मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा प्रदेश सरकारले महिला चालक उत्पादन तथा महिला लक्षित राेजगार कार्यक्रम गरेकाे हाे ।
प्रदेशकाे श्रम, राेजगार तथा यातायात मन्त्रालयकाे आयाेजनामा महिला चालक उत्पादन तथा महिला लक्षित राेजगार कार्यक्रमकाे मन्त्री लक्ष्मण लम्सालले सुरु गरेका हुन् ।
मन्त्री लम्सालले महिला स्वराेजगारीकाे लागि सहयाेग पुर्याउने तथा सार्वजनिक यातायातलाई थप मर्यादित बनाउने उद्देश्यका साथ तालिम सुरु गरिएकाे बताए । ‘सवारी चालक बन्न रुची राख्ने महिलालाई समेटेर राेजगार लक्षित कार्यक्रम सुरु गरिएकाे छ’ उनले भने ‘प्रदेशका १३ वटै जिल्लाका एक सय जना महिलालाई साना सवारी चालक बनाउन सवारी तालिमका लागि लगानी गरिएकाे छ ।’ पहिला सय जनालाई तालिम दिएपश्चात आउने परिणाम हेरेर थप गर्दै जाने लक्ष्य मन्त्रालयकाे रहेकाे उनकाे भनाई थियाे ।
सीप सिकेपश्चात कुनै न कुनै पेशामा आबद्द हुनुपर्ने तथा अप्रत्यक्ष रुपमा यस्ता तालिमले राम्राे प्रतिफल दिने उनले बताए । तालिममा मकवानपुरका ६ जनासहित एक सय जनाकाे महिलाकाे सहभागी रहेकाे छ । रसुवा जिल्लाबाट तालिममा सहभागिता जनाइएकाे छैन । कार्यक्रम यातायात मन्त्रालय सचिव बलराम निराैलाकाे सभाध्यक्षता तथा मन्त्री लम्सालकाे प्रमुख आतिथ्यतामा भएकाे तालिम उद्घाटनमा, जय बागेश्ववरी ड्राइभिङ सेन्टरमा संचालक सिताराम पाैडेललगायतकाकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरमा रहेको महिला साहित्यकारहरुको सस्था आँचल साहित्य कला पुञ्जले आगामी बैशाख ५ गते खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको आँचलले आइतबार पत्रकार भेटघाट गरि जनाएको हो । हेटौंडा उपमहानगरपालिका १० नं. वडा कार्यालयसँगको सहकार्यमा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने आँचल अध्यक्ष भावना सापकोटाले बताइन् । त्यस्तै सान्त्वना हुनेले पनि नगद २ हजार प्राप्त गर्नेछन् ।
सापकोटाका अनुसार गत वर्ष आँचलले पारिजात स्मृति दिवसको सन्दर्भमा ‘पारिजात’ विषयक खुला कविता प्रतियोगिता आयोजना गरेको थियो ।
त्यस्तै सस्थाले वैशाख १५ गते हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा वृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको सापकोटाले बताईन् ।
कार्यक्रममा विभिन्न श्रष्टा सम्मान, विद्यालय स्तरीय एकल गयन प्रतियोगिता, बहस कार्यक्रम लगायत विविध विधाका साहित्यिक प्रस्तुति रहनेछ । विद्यालय स्तरीय एकल गायनमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) ले मोरङका मुक्तककार बाबुराम पोखरेललाई सम्मान गरेको छ । झरनाकाे ३ सय २ औं श्रृङ्खलामा शनिबार पोखरेललाई १५ हजार ५ सय ५५ राशीको ‘शिव-सावित्री अधिकारी स्मृति साहित्य सम्मान’द्वारा सम्मानित गरिएकाे हाे ।
यसैगरी झसापले यसअघि सार्वजनिक गरेका उत्कृष्ट १० मुक्तकारमध्ये ज्ञानदीप शिक्षा निकेतन माविकी छात्रा आकाङ्क्षा निरौला सर्वोत्कृष्ट भएकी छिन्हु । उनलाई ५ हजार ५ सय ५५ नगद राशिको ‘शिव-सावित्री मुक्तक पुरस्कार’ द्वारा सम्मानित गरिएकाे छ । दुवै पुरस्कारकाे स्थापना झसापका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले गरेका हुन् ।
यस्तै टिकटमा मुक्तक कार्यक्रमअन्तर्गत डडेल्धुराकी पार्वती भट्ट, स्याङ्जाकी अमृता पोख्रेल, धादिङकी निर्मला स्नेहीका साथमा मकवानपुरका स्रष्टाहरू सानु खनाल र दीपक गौतमले ६/६ वटा मुक्तकहरू वाचन गरेका थिए ।
झसापका संस्थापक अध्यक्ष तथा पुरस्कार संस्थापक अधिकारीले कतिपय लेखकहरूले आर्थिक क्षमताका बाबजुद पनि धेरै स्रोतहरूबाट सङ्कलन गरी निकै दुख र कष्टका साथ पुस्तक प्रकाशन गर्ने गरेकाे बताए । ‘पुस्तक छापिइसकेपछि पुरस्कार दिनुभन्दा पान्डुलिपिमै पुरस्कार दिने परम्परा बसाउन सके पुस्तक प्रकाशन गर्नमा हौसला मिल्न सक्छ’ उनले भने ।
झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएकाे साहित्य शृङ्खलामा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने प्रमुख आतिथ्यता रहेकाे थियाे । झसाप सचिव मसान उपासकले सहजीकरण गरेकाे कार्यक्रममा भावना सापकोटा, राजकुमार लामिछाने, सागर तिमल्सिना, डिबी बर्तौला, निमेष निखिल, रामकुमार एलन, सुबास सजल, छवि अनित्य, मञ्जु मैनाली, भवानी तिमल्सिना, दिनेश शर्मा लगायतका स्रष्टाकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहनगरपालिका वडा नम्बर १७ मा रहेकाे बालबोध माध्यमिक विद्यालयकाे ६७ औँ अभिभावक भेला भएकाे छ । जिल्लाको दोस्रो पुरानो विद्यालय विद्यालय बालबोधकाे शनिबार ६७ औँ अभिभावक भेला सकिएकाे हाे ।
हेटौंडा १७ भुलभुलेस्थित विद्यालय परिसरमा भएकाे अभिभावक भेला शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै कार्यक्रम समापन गरिएकाे हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालले आगामी वर्षका लागि विद्यालयको शैक्षिक तथा भौतिक विकासको योजना प्रस्तुत गरेका थिए । अध्यक्ष अर्यालले विद्यालयमा संचालन भइरहेको अंग्रेजी माध्यमलाई व्यवस्थित गर्न नियुक्त गरिएका नीजि शिक्षक तथा कर्मचारीहरुको लागि शिक्षक कार्यविधि बनाई लागू गर्नका लागि व्यवस्थापन समितिलाई अधिकार दिन प्रस्ताव गरेका थिए ।
विद्यालयले हाल शैक्षिक गतिविधिलाई व्यवस्थित गर्न अक्षय कोष स्थापनाकाे लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग संकलन समेत गरिरहेको छ । अक्षयकोषलाई थप व्यवस्थित गर्नका लागि पूर्व विद्यार्थीहरुको संगठन बनाई अघि बढ्ने योजना रहेको अध्यक्ष अर्यालले बताए । भेलामा प्रधानाध्यापक दीपकलाल श्रेष्ठले प्रस्तुत गरेकाे विद्यालयको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
२३ माघ २००८ मा स्थापित विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म ५ सय ३ विद्यार्थी अध्ययनरत रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्ला शिक्षाका साथै स्वास्थ्यको समेत हवका रुपमा विकास भईरहेको बताएका छन् । शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको पाँचौं वार्षिक साधारणसभामा बोल्दै पौडेेले जिल्लामा स्वास्थ्य र शिक्षा सम्बन्धी पाँचवटा विश्वविद्यालय नै सञ्चालनमा रहेको बताए ।
‘मकवानपुर जिल्ला बिस्तारै शैक्षिक र स्वास्थ्यको हवका रुपमा विकास भईरहेको छ’ उनले भने । पौडेलले हेटौंडामा वन विज्ञान विश्व विद्यालय, कृषि विश्व विद्यालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी विश्व विद्यालय (थाहा नगरपालिका, चित्लाङ्) सञ्चालनमा आइसकेको र मकवानपुर विश्वविद्यालय (प्रदेश विश्व विद्यालय) सञ्चालनको क्रममा रहेको बताए । अबको १५ दिन पछि मकवानपुर क्याम्पस प्रदेश विश्वविद्यालयका रुपमा सञ्चालनमा आउने उनले जानकारी दिए ।
साधारणसभाका प्रमुख अतिथि पौडेलले पबित्र उदेश्यका साथ स्थापना भएको कोषलाई अगाडी बडाउन सबैले सहकार्य गर्नुपर्ने बताए । शिक्षाको अवसरबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्य संस्थाको रहेकोले यसमा सबैको सहकार्य हुन जरुरी रहेको उनकाे भनाई थियाे । ‘मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जिवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको छ’ उनले भने ।
मकवानपुर जिल्लामा शिक्षाको अवसरबाट बञ्चित विपन्न, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवम् जोखिममा रहेका बालबालिकाका लागि संस्थाले महत्वपूर्ण भूमिका खेलेकोमा उनले प्रशंसा समेत गरे । बिद्यार्थीलाई छात्रवृतिसंगै अभिभावकलाई पढाई प्रति प्रेरणाको खाँचो रहेकाे औल्याउँदै त्यस तर्फ ध्यान दिन जरुरी रहेकेा उनले बताए ।
९ जनालाई छात्रवृति प्रदान
साधारण सभाका अवसरमा संस्थाले मकवानपुर जिल्लाका कक्षा १० देखि १२ सम्मका ९ जना बिद्यार्थीहरुलाई छात्रबृति समेत प्रदान गरेको छ । संस्थाले कक्षा ११ र १२ का ६ जनालाई जनही १० हजारका दरले र कक्षा ९ र १० का ३ जनालाई ८ हजारका दरले छात्रबृति प्रदान गरेको थियो ।
महेन्द्र किरण मावि मनहरीमा कक्षा १२ मा अध्यनरत अजय प्रजा, सुस्मिता बोटे, सपना घलान, भूमिका विष्ट, सितास घिमिरे र प्रगति मावि हेटौंडा–९, मा कक्षा ११ मा अध्यनरत विपन खनाललाई नगद १० हजार छात्रवृत्ति प्रदान गरिएकाे हाे । यसैगरी रोटरी मावि मनहरीमा कक्षा १० मा अध्यनरत मिठुकुमारी कोइरला र कक्षा ९ मा अध्यनरत सौगात गोले तथा जनक मावि बकैयामा कक्षा ९ मा अध्यनरत सलिना माझीलाई जनही नगद ८ हजारका दरले छात्रवृति प्रदान गरिएकाे छ ।
यसैगरी वार्षिकोत्वका अवसरमा संस्थाका सचिव बद्रीबहादुर पाठक र पत्रका बिश्वराम अधिकारी (विवश) लाई संस्थाको विकासमा योगदान पुर्याएकाे भन्दै सम्मानित गरिएकाे छ ।
साधारणसभामा संस्थाका सचिव बद्री पाठक र कोषध्यक्ष रामकृष्ण थापाले प्रस्तुत गरेकाे प्रतिवेदन पारित गरिएकाे थियाे । संस्थाको अक्षयकोषमा हालसम्म करीब १६ लाख रुपैयाँ रहेकाे बताइएकाे छ । हालसम्म आजिवन सदस्य ८० जना, विशिष्ट सदस्य १० जना, साधारण सदस्य १७ जना र संस्थागत सदस्य २४ जना गरि कुल १ सय ३१ जना संस्थामा आवद्ध रहेकाे पाठकले जानकारी दिए ।
संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएकाे साधारण सभामा संविधानसभा सदस्य अनन्त पौडेल, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीलगायतकाे सहभागिता थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृति बोडिङ सेकेन्डरी स्कुलको लगानीमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । स्कुलमा अध्ययन गरेका विद्यार्थीले तयार गरेकाे ‘हे ज्ञान कि देवी’ गीतकाे म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका २ नम्वर वडाध्यक्ष विष्णुगोपाल महर्जनले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियाे सार्वजनिक गर्दै महर्जनले बालजागृति स्कुल नगरभित्रकै पहिलो विद्यालय बनाउन आग्रह गरे । ‘हेटौंडाका १९ वटा वडामा रहेका मध्ये बालजागृति स्कुल अरु संस्थागत विद्यालयभन्दा अगाडि रहेको छ’ उनले भने –‘संस्थागत विद्यालयमा बालजागृति पहिलो बालमैत्री विद्यालय घोषणा भएको छ ।’ शैक्षिक उन्नयनको लागि २ नम्वर वडाले स्कुललाई सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बालजागृति विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त कार्यलाई पनि जोड दिँदै आइरहेको बताए । विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले सोच र कलाको विकास गर्ने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको बताए । ‘अहिलेका बालबालिका एटम बम हुन् । छोएकी पड्किहाल्छन्’ उनले भने ‘बालबालिकालाई सही दिशातर्फ लैजानको लागि अभिभावकले पनि मार्ग निर्देशन गर्नु पर्दछ ।’ विद्यार्थीको हितमा विद्यालयले नौलो कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाइ रहेको थियो । विद्यार्थीलाई एकाग्र बनाउने काम म्यूजिक भिडियोले खेल्ने विद्यालयका सहायक प्रिन्सिपल अमूल श्रेष्ठले बताए ।
मकवानपुरका गायिका सुनिता बुर्लाकोटी र गायक कृष्णगोपाल सिंहले गीत गाएर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । स्कुलका १, २ र ३ कक्षामा अध्ययनरत विद्यार्थीले कार्यक्रममा बालगीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा सदस्य इन्द्र प्रसाद रिजाल, हेटौंडा उपमहानगरपालिका शिक्षा अधिकृत रमेश बिडारी, पिएम संगीत सेन्टरका सञ्चालक प्रवेन्द्र महर्जन, संगीतकार पूर्णविक्रम अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठले उधोग तथा व्यापारको माध्यमबाट मारवाडी समुदायले राष्ट्रलाई योगदान पुर्याएको बताएका छन् । मारवाडी एशोसिएसन मकवानपुरको २८ औं वार्षिक साधारणसभामा उनले यस्ताे बताएका हुन् ।
मन्त्री श्रेष्ठले देशको जनसंख्या अनुसार माडवाडीकाे संख्या कम भएपनी राज्यलाई राजश्व बुझाउनेमा ठूलो हिस्सेदार रहेको बताए । ‘राज्यले सबै जातजाति र समुदायलाई समान रुपमा व्यवहार गर्दै आएकाे छ’ उनले भने । ‘नेपाल बहुजातिय बहुभाषिक राष्ट्र भएकोले यहाँ सबै जातजाति समुदायको उत्तिकै समान अधिकार छ’ उनले भने ‘कानुनतः जातीय विभेद दण्डनीय हुन्छ ।’ विशेषगरी व्यवसायिक घराना भनेर चिनिने मारवाडी समुदाय र नयाँ पिढीलाई उधोग व्यवसायको क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा अघि बढ्न उनले आग्रह गरे।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले व्यापारको क्षेत्रमा अगाडि रहेको मारवाडी समुदायले परोपकारी र सामाजिक कार्यका क्षेत्रमा खेलेको भूमिकाको प्रसंशा गरे । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले आफू निर्वाचित भएर आएदेखी मारवाडी समुदायलाई हरेक प्रकारको साथ र सहयोग प्रदान गर्दै आएको बताए । हेटौंडा बजारको मुख्य क्षेत्र रहेको ४ नम्बर वडामा आउने सर्वसाधारणको लागि हुप्रचौरमा निशुल्क सार्वजनिक शौचालय निर्माण गरिएकाे बताउँदै सिग्देलले भने ‘कान्तिराजपथ क्षेत्रमा निशुल्क सार्वजनिक शौचालय निर्माणको चरणमा रहेको छ ।’
साधारण सभामा जेष्ठ नागरिक ४ दम्पतीलाई सम्मान गरिएको थियो । मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल, रुङ्टा ग्रुपका प्रमुख मुरलिधर रुङ्टा, मारवाडी महिला मञ्चकी अध्यक्ष सुनिता शर्मालगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १९ मा बस्तीपुरमा सात दिने उद्यमशिलता तथा सिप विकास तालिम सुरु भएको छ। प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग र हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको आयोजनामा शनिबारबाट सुरु भएकाे तालिम ७ दिन सम्म सञ्चालन हुनेछ ।
तालिममा नव उद्यमीहरूका लागि व्यवसायिक योजना, व्यवसाय गर्दा ध्यान दिनुपर्ने क्षेत्रहरू, व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापन, व्यवसाय दर्ता प्रक्रिया तथा सरकारी नीतिनियम, र थोरै लगानीमा गर्न सकिने साना व्यवसायहरू जस्तै चटपटे, पानीपुरी, मम र आलुचप लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ। यस तालिममा मनहरी, पदमपोखरी, बस्तीपुर, हाडीखोला र बसामाडीका २० जना युवाहरूको सहभागिता रहेको छ।
प्रदेश युवा परिषद बागमतीका कार्यकारी अध्यक्ष सन्तोष चौलागाईले थोरै लगानी गरेर साना व्यवसाय गर्न खोजिरहेको नव उद्यमीहरुका लागि लक्षित गरि सञ्चालन गरिएकाे बताए । मेहनत गर्ने सोचका साथ उद्यम सुरु गरेमा सफल भइने भन्दै चौलागाईंले मेहनतीकालागि उद्यमको सम्भावना रहेकोले युवालाई उद्यम सुरु गर्न आग्रह गरे । फाउन्डेशनका अध्यक्ष अनन्त कुमार बानियाले यस्ता तालिमले युवाहरूलाई व्यवसायिक जीवनमा प्रवेश गर्न सहज हुने बताए ।
बाँनियाकाे अध्यक्षता तथा चौलागाईंकाे प्रमुख आतिथ्यतामा भएकाे तालिम उद्घाटनमा टोल बिकास सस्था नगर समन्वय समितिका सदस्य अन्जु पण्डित, जनजागरण दुद्य उत्पादन सहकारी संस्थाका अध्यक्ष देवेन्द्र अर्याल, निर्मल बहुमुखी क्याम्पसका स्ववियु सभापती सरोज अर्याल लगायतकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाबाट १२ किलो ९ सय ग्राम गाँजासहित २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हेटौड–१५ रातोमाटेस्थित सडकबाट करिब १२ किलो ९ सय ग्राम गाँजासहित २ जना महिलालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकाे प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएकाे छ। मकवानपुरकाे बकैया गाउँपालिका–४ बस्ने ३२ वर्षीया चमेली माया घलान र बकैया–१० मन्थली बस्ने २५ वर्षीया रोजिना घलानलाई उक्त परिणामकाे गाँजासहित नियन्त्रणमा लिइएकाे हाे ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौडाबाट काकडभिट्टा तर्फ जादै गरेकाे मे.१ ख ३३३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चमेली मायाको साथबाट करिब ६ किलो ५ सय ग्राम र रोजिनाको साथबाट करिब ६ किलो ४ सय ग्राम गाँजा सहित नियन्त्रणमा लिइएकाे प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
मकवानपुर । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २५ गते आइतबारदेखि हुने भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता हुने भएकाे हाे ।
चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ भने पुरुष फुटबल हेटौंडास्थित गौरीटार रङ्गशालामा हुने भण्डारीले बताए । प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन वैशाख १ गते गौरीटार रंगशाला हेटौडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरिने कार्यक्रम रहेकाे छ ।