मकवानपुर / सामाजिक नेतृत्वमा महिलालाई अग्रसर बनाउन मकवानपुर महिला समूहले विभिन्न कार्यक्रम गरेको एक कार्यक्रममा बताइएको छ ।
घर परिवारबाट विभिन्न हिंसा भोगेर सहेर बस्ने महिलाहरू अब आर्थिक रुपमा सशक्त हुँदै हिंसा विरुद्ध आवाज उठाउने गरेको बताईएको हो ।
मकवानपुर महिला समूहले सन्चालन गर्दै आएको परियोजनाहरूको सुशासन पारदर्शीता र जवाफदेहीताका लागि सामाजिक लेखाजोखा कार्यक्रममा शुक्रबार हेटौंडामा यस्तो जानकारी सार्वजनिक गरिएको हो । एक्सन एड नेपालको आर्थिक सहयोगमा संचालित ४ वटा परियोजनाको सामाजिक लेखाजोखा गरिएको थियो । कोभिड संक्रमणको कारण फिल्डमा गर्ने कार्यक्रमको रूप फेरेर आवश्यकतामा आधारित कार्यक्रम गरिएको कार्यक्रम संयोजक निशा लामाले बताइन् ।
मकवानपुर महिला समूहले नगरको ग्रामीण वडा तथा गाउँपालिकामा महिला सशक्तीकरणको काम भएको कार्यक्रम संयोजक लामाले बताइन् । कार्यक्रम लागू भएपछि अन्यायको विरुद्ध आवाज उठाउने, उत्पादनको लागि सामूहिक रुपमा लागिपर्ने, बाल विवाह विरुद्ध लाग्ने गरेको उनले बताइन् । महिलालाई आय आर्जनमा लगाउने, महिला र किशोरीलाई हिंसा तथा विभेदबाट माथि उठाउने सशक्तीकरणको कार्यक्रम समूहले गरेको लामाले बताइन् ।
कार्यक्रममा समूहको लेखा अधिकृत निर्जला पोखरेलले बिक्त प्रतिवेदन र कार्यक्रम संयोजक निशा लामाले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाले कोभिड संक्रमणको समयमा समूहले ९५ जना विशेष सामग्री वितरण गरेको जनाएको छ । यसैगरी स्थानीय स्वास्थ संस्थालाई पनि मेडिकल सामग्री सहयोग गरेको समूहको अध्यक्ष कमला सुबेदीले बताइन् । हिंसाको सवालमा काम गर्दैगर्दा प्रेषण प्रणालीलाई प्रभावकारी बनाउनु अनिवार्य भएकोले संस्थाले यसतर्फ ध्यान दिने गरेको अध्यक्ष सुबेदीले बताइन् । संस्थाले हेटौंडा १९ मा कुवापानी खानेपानी परियोजना अन्तरगत ७५ लिटर पानी भण्डारण गर्न सकिने ट्याङ्की निर्माण, त्यस क्षेत्रका महिलालाई नेतृत्व विकास बारे कार्यक्रम गरेको उनले बताइन् ।
मकवानपुर महिला समूहले एचआईभी संक्रमित प्रभावितको आयआर्जन वृद्धि, नेतृत्व विकासलगयतको क्षेत्रमा काम गर्दै आएको छ । लक्ष्यित बर्गमा काम गर्न थालेपछि संक्रमित प्रभावितहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन देखिएको सहभागीहरूले बताएका थिए ।
कार्यक्रममा माइती नेपाल मकवानपुर प्रमुख माया लामा, हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबा, बाल संरक्षण संजालका अध्यक्ष प्रकाश खतिवडा, महिला अधिकार मन्च जिल्ला अध्यक्ष निर्मला घलान, गैसस महासंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटालगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो ।