मकवानपुर । हेटौंडा उपमहानगरपालिका र माइती नेपाल रोकथाम गृहको सहकार्यमा हेटौडा उपमहानगरपालिकाको विभिन्न विद्यालयमा बालबालिका माथी हुने दुर्व्यवहार विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
हेटौंडाको जनजागृति मावि, बाल उज्वल मावि महेन्द्र मावि, प्रसिद्ध मावि, अमर माविमा विभिन्न समयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बाल विवाह, यौन दुर्व्यवहार, यौन हिंसा, मानव बेचविखन विरुद्ध, बालबालिकाहरुको समस्याहरुको विषयहरुमा छलफल गरिएको थियो । साथै बाल अधिकारको सवालमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा महिला बालवालिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने, हिमराइट्स प्रमुख कुमारी वाइवा, मकवानपुर महिला समुहको कार्यक्रम संयोजक निशा लामा र माइती नेपालको माया लामा र मन लामाले सहजिकरण गरेका थिए ।
सन १९६० को नोभेम्बर २५ का दिन डोमानिकन रिपब्लिकका मिरावल परिवारका ३ साहसिक दिदि वहिनी पार्टिया, मनिर्भा र मारियाको तात्कालिन त्रिजुलो सरकारले गरेको हत्याको दिनको संझनामा यो दिवस मनाउन शुरु गरिएको थियो ।
तत्कालिन सरकारको तानाशाही शासनका बिरुद्धमा आवाज उठाएका ती दिदि बहिनीका श्रीमानलाई सरकारले बन्दी बनाएको र श्रीमानहरुलाई जेलमा भेटेर फर्कने क्रममा निर्मम हत्या गरी दुर्घटनाको संज्ञा दिईएकोमा अधिकारकर्मीले त्यस घटनालाई स्वीकार गरेनन् र त्यसको विरुद्ध आवाज उठाईरहे ।
Unforgetable Butterflies को उपनामले चिनिने ती तीन दिदि वहिनीहरुको बलिदानी त्याग र उच्च साहसको सम्मान गर्दै सन् १९९१ मा Center For Global Leadership (CWGL) को सहयोगमा विभिन्न २० देशका २३ जना उत्साहित महिलाहरुको एक समुहले शुरु गरेकोे लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख (महिला हिंसा बिरुद्धको दिवस) देखि शुरु भई डिसेम्बर १० तारिखका दिन (अन्तराष्ट्रिय मानव अधिकार दिवस) १६ दिन सम्म मनाउने गरिन्छ र यस बीचमा अन्य विभिन्न दिवसीय कार्यक्रमहरु समेत रहेका छन् ।
त्यसको झण्डै तीन दशक पछि सन १९९९ डिसेम्बर १७ मा UNO ले ७४ सदस्य राष्ट्रबाट प्रस्तावित लैङ्गिक हिंसा बिरुद्धको दिवसीय अभियानलाई महासभाबाट सर्वसम्मत पारित गरी मान्यता प्रदान गरे पश्चात विश्वव्यापी रुपमा यसको थप महत्व बढ्न गएको पाईन्छ ।
नेपालमा लैङ्गिक हिंसा बिरुद्धको अभियान
- महिला तथा बालिकाको मानव अधिकार संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाच्न पाउने हक सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैगिंक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म (मंसिर ९ देखि २४ गतेसम्म) लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आइरहेको छ ।
- नेपाल सरकारको मिति २०६६।५।२६ को निर्णय अनुसार सन् २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्ष” को रुपमा मनाउन घोषणा गरेको र सो बमोजिम “लैङ्गिक हिंसा विरुद्ध राष्टिय कार्ययोजना २०१० समेत १ वर्षका लागि कार्यान्वयन भईसकेको ।
- सो कार्ययोजनाको कार्यान्वयनबाट केही नीतिगत तथा संरचनागत उपलब्धि हासिल भएता पनि लैङ्गिक हिंसा तथा विभेद सामाजिक विकृतिजन्य समस्या भएकोले यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सहित दीर्घकालिन योजनाको रुपमा ल्याउनुु पर्ने महशुस गरिएको ।
- एक वर्षे कार्ययोजना कार्यान्वयनको अनुभवबाट दीर्घकालिन योजना तर्जुमा गर्ने सोच अनुरुप लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (आ.व.२०६९।०७०-२०७३.०७४) कार्यान्वयन भईसकेको ।
- प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट नयाँ कार्ययोजना निर्माण प्रक्रिया प्रारम्भ गरिएको ।
- हालै नयाँ सरकार गठन पश्चात प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सामाजिक विकास तथा रुपान्तरण महाशाखा र सो अन्र्तगत ‘महिला, बालबालिका, ज्येष्ठनागरिक, श्रम तथा सामाजिक सुरक्षा शाखा’ स्थापना गरिएको ।
- यस वर्ष “UNITE: Activism to end violence against women and girls” भन्ने अन्तराष्ट्रिय नारासाथ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानमा विश्वभर चेतनायुक्त कार्यक्रम आयोजना गरि मनाईएको छ र नेपालमा पनि लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार भन्ने राष्ट्रिय नाराका साथ मनाइएकाे छ ।
सेतो रिवन अभियान
- सन १९८९ डिसेम्बर ६ का दिन क्यानडाको मोन्छेरल विश्वविद्यालयको पोलिटेन्किन (Politenkin) कलेजमा मार्क लेपिन नामक एक २५ वर्षे युवकले १४ जना छात्राहरुको सामुहिक हत्या गरेको थियो । बन्दुक र धारिलो हतियार सहित कलेजको तेश्रो तलामा पुगेको ती युवकले छात्राहरुलाई छात्रबाट अलग गरी तिमिहरुलाई यहा बस्ने अधिकार छैन भन्दै एकतर्फ जम्मा गरी हत्या गर्न शुरु गरेका थिए । त्यस पछि अन्य कोठामा गई छात्राहरु खोजी खोजी हत्या गरी अन्त्यमा आफूले समेत आत्महत्या गरे । घटनास्थलमा भेटिएको सुसाइड नोट अनुसार उनी महिलाहरु प्रति निकै आक्रोसित रहेको र देशका विभिन्न १९ जना महिलाहरुको हत्या गर्ने लिष्ट समेत तयार गरेको पाइएको थियो ।
- यसै घटनाको संझनामा क्यानडाका केही उत्साहित युवाहरुको प्रयत्नमा सन १९९१ मा जम्मा ६ हप्ताको तयारीमा करिव १ लाख व्यक्तिहरुको सहभागितामा महिला हिंसा बिरुद्ध पुरुषहरुलाई जागरुक बनाउने उद्धेश्यले अंग्रजी वर्णमालाको ख्ष्यभिलअभ को ख् अक्षर लाई उल्टो बनाउदा हुने आकारमा लगाईने सेतो रिवन “म हिंसा गर्दिन, म आफू हिंसा सहन्न र देखेमा प्रतिकार गर्दछु ( श्भचय त्यभिचभलअभ )” को मान्यता र प्रतिबद्धतामा आधारित अभियान हो । यो रिवन खास गरी १६ दिने अभियानमा लगाउने गरिन्छ र युरोपका केही मुलुकहरुमा १६ दिने अभियानको अवधिमा संसदमा समेत सेतो रिवन लगाउने प्रचलन रहेको पाईन्छ ।
लैंङ्गिक हिंसाको परिभाषा
- CEDAW का अनुसार “ महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा र बिभेद भन्नाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक वा अरु कुनै विषय सम्बन्धी मानव अधिकार तथा स्वतन्त्रतालाई आफ्नो वैवाहिक स्थिति जे जस्तो रहेको भएता पनि पुरुष र महिलाको समानताको आधारमा उपभोग गर्नमा वा प्रयोग गर्नमा व्यवधान पार्ने वा त्यसको मान्यतालाई नै क्षति वा शून्य पार्ने उद्धेश्य भएको , लिङ्गको आधारमा हुने कुनैपनि भेदभाव वा बहिस्कार वा प्रतिबन्ध सम्झनु पर्दछ ।
- लैंङ्गिक समानता कायम गर्न तथा लैंङ्गिक हिंसा अन्त्य गर्न बनेको ऐन, २०७२ ले कानुनमा लैंङ्गिक हिंसाको परिभाषा समेटेको छ जस अनुसार “लैंङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लिङ्गको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य, वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ” भन्ने परिभाषा गरेको छ ।
नेपालमा लैङ्गिक हिंसा सम्बन्धमा भएका प्रगति र चुनौतीहरु
लैंगिक हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय प्रतिबद्धताहरु भएका छन् । जुन यस प्रकार छन्ः
– मानव अधिकारको बिश्वव्यापी घोषणा १९४८
– नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६
– आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६
– जातीय भेदभाव उन्मुलन सम्बन्धी महासन्धि १९६९
– महिला बिरुद्द हुने सबै किसिमका भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९
– बेइजिंग घोषणा तथा कार्ययोजना १९९५
– संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२०
– दीगो विकासका लक्ष्य, २०१५ – २०३०
नेपालको ऐन कानुनमा भएको सफलता
नेपालकाे संविधानको धारा १८ समानताको हक
- राज्यले नागरिकका विच लिङ्गको आधारमा कुनैपनि भेदभाव नगर्ने,
- लैङ्गिक आधारमा पारिश्रमिक र सामाजिक सुरक्षामा भेदभाव गरिने छैन,
- पैत्तृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ ।
संविधानमा उल्लेखित महिला सम्वन्धी गरिएका विशेष व्यवस्थाहरु:
- आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने ।
- राज्यको संरचना गर्दा समानतामा आधारित समतामुलक समाज, समवेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने ।
- समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था,
- राष्ट्रिय महिला आयोग संवैधानिक निकायको रुपमा रहने र सो का अध्यक्ष र सदस्यहरु महिला मात्र रहने । राष्ट्रिय महिला आयोगले आवश्यकता अनुसार प्रदेशम कार्यालय स्थापना गर्न सक्ने ।
- संवैधानिक अंग र निकायमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गर्ने ।
- नेपाली राजदुत र विशेष प्रतिनिधि समावेशी सिद्धान्तको आधारमा नियुक्त गरिने
- सवै सरकारी सेवामा पदपुर्ति गर्दा खुला र समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्ने,
- सामाजिक वा साँस्कृतिक दृष्टिले पिछडिएका महिला लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुन बमोजिम विशेष ब्यवस्था गरिने ।
संविधानमा उल्लेखित सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति
- असहाय अवस्थामा रहेका एकल महिलालाई सीप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिंदै जीविकोपार्जनका लागि समुचित व्यवस्था गर्दै जाने,
- जोखिममा परेका, सामाजिक र पारिवारिक बहिष्करणमा परेका तथा हिंसा पीडित महिलालाई पुनःस्थापना, संरक्षण, सशक्तीकरण गरी स्वावलम्बी बनाउने,
- प्रजनन अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चितता गर्ने,
- बालबच्चाको पालन पोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रूपमा मूल्यांकन गर्ने ।
गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारः
सामाजिक सुरक्षा र गरिबी निवारण तर्फ
- स्थानीय नीति, कानून, मापदण्ड, नियम, अध्ययन, अनुसन्धान
- लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन
वडा समितिको काम, कर्तव्य र अधिकार
- वडाभित्र आर्थिक र सामाजिक रुपमा पछि परेका महिला बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक अल्पसंख्यक, सीमान्तीकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने ।
- बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने ।
लैङ्गिक हिंसा निवारणका लागि विशेष पहल
- घरेलु हिंसा बाट प्रभावितहरुका लागि १७ जिल्लामा अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्रहरुको स्थापना र सञ्चालन गरिएको, अब क्रमशः स्थानीयतहमा हस्तान्तरण हुँदै गरेको ।
- मानव बेचविखनबाट प्रभावितहरुका लागि गैससको सहयोगमा १० जिल्लामा पुनस्थापना केन्द्र सञ्चालन भै रहेको ।
- मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्र काठमाण्डौमा सञ्चालन भै रहको ।
- महिला संस्थाअन्तर्गत लैङ्गिक हिंसा निगरानी समुह गठन तथा परिचालन गरिएको ।
- राष्ट्रिय महिला आयोगबाट लैङ्गिक हिंसा निवारणका लागि २४ घण्टे ११४५ हटलाईन सेवा (उपत्यका तथा नुवाकोट) सञ्चालन भै रहेको ।
लैंगिक हिंसा अन्त्य सम्बन्धमा देखिएका समस्या तथा चुनौती
- लैंगिक हिंसालाई बढावा दिने सामाजिक संरचना, सोंच, मूल्य, मान्यता, प्रथा, परम्परा, हानिकारक अभ्यास कायमै रहनु, यस्को कारणले हुने गरेका हिंसालाई सामाजिक रुपमा स्वीकार गर्नु ।
- लैंगिक हिंसाको नयाँ स्वरूपहरु देखिदै जानु
- बिकास, शान्ति र समानताको प्रमुख मुद्दाको रुपमा ग्रहण गर्न नसक्नु
- लैंगिक हिंसा सम्बन्धी पूर्ण, खण्डीकृत तथ्यांक नहुनु
- लैंगिक हिंसा सम्बन्धी कार्यक्रम संघ, प्रदेश र स्थानीय तहबाट एकीकृत रुपमा संचालन गर्नु (यस सम्बन्धी संस्थागत संयन्त्र, प्रणाली र क्षमता विकास गर्नु)
- हिंसा पीडितको न्यायमा पहुँच स्थापना गर्ने कार्य
- हिंसा पीडितको पारिवारिक तथा सामाजिक पुनर्स्थापना गर्नु (मुख्यतः मानसिक समस्या भएका पीडित)
- दबाव, अनुचित प्रभाव तथा मिलापत्रवाट पीडकले सजाय नपाउनु
- पश्चिमेली संस्कार भित्रीनु र संचार साधनहरूको दुरुपयोगले गर्दा महिला हिंसामा सहजता थपिदिएको छ
- कानुनी ज्ञानको अभाव, चेतना र शिक्षा दिक्षामा कमि हुनु
अबको बाटोः
- लैङ्गिक हिंसाको कारण धेरैको जीवन तहस नहस भएको छ । महिला हिंसा महिलाको मात्र सरोकारको विषय नभई सबैको साझा सरोकारको विषय भएकाले सबैले यसलाई आत्मसात गरी हिंसा न्यूनीकरणका निम्ति समन्वयत्माक ढंगले अगाडि बढ्नुपर्ने देखिन्छ ।
- पितृसतात्मक सोचलाई तोड्दै सहअस्तित्वको भावनालाई आत्मसात गरी लैगिंक विभेद अन्त्यका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने आजको आवश्यकता हो । महिला र बालिकाहरु हिंसाबाट बढी प्रताडित हुने हुदाँ महिला र बालिकाको शिक्षा, आर्थिक सक्षमता तथा समग्र सशक्तिकरणका लागि पहल गरिनुपर्ने छ ।
यसैगरी महिला हिंसा अन्त्य र महिला सशक्तिकरणका लागि पुरुषजनको सहभागिता र सहयोग अभिवृद्धि गर्नुपर्ने, परिवर्तित राज्य संरचना अनुसार स्थानीय तहमा लैगिंक हिंसा सम्बन्धी सवालहरुलाई आन्तरिकीकरण गरी हिंसा निवारणका लागि आवश्यक कार्यक्रम तथा कार्ययोजना सहित अघि बढ्नुपर्ने, लैगिंक हिंसा विरुद्ध शुन्य सहनशिलता कायम गर्नेपर्ने,महिला वर्गलाई दोस्रो दर्जाको नागरिकको रुपमा नहेरी सम्मानजनक दृष्टिकोण र व्यवहार गरिनुपर्ने, न्याय प्रणालीलाई सरल,सहज, छिटो छरितो बनाइनुपर्ने, हिंसाका घटनाहरुलाई उजागर गर्नुपर्ने र हिंसाको विरुद्ध आवाज उठाउने, समाजमा व्याप्त कुरिती, कुसँस्कार र प्रथालाई हटाउदै जाने जस्ता सवालमा अब ध्यान दिनु जरुरी छ । हुन त यि पाटाहरुमा वर्षौदेखि काम गरिदै आएको छ, यद्यपी हालसम्मको कामको समिक्षा गर्दै अबको बाटो तय गर्नुपर्ने देखिन्छ ।
(लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा प्रस्तुत कार्यपत्रको सम्पादीत अंक, प्रस्तुतकर्ताहरुः माया तामाङ (माइती नेपाल,मकवानपुर ) कुमारी वाइबा ( हिमराइट्स मकवानपुर) र गिता अर्याल (नारी सिप सिर्जना केन्द्र मकवानपुर)
मकवानपुर । बालिकाहरुलाई राज्यको प्रशासनिक तथा राजनीतिक संरचना र नेतृत्वबारे बुझाइको लागि अवसरको खाँचो भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताएका छन् ।
राडो नेपालको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा हेटौंडामा भएको गल्स टेक ओभर कार्यक्रममा घलानले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले बालिकाहरुलाई सिक्ने र बुझ्ने अवसर दिन आफूले स्थानीय गाउँपालिकासँग समन्वय गर्ने बताए । रोड मोडेलको रुपमा एक बालिकालाई एक दिनको लागि कार्यलयको प्रमुख बनाउने र उक्त पदको काम कर्तव्य र अधिकारबारे बुझाउने उक्त कार्यक्रममा राडो नेपालले एक किशोरीलाई जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नियुक्त गरेको थियो ।
पदमा बस्ने मात्रै हैन, जिम्मेवार भएर पदीय मर्यादाको पालना गर्नेबारे बुझन् यस्तो कार्यक्रम र अवसर महत्वपूर्ण हुने घलानले बताए । बालबालिकाहरूले संघीय संरचनाको काम कर्तव्य अधिकार तथा संघीयताको अर्थ बुझ्न मद्दत पुग्ने उनले बताए ।
कुन कार्यालयले कसरी काम गर्छ, जिम्मेवारी के हो भन्ने बारे बुझेर अघि बढ्ने यो अवसरले बालिकाहरूलाई भबिस्यमा नीति निर्माण तहमा पुग्न सहज हुने उनले बताए ।
पदभार अधिग्रहण कार्यक्रममा रोल मोडल रेजिना ढकालले जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा नियुक्त भएको अभ्यासपछिको मन्तव्यमा आफ्नो जिल्लाको सबै स्थानीय तहहरूमा बालमैत्री स्थानीय शासन लागू गर्न समन्वय गर्ने बताइन् । विशेष गरि बालिका स्वास्थ समस्यामा ध्यान दिन स्थानीय तहलाई आग्रह गरिन । स्थानीय तहमा बालमैत्री शासन लागू गर्न , बिद्यालयमा सेनिटरी प्याड ब्यवस्थापन गर्न, बालिकालाई शसक्त र सक्षम बनाउन कार्यक्रमहरू लागू गर्न, गाउँपालिका र नगरपालिकामा बाल उद्यान तथा खेल मैदानको ब्यवस्थापन गर्न आफूले समन्वय गर्ने उनले बताइन् ।
‘हाल ईन्टरनेटको दुरुपयोगले विभिन्न घटना भैरहेकोले त्यस्तो घटना रोक्न र मोबाइल र सामाजिक सन्जालको सदुपयोग गराउन तालिम दिनु आवश्यक छ” उनले भनिन् । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान जारी रहेको सन्दर्भमा उनले लैङ्गिक सवालमा स्थानीय स्तरमा तालीम दिन आवश्यक भएको बताइन् । सबै स्थानीय तहमा बालबालिकाले पुर्णखोप पाए नपाएको अनुगमन गरेर, अपुग स्थानमा समन्वय गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले आफूहरूलाई बालमैत्री पालिका घोषणाको लागि ५१ वटा सुचक पार गर्न नै चुनौती रहेको बताए । यस पालिकामा बाल विवाहको चुनौती भएको कारण मंसिर भित्रमा गरिने भनेको घोषणा कार्यक्रम सफल नभएको उनले बताए ।
विकटको गाउँपालिकाको आर्थिक अवस्थाको कारण पुर्वनिर्धारित कार्यक्रम पूरा गर्न समस्या हुने गरेको उनले बताए । विकट र आर्थिक रूपमा कमजोर भएकै कारण कैलाश गाउँपालिकाले विकासमा रफ्तार लिन नसकेको उनले बताए । प्रदेश र केन्द्र सरकारसंगको पहुँच नहुदा गाउँपालिका पछि परेको उनले बताए । यहाँका स्थानीयलाई छोरी पढाउने र २० बर्ष पार गरेपछि मात्रै विवाह गर्नको लागि बानी पर्नै समस्या भएको उनले बताए ।
कार्यक्रममा राडो नेपालका अध्यक्ष कृष्ण धितालले बालिकाहरुलाई सशत्त बनाएर भविष्यको लागि कुसल नेतृत्व तयार गर्न आफूहरु लागि परेको छ । बालिका र किशोरीहरुको सिकाइलाई दीगो र प्रभावकारी बनाउन प्लान नेपालको आर्थिक सहयोगमा राडो नेपालले गल्स टेक ओभर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिका हाडिखाेलामा रहेकाे पश्पतीनाथ माध्यामिक विद्यालयमा महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । महिला तथा बालबालिका माथि हुने सबैखाले हिंसाकाे जानकारी दिनका लागि पशुुपतिनाथ माविमा बुधबार कार्यक्रमको आयोजना गरिएको हाे ।
प्लान ईन्टरनेस्नल नेपालको सहयोगमा सामुदायिक विकास संस्था (सीडीओ) नेपालले विद्यालयका कक्षा ९ र १० का बालबालिकालाई महिला तथा बालबालिका माथि हुने सबैखाले हिंसा सम्बन्धी अन्तरक्रियामा अभिमुुखीकरण गरेको हाे ।
माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा र हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले सहजीकरण गरेकाे कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, प्रधानाध्यापक भानुुभक्त आचार्य, सामुदायिक विकास संगठनका कार्यक्रम संयोजक गोबिन्द खड्का, विद्यालयका शिक्षक ईश्वर रिजाललगायतको सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि गर्ने क्रममा विद्यालय तहमा कार्यक्रम गरिएको सीडीओ नेपालका कार्यक्रम संयोजक खड्काले बताए । १६ दिने अभियानको नेपालमा वि.सं २०५४ सालदेखि सुरु भएको थियो । यस अवधिमा महिलाविरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्ले भने २०७५ सालमा लैंगिकहिंसाविरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले सोमबार हेटौंडामा फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा महिला पत्रकार तथा महिला अधिकारकर्मी बीच फुटसल प्रतियाेगिता भएकाे हाे । अभियानको अवसरमा महासंघले पत्रकार महिला र फ्रीमिडिया नेटवर्कका महिला अधिकारकर्मी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हेटौंडा–४ मा आयोजना गरेको हो ।
प्रतियोगितामा महिला अधिकारकर्मी संजालले महिला पत्रकारलाई २–१ को गोल अन्तरले पराजित गर्दै विजयी हाँसिल गरेको छ । महिला संजालको तर्फबाट एलिसा जिम्बा र लक्ष्मी श्रेष्ठले १/१ गोल गरेका थिए भने महिला संचारकर्मीको तर्फबाट सम्झना घिमिरेले १ गोल गरेकी थिइन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार निर्मला शर्माको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, विभिन्न संगठनका प्रतिनिधीहरु, महिला संजालमा आवद्ध विभिन्न संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले बालसंरक्षणको सवाल चुनौतीपूर्ण रहेको बताएकी छिन् । बालबालिकाको क्षेत्रमा काम गर्न बलियो नीति नभएको कारण समस्या र चुनौती भएको बताइन।
बिद्यालय शिक्षामा धेरै कमीकमजोरी रहेको उनले बताएकी हुन् । बालबालिकाको सरोकारको बिषय पनि व्यवस्थापन गर्न नसकिएको उनले स्वीकार गरिन ।
सिविन बाल हेल्प लाइन मकवानपुरको आयोजनामा भएको बाल अधिकार, बालसंरक्षण बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रम लामाले यस्तो बताएकी हुन् । सिक्ने उमेरका बालबालिकाहरू लागुऔषधको कारण सुधारगृहमा थुनेर राख्नु परेको तर संघीय सरकारले वास्ता नगरेको उनले बताइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले कुनै पनि कारण र प्रभावका कारण बालबालिका प्रभावित हुन नहुने आधार मानेर सरकारले ध्यान दिदै आएको बताए । नेपाल सरकार र गैससहरूको सहकार्यमा बिगतमा भन्दा सफलता हासिल भएको सचिब सापकोटाले बताए । समाज भड्किलो हुँदै आएको कारण बालबालिका असुरक्षित हुँदै आएको उनले बताए । यस्तो अवस्थामा तीनै तहको सरकारले बालबालिका संरक्षणमा चासो राख्नुपर्ने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले नेपाल बालबालिकाको क्षत्रमा देखिएको समस्या, चुनौती तथा अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए । झण्डै २ प्रतिशत बालबालिका बिद्यालय बाहिर रहेको उनले बताए । बालसंरक्षणको सवाल झनै चुनौतीपूर्ण भएको उनले बताए । लागुऔषधको कारण बालसुधार गृहमा बालबालिका राख्नुपर्ने अवस्था रहेको उनले बताए ।
“अझै पनि सचेतनाको अभाव छ, संरक्षणको लागि आवश्यक संरचनाहरू बनिसकेका छैन, बालबालिकाको पहुँच अभिबृद्दिको लागि काम गर्न बाँकी छ” कंडेलले भने । बाल विवाह, बाल श्रमिक, बाल हिंसाको क्षेत्रमा काम गर्न मन्त्रालयले समन्वय गरिरहेको उनले बताए ।
यसैगरी बाल हेल्प लाइनका प्रमुख झविन्द्र ज्ञावलीले नेपालको १८ जिल्लामा सन्चालन रहेको बाल हेल्प लाइन १०९८, बालसंरक्षण संयन्त्र, बालसुधार गृह, बालगृहको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बाल संरक्षणको सवालमा कानुन बनेको तर कार्यान्वयन, समन्वय, बाल अधिकार समितिको कृयाशिलताको कमीलगायतको पाटो कमजोर भएको ज्ञावलीले बताए ।
मकवानपुरको बालसुधार गृहमा ५९ जना बालकहरू राखिएको छ,तर सुधारगृह बालमैत्री छैन । कार्यक्रममा मकवानपुरमा रहेर बालबालिकाको क्षेत्रमा कृयाशिल संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको थियो ।
मकवानपुर । महिला साहित्यकारहरूको संस्था आचल साहित्य कला पुन्जले लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत हिंसा न्यूनीकरणको सवालमा बहस कार्यक्रम गरेको छ ।
‘सभ्य समाजकाे पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक अधिकार, हाम्राे सराेकार’ विषयक बहस कार्यक्रम गरेको हो ।
कार्यक्रममा बाेल्दै प्रहरी निरिक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चुडा कुमारी खड्काले ‘प्रहरी चाैवीसै घण्टा जनताको सेवामा खटिरहने भएकाले जनताले प्रहरी प्रशासनसँग धेरै आशा राख्ने भएको हुँदा जन चाहना अनुसार प्रहरीले काम नगरेकाे भन्ने गुनासा आउने गरेकाे पाइएकाे भए पनि कानुनी दायरा मिलाएर दर्ता भएर आएका मुद्दा सुनुवाइ हुने बताइन् ।
‘पहिचान लिङ्गले नभइ आफूमा भएको क्षमताबाट हुनुपर्ने कुरा राख्दै तेस्रो लिङ्गी भएकै कारण समाजमा आफूहरूलाई हेरिने दृष्टिकोण बदलिनुपर्ने र याे देशकाे नागरिक भएर जन्मिएपछि अन्य नागरिक सरह याैनिक तथा लैङ्गिक अल्प सङ्ख्यकहरूले नागरिकता पाउनु पर्ने ‘ फ्रेन्ड्स हेटौंडाकी किरण थापाले बताइन ।
यसैगरी अधिवक्ता अप्सरा बस्नेले कानुन प्राप्त गर्नका लागि कानुनी बाटाे अपनाउनुपर्ने घरमा बसेर न्याय प्राप्त नहुने बताइन् । कवि शान्ति प्रियवन्दनाले ‘लेखनमा लैङ्गिक विभेदको विषयलाई सङ्ख्यात्मक र गुणात्मक रुपमा थप उठाउनु पर्ने बताएको कार्यक्रम संयाेजक निर्मला व्लाेनले जानकारी गराइन ।
आँचलकी अध्यक्ष भावना सापकाेटाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा प्रमुख चुडा कुमारी खड्का, अधिवक्ता अप्सरा बस्नेत, कवि शान्ति प्रियवन्दना, फ्रेन्ड्स हेटौंडाकी किरण थापाले समाज ब्यक्त हिंसाको सवालमा बहस गरेको पुन्जकी सदस्य रजनी पाैडेलले बताइन् ।
कार्यक्रममा मकवानपुरका साहित्यिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तरगत हेटौंडाको बसपार्कमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएकाे छ । मकवानपुर महिला समूह हेटौडाकाे आयाेजना र सामुदायिक प्रहरी उपकेन्द्र हेटौडा १० वसपार्ककाे साझेदारीमा मगलबार सडक नाटक प्रदर्शन भएकाे हाे ।
मकवानपुर महिला समूहले गठन गरेको समूहको कलाकारहरुद्वारा सडक नाटक प्रदर्शन गरिएकाे हाे । कलाकारहरु पलक लामा, युगल लामा, सुरज अधिकारी, विविका रेग्मी, सरस्वती पुडासैनी, सविना थापा मगर, ज्याेती महर्जन नेपालीकाे समूहले लागुऔषध दुर्व्यसनीको प्रयोगमा किशोर किशोरीहरू फस्नुको कारण, रोकथाममा सरोकारवालाको भूमिका, दुर्व्यसनीले पर्ने ब्यक्तिगत तथा सामाजिक असरबारेका सन्देश समेटिएको सडक नाटक प्रदर्शन गरेका थिए ।
मकवानपुर महिला समूह सचिव सावित्री लामिछानेकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा १० नम्बर वडा अध्यक्ष फुर्वा दाेर्जे तामाङ प्रमुख अतिथि, सामुदायिक सेवा केन्द्र बसपार्क अध्यक्ष प्रदिप कडेल तथा वडा प्रहरी कार्यालय प्रमुख केशर कुमार न्यौपानेकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
हरेक वर्ष नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान मनाइदै आएकाे छ । यस वर्ष ‘सभ्य समाजको पहिचान, लैंङ्गिक हिंसा बिरुद्धको अभियान’ नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइदै छ । कार्यक्रम हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाइबालगायत सन्जालका सदस्य संस्थाहरूको उपस्थिती रहेको समूहकी कार्यक्रम संयोजक निशा लामाले बताइन् ।
मकवानपुर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा मकवानपुरमा सामूदायिक वन उपभोक्ता महासंघ मकवानपुरले सचेतनामूलक र्याली गर्ने भएको छ ।
अभियानको क्रममा महासंघले आगामी १५ गते दिउँसो हेटौंडामा सचेतनामूलक र्याली गर्ने तयारी गरेको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति अध्यक्ष साधुराम चौलागाईले बताए । आफू हिंसा नगर्ने र छिमेकीलाई हिंसा गर्न नहुने ज्ञान प्रचारको लागि र्यालीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको अध्यक्ष चौलागाईंले बताए ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा सरोकारवालाहरूसँग समन्वयात्मक बैठकमा यस्तो जानकारी गराइएको छ । पिछडिएको वर्गको उत्थानका लागि सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको सचिवालय सदस्य रामहरि चौलागाईंले बैठकमा बताए ।
सचेतना मूलक अभियानसँगै सामूदायिक वनले आय आर्जनसंग जोडेर काम गरेको चौलागाईंले बताए । अभियानको क्रममा महासंघले देशको सबै जिल्लामा कार्यक्रम गरिदै आएको चौलागाईंले बताए ।
बैठक सहभागीहरूले जिम्मेवारी बोझको कारण बढेको हिंसा, आर्थिक अभावको कारण भोग्नुपरेको हिंसाको सवाललाई सम्बोधन गर्ने कार्यक्रम हुनुपर्ने, हर व्यक्तिले सोच तथा व्यवहारमा परिवर्तन ल्याउन सक्दा मात्रै हिंसा न्यूनीकरण हुने वन समितिको अध्यक्षहरूले बताएका थिए ।
कार्यक्रममा हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबा, मकवानपुर महिला समूह कार्यक्रम संयोजक निशा लामा, नारी सीप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले अभियानको क्रमा गरिने कार्यक्रम बारे जानकारी गराएका थिए ।
कार्यक्रममा अल्पकालीन सेवाकेन्द्र प्रमुख बिन्दा बर्तौला, दलित महिला संघ अध्यक्ष पवित्रा बिश्वकर्मा जिल्ला स्थित विभिन्न सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर । महिला माथी हुने अधिकांश घटनामा पारिवारिक सदस्यकै सहभागीता हुने गरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको घटना संङ्ख्याको विवरणले यस्तो देखाएको हो ।
चालू आबमा जिप्रकामा दर्ता भएका जवरजस्ती करणीका १४ वटा घटनामध्ये १३ वटा घटना आफ्नै परिवार र नातेदारबाट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चुडा कुमारी खड्काले बताइन् ।
महिला हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा यौनिक तथा लैङ्गिक हिंसा घटना व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । घटना व्यवस्थापन सम्बन्धि कार्यबिधीले स्पष्ट व्यवस्था गर्नुपर्ने सहभागीहरूले बताएका छन् ।
अपराधलाई नियन्त्रण र अपराधीलाई दण्डितसंगै पीडतलाई केन्द्रमा राखेर न्याय दिने व्यवस्था हुनुपर्ने सहभागीले बताए । स्थानीय तहहरूले न्यायसम्पादनको लागि बनाएको कार्यबिधिहरूलाई अधिकारकर्मीहरूले पछ्याउँनु पर्ने कानुन व्यवसायी जगन्नाथ सुबेदीले बताए ।
हिंसाको सवालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरू बढी पीडामा परेको बताइएको छ । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरू दिनदिनै यौनदुर्व्यबहारको सिकार हुंदा पनि सुनिवाई नभएको फ्रेन्स हेटौंडा प्रमुख किरण थापाले बताइन् । “तेस्रो लिङ्गीहरू पनि बलात्कारमा पर्न सक्छन् र कानुनी उपचार चाहिन्छ भन्ने बुझाई कानुनको समेत छैन” थापाले भनिन् “हामी/ हाम्रो समूदाय सबैभन्दा पहिले घरैमा हिंसा भोगिरहेका छौ, हाम्रो समूदायको पीडालाई कसैले बुझेका छैनन् ।”
कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख ललित घलानले अपराध न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको बताए । घटनालाई मिलाएर भन्दा कारबाही गर्न ध्यान दिनुपर्ने उनले बताए । “आफ्नो सामाजिक मान्यता जोगाउन खोज्दा सामन्य घटनाले अपराधकै रूप लिनसक्ने जोखिमबारे ध्यान दिनुपर्छ” घलानले भने ।
यसैगरी मकवानपुरगढी गाउँपालिका उपप्रमुख मानकुमारी नेपालीले हिंसाको कारण सामाजिक विकासमा बाधा सिर्जना गरेको बताइन् । ग्रामीण क्षेत्रमा हिंसा, बाल विवाह जस्ता बिषयमा बुझाइ र व्यवस्थापनको पाटोमा धेरै काम बाँकी रहेको उनले बताइन् ।
आर्थिक सशक्तीकरण नभएको कारण हिंसाको घटना बढी भएको मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरती पाठकले बताइन् । लैङ्गिक हिंसा न्यूनीकरणको लागि संघसंस्था र सरकारी निकायबिछ समन्वय, सहजीकरण सहकार्य अत्यावश्यक रहेको बताइन् ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको समन्वय, प्लान नेपालको आर्थिक सहयोगमा र राडो नेपालको आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चुडा कुमारी खड्का र ओसिएमसीको निरीक्षक अमृता श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा राडो नेपालका अधिकृत सुनिल चिमोरियाले बताए ।
कार्यक्रममा सेफ हाउस प्रमुख बिन्दा बर्तौला, हेउनमपा कानुन शाखा प्रमुख लक्ष्यम मैनाली, हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबालगायतको उपस्तिथि रहेको थियो ।