
डाक्टर कुटपिटमा संलग्नमध्ये थप एकजना पक्राउ
मकवानपुर । हेटौंडा–१ स्थित सञ्चो अस्पतालका डाक्टर कुटपिट घटनामा संलग्नमध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको...

संविधान दिवसमा भीमफेदी कारागारका १४ कैदीबन्दी थुनामुक्त
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएका छन् । बुधबार संविधा...

हराएकी घलान मृत फेला
मकवानपुर । मकवानपुर ईन्द्रसरोबरबाट हराएको मानिस मृत फेला परेको छ । भदौ ३० गते ईन्द्रसरोबर २ ठुलोटारकी ९१ वर्षी...

मिक्सरमाथि टिपर खस्दा २ जना घाइते
मकवानपुर । मकवानपुरको बकैयामा मिक्सरमाथि टिपर खस्दा २ जना घाइते भएका छन् । हेटौडा काठमाडाै कान्तिलोकपथ अन्तरगत...

१० केजी गाँजा सहित २ जना नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागूऔषध गाँजा १० केजी सहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले हे...

विदेसी मुद्रासहित १ जना भारतीय नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले विदेशी मुद्रा सहित १ जान भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ । भदाै ३१ गते बेलु...

९ सय किलो गाँजा सहित २ जना नियन्त्रणमा
मकवानपुर । मकवानपुरमा प्रहरीले ९ सय किलो गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १४...
मकवानपुर । मकवानपुरकाे हेटौंडाका स्वास्थ्यसंस्थाहरुमा आजबाट आकष्मिक बाहेककाे सेवा बन्द गरिएकाे छ । बिरामीको उपचार गरिरहेको अवस्थामा एचडीयु कक्षमै डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा स्वास्थ्य सेवा ठप्प पारिएको हाे ।
हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका हुन् । उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कानुन कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग स्थानीय प्रशासन समक्ष राखेका छन् । डाक्टर कुटपिटका कारण अहिले जिल्लाको स्वास्थ्य क्षेत्रमा तनाव सिर्जना भएकाे छ । घटना भएकाे ३ दिन बितिसक्दासम्म कारवाहीकाे प्रक्रिया सुरु नगरेकाे भन्दै स्वास्थकर्मीहरुले सेवा अबरुद्ध पारेका हुन् ।
बुधबार बिहान हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको अवस्थामा स्थानीय प्रशासन र प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिइ ‘मौन’ रहेर मिलापत्र गराउन खोज्दा मकवानपुरको स्वास्थ्य क्षेत्र आन्दोलित बनेका हुन् ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १२ का राजेश प्रधानका आफन्तकाे उपचारमा लापर्वाही भएकाे उनका आफन्तले दाबि गरेका छन् । गत साउन २५ मा डेंगी संक्रमित प्रधानलाई सञ्चाे अस्पतालबाट थप उपचारकाे लागि चितवनमा पठाइएकाेमा उनकाे उतै मृत्य भएकाे थियाे । मृतकका आफन्तले बुधबार सञ्चाे अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका हुन् । कुटपिटबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा. थापाको गाला र अनुहार सुनिएको छ । उनी उपचारका लागि काठमाडौं गएका छन् ।
प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसअघि उनलाई उपचारका लागि साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि साउन २३ गते चितवन रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रधानलाई दोस्रोपटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो । डाक्टर कुटपिटमा संलग्नलाई कारबाही नहुने अवस्था भएपछि जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रुपमा प्रहरीमा निवेदन दिएका छन् । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएका कारण प्रहरीमा उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रुपमा उजुरी दर्ता गरिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरु दोषी रहे स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ । घटनामा संलग्न ४ जनामात्रै नियन्त्रणमा रहेकाे र उनीहरुलाई समेत कारवाहीभन्दा मिलापत्रकाे पहल मात्रै जारी राखेकाे प्रति स्वास्थ्यकर्मीहरु आक्राेशित छन् ।
मकवानपुर । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पछिल्लो संशोधन अनुसार स्वस्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई ३ बर्षसम्म कैद हुने व्यवस्था छ ।
स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ
त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।
स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरे, बिरामीको उपचारमा बाधा पुर्याए वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरे एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
साथै, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थामा कुनै हानिनोक्सानी भए कसूरदारबाट क्षति बराबर क्षतिपूर्ति रकम भराउन पनि सकिनेछ। स्वास्थ्य संस्थामा आगजनी वा तोडफोड तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपातको मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिए वा कसूरदार हो भन्ने विश्वास गर्ने आधार भएमा मुद्दा हेर्ने अधिकारीले पुर्पक्षका लागि थुनामा राख्न सक्ने व्यवस्था छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई २०८७ साउनमा पछिल्लो पटक शंसोधन गरि यो व्यवस्था गरिएको भए पनि हालसम्म कसैलाई कारवाही गरिएको छैन । कानुन बन्ने तर कार्यान्वयनमा नआउने गरेको कारण अराजक मौलाएको पीडितहरूको गुनासो छ ।
सन्चो अस्पतालमा कार्यरत डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथी आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककी श्रीमती रमा, छोरा रोहि, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान ८/१० जनाको समूहमा आएका व्यक्तिले सञ्चो हस्पिटलका डाक्टरहरू थापा र बिडारीमाथि मुक्का प्रहार गर्दा डा. थापा र डा. बिडारी घाइते भएका थिए । डाक्टरमाथि आक्रमणमा संलग्न मध्यका श्रीमती रमा, छोरा रोहन, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।
प्रशासन र प्रहरीले दोषीलाई कार्वाहीको चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको मकवानपुरका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी सुर्यँ प्रसाद सेढाई र प्रहरी प्रमुख (एसपी) सीताराम रिजालको भुमिकालाई लिएर चर्को आलोचना भइरहेको अवस्थामा घटनामा संलग्न दुई जना पक्राउ गरिएको छ ।
बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गर्ने निस्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताएका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा बरामद गरिएको लागुऔषध नष्ट गरेकाे छ । भदाै २६ गते मंगलबार हेटौडा १० स्थित राप्ती नदी किनारमा विभिन्न लागुऔषध नष्ट गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी चौकीबाट खटिएको प्रहरीले जांच गर्ने क्रममा बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट बरामद गरिएको लागूऔषध गाँजा ७ सय ११ किलो ६५ ग्राम, ONEREX/WINCIREX 100 ML को ५ सय २४ बोतल, डाईजेपाम ९ सय १६ एम्पुल, फेनार्गन ८ सय ८५ एम्पुल, नुर्फिन ६ सय ९३ एम्पुल नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी बरामद गरिएकाे ३२ लिटर घरेलु मदिरा समेत नष्ट गरिएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । स्वतन्त्रता अभियान नेपालले बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन निवारणमा नेपाल सरकारको प्रतिवद्धतालाई समर्थन तथा उन्मुलनका लागि सहयोग पुर्याउने उदेश्यले मकवानपुरमा प्रदेश स्तरीय छलफल कार्यक्रम गरेको छ ।
स्वतन्त्रता अभियानले प्रदेश तहमा दीयाे विकासकाे लक्ष्यबारे ८ दशमलब ७ उपसमिति विस्तार तथा बालश्रम, बाध्यकारी श्रम र मानव बेचविखन निवारणका लागि परिचालन गर्ने र नेपाल सरकारको अलायन्स ८ दशमलब ७ संकल्पलाई सहयोग पुयाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले नेपालमा भएका कानून कार्यन्वयनको पाटो फिलतो भएको कारण पनि बालबालिकाको सवालमा सोचेजस्तो प्रगती हासिल गर्न नसकिएको बताए ।
मनोरञ्जन क्षेत्रमा कार्यरत बाललिकाको अवस्था अत्यन्तै दयनीय भएको भन्दै अध्यक्ष खतिवडाले यो पाटोमा सरकार र सरोकारवालाहरुले धेरै काम गर्न बाँकी रहेको बताए । कार्यक्रममा स्वतन्त्र अभियानकी अधिवक्ता सामना बरालले श्रमिक बालबालिको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

स्वतन्त्रता अभियान नेपालले ट्रेड युनियन, बालश्रम विरुद्धको क्षेत्रमा कार्यरत संजालहरुका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाज संस्थाका प्रतिनिधिबीच छलफल कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल सरकार दिगो विकास लक्ष्य ८ दशमलब ७ लाई पुरा गर्ने उद्देश्यले एक पक्ष राष्ट्रको रुपमा रहेकोले सबै प्रकारका बालश्रम तथा दास प्रथाहरुको उन्मुलन प्रतिबद्ध रहेको छ ।
नेपाल सरकारले बालश्रम, बाध्यकारी श्रम, मानव बेचविखन तथा आधुनिक दासत्वको क्षेत्रमा भएका कार्यहरुको समीक्षा तथा निवारणका लागि संयुक्त योजनाहरुको निर्माण, एकिकृत तथा समन्वयात्मक ढङ्गमा काम गर्नको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा राष्ट्रिय समन्वय समिति गठन गरिएको छ ।
बाल कल्याण समाज मकवानपुर, युवाका साथ साथ आवाज नेपाल, युथ क्लब नारायणगढ, सरोकार समाज नेपाल, स्वतन्त्र अभियान नेपाल, ग्लोबल मार्च, राष्ट्रिय बाल संरक्षण सञ्जाललगायतको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेश ट्रेय युनियनका उपाध्यक्ष अर्जुन अर्यालले मनाेरञ्जन क्षेत्रकाे बालश्रमिकमाथि सरकार खासै उदार नभएकाे गुनासाे गरे । कार्यक्रममा गैसस बागमती प्रदेश अध्यक्ष आरती पाठक, हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबालगायत बालबालिकाको क्षेत्रमा सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २९५ एम्पुल लागूऔषध डाईजेपाम सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा १५ चुरियामाई स्थित सडकमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ आउंदै गरेको बा प्र ०३(००१ ख ०३०५ नं को यात्रु बाहक माईक्रो बसमा सवार जिल्ला पर्सा पोखरिया नगरपालिका वडा ९ पोखरिया बस्ने बर्ष २३ को जुगेश्वर राउत कुर्मीलाई नियन्त्रणमा लिएको हो ।
कुर्मीको साथमा लुकाइ ल्याएको औषध डाईजेपाम १०० एम्पुल, फेनार्गन ८६ एम्पुल र नुफिन ९९ एम्पुल बरामद गरेको छ । कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला थाहा नगरपालिकाकी ५ बर्षिया बालिकाको मृत्युको जिम्मेवारी कान्तिबाल अस्पतालले लिनुपर्ने
नेकपा एमालेका सचेक महेश बर्तौलाले बताएका छन् ।
कान्तीबाल अस्पतालमा गत १८ गते भएको एक बालिकाको मृत्यु बारे संसदमा बोल्दै अस्पतालको चरम लापरबाहीका कारण मृत्यु भएको र त्यसको सम्पुर्ण जिम्मेवारी अस्पताल व्यवस्थापन, अस्पताल निर्देशक तथा स्वास्थ्य मन्त्राललयले लिनुपर्ने सांसद बर्तौलाले बताए ।
मकवानपुर जिल्ला संघीय निर्वाचन क्षेत्र न २ बाट निर्वाचित बर्तौलाले आफ्नो निर्वाचन क्षेत्र भित्रकी बालिका मृत्युको सवालमा संसदमा बोलेका हुन् ।
अस्पतालको लापरबाहीले गर्दा एउटा बाबुको सपना तुहिएको र परिवारमा दुःख परेको बताउँदै
सचेतक बर्तौलाले भने “जीतबहादुर गोपाली यतिबेला पोर्चुगलमा हुनुहुन्छ, आफ्नो छोरीको सुन्दर भविष्यको सपना बोकेर उचित शिक्षा दिक्षा दिउँला भनेर, छोरीको भविष्य उज्वल बनाउन उहाँ एक वर्षदेखी पोर्चुगलमा हुनुहुन्छ, यहाँ स्वस्थ्य सेवा प्रदायकको यस्तो लापरबाही ?”
जीतबहादुको एउटा मात्रै सन्तान हुन् ५ बर्षे रेजीसा गोपाली । उनको सपना कान्तीबाल अस्पतालको चरम लापरबाही, गैरजिम्मेवारीपनका कारणले गर्दा चकनाचुर भएको बर्तौलाले बताए ।
बर्तौलाले अस्पातलले ईमर्जेन्सीको उपचारका लागि दुई घण्टासम्म डाक्टर भेट्ने पालो नदिँदा तथा अस्पतालका पालेलाई बालिकाकी आमाले अनुनयविनय गर्द पनि भित्र प्रवेशमा ढिलाई गर्दा मृत्यु भएको उल्लेख गर्दै मृतक बालिकाको पीडित परिवारले न्याय पाउनु पर्ने उनले बताए।
अस्पताल व्यवस्थापन तथा अस्पताल निर्देशकलाई छानविनको दायरामा ल्याउन माग गर्दै पीडित परिवारलाई आवश्यक क्षेती भरान माग गरे ।
उक्त बालिका मकवानपुरको थाहा नगरपालिका १० की हुन् र उनी आफ्ना आमासंग काठमाडौको बाफल बस्दै आएकी थिईन ।
उच्च ज्वरो आएपछि उपचारको लागि कान्ति बाल अस्पताल लगिएकोमा पालो कुर्दा कुर्दै इमर्जेन्सी वार्डमा उनको निधन भएको थियो ।
निरन्तरको बान्ता र ज्वरोले थलिएकी पाँच वर्षीया रेजिशालाई उपचारका लागि इमर्जेन्सीमा ल्याएका आमा र हजुरबुबालाई अस्पतालका कर्मचारीले डाक्टरकहाँ पठाउनुकोे सट्टा टिकट काटेर पालो कुर्न अह्राए । बिरामीको गम्भीरता बुझिदिन उनीहरूले हारगुहार गरिरहे, तर कसैले सुनेन । उपचारको पर्खाइमा दुई घन्टासम्म संघर्ष गरिरहेकी अबोध बालिकाले अन्ततः हजुरबुबाको काखमै तड्पिँदै प्राण त्यागिन् ।
गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर एक बालिकाको ज्यान गएको छ । उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई हजुरबा र आमाले तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा अप्रिय घटना भएको हो ।
काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५:०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । कृष्णबहादुरले नातिनीको अवस्था जटिल बन्दै गएकाले तत्काल उपचारको व्यवस्था मिलाइदिन इमर्जेन्सी कक्षमा खटिने सेक्युरिटी गार्डलाई बिन्ती गरे । त्यहाँ डाक्टरबाहेक व्यवस्थापन मिलाउने सेक्युरिटी नै थिए ।
तर, सेक्युरिटीले टिकट काटेर पालोमा बस्न आदेश दिए । टिकट लिने प्रक्रिया पनि उस्तै लम्बेतान, कृष्णबहादुरले काउन्टर नम्बर १ मा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । रेजिशालाई भने ज्वरोले गालेर लल्याकलुलुक बनाउँदै थियो । कृष्णबहादुरले नातिनीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै पालो अगाडि सारिदिन सेक्युरिटी गार्डसामु हात जोडे ।
अस्पतालको सुरक्षामा खटिएका प्रहरीले पनि पालो अगाडि सारिदिन आग्रह गरेका थिए । तर, बिरामीको ज्यान तलमाथि होला भन्नेमा होइन, कसैको पालो तलमाथि होला कि भन्नेमा निर्मम बन्यो अस्पताल प्रशासन, किनभने त्यो कान्ति बाल अस्पतालको इमर्जेन्सीमा स्थापित कठोर नियम हो । जतिसुकै गाह्रो भए पनि पालोमै आउन भनेपछि कृष्णबहादुर र रिताले रेजिशाको छटपटीमा रुनबाहेक केही गर्न सकेनन् । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि साँझै ७:१० बजे रेजिशाको मृत्यु भयो ।
‘हामीले नातिनीलाई उपचारका लागि समयमै अस्पताल पुर्याएका हौँ, तर इमर्जेन्सीमा पुगेर पनि वेलैमा डाक्टरलाई देखाउन पाएनौँ । नातिनीको अवस्थाबारे पटक–पटक जानकारी गराउँदा पनि सेक्युरिटी गार्डले पालोमा आउन भनेपछि हाम्रो कुनै उपाय चलेन । दुई घन्टासम्म पालो कुर्दा पनि डाक्टरलाई देखाउन पाइएन, हेर्दाहेर्दै नातिनीको ज्यान गयो,’ कृष्णबहादुरले रुँदै भने, ‘इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरो लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो । अरू कुनै अस्पताल लगेको भए बरु नातिनी बचाउन सक्थेँ कि !’
अस्पतालको गैरजिम्मेवार व्यवहारका कारण रेजिशाको ज्यान जानु मृतकको सूचीमा अर्को एक नाम थपिनु मात्रै हो । तर, अकालमा ज्यान गुमाएका परिवारका लागि अपूरणीय क्षति हो । आमा रिताको कोख रित्तिएको छ । छोरीलाई राम्रो शिक्षा दिएर उनको सुन्दर भविष्य कोर्न एक वर्षदेखि परदेश (पोर्चुगल)मा पसिना बगाउँदै गरेका बुबा जितबहादुरको सपनाले हार खाएको छ ।
तर, अस्पताल प्रशासन भने उल्टै शोकसन्तप्त परिवारमाथि दोष देखाएर मृत्युलाई सामान्यीकरण गर्न उद्यत् छ । कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय उपचार नपाउँदा बालिकाको ज्यान गएको स्विकार्छन्, तर आफन्तले बिरामीको अवस्थाबारे बुझाउन नसकेको दाबी गर्छन् । ‘अस्पताल पुग्दा पनि उपचार नपाएर बालिकाको ज्यान जानु राम्रो होइन । तर, बिरामीका आफन्तले बालिकाको अवस्थाबारे सेक्युरिटी गार्डलाई राम्ररी भन्नुभएको रहेनछ, त्यसकारण यस्तो घटना हुन पुग्यो,’ उनले भने, ‘बिरामीको भिड धेरै हुने भएकाले पनि पुग्दाबित्तिकै सेवा लिन कठिन छ ।’
अस्पतालको लापरबाहीले बालिकाको ज्यान गएपछि आफन्तले सोमबार नै सिसिटिभी फुटेज हेर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । कृष्णबहादुरले घटनाको जिम्मा अस्पताल प्रशासनले लिनुपन, दोषीमाथि कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । मृतकका आफन्तले सोमबार राति र मंगलबार बिहान अस्पताल परिसरमा आन्दोलन पनि गरेका छन् ।
बालिकाको मृत्युपछि नियम सुधारको घोषणा
पालो कुर्दाकुर्दै उपचार नपाएर बालिका रेजिशाको मृत्यु भएपछि कान्ति बाल अस्पताल प्रशासनले इमर्जेन्सी कक्षको नियम सुधारको घोषणा गरेको छ । पालोमा बस्दा गाह्रो भएका बिरामीलाई पहिले पालो दिने गरी नियम सुधारिएको निर्देशक रायले बताए । त्यस्तै, पालो पर्खिनुपर्ने बिरामीलाई पनि पर्खाइकै क्रममा निगरानी गर्न इमर्जेन्सी विभागलाई निर्देशन दिएको उनको भनाइ छ । ‘अब इमर्जेन्सीमा आएर गाह्रो भएका बिरामीले पालो कुर्नुपर्दैन, हामीले मंगलबारदेखि नै नियम सुधारेका छौँ,’ रायले भने ।
बहिरंग सेवा दिनमा तीन घन्टा मात्र, भिड इमर्जेन्सीमा ओपिडीमा भन्दा इमर्जेन्सीमा आउने बिरामी धेरै
बालबालिकाको विशिष्टीकृत अस्पताल भएकाले देशभरबाट कान्तिमा बिरामी ल्याइन्छन् । तर, अस्पतालको बहिरंग सेवा (ओपिडी) दिनमा जम्मा तीन घन्टा मात्रै सञ्चालन हुन्छ । बिहान १०:०० बजेदेखि सुरु हुने ओपिडी दिउँसो १:०० बजे नै बन्द हुन्छ । ओपिडीमा देखाउन नभ्याएका बिरामी इमर्जेन्सीमा आउँछन् । नाम इमर्जेन्सी दिए पनि ओपिडीभन्दा खासै केही फरक छैन । ओपिडीमा जस्तै चर्को लाइन हुन्छ, टिकट काट्न पनि लाइन नै बस्नुपर्छ । बिरामी कुन गम्भीर हो, कुन सामान्य हो भन्नेसँग मतलब हुँदैन, टिकट नम्बरअनुसार पालोमा बसेर जँचाउनुपर्छ, ओपिडीमा जस्तै । अन्य अस्पतालबाट स्लाइन पानी तथा अक्सिजन दिएर एम्बुलेन्समै ल्याइएका बिरामीलाई मात्रै तुरुन्तै भर्ना गरिन्छ ।
सयभन्दा बढी बिरामी पालोमा हुन्छन्, तर चेकजाँचमा भने कहिलेकाहीँ एकजना मात्रै चिकित्सक हुन्छन्, प्रायः दुईजना । अस्पताल प्रशासनका अनुसार इमर्जेन्सीमा २४ घन्टामा १२ जना चिकित्सक खटाउने गरिएको छ । त्यसमध्येकै चिकित्सक मागअनुसार एनआइसियू, पिआइसियू र अन्य उपचारमा पनि लाग्नुपर्छ । ५–६ जनासम्मको टिम इमर्जेन्सीमै रहने भए पनि अन्यत्र माग हुँदा कहिलेकाहीँ कम पनि हुन सक्ने बताउँछन् अस्पताल निर्देशक राय । यस्तो अवस्थामा इमर्जेन्सीमा गएको गम्भीर बिरामीले पनि घन्टौँसम्म कुर्नुपर्ने अवस्था हुन्छ । यस्तै अवस्थाका कारण सोमबार साँझ रेजिशाले अकालमै ज्यान गुमाउनुपर्यो ।
‘यहाँ एउटा डाक्टरलाई इमर्जेन्सीमा बसेर मात्रै पुग्दैन, आवश्यकताअनुसार जता पनि दौडिनुपर्ने हुन्छ,’ निर्देशक रायले भने, ‘कहिलेकाहीँ आइसियूको डाक्टर सर्जरीमा हुन्छन् भने कहिले इमर्जेन्सीमा पनि पुग्छन्, इमर्जेन्सीमा पनि हामीले ग्रिन, एल्लो, रेड जोन भनेर छुट्याएका छौँ, सोहीअनुसार उपचार गरिन्छ ।’
हाल कान्ति अस्पतालमा १२ पिआइसियू र १५ एनआइसियू बेड छन् । अन्य सामान्य बेड एक सय ५० हाराहारी भए पनि एउटै बेडमा दुईजनासम्म बिरामी राख्ने गरिएको छ । इमर्जेन्सीमै बिरामीको भिड अत्यधिक हुँदा एउटै बेडमा दुईजनासम्मलाई उपचार गर्ने गरिएको अस्पताल प्रशासनले नै जनाएको छ । अस्पतालका अनुसार इमर्जेन्सीमा दैनिक तीन सयसम्म बिरामी आउने गरेका छन् भने ओपिडीमा आउने दुई सयभन्दा बढी हुन्छन् । अस्पतालमा बालरोगसँग सम्बन्धित ३० भन्दा बढी विशषेज्ञ चिकित्सक छन् ।
बालिकाका हजुरबुबा कृष्णबहादुर गोपाली भन्छन्–उपचारको आस गर्दागर्दै काखमै नातिनीको सास गयो
आइतबार बिहानदेखि नातिनीलाई ज्वरो आउने र बान्ता हुने भइरहेको थियो । गाह्रो भएपछि त्यसै दिनदेखि स्कुल पठाएनौँ । बाफलमै मेडिकलमा चेकजाँच गराएर औषधि खुवायौँ । तर, सोमबारसम्म पनि कुनै सुधार देखिएन, खानासमेत खान नमानेपछि बेलुकातिर ट्याक्सीमा राखेर कान्ति बाल अस्पताल पुर्यायौँ ।
५:०० बजे कान्तिको इमर्जेन्सीमा पुग्दा भिडभाड थियो । नातिनी राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सुरुमै लागेको थियो, यस्तो भिडभाडमा कसरी छिटो उपचार पाइएला र ? सोधपुछ गरेर १ नम्बर काउन्टरमा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । त्यहाँ व्यवस्थापन गर्ने सेक्युरिटी गार्ड हुने रहेछन् । मैले नातिनीको जटिल अवस्थाबारे सबै बताएँ ।
नातिनी काखमा रोइरहेकी थिइन् । गार्डले जतिसुकै गाह्रो भए पनि लाइनमै बस्न भनेपछि कुर्नुको विकल्प रहेन । तर, नातिनीको शिथिल अवस्था देखेर छटपटी चल्थ्यो । उठेर सेक्युरिटी गार्डलाई बिन्ती गर्थेँ– छिटो पालो मिलाइदिनुस् न । सेक्युरिटी गार्डले उल्टै झपारे । ड्युटीमा रहेका प्रहरीलाई पनि चाँडो पालो मिलाइदिन आग्रह गरेँ, तर प्रहरीले भनेको पनि मानेनन् सेक्युरिटीले । दुई घन्टासम्म पालो कुर्दा पनि डाक्टरलाई देखाउन पाइएन, उपचारको आस गर्दागर्दै ७:१० बजे काखमै नातिनीको सास गयो ।
इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरा लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो । अरू कुनै अस्पताल लगेको भए बरु नातिनी बचाउन सक्थेँ कि ! छोरा विदेशमा छ । म, बुहारी र नातिनी यहाँ थियौँ । अब नातिनी रहिनन् । हामीलाई पहाडले थिचेजस्तो भएको छ ।
नयाँ पत्रिकाबाट साभार
मकवानपुर । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा मकवानपुरको हेटौंडाबाट १ जना डाक्टर पक्राउ परेका छन् ।
महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा १ स्थित हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । काठमाडौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोकमा हेटौंडा सिटी अस्पताल संचालन गर्दै आएका ३६ वर्षका राईले ३१ बर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई १८ गते राति जवरजस्ती करणी गरेको भन्दै पिडीत महिलाले राई विरुद्ध जाहेरी दिएकी थिइन । महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मकवानपुर जिल्ला अदालतबाट डाक्टर राईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।
आत्महत्या/आत्महानी जो कसैको लागि पनि अप्रिय लाग्ने शब्द हो । तथापि हामी प्रत्यक्ष तथा परोक्ष रुपमा परिचित अवश्य पनि छौं । यस्ता घटनाहरु हाम्रो समाजमा दिनानुदिन बढ्दै गएकाे कुरा विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरुबाट पढ्न वा सुन्न पाईन्छ । यस्ता घटनाले हामी सबैलाई मर्माहित बनाईरहेको अवस्था छ । यसरी विभिन्न समाचारहरु पढिरहंदा आत्महत्याका घटनाबाट अपवाद बाहेक कुनै पनि समुदाय अछुतो छैन ।
आत्महत्यालाई विभिन्न किसिमबाट परिभाषित गरिएता पनि यसको अर्थ जानीजानी आफूले आफैलाई मार्न खोज्नु हो । त्यस्तै आत्म हत्याको योजना भनेको आफूले आफैलाई मार्छु भन्ने उद्देश्यले जीवन अन्त्य गर्न खोज्नु हो । आत्महत्याको विचार वा सोचाई भनेको आफूले आफैलाई मार्छु भन्ने जस्ता विचार आउनु हो । यस्ता विचारहरु अस्पष्ट हुनसक्छ र एक्कासी आउन सक्छ ।
विश्व परिवेशलाई केलाएर हेर्ने हो भने आत्महत्यालाई एउटा गम्भिर जनस्वास्थ्यको समस्याको रुपमा हेरिएको छ । विश्व स्वास्थ्य संगठनको २०२१ को तथ्याङ्कलाई हेर्ने हो भने पनि प्रत्यक बर्ष अन्दाजी ७ लाख व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गरेको देखाएको छ । यो संख्या भनेको हरेका ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्या गरेको अनुपातलाई देखाउँदछ । एउटा आत्महत्याको प्रयास पछाडी २० वटा आत्महत्या भएको कुरा संकेत गर्दछ । २०१९ को तथ्याङ्कलाई हेर्ने हो भने कुल आत्महत्याको ७७ प्रतिशत आत्महत्या गरिव तथा न्यून आय भएका राष्ट्रहरुमा हुने गरेको देखिन्छ । यसका साथै १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिमा हुने मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको छ । (विश्व स्वास्थ्य संगठन २०१९)
नेपालको परिवेशलाई हेर्ने हो भने राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण प्रतिवेदन सन् २०२० का अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिमा आत्महत्याको सोच र योजना रहेको, त्यस्तै १.१ प्रतिशतले आत्महत्याको प्रयास गरेको र ०.३ प्रतिशत भविष्यमा आत्महत्या गर्न सक्ने जोखिममा रहेको देखाएको छ । कुल जनसंख्यालाई आधार मानेर हेर्ने हो भने यो प्रतिशतले निकै ठुलो जनसंख्या ओगटेको देखिन्छ ।
नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याबाट मृत्यु हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँदछ । । नेपालमा प्रजनन् उमेरका महिलामा मृत्युको प्रमुख कारणको रूपमा आत्महत्या रहेको छ । (Subedi et al.2009) विस्व स्वास्थ्य सगंठनले २०१४ को तथ्यांकलाई प्रक्षेपण गर्दा नेपाल आत्महत्याको सुचिमा ७ औं नम्बरको सुचिमा र महिलाको मात्र हेर्ने हो भने तेस्रो नम्बरको सूचिमा रहेको छ ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७,११७ व्यक्तिको मृत्यु आत्महत्याबाट भएको थियो । विगत ५ वर्षको तथ्याङ्ककलाई आधार मान्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । दिगो विकास लक्ष्यमा आत्महत्यालगायत नसर्ने रोगबाट हुने मृत्यु सन् २०३० सम्ममा एक–तिहाइले घटाउने लक्ष्य लिएको छ । विश्वमा हुने आत्महत्यामध्ये एक–तिहाइ आत्महत्या युवाहरूमा हुने गरेको छ । यसरी उपलब्ध नतिजाहरुलाई हेर्दा आत्महत्याको तथ्याङ्कक निकै कहाली लाग्दो छ । नेपालमा प्रहरी प्रधान कार्यालय बाट प्राप्त तथ्याङ्ककलाई आधार मानिने भएकोले कतिपय आत्महत्याका घटनासंग सम्बन्धित केसहरु प्रहरी कार्यालयमा रिपोर्ट नहुने, लाल्छाना तथा विभेद हुने डरले पनि परिवारहरुले यस्ता कुराहरु बाहिर ल्याउन नचाहने साथै उपलब्धल तथ्याङ्ककलाई समयमानै अद्याबधिक हुन प्राविधिक चूनौतिहरुका कारणले गर्दा पनि आत्महत्याको दर बढि हुन सक्ने आंकलन गर्न सकिन्छ ।
आर्थिक वर्ष २०७९/८० को प्रदेश अनुशार आत्महत्याको अवस्थालाई हेर्ने हेर्दा आत्महत्याको अवस्था भयावह देखिन्छ । प्रहरी स्रोतका अनुसार यस आर्थिक बर्षमा मात्र ६९९३ जनाले आत्महत्याबाट ज्यान गुमाएको देखिन्छ । तलको चित्रबाट प्रदेश अनुशार २०७९/८० मा ज्यान गुमाउनेहरुको संख्यालाई हेर्न सकिन्छ ।

आत्महत्या गर्नुको कारण यहि नै हो भनेर भन्न कठिन भएता पनि आत्महत्याको कोशिस गर्ने वा आत्महत्या गरेका ९५ प्रतिशत मानिसहरु कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको पाइन्छ । जसमा ८० प्रतिशत डिप्रेसन, १० प्रतिशत कडा किसिमको साइकोसिस, ५ प्रतिशत डिमेन्सिया, डिलेरियम र लागूपदार्थ सम्बन्धी समस्या भएको अध्ययनले देखाएको छ । अझ यसलाई गहिरेर हेर्दा परिवारमा बिगतमा आत्महत्याको ईतिहास भएको जस्ता बंशाणुगत कारण, बाल्य अवस्थामा दुर्व्यवहार तथा वेवास्ता भोगेका तथा सेरोटोरिएन हर्मोनको कमि जस्ता जैविक तथा पारिवारीक कारणहरुले पनि आत्महत्याको जोखिमलाई बढावा दिईरहेको कुरा विभिन्न अध्ययनहरुले देखाएको छ ।
त्यस्तै दिर्घ तथा कडा खालका शारीरिक रोगहरु जस्तै क्यान्सर, एड्स, दिर्घ दुखाई त्यस्तै आशाविहिनता, आवेगपन, अनियन्त्रित सोचाईहरु, समस्या समाधान गर्ने सिपको कमि जस्ता मनोवैज्ञानिक कारणहरु त्यस्तै बढ्दो सामाजिक क्षति तथा विखण्डन, कमजोर आर्थिक अवस्था, सामाजिक तथा अन्तरव्यक्ति द्वन्द्व, असुरक्षित बसाईसराई तथा आर्थिक संकट जस्ता कारणहरुले आत्महत्याका घटनामा थप मलजल पुगेको अवस्था देखिन्छ ।
आत्महत्याबाट जो कोहि ब्यक्ति पनि जोखिममा हुन सक्ने भएता पनि बढि जस्तो डिप्रेसन तथा गम्भिर किसिमका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु, एकल व्यक्तिहरु, बेरोजगार, पारिवारिक असंवेदनशिलता भएका परिवारका व्यक्तिहरु, लागुऔषध दुर्व्यसनीहरु, आत्महत्या प्रयासका पृष्ठभूमि भएका वा त्यस्ता परिवारका व्यक्तिहरु, तनावमा भएका व्यक्तिहरु, एक्लै बस्न चाहाने वा अन्तरमुखि व्यक्तिहरु तथा ठूलो आर्थिक जोखिम भएका वा त्यसबाट गुज्रिएका व्यक्तिहरु उच्च जोखिमा रहेको विभिन्न घटनाक्रमहरुले देखाएको पाईन्छ ।
आत्महत्या दरलाई हेर्ने हो भने धेरै जसो आत्महत्या पुरुषले गर्ने गरेको भएता पनि पुरुषको तुलनामा महिलाले आत्महत्याको प्रयास बढि गर्ने गरेको देखिन्छ । नेपालमा आत्महत्याका लागि व्यक्तिले विभिन्न माध्यमहरु अपनाउने गर्दछन् । सामान्यतया परिवेश अनुसार सहज उपलब्ध हुने साधनहरुको नै छनौट गर्ने गरेको प्रचलनमा देखिन्छ ।
अझै पनि हाम्रो समाजमा आत्महत्याको समस्यालाई विभिन्न स्थान तथा समुदायमा फरक तरिकाले लिने गरिएको छ । आत्महत्या एक संवेदनशील समस्या भएता पनि यसबारेमा विभिन्न गलत धारणाहरु ब्याप्त रहेको पाईन्छ । केहि उधारणहरु भन्नुपर्दा आत्महत्याका बारेमा कुरा गर्ने ब्यक्तिले आत्महत्या गर्दैनन् भन्ने गलत धारणा अझै पनि रहेको छ तर यथार्थ के हो भने प्रत्यक १० मध्य ८ जनाले आत्महत्या पूर्व यसका आशयका बारेमा कुरा गर्ने गरेको पाईएको छ ।
त्यस्तै आत्महत्या गर्ने अठोट गरेको व्यक्तिलाई बचाउन सकिंदैन भन्ने मान्यता कतिपयमा रहेको पाईन्छ तर यथार्थ के हो भन्दा समयमा नै उचित ध्यान पुर्याएर उचित उपचार र मनोविमर्श प्रदान गर्न सकेमा यसलाई पूर्ण रुपमा रोक्न सकिने देखिन्छ । कतिपयको बुझाईमा अझै पनि आत्महत्या गर्ने व्यक्तिलेबीना संकेत आत्महत्या गर्दछन् भन्ने धारणा रहेको छ तर यथार्थ के हो भने धेरै जसो आत्महत्याबाट मृत्यू भएका व्यक्तिहरुले आत्महत्याको कुरा गर्ने वा स्पष्ट संकेत गर्ने गरेको पाईन्छ ।
आत्महत्याका प्रयास गरेका व्यक्तिहरुको उद्धार भएपछि आत्महत्याको खतरा टर्दछ भन्ने गलत धारण रहेको पाईन्छ तर वास्तविकता के हो भने समस्याको वास्तविक पहिचान तथा उपयुक्त सहयोगको अभाव भएमा भविष्यमा पनि आत्महत्याको खतरा रहने गर्दछ । समाजमा कमजोर आर्थिक अवस्था वा कमजोर सामाजिक पहिचान भएका व्यक्तिहरुले मात्र आत्महत्या गर्दछन् भन्ने बुझाई रहेको पाईन्छ तर यथार्थ के हो भने यो आत्महत्या कुनै आर्थिक सिमा वा कमजोर समाजिक पहिचान भएको व्यक्तिमात्र सिमित भएको पाईंदैन ।
मानसिक स्वास्थ्यसेवाको यस्तो अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले राष्ट्रिय मानसिक स्वास्थ्य नीति तथा कार्ययोजना २०७७ मार्फत् यस्ता समस्याहरुलाई नीतिगत तहबाटनै सम्बोधन गर्ने प्रयास गरेको छ । जसमा आत्महत्या रोकथाम, गर्भावस्था र सुत्केरी अवस्थाको मानसिक स्वास्थ्य, प्रभावकारी अभिभावकत्वलगायतका विषयहरूमा जनचेतना अभिवृद्धि गरिने, आत्महत्या लगायत मानसिक स्वास्थ्यसम्बन्धी सूचकहरू निर्धारण गरी सोको आधारमा सूचना प्रणालीलाई परिमार्जन गर्दै लगिने तथा आत्महत्यासंग सम्बन्धित घटनालाई निरन्तर निगरानी पद्धतिमा समावेश गरिनेछ भन्ने कुराहरु प्रष्ट रुपमा उल्लेख गरिएको छ ।
त्यस्तै सामुदायिक एकिकृत जनस्वास्थ्य कार्यक्रम मार्फत् आत्महत्या सम्बन्धी सोचाईको स्क्रिनिङ गर्ने तथा पहिचान गरिएका समस्या समाधानका लागि उचित व्यवस्थापन गर्ने कुराहरु उल्लेखित छन् । आत्महत्या रोकथाम कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने, आत्महत्याको घटनालाई अभिलेख बनाई कार्यान्वयनमा ल्याउने, आत्महत्या रोकथाम दिवस जनसहभागीतामा सबै तहमा मनाउने तथा आत्महत्याको प्रयास गरेका सुपरिचित सामाजिक व्यक्तिहरू र आत्महत्या प्रयासपछि सम्मानजनक जीवन बाँचेका व्यक्तिहरूलाई सामाजिक अगुवाई गर्न प्रेरित गर्ने लगाएका कुराहरुलाई नीति तथा कार्यक्रम मार्फत् समावेश गरेको छ ।
यस्ता नीति तथा योजनाहरुलाई समुदाय स्तरमा कार्यान्वयन गर्नको लागि तिनवटै तहका सरकारहरुले सरोकारवाला निकायहरुसंगको समन्वयमा सेवा र सचेतना मुलक कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै लगेको छ । सरकारहरुले पनि यस क्षेत्रमा कार्यरत संस्था, व्यक्ति, समुदाय तथा सञ्जालहरु संगको सहकार्यमा आत्महत्या रोकथामको लागि प्रभावकारी पहलकदमी गर्दै आएको अवस्था छ । सवै स्थानमा दक्ष जनशक्ति पु-याउनु त्यति सहज नभएको कुरालाई आत्मसात गर्दै सम्बन्धित संस्था र सेवाप्रदायक निकायहरु संगको सहकार्यमा आत्महत्या रोकथामको लागि हेल्पलाईन नम्वरहरुबाट सेवा प्रदान गर्ने उद्देश्यले शुल्क नलाग्ने नम्बरहरु सञ्चालित छन् ।
विगतमा झैं यस बर्ष पनि सेप्टेम्वर १० लागि विश्व आत्महत्या रोकथाम दिवशको रुपमा सचेतनामुलक कार्यक्रमहरु सहित सभ्य र भब्य रुपले मनाउन मातहतका निकायहरु मार्फत् सकोकारवालाहरु संग सहकार्य गरि सबै बर्ग, समुह र तहको आत्महत्या रोकथाम गर्न ऐक्यवद्धताको वातावरण सृजना गर्न सरकार लागि परेको अवस्था छ । यसरी सरकारी तवरवाट भएका यस्ता प्रयासहरु नि:शन्देहनै प्रशंसनीय र सकारात्मक पहलकदमीको रुपमा लिन सकिन्छ । अहिलेको आत्महत्याका घटनाका दरलाई हेर्ने हो भने यस्ता प्रयासहरु उल्लेख्य भएता पनि पर्याप्त भएको देखिंदैन । यसको लागि सरकार आत्महत्या रोकथाम लक्षीत कार्यक्रमहरु मर्फत् अझै सशक्त रुपमा अगाडी बढ्नुपर्ने देखिन्छ ।
यसको लागि सरकारले जोखिममा रहेका व्यक्तिहरुको पहिचान गरि बहुपक्षिय सहयोग कार्यक्रम सञ्चालन गर्दै लग्नुपर्ने हुन्छ । कतिपय स्थानिय तहमा मनोबिमर्शकर्ता राख्ने कार्यको शुरुवात भएता पनि सवै स्थानिय तहमा मनोबिमर्शकर्ताको उपलब्धतालाई सुनिश्चित गर्नुपर्ने खांचो रहेको पाईन्छ । सम्भव भएसम्म मानसिक स्वास्थ्यको बिषयलाई पाठ्यक्रममा राख्न सकेमा अझै प्रभावकारी हुने देखिन्छ । यसर्थ सबै तहका सरकारले आत्महत्या रोकथाम सम्बन्धि कार्यक्रमको लागि सहकार्य गर्ने वाताबरण सृजना गरि आत्महत्या सम्बन्धी बिषयमा गरिने अध्ययन र अनुशन्धानको दायरालाई फराकिलो गर्दै प्रमाणमा अधारित भएर रचनात्मक सुझाब सहितको वहस र पैरवी गर्नुपर्ने आवश्यकता देखिन्छ ।

मानसिक स्वास्थ्यको बारेमा बोल्न समेत सोच्नुपर्ने अवस्थाबाट गुज्रियको हाम्रो समुदायमा हाल सडकदेखि सदनसम्म यस्ता कुराहरु निसंकोच उठ्नुले पनि चेतनाको स्तरमा सुधार भैरहेको कुरालाई चित्रण गर्दछ । आत्महत्याका बारेमा भ्रामक, कपोकल्पीत तथा थप निरुत्साहन गर्ने किसिमका समाचारहरुको संप्रेषणलाई निरुत्साहन गर्दै समाधानमुलक र सकारात्मक सन्देश दिने किसिमका समाचारहरु संप्रेषणलाई प्रबर्द्धन आवश्यक देखिन्छ । आत्महत्या रोकथाम संभव छ भन्ने कुरालाई सबै सरोकारवालाहरुले आत्मसाथ गर्नुपर्ने देखिन्छ । यसर्थ आत्महत्या रोकथाममा गरिने एकल प्रयासबाट केवल आवाज उठाउन सकिएला तर त्यस आवाजलाई बुलन्द र सशक्त बनाउन सवैको सहयोग र सहकार्य महत्वपूर्ण हुन्छ । आत्महत्याका घटनाहरुलाई शून्यमा झार्नको लागि दुरदर्शी योजना सहित सहकार्य गर्ने उचित वातावरण सृजना गर्न तीनवटै तहको सरकारको भूमिका अपरिहार्य रहन्छ ।
प्रतिकृयाकाे लागि: shrkhanal@gmail.com
(खनाल मकवापूर जिल्लामा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रमको लागि टिपिओ नेपालमा कार्यक्रम संयोजक हुन् ।)