मकवानपुर । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४ सय ८ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ रहेको थियो ।
यस्ताै बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
यसै बीच सर्वोच्च अदालतले सरकारकाे नाममा कोरोना परीक्षण निःशूल्क गर्नु भन्ने जारी गरेकाे परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निवेदन खारेज भएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले गत असोज १५ गते जारी भएको परामदेश नै अन्तिम हुने फैसला सुनाउँदै सरकारी निवेदन खारेज गरेको हो ।
अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले कोरोना संक्रमण परीक्षणको शूल्क लिनु गैरकानूनी भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत असोज १५ गते सर्वोच्चले निजी तथा सरकारी स्वास्थ्य संस्थाबाट शूल्क लिएर कोरोना परीक्षण गर्नु कानून विपरित रहेको भन्दै निःशूल्क गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो ।
सो फैसलाविरुद्ध गत कार्तिक १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चको परमादेश पुनरावलोकनको मागसहित निवेदन दर्ता गरेका थिए । सर्वोच्चको आजको आदेशसँगै सरकारका लागि सबै कानूनी ढोका बन्द भएको छ भने अब कोरोना परीक्षण निःशूल्क गर्नुपर्ने भएको छ ।