मकवानपुर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा मकवानपुरमा सामूदायिक वन उपभोक्ता महासंघ मकवानपुरले सचेतनामूलक र्याली गर्ने भएको छ ।
अभियानको क्रममा महासंघले आगामी १५ गते दिउँसो हेटौंडामा सचेतनामूलक र्याली गर्ने तयारी गरेको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति अध्यक्ष साधुराम चौलागाईले बताए । आफू हिंसा नगर्ने र छिमेकीलाई हिंसा गर्न नहुने ज्ञान प्रचारको लागि र्यालीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको अध्यक्ष चौलागाईंले बताए ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा सरोकारवालाहरूसँग समन्वयात्मक बैठकमा यस्तो जानकारी गराइएको छ । पिछडिएको वर्गको उत्थानका लागि सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको सचिवालय सदस्य रामहरि चौलागाईंले बैठकमा बताए ।
सचेतना मूलक अभियानसँगै सामूदायिक वनले आय आर्जनसंग जोडेर काम गरेको चौलागाईंले बताए । अभियानको क्रममा महासंघले देशको सबै जिल्लामा कार्यक्रम गरिदै आएको चौलागाईंले बताए ।
बैठक सहभागीहरूले जिम्मेवारी बोझको कारण बढेको हिंसा, आर्थिक अभावको कारण भोग्नुपरेको हिंसाको सवाललाई सम्बोधन गर्ने कार्यक्रम हुनुपर्ने, हर व्यक्तिले सोच तथा व्यवहारमा परिवर्तन ल्याउन सक्दा मात्रै हिंसा न्यूनीकरण हुने वन समितिको अध्यक्षहरूले बताएका थिए ।
कार्यक्रममा हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबा, मकवानपुर महिला समूह कार्यक्रम संयोजक निशा लामा, नारी सीप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले अभियानको क्रमा गरिने कार्यक्रम बारे जानकारी गराएका थिए ।
कार्यक्रममा अल्पकालीन सेवाकेन्द्र प्रमुख बिन्दा बर्तौला, दलित महिला संघ अध्यक्ष पवित्रा बिश्वकर्मा जिल्ला स्थित विभिन्न सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।