मकवानपुर / बागमति प्रदेशको राजधानी रहेको एकमात्र हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला नगर प्रमुख बन्ने भएकी छिन् । लामो समय एमालेको लालकिल्ला रहेको हेटौंडा उपमहानगरपालिका सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी मिनाकुमारी लामालाई जित हासिल गर्न कठिन हरेको आकंलन गरिन्थो । तर मतगणना अन्तिम चरणमा आइपुग्दासम्म उनको जित निश्चित भएको छ ।
मत गणनाकाक्रममा लामालाई आएको मतको अवस्थालाई र उनको अग्रतालाई हेर्दा हेटौंडावासीले पहिलो महिला नगर प्रमुख पाउने पक्कापक्कि देखिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपप्रमुखको रुपमा भारी मतले विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादीमा रहेकी उनले गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी छिन् ।
हालसम्मको मतगणनालाई हेर्दा उनका प्रतिस्पर्धी रहेका एमालेका अनन्त प्रसाद पौडेल र राप्रपाका दिपक बहादुर सिंहले कमव्याक गर्ने सम्भावना कम रहेको देखिन्छ । भलै सुरुवाती मतगणनामा पौडेल अगाडी भए त कहिले सिंहको अनेपेक्षित मतले हेटौंडाको चनावी माहोल ततायो । एमालेको लालकिल्ला मानिएको नगरका वडाहरुका अपेक्षित मत पौडेललाई आउन सकेन ।
लामाको लगातारको अग्रता र मतपरिणामले हेटौंडाले महिला मेयर पाउने देखिन्छ । अघिल्लो कार्यकालमा उपप्रमुख भएर काम गरेकी लामालाई नगर प्रमुख भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने अवसर प्राप्त हुने देखिन्छ । गठबन्धनबाट नगरप्रमुख भएमा लामालाई काम गर्न भने त्यति सहज देखिन्न् । पाँच दलीय गठबन्धनको स्वार्थ अनुरुप नगरको काम गर्न पर्ने उनमा बाध्यता रहन सक्छ ।
हेटौंडाको पहिलो महिला मेयर भई उत्कृष्ठ कार्य सम्पादनबाट हेटौंडाको मुहार फेर्न लामा कतिको सफल हुनेछिन त्यो हेर्न बाँकी रहने छ ।
को हुन मिना कुमारी लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा जन्म भएको मीना कुमारी लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो ।
२०४६ सालबाट विद्यार्थी जीवनबाट नै राजनितीमा यात्रा सूरु गरेर हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम।ए। र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल।एल।बी।सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडी बढिन् ।
२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासंग विवाह भयो ।
श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीति संगै अघि बढेकी मीना २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप(सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरिन् ।
२०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भएकी हुन् ।
लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको हो । खबरब्रेकको सहयोगमा