मकवानपुर । हेटौंडामा गत ११ माघबाट सुरु भएको ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ सोमबार समापन गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा १३ दिनसम्म चलेको महोत्सवमा करिब दश करोड बराबरको कारोबार भएको संघले जनाएको छ ।
महोत्सवमा करिब एक लाख दर्शकहरुले महोत्सवको अवलोकन गरेको अनुमान आयोजकको रहेको छ ।महोत्सवमा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु राखिएको थियो ।
सोमबार युवा पुस्तामा चर्चित रहेकी गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरेकी थिइन् । उनले फोटो फिरेममा…, उनको प्रिती पहिले होकी मेरो प्रिती पहिले…, सम्झिनी पानी छम्किनी…लगायतका चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो सांगीतिक प्रस्तुती दिदैं दर्शक नचाएका थिए ।
महोत्सवका संयोजक एंव संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेश सभामा सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको थियो । समापन कार्यक्रममा महोत्सवलाई प्रायोजक, सहप्रायोजक, महोत्सवलाई सफल बनाउने सबै सहयोगी हातहरु सम्पूर्ण संघसंस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, भुवनलाल श्रेष्ठ, उत्तम शर्मा ढकाल, निर्वतमान अध्यक्ष कृष्ण कटुवाल, मकवानपुरका विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, हेटौंडा उपमहानगरपालिका प्रवक्ता एंव वडाध्यक्ष सविन न्यौपाने, वडा १० वडाध्यक्ष फुर्वा दोर्जे लामा, संघका सल्लाहकारहरु तथा विभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापा मेला गरेको थियो । त्यसपछि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको थियो । यस्तै २०६८, २०७०, २०७२ र २०७५ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको संघले ४ वर्ष पछि १० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ आयोजना गरेको हो ।