मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–७, रमौलीकी रिता सुनारी मगरको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान घर नजिकैको जंगलमा घाँस काट्न गएकी रिता रुखबाट लडेर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारको लागि चितवन भरतपुरको चितवन मेडिकल कलेज लगिएकोमा सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
मकवानपुर । मकवानपुरमा राती ९ बजेसम्म मात्रै देउँसी भैलोकाे कार्यक्रम गर्न पाइने भएकाे छ । राती ९ बजेपछि भने देउँसी भैलाेका कार्यक्रम गर्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले राेक लगाएकाे छ ।
राति ९ बजेपछि देउँसी भैलो खेल्नमा रोक लगाएको प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै जनाएकाे हाे । निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईद्वारा जारी विज्ञप्तिमा राति ९ बजेपछि देउँसी भैलोलगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरिएकाे छ ।
यसैगरी, प्रशासनले देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउने आग्रह गरेको छ । यसैगरी प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री वितरणमा नगर्न आग्रह गरेको छ ।
जुवातास खेल्नेरखेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा नगर्न पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस वर्षको यमपञ्चक (तिहार), नेपाल सम्वत् ११४४, छठ लगायतका पर्वहरूको सुखद उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, निजी तथा संगठित संस्थामा आबद्ध कर्मचारी तथा समस्त मकवानपुर जिल्लावासीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगति कामनासहित विज्ञप्ती जारी गरेकाे प्रशासनले सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलाप नगर्न भनेकाे छ ।
प्रशासनले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ‘२०७९ साल साउन ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको हुँदा सो कार्य नगर्नु, नगराउनु हुन तथा प्रचलित कानून विपरितका गतिविधि/क्रियाकलाप सञ्चालन गर्ने, गराइएको पाइएमा कानून बमोजिम कारबाही हुनेछ ।’
मकवानपुर । मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकामा आयुर्वेद औषधालय भवन बन्ने भएको छ । मकवानपुरकाे पश्चिम क्षेत्रमा रहेका राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ ठाडेचुरीमा शुक्रबार आयुर्वेद औषधालय भवनको शिलान्यास गरिएको छ ।
स्थानीय ८६ वर्षीय बृद्ध रामबहादुर प्रजाले २ कठ्ठा १० घुर जग्गा दान दिएपछि भवन निर्माण गर्न सहज भएकाे हाे । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २० लाख बजेट मार्फत ५ कोठे भवन वन्ने आयुर्वेद शाखा प्रमुख राम बचन शाहले बताए। जग्गा दान दिने प्रजालाई गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ढाका टोपी, दोसल्ला ओढाई सम्मान गरेका थिए ।
वन जङ्गलमा पाइने जडीबुटीको प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म जयन्तिको अवसरमा भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिका भित्रका विभिन्न जडिबुटीको संरक्षण गर्न सबैको महत्वपूर्ण भूमिका रहेको बताए । हाम्राे गाउँ ठाउँ र जङ्गलमा पाइने जडिबुटीबाट बन्ने औषधीले कुनै शारीरिक असर नगर्ने भएकोले पछिल्लो समयमा आम मानिसकाे आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दै गएको समेत बताए ।
शिलान्यास कार्यक्रमसँगै भएकाे स्वास्थ्य परीक्षणमा ४० जनाको स्वास्थ्य परीक्षण गरिएकाे आयुर्वेद शाखा प्रमुख शाहले जानकारी दिए। शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सहित उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबा, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ७ का अध्यक्ष राम बहादुर प्रजा, ८ का अध्यक्ष युसाई प्रजा र ९ को अध्यक्ष राजकुमार थिङ्ग, कार्यपालिका सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँने भएकाे छ । पालिकाले विहीबार काेषमा आवद्ध हुन आवेदन माग गरेकाे छ ।
गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन हुने भएकाेले उक्त योजनामा सहभागी हुन इच्छुक व्यक्तिलाई आवेदन दिन पालिकाले सूचनामार्फत भनेको हो । योजनामा सहभागी हुन इच्छुक व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र आवेदन दर्ता गर्न सक्ने सूचनामा उल्लेख छ ।
बागमती प्रदेशमै पहिलो पटक अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानमा भीमफेदी गाउँपालिका जुटेको हो । नेपालमै स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भीमफेदी दोस्रो स्थानीय तह हो ।
भीमफेदी गाँउपालिकाको गाँउसभाबाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य,सामाजिक सुरक्षा,सहकार्य, योगदान र सहभागिताको लागि भीमफेदी गाउँपालिका र योगदानमा आधारित सामाजिक सुरक्षा कोष बिच सम्झौता भए बमोजिम कार्य अघि बढेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले योजनामा सहभागी हुन पूरा गर्नुपर्ने विभिन्न आवश्यक मापदण्ड सूचना प्रकाशन गरी सम्बन्धित व्यक्तिलाइ जानकारी समेत गराएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस योजनामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई डकर्मी, सिकर्मी,लोड अनलोड, गिट्टी बालुवा चाल्ने, ढुंगा फुटाएर जिबिका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामी लगायत अन्य श्रमिक, तथा स्वरोजगार व्यक्तिहरु यस योजनामा सहभागी हुनसक्ने गाउँपालिका अध्यक्ष हिदम लामा बताउँछन् ।
अध्यक्ष लामाले गाउँपालिकाको साझेदारी लगानीमा सामाजिक सुरक्षा कोषमा सहभागी भई आफ्नो भविष्य सुरक्षित गर्नका लागि पालिकाभित्र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई आग्रह गरेका छन् । योजनामा आबद्ध हुन चाहने अनौपचारिक क्षेत्रका श्रमिकहरुले सम्पर्क नम्बर सहितको हस्तलिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, सम्बन्धित वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक रहेको भनि गरेको सिफारिसपत्र, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणा पत्र, चेकको प्रतिलिपि बुझाउनुपर्ने पालिकाले सूचनामा भनेको छ ।
यस्तै, स्वरोजगार व्यक्तिको लागि सम्पर्क नम्बर सहितको हस्तलिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, पेशा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि/दर्ता नभएको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, प्यान वा कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणापत्र, चेकको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित १ जनालाई पक्राउ गरेकाे छ । हेटौंडा उपमहानगरपालिका–१५ नयाँवस्तीस्थित सडकबाट नक्कली नोट सहित हेटौँडा–६ का ३० वर्षीय देवराज चौलागाईलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले विहीबार दिउँसो हेटौँडा बजारबाट हेटौडा १५ नयाँवस्तीतर्फ जाँदै गरेको प्र २–०३–००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक देवराजको साथबाट नेपाली नक्कली रुपैयाँ ५ सय दरका २० थान नाेट बरामद भएको हाे ।
प्रहरीले देवराजलाई हिरासतमै राखी अनुसन्धान गरिरहेको जनाएको छ । मुलुकी अपराध संहिता–०७४ अनुसार जाली नोटको कारोबार गरेकाे प्रमाणित भएमा ५ वर्षदेखी १० वर्ष कैद र ५० हजार देखी १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
मकवानपुर । तिहार पर्व भन्नासाथ प्रायः सबैको मनमा झल्लो आइहाल्छः ढकमक्क फूलेका सयपत्री, मखमलीलगायत विभिन्न प्रजातिको फूलहरुको । विशेष गरि हिन्दु समाजमा मनाइने दशैं पर्व भर्खरै सकिएको छ । तर संघारमै आइपुगेको छ तिहारको रमझम पनि । “गाउँ पस्दा त घरघरै फूलहरु फूलेका देखिन्छन्, फूलहरुको मौसमले तिहार पर्वको स्वागत गरेजस्तो लाग्छ” हेटौंडाकी सुनिता घिमिरेले भनिन् “चापडर्वहरुमा गाउँ नै रमाइलो ।”
फूलहरूको पर्वको रूपमा चिनिने तिहार घर आंगनमा भित्रदै छ । आँगनका डिल र बारीका कान्लाहरूमा मखमली र सयपत्री फूलहरू हांसिरहेका छन् । सदा जसो नेताहरूको कार्यक्रममा मालाको व्यवस्थापनमा लाग्ने हेटौंडा ६ चौघडाका पुष्पव्यवसायी बालकृष्ण चौलागाईंलाई अहिले तिहारको व्यस्तताले पनि छोएको छ ।
तिहार पर्वको पर्याय जस्तै हुन् पुष्पमाला, सेलरोटी, दाजुभाइ र दिदिबहिनी । फूलको सुगन्धले सबैको मन तान्छ, सबैलाई आकर्षण गर्छ । तर फूल जति आकर्षक छ, यसको व्यवसाय तेति सहज भने छैन, आकर्षक छैन । पुष्प व्यवसायी चौलागाईं सबै क्षेत्रमा संघर्ष र चुनौती रहेको बताउँछन् । “संघर्ष र रिस्क सबै क्षेत्रमा हुन्छ, फूलको व्यवसाय झन् रिस्की छ” उनले भने “छोटो समयमा उपलब्धी लिन सकिने भए पनि भण्डारणलगायतको समस्या भएकोले लगानी डुब्ने चिन्ता पनि उस्तै हुन्छ ।”
चौलागाइले विगत ५ वर्षदेखि ५ कठ्ठा जमिनमा फूल खेती गर्दैै आएका छन् । यसवर्ष उनले २० हजार वटा मालाहरु उत्पादन गर्ने लक्ष्यका साथ ५ बिगाहा जमिनमा फूलखेति गरेका छन् । सुरुसुरुका वर्षमा पुष्प व्यवसायबाट राम्रो आम्दानी लिएका चौलागाई पछिल्ला वर्षहरुमा भने समयले साथ नदिएको बताउँछन् । “कहिले कोरोनाको कारण त कहिले विभिन्न कारण औपचारीक कार्यक्रमहरु कम भएमा फूल खतप गर्नै समस्या हुन्छ” चौलागाईले भने “कहिले माग राम्रो हुन्छ, तर मौसमले साथ दिंदैनन् ।”
हेटौंडा १३ का युवा कृषि उद्यमी फेन्चु लामा रुम्बाले पनि आफ्नो ड्रागन फुड खेतिमा भित्रिबालीको रुपमा फूल खेती गरेका छन् । जाँगर र महनत गर्ने हो भने कृषिबाट पर्याप्त आम्दानी लिन सकिने लामा बताउँछन् । उनले विगतमा पनि ड्रागन फुडको भित्रि बालीको रुपमा फूल खेति गर्दै आएका हुन् । फूलको विरुबा रोपेपछि ३ महिनामा आम्दानी दिन्छ । प्रति फूलको बिरुवामा कम्तिमा एक सय वटा फूल फुल्यो भने राम्रो आम्दानी हुने चौलागाई बताउँछन् ।
बजारमा एउटा माला खुद्रा मुल्यमा १ सय रुपैयामा बिक्री हुने गरेका छ भने फूल किलोको ३ सय ५० रुपैयामा रहेकाे छ ।उज्यालोको पर्व तिहारको रुपमा चिनिने तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको मकवानपुरमा पछिल्लो समय व्यवसायीक खेती हुन थालेको छ । दशक अघिदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका मकवानपुरगढी गाउँपालिका वडा ६ का टीकाप्रसाद दाहालले पनि यस वर्ष तरकारी छाडेर फूल खेति गरेका छन् । “तरकारीको मूल्य नै आउन छाड्यो केही त गर्नै प¥यो भनेर फूल रोपे” ६ नम्बर वडाको पूर्व अध्यक्ष समेत रहेका दाहालले भने ।
ग्रामिण क्षेत्रमा स्थानीयहरुले आफ्नो खेतको आलि, बारीका कान्ला र आँगानको डिलहरुमा तिहार लक्षित गरेर फूलको बिरुवा रोप्ने गरेका छन् । स्थानीयहरुले आफ्नो लागि निर्वाहमुखि रुपमा फूल रोप्ने गरेको भए पनि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ , १२, १३, १४ लगायतका वडाहरुमा ठाउँहरुका झण्डै २५ बिगाहा जमिनमा फूलखेती भइरहेको छ । छाेटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको दाहाल बताउँछन् ।
सयपत्री फूलको सुगन्धले चाडपर्वको माहोललाई थप उल्लासमय बनाएको छ । बाह्रै महिना फूल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ । पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटिकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ ।
यो फूलको अंग्रेजी नाम म्यारी गोल्ड हो । नेपालमा कतैकतै यसलाई हजारी फूल पनि भनिन्छ । सयपत्री फूल धेरै प्रजातीको हुन्छ र यसको प्रयोग सृष्टीकाल शताब्दीदेखि नै भएको मानिन्छ ।
हाल हेटौंडामा मालाको माग सम्बोधन गर्न चौलागाई आफैंले सर्लाहीबाट माला झिकाएर पनि बिक्री गर्ने गरेका छन् । सर्लाही जिल्लादेखि ल्याइएको मालालाई स्टोर गर्न उनले भण्डारण कक्षको समेत व्यवस्था गरेका छन् । जुन स्टोरमा १० हजार माला अटाउने १५ दिनसम्म राख्न सकिने चौलागाईले बताए । उनी पूर्व लडाकुँ हुन, तर पछिल्लो समय उनी कुनै पनि दलमा आवद्ध छैनन् । “जहाँ निष्ठा सहित बाँच्न सकिन्छ, त्यही बसौ भनेर मैले कृषि रोजे” चौलागाई भन्छन् । उनले आफ्नो रोजाइ आज पनि हतियार नै भएको ठट्टाको शैलीमा भने “उबेला राजनीतिमा थिएँ, हतियार (बन्दुक) चलाउँथे, अहिले कृषीमा छु, यहाँ पनि हतियार (कुटो, कोदालो) नै चलाउँछु ।” हाल कुनै पनि दलमा आवद्ध नभएपछि सामाजिक कार्य र कृषि कर्ममा तल्लिन छन् उनी ।
पुष्प व्यवसायको काम उनी आफैं र परिवारको सदस्यहरुको सहायतामा गर्छन, नभ्याएको काम ज्यालामा लगाउँछ, जसले अरुलाई समेत सानोतिनो खर्चको जोहो हुने गरेको छ । माला उने बापत प्रतिमालाको २ रूपिया, फूल टिप्ने, तथा गोडमेल गरेको प्रतिघण्टाको सय रुपिया ज्याला तोकिएको छ । ६ वर्ष पहिले घाँस फुल्दै आएको भिरालो जगामा पछिल्लो ६ वर्षदेखि फूल खेल्ने गरेको छ । स्वरोजगार बन्नको लागि यो बलियो आधार भएको बताउँछन् उनी ।
तिहारमा फूलको मालाले घर सजाउने मौलिक परम्परा हराउँदै गएको छ । यसको स्थान झिलिमिली बत्ती र प्लास्टिक तथा कागजका मालाहरूले लिंदै आएका छन् । जुन बातावरणमैत्री समेत छैन । युवाहरूलाई स्वरोजगार बन्नतर्फ प्रेरित गर्ने हो भने यो व्यवसायले पनि एउटा विकल्प बन्न सक्छ, र यसले पनि देशको अर्थतन्त्रमा टेवा दिन सक्छ । युवालाई कृषिमा आकर्षण गरि टिकाउको लागि स्थानीय सरकारले कसरत गरिरहेको बताईरहेको छ,तर युवाहरूको आकर्षण अहिले पनि वैदेशिक रोजगार नै छ । कृषि प्रधान देशमा कृषिमा यात्रीकिकरण र विबिधिकरणको खोजी अझै भएको छैन । स्थानीय तहले यसतर्फ ध्यान दिने हो भने नेपाललाइ फूलमा आत्मानिर्भर बनाउन सकिने बताउँछन् उनी ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरू अहिले खेतबारीमा नै भेटिन्छन् । तिहार सुरु भएदेखि उनीहरूलाई भ्याइनभ्याइ छ । तरकारी जन्य कृषि बाली उत्पादन गर्ने सो क्षेत्रका किसानहरू सिजनका बेलामा फूल खेती पनि गर्छन् । नगदे बालीका रूपमा तरकारी खेती गर्दै आएका इन्द्रसरोवरका कृषकहरूले पछिल्लो समय फूल खती गरेर मनग्य आमदानी गरिरहेका छन् ।
प्रतिबन्धित फूल बजारमा छ्यापछ्याप्ती
नेपाल सरकारले पछिल्लो समय प्लाष्टिक प्रतिबन्ध लगाउँदै आएको छ । हेटौंडा बजारमा पनि विगत १ दशकदेखि प्लाष्टिक न्यूनिकरण अभियान जारी छ । तर तिहारको संघारमा हेटौंडा बजारमा प्रतिबन्धित प्लाष्टिकका मालाहरु छ्यापछ्याप्ति विक्रिी भइरहेका छन् । यसको नियमन तर्फ स्थानीय प्रशासन र स्थानीय सरकारले चासो दिएको छैन । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन ।
प्लाष्टिकका मालाहरु कारण किसानले उत्पादन गरेको सयपत्री र मखमली फूल बिक्री हुन कठिन भइरहेको छ । प्लास्टिकका गुच्छा र मालाकै कारण फूल बिक्री गर्नका लागि समस्या भएको हाे । नओइलाउने र सधै राम्रो देखिने भएका कारण प्लास्टिकका गुच्छा र माला प्रति उपभोक्ताकाे ध्यान जाने गरेकाे छ । ‘यसपाली फूलकाे उत्पादन धेरै मात्रामा छ । यता बजारमा भारतीय फूल र प्लास्टिकका सजावटले गर्दा बिक्री कस्तो हुन्छ खै’ चौलागाईले गुनासाे गरे ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ । तिहारकाे अवसरका विगत ३ वर्षदेखि सिस्नुपानी मकवानपुरले देउसी भैलाे कार्यक्रम गर्दै आएकाे छ । यो वर्षकाे कार्यक्रम कार्तिक २५ गते कागतिहारकाे दिन हुने भएकाे छ ।
सिस्नुपानी नेपालले केन्द्रीयस्तरमा हरेक वर्ष तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । सिस्नुपानी नेपालकै शाखाको रुपमा रहेको मकवानपुरले व्यङ्ग्य साहित्यकार र कलाकारहरुको सहयोगमा देउसी भैलो कार्यक्रम तेस्रो पटक आयोजना गर्न लागेकाे सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष लामिछानेले जानकारी दिए ।
अध्यक्ष राजकुमार लामिछानेका अनुसार हाँस्यव्यङ्य देउसी भैलो कार्यक्रमको लागि तयारीको काम भइरहेको उनले बताए । लामिछाने नेतृत्वको कार्यसमितिले आयोजना गर्न लागेको यो तेस्रो देउसी भैलो कार्यक्रम हो । कार्यक्रममा महिला गायक/कलाकारको भैली गीत, प्यारोडी गायन, प्यारोडी प्रवचन, प्रहसन, हास्यव्यङ्ग्य कविता वाचन, खैँजडी भजन लगायत साङ्गितिक प्रस्तुतिहरू रहने छन् । कार्यक्रममा हेटौंडा उपमहानगपालिकाको सहयोग रहेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकामा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा–१९ तिनताप्केमा मोटरसाइकल दुर्घटना हुँदा मनहरीका संजिव बलकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मनहरी गाउँपालिका वडा नम्बर ३ डाेटेका २७ वर्षीय बलकाे उपचारकाे क्रममा मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । बुधबार बिहान पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिद्धकालिबाट हेटौडा १९ बस्तिपुर तर्फ आउँदै गरेको बा प्र ०२–०३९ प ७३०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएकाे बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
दुर्घटना हुँदा चालक संजिव र माेटरसाइकल सवार ३१ वर्षीय दीपक सिंह बल गम्भिर घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा ल्याइएकाेमा मोटरसाइकल चालक संजिवको उपचारको क्रममा बुधबार बेलुका मुत्यु भएको प्रहरीले जनाएको छ । घाइते दीपककाे उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का सांसद् एवम् पूर्व उर्जा राज्यमन्त्री दिपकबहादुर सिंहले एष्ट्रोनोभा फाउण्डेशन नेपालले सञ्चालन गर्ने तयारी गरेकाे ल्याबकाे अवलोकन गरेका छन् । फाउण्डेशनले संचालन गर्न लागेकाे क्रियटिभिटी एण्ड इनोभेशन वर्कसप ल्यावरोटरी एएफएन टिङ्करिङ ल्याबको सिंहले अवलाेकन गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित निर्माणाधिन उक्त ल्यावको अवलोकन पश्चात सांसद् सिंहले निर्माण सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रस्तावित प्रयोगशाला देशकै नमूना प्रयोगशाला हुने बताउँदै सांसद सिंहले देशमै केही गर्छु भन्ने युवाहरुको जोश जाँगर र सिर्जनशील क्षमतालाई यही सदुपयोग गर्न फाउण्डेशनले थालेकाे अभियानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले ल्याव निर्माण सम्पन्न गर्न सके, विद्यार्थीहरुमा विज्ञान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता लगायत उनीहरुको, जिज्ञासा र क्षमता अभिबृद्धिमा सहयोग पुग्ने बताए । उनले फाउण्डेशनको भावी योजनाबारे बताउँदै बालबालिकाहरुमा सानै उमेरदेखि वैज्ञानिक सोच संस्कृतिको विकास गर्दै प्रविधिमय वातावरणको निर्माण गरी उद्यमशीलताको क्षेत्रमा काम गर्ने उल्लेख गरे ।
फाउन्डेशनले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यका साथ रोबोटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीमा केन्द्रित कार्यशाला गर्दै आएको छ । फाउण्डेशनले यसअघि फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशल/जनरल) को बारेमा चर्चा परिचर्चा गरेको थियो ।
त्यस्तै इन्बेडेड सिस्टम तथा रोबोटिक्स अन्तर्गत सी प्रोग्रामिङ ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेसन सिस्टम, बेस्ट म्यानेजमेन्ट सिस्टम (स्मार्ट डस्टबिन) लगायतको विषयमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिइसकिएको फाउण्डेशनले जनाएको छ ।
फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको पनि फाउण्डेशनले जनाएको छ । यस अघि एष्ट्रोनोभा फाउण्डेशन नेपालले मकवानपुरका दुई विद्यालयमा एकैपटक निशुल्क रोबटिक्स र अटोमेशन सम्बन्धि कार्यशाला समे गरिसकेकाे छ । हेटौंडाको नवोदय शिशु सदन इङ्लिस बोर्डिङ् स्कुल र बालजागृती इङ्लिस बोर्डिङ स्कुलमा ६ दिने उक्त कार्यशाला गरेकाे थियाे ।
विद्यार्थीहरुमा वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील तथा नेतृत्व विकासलगायत क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षासहित विभिन्न समयमा विभिन्न कार्यशाला आयोजना गरिदै आएकाे फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए । उनले सानै उमेरदेखि विद्यार्थीहरूमा वैज्ञानिक सोच संस्कृतिको विकास गर्न, प्रविधिमय वातावरणको निर्माण गर्न, उद्यमशीलताको क्षेत्रमा काम गर्न कार्यशाला प्रभावकारी हुने समेत बताए ।
मकवानपुर । बागमती प्रदेशेका राजधानी हेटौडामा यू २१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।एफसी मुण्डियाल क्लब हेटौंडाको आयोजनामा प्रतियोगिता हुने हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
मंसिर ५ गते देखी १३ गते सम्म हुने प्रतियोगितामा जिल्ला बाहिरका ३ टिम र जिल्लाका ११ वटा टिम सहित १४ वटा टिमले प्रतिस्पर्धा गरिने जनाइएको छ । स्व. सुदर्शन घिमिरे स्मृतिमा हुन लागेकाे प्रतियाेगिताकाे नारा ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने रहेकाे छ । सर्वाधिक राशी सहित मकवानपुर जिल्लाका युवा लक्षित खेलाडीको प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिन लागिएको कार्यक्रम संयोजक सुदीप सिं ठकुरीले बताए ।
विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५५ हजार सहित शिल्ड र मेडल प्राप्त गर्ने उनले जानकारी दिए । विधागत तर्फ उत्कृष्ट हुनेले ५ हजार प्राप्त गर्नेछन् भने म्यान अफ द म्याचमा प्रत्येकले २ हजार ५ सय प्राप्त गर्ने एफ.सी मुण्डियालका अध्यक्ष सुविन घिमिरेले बताए ।
प्रतियोगितामा हिली फिल्डर्स गोरखा एफसी, नव जागृति यूवा क्लब सिमरा, वीरगञ्ज स्पोटर्स पर्सा, न्यू डाँफे युथ क्लब हेटौंडा, एफसी रिगल हेटौंडा रिसोर्ट, पदमपोखरी फुटबल एकेडेमी, निल गगन युवा क्लब हेटौंडा, सहिद स्मृति क्लब बागमती गाउँपालिका, हेटौंडा फुटबल एकेडेमी, थाहा नगरपालिका, रियल स्टार क्लब हेटौंडा, कमाने फुटबल एकेडेमी हेटौंडा, नागस्वती यूथ क्लब हेटौंडा र आयोजक एफसी मुण्डियाल हेटौंडाले सहभागिता जनाउने कार्यक्रम संयोजक ठकुरीले बताए ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने एफसी मुण्डियाल अध्यक्ष घिमिरेले जानकारी दिए । प्रतियोगिताको लागि प्रथम पुरस्कार घिमिरे परिवारबाटै सहयोग प्राप्त भएको प्रतियोगिता ‘विशुद्ध नयाँ खेलाडीको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए । मुख्य प्रायोजक हेटौंडा सिटी कलेज, सह प्रायोजक दाजुभाई स्वीट्स सहित अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाकाे प्रतियोगितामा सहयोग रहने छ । २१ वर्ष मुनीको यस प्रतियोगितालाई आगामी वर्षहरु पनि निरन्तरता दिँदै जाने योजना रहेको अध्यक्ष घिमिरेले बताए ।
प्रतियाेगितामा खर्च भएर बचत भएकाे रकम जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग गरिने आयोजकले जनाएकाे छ ।