वर्ष कोरोना महामारीको सङक्रमणका कारण सरसफाईमा ध्यान दिएको र जथाभावी बाहिर नवस्नाले सो रोगको प्रकोप कम भएको चिकित्सकहरुको भनाइ रहेको छ । उक्त रोग एडिस् एजिप्टाई जातको कालो पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्छ ।