मकवानपुर । स्थानीय तह निर्वाचन २०७८ मा गठबन्धनबाट चुनाव जितेर आएपछिको १०० दिनमा भएको प्रगतिको बारेमा जानकारी गराउँन आयोजित कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामाले गुनासोको बेलीविस्तार लगाइन् ।
नगरप्रमुख भएर आएपछि नगरपालिकाको कार्य प्रगतितर्फभन्दा आफन्तलाई चित्त बुझाउन अग्रसर भएको आरोपप्रत्यारोप खेपिरहेकी लामाले आफैले आयोजना गरेको कार्यक्रममा आफूमाथि लागेको गुनासाहरु आफैं सार्वजनिक गरिन् ।
लामाले भ्रष्टाचारको आरोपमा जनप्रतिनिधिलाई असफल बनाउने खेल भएको आरोप लगाइन् । लामाले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा बेनामी र फर्जी उजुरी हालेर जथाभावी भ्रष्टाचार भएको भन्ने आरोप हेटौंडा उपमहानगरमाथि लगाइएको बताइन् । भ्रष्टाचार भएको प्रमाणित भए आफू हदैसम्मको कारबाही भोग्न तयार रहेको लामाले बताइन् । लामाको नेतृत्व आएपछि मात्रै हेटौंडा उपमहानगरपालिकामा ५० वटाभन्दा बढी उजुरी परिसकेको लामाले बताइन् ।
हेटौंडा उपमहानगरपालिकाले एकसय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्न कार्यक्रम गरेको थियो । उपमहानगरपालिकाले हेटौंडामा पत्रकार सम्मेलन गरेर आफूले अगाडि बढाएको कार्यबारे जानकारी दिएको हो ।
उपमहानगरपालिकाले यसअवधिमा प्रत्येक घरधुरीलाई दश हजार लिटर खानेपानी निः शुल्क वितरण सुरु गरेको, उपमहानगरका अतिविन्न १५४१ परिवारलाई स्वास्थ्य बीमा गरिएको नगरप्रमुख लामाले जानकारी दिइन् । यसैगरी नगरमा तीनपांग्रे सवारी पार्किङ व्यबस्थापनको पहल स्वरुप स्टिकर टास्ने कार्य सुरु लामाले बताइन् ।
नगरपालिकाले हालसम्म मयुरी ३०३ र अटो १ हजार १२२ गरी जम्मा १ हजार ४२५ तीन पांग्रे सवारीमा स्टिकर टाँसेको छ । यसैगरी रेडक्रससंग सम्झौता गरी चालु आर्थिक बर्षमा नगरबासीहरुलाई निःशुल्क रक्तसेवालाई नविकरण गरिएको जनाएको छ ।
यो सेवा अघिल्लो आर्थिक वर्षमा नै निर्णय भएको थियो । लामाको कार्यकाल सुरु भएपछि हटिया र पदमपोखरी स्वास्थ्य चौकीकोस्तर बृद्धि गरी आधारभूत अस्पतालको रुपमा सञ्चालन गरी हाललाई ओपिडि, प्रयोगशाला र स्वास्थ्य बीमाको औषधी वितरण गर्ने प्रयोजनको लागि चिकित्सक भर्ना प्रक्रिया र बीमा सेवा अनुमती प्रकृया अगाडि बढाइएको जनाइएको छ ।