मकवानपुर । उमेर ५४ वर्ष । नाम सुदर्शन ढकाल । पुर्वपश्चिम राजमार्गको अन्तरगत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ३ बसामाडीमा सडकको आडैमा उनको घर छ । घरैमा पाली हालेर सञ्चालन गरिरहेका छन् ढकाल मोटरसाइकल वर्कसप । दुबै आँखा नदेख्ने उनी छामेकै भरमा मोटरसाइकल मर्मत गर्छन् ।
३८ वर्षदेखि उनी यही ग्यारेजमा रमाइरहेका छन् । यही ग्यारेजबाट चलेको छ घर संसार । छामेकै भरमा सबै मोटरसाइकलको इन्जिन र पार्ट पुर्जा सही र बिग्रेको पत्त लागउँछन् । खोल्ने र फिट गर्ने काम गर्छन । ११ वर्षसम्म आँखैले हेरेर गरेको काम पछिल्लो २७ वर्षदेखि त्यै आदतले छामेकै भरमा गर्छन उनी । भन्छन् “केही स्टार्ड गरेपछि आवाजबाट समस्या पत्ता लाग्छ, केही छामेर पत्ता लाग्छ ।” २०४२ सालदेखि ग्यारेजमा काम गरेका उनलाई २०५३ सालमा आँखाको समस्या देखिएको हो । आँखाको ज्योति गुमाउँदा पनि उनी पछिल्लो २७ वर्षदेखि छामेर र आवाज सुनेरै मोटरसाइकल मर्मतको सबै काम गदै आएका छन् ।
जति सानो पार्टपुर्जा जोड्न पनि उनलाई कसैको सहयोग चाहिदैन । स्टार्ड भएपछि त्यो आवाजले नै कहाँ के बिग्रेको छ भन्ने सहजै बुझ्छ उनी । “कुनै साधन चाँही स्टार्ड नभएर ल्याएको हुन्छ, त्यसलाई स्टार्ड गराएर फलामसँग कुरा गर्छु, त्यसको भाषा बुझ्छु” उनी भन्छन् । पार्ट पूर्जा फिट गर्न पनि सजिलै लाग्छ उनलाई । उनी भन्छन् “एउटा पार्ट अन्त फिट हुदैन, छामेरै सही ठाउँमा पुगिन्छ ।”
सबैभन्दा गाह्रो चै के गर्न हुन्छ ? उनी भन्छन् “वायरिङको समस्या छ भने चाही तार चिन्न समस्या हुन्छ, छामेर त रातो कालो तार चिनिदैन । यस्तो बेलामा ग्राहक, श्रीमती वा छोरो को नजिक छ उसैलाई सोध्छनन् । तार जोड्नको लागि तारको रङ बताउन सक्ने बच्चा भए पनि आफूलाई सहयोग पुग्ने बताउँछन् उनी । पहिले र अहिले सवारीको पार्ट पुर्जा नयाँ मोडल नयाँ तर उनलाई केही फरक लाग्दैन मर्मत गर्नमा । नयाँ मोडल भए पनि पेट्रोल इञ्जिन नै भएकोले केही फरक फरक सिस्टम भए पनि समस्या नहुने उनी बताउँछन् । सिक्नेबेलामा जापानीज गाडी मर्मत सिकेका उनी अहिले सबै कम्पनीको मर्मतमा पोख्त छन् । १६ वर्षको उमेर सिप सिक्दा पनि उनले तालिम लिएका हैनन्, क्याटलक हेरर/पढेर सिकेको हुन् मर्मतको सिप ।
कसरी गुम्यो आँखाको ज्योति
उनी स्कुले पढाई धेरै उत्कृष्ट थिएनन् । कक्षा ९ मा असफल भएपछि उनी यो क्षेत्रमा आएका हुन् । होण्डा कम्पनीको भाजुरत्नमा कार्यरत थिए । सिपीजेड मोटरसाइकल लन्चिङ भयो, धरान शाखाबाट विक्रीका लागि हेटौंडाबाट १२ थान मोटरसाइकल धरान लैजाने काममा खटिए सुदर्शन र उनका अन्य साथीहरु ।
उनीहरुको टोलीले हेटौंडाबाट धरान शाखामा जाँदै थियो । कोशी पुलको नजिक पुगेका थिए, सडकको लच्कामा उनीभन्दा अगाडी गुडिरहेको कारले एक्कसी ब्रेक हान्यो । ब्रेकको रातो बत्ति बलेपछि उनले एक्कासी आँखै देखेनन् । सुदर्शन चढेको मोटरसाइकल अनियन्त्रित भयो । मोटरसाइकल चलाउन अनुभवी उनी दुर्घटनामा भने परेनन् । बाटोको किनारा लगाएर रोके । तर, आँखाले केही देखेनन् । साथीहरु बीच इटहरीको तरहरा भन्ने ठाउँमा खाजा खाने सल्लाह हेटौंडामा नै भएको थियो । उनलाई उछिनेर अघि बढेका साथीहरु त्यहाँ पुगेर उनलाई पर्खिए । तर उनी कोशीबाट अघि बढ्नै सकेका थिएनन् । त्यो बेला मोवाइल सञ्चार थिएन, साथीहरु फर्केर खोज्दै आए । उनलाई कोशीको नजिकै भेटें । सडकको सेतो लाइन र कुनै गाडी अघि बढ्दा त्यसले ब्रेक लगाएमा रातो बत्तिमात्रै देख्ने भएछन् उनी ।
“अहिले सुन्नेलाई कथा जस्तो लाग्ला” सुदर्शन भन्छन् “हामी साथीहरु मिलेरे तरहरासम्म पुग्यौ ।” त्यसपछि दिउँसो अलिअलि देख्ने राती नदेख्ने भए उनी । २०५६ सालमा काठमाडौंको तिलगांगामा आँखा जाँच गराए । नेत्र रोग विशेषज्ञले आखाँको नशा सुकेको र यसको उपचार नहुने बताए । उनले आशा मारेनन् । धामी झाँक्री पनि गरे । तर समस्या घटेन, बरु बढीरह्यो । फर्केर हेटौंडा आए । २५ वर्षको उमेरमा आँखाको ज्योति गुमाएका उनी आफ्नो सिपको सदुपयोग गर्नको लागि ग्यारेज खोले । अहिले पनि उनी राती बालिएको बत्ति देख्छन् तर अरु देख्दैनन् । कोही मान्छे नजिक आएमा त्यो आकार मान्छेको हो भन्ने सम्म मात्रै चिन्छन् । ९० वर्ष लाग्दै गरेका उनका बुबा बिना चस्मा पत्रपत्रिका पढ्छन् । तर उनलाई एक्कासी यस्तो समस्या आयो । “आँखामा कुहिरो लागेजस्तो हुन्छ, यो कुहिरो काट्ने औषधी पाए आँखा देख्थे होला जस्तो लाग्छ” उनी भन्छिन् “अहिले छामेरै सबै काम गर्छु, कहिले आफ्नै आँगन पीँढीमा ठक्कर खान्छु, तर सम्हालिदै छामेर सबै काम गर्छु ।”
मान्छेको आशा त कहाँ मर्छ र । आशा अझै बाँकी छ । उनी २ वर्ष पहिले उपचारको आशा बटुलेर भारतको बरेलीसम्म पुगे । तर त्यहाँबाट पनि उपचार भएन । अझै पनि जिल्लामा आँखा शिविर हुँदा न उपचार भैहाल्छ कि भनेर शिविरसम्म धाउँछन् । एक साता अघि पनि आफ्नै वडामा आयोजित आँखा शिविरमा पुगेका थिए उनी । मैले राम्रो पढेर अरु काम गरेको भए कसरी बाँच्थे होला । आँखाको ज्योतिसँगै जागिर जान्थ्यो, म डिप्रेसनमा पुग्थे होला” भन्छन् “सिपले बाँच्ने हौसला पाइरहेको छु आजसम्म ।”
श्रीमती पनि मिस्त्री
२०६४ सालमा श्रीमती कमला अर्याल ढकालले पनि घरेलु तथा साना उद्योगबाट मोटरसाइकल मर्मत तालिम सिकिन् । श्रीमान् आँखा नदेख्ने भएपछि सघाउन सहयोग होस भनेर उनले तालिम सिकेकी थिइन् । तर अहिले उनी पूर्ण मित्री भएकी छिन् । मैले सिकेपछि छोरो राजीवले पनि सिक्यो । अहिले हामी परिवार नै मित्रि भएका छौ ।
करेन्ट लाग्ने, काट्ने काम गर्नुपर्दा चाँही उहाँ (श्रीमान)लाई उक्लै छाड्दैनौ । अरु काम उहाँ आफैंले सबै गर्नुहुन्छ । “हामी ३ जना नै मोटरसाइकल मर्मतको सबै काममा पोख्त छौ” कमला भन्छिन् “मलाई चलाउन चाही म जान्दीन, यही वरपर चलाएर हेर्न परे श्रीमान्ले पनि हेर्नुहुन्छ, बाटो (राजमार्ग) मा ट्रायल गर्न परे छोरोले गर्छ ।” “मर्मत गर्न र चलाउन दुबै सिक्ने मनथ्यो त्यो बेला मर्मत मात्रै सिक्न पाएँ” मोटरसाइकल चलाउन नजाने पनि यसको कुन पार्ट पुर्जामा के खराबी आएको छ, सबै ज्ञान छ कमलालाई ।
छोरा राजिव घरमा कमै हुन्छन । सुदर्शन र कमला ग्यारेजमा हुँदा कमला प्रशासनिक काम हेर्छिन । सुदर्शन मर्मतको पाटो सम्हाल्छन् । मर्मतपछि शुल्क लिने । आवश्यक पार्ट पुर्जा किन्नको लागि लिस्ट तयार गर्ने, सामान किन्न बजार जाने काम बढी कमला सम्हाल्छिन् । कहिले काँही कामको चाप हुँदा दुबैजना मर्ममा भिड्छन् । आफू नहुँदा कतिपयले श्रीमानलाई मर्मत शुल्क नै नदिइ हिड्ने गरेको पीडा सुनाउँछिन् कमला । छोरोको यहाँ (ग्यारेज) र अर्को काममा बराबर जस्तो लाग्छ, हामी दुईको पुरै समय यही काम हो” कमलाले भनिन् ।
कर्मकाण्ड पढेका राजिव ग्यारेजमा व्यस्त
सुदर्शन–कमलाका दुई सन्तान । एक छोरा एक छोरी । विवाहित छोरी हेटौंडा बजारमा फेन्सी पसल चलाउँछिन् । छोरा राजिवको सानैदेखि रुचिको क्षेत्र थियो कर्मकाण्ड । उनीहरुले छोरालाई संस्कृत पढाए । किशोरावस्थामा नै उनी गाउँ छिमेकमा कर्मकाण्ड काममा लागे ।
अहिले पनि उनलाई पूजापाठ, तिथी श्राद्ध, सप्ताह ज्ञान महायज्ञको कामले प्राय व्यस्त नै हुन्छन् । जब यि कामबाट फुर्सद मिल्छ उनी पनि आमा बुबालाई सघाउँन ग्यारेमा आइपुग्छन् । आफू हुर्कदै गर्दा आमा बुबाले यही काम गरेको देखे राजिवले । “बा–आमालाई सानो तितो काममा सघाउँदा सघाउँदै सबै सिप जाने” उनी भन्छन् “अहिले यो काम पनि धेरै रुचि लाग्छ ।”
महेश गुरुकुल देबघाटमा सँस्कृत अध्ययन गरेका राजिवले हेटौंडा फर्केर पुनः मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकाय अध्ययन गरे । सँस्कृतमा शिक्षा हासिल गर्ने क्रममा चितवन देवघाट बसेका राजिवले घर, फर्के पछि ग्यारेजमा काम नगर्ला भन्ने लागेको थियो । तर त्यसो भएन । “सेतो पोषक लगाएर सफा आशनमा बसेर, धुपको वास्ना चलाउँदै काम गर्ने पण्डित हाे छोरो, तर मेरो यो कालो मोबिल र गन्हाउने मट्टितेलमा लतपत्तिएर ग्यारेजको काममा के गर्ला र भन्ने लागेको थियो” सुदर्शन भन्छन “सुरुसुरुमा त फोहोर माने जस्तो पनि गर्यो, तर सजिलै यसमा पनि रत्तियो ।”
“सिप कहिल्यै पनि ठुलो र सानो भन्ने हुन्न” सुदर्शन भन्छन् “मैले यो सिप नजानेको भए अहिले आँखा नदेख्दा तनाव कै कारण मर्थें होला ।” उनीहरु अहिले मासिक कम्तिमा ५० हजार बचत गर्छन् ।