मकवानपुर । मकवानपुरकाे हेटाैडा १० टीसीएन चाैरमा जारी वृहत खेतकुद तथा व्यापार मेलामा आइतबार नेपालमा चर्चित लोक गायक गायिका रमेश प्रसाईं र कल्पना दाहालले आफ्नाे प्रस्तुति दिएका छन् । उनीहरुकाे प्रस्तुतिमा मकवानपुरका दर्शकले नाचेर साथ दिए ।
महोत्सवमा प्रसाईं र दाहालको विशेष लोक दोहारी रहेको थियो । दोहारीसँगै चर्चित गायिका अस्मिता अधिकारीले समेत आफ्ना लोकप्रिय गीतहरु गाएकी थिइन् । उनको गीत लोली मिलाउँदै दर्शकले नाच्दै र गाउँदै गरेका थिए ।
यस्तै जादुगर बलराम सरकारको जादुले समेत सबैको ध्यान खिचेको थियो । महोत्सवमा सोमबार चर्चित गायक प्रमोद खरेल, गायिका सहिमा श्रेष्ठ, गायक असिमराज कटुवाल र जादुगर बलराम सरकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिती बढ्दो क्रममा रहेको छ । महोत्सवमा खेलकुदका प्रतियोगिताहरु पनि सञ्चालन भैरहेको छ । १७ गतेसम्म सञ्चालन हुनेमा महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुने तालिका अनुसार खेल भइरहेकाे छ ।
महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा उपस्थित हुनका लागि जिल्लाबासीहरुलाई अनुरोध गरेका छन् ।
महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छन् । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान रहेको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीलाई प्राेत्साहन गर्दै काेदाे र धानकाेदाे तथा फापर र जुनेलोको मूल्य निर्धारण गरेपछि खरिद संकलन सुरु गरेकाे छ ।
गाउँपालिकाकाे वडा नम्बर ८ स्थित बुढिचौर स्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडले आइतबारबाट कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरेको हाे । गाउँपालिकाले प्रति केजी एक सय मूल्य तोकिएकाे फापरमा सहकारी संस्थाले १ सय १० मा खरिद गरिएको हाे । जसमा अनुदान रकम समेत थप गरि प्रति केजी १ सय १६ रुपैंयाको दरले कृषकहरुबाट फापर खरिद गरिएको सहकारीका व्यवस्थापक गुन्जरत्न लुङ्वाले जानकारी दिए।
आइतबारबाट खरिद गर्न सुरु गरिएकाेमा पहिलो दिन २१ जना कृषकहरुबाट २ हजार १ सय ७४ केजी फापर खरिद भएको सहकारीका सचिव अजय योन्जनले बताए। सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले यस वर्षदेखि कृषकहरुबाट फापर संकलन शुरुवात गरेकोमा अनुमानित १० मेट्रिक टन खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए ।
गत वर्ष कृषकहरुले प्रति केजी ९० रुपैयामा विक्री गरेको फापर यस वर्ष गाउँपालिकाको अनुदान समेत थप गरि प्रति केजी १ सय १६ रुपैया पाएकोमा स्थानीय कृषक चन्द्र बहादुर लुङ्वाले खुशी व्यक्त गरे । फापर विक्री गर्ने कृषकहरु मध्ये बुढिचौरका लुङ्वाले सबैभन्दा बढी २ सय ६८ केजी फापर विक्री गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नं. ८ का वडा अध्यक्ष कुमार सिं घिसिङ, वडा सदस्यद्वय गोकुल प्रसाद देवकोटा, सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा संकलनको कार्य शुरुवात गरिएको हो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीलगायतकाे उपस्थिति रहेको थियो ।
रैथाने बालीकाे समर्थन मुल्य ताेकेर गाउँपालिकाले दियाे अनुदान
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा बगर खेती गर्ने किसानले अनुदान पाउने भएका छन् । बकैया भित्र नदी, खोला किनाराको उकास खेर गएकाे जग्गामा बगर खेती गर्ने किसानलाई अनुदान दिइने भएको छ । बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।
पालिकाले स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको हाे । प्रति क्लस्टर (५ विघा क्षेत्रफल) मा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने बगर खेति कार्यक्रमका लागि प्रस्तावना आव्हानको सूचना प्रकाशित गरी जनाइएकाे छ । प्रस्तावना आव्हानको सूचनामा कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फर्ममार्फत् एक साताभित्र प्रश्तावना पेश गर्न भनिएकाे छ ।
अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा जनाइएकाे छ । आयआर्जनमा वृद्धि गर्ने तथा बकैयाबाट अन्यत्र निर्यात गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । बकैयामा १२ वटा वडा छन् । ती वडाहरुमा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास रहेको बताइएकाे छ ।
मकवानपुर । मकै खेती राम्राेसँग नफस्टाएपछि आजित भएका राघब हुमागाई अब काेदाे खेती तर्फ आकर्षित भएका छन् । स्थानीय सरकारले रैथाने बालीलाई प्राेत्साहन गरेपछी उनी त्यसतर्फ आशावादी भएका हुन् ।
स्थानीय सरकारले स्थानीय हावा पानी र माटाे सुहाउँदाे अन्न तथा नगदे बालीलाई प्राेत्साहन गर्ने नीति लिएपछि किसानमा केही आशा बढेकाे भिमफेदी गाउँपालिका ५ की कान्छीमाया बजुले बताइन् । अघिल्लाे कार्यकालका जनप्रतिनिधिहरुले तरकारी र फलफूलमा अनुदान दिएपछि मकवानपुरगढी गाउँपालिकाका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएका थिए । अहिले स्थानीय रैथाने प्रजातिकाे बालिमा न्युनतम समर्थन मुल्य ताेक्दै अनुदानकाे समेत व्यवस्था गाउँपालिकाहरुले गरेका छन् ।
मकवानपुरकाे २ वटा गाउँपालिकाले काेदाे,धानकाेदाे, फापर तथा जुनेलाेकाे न्युनतम समर्थन मुल्य ताेक्दै अनुदानकाे समेत व्यवस्था गरेकाे हाे । गाउँपालिकाले किसानलाई अनुदान समेत दिने भएकाे छ । मकवानपुरको मकवानपुरगढी र भीमफेदी गाँउपालिका काेदाे,धानकाेदाे, फापर तथा जुनेलाे खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका हुन् ।
मकवानपुरकाे हेटाैंडा उपमहानगरपालिका मकवानपुरगढी गाउँपालिका बैकैया गाउँपालिका बागमती गाउँपालिकाहरुमा ताेरी लगाउने किसान बढेका छन् ।
तोरीखेतीतर्फ मकवानपुरका कृषकहरुको आकर्षण बढ्न थालेपछी आलु काउलीलगायतकाे तरकारी खेती घटेकाे छ । तोरीको तेलको माग तथा मूल्यमा पछिल्लो समय वृद्धि हुँदै गएपछि तोरी खेतीतर्फ मकवानपुरकाे कृषककाे आकर्षण बढ्न थालेकाे हाे ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको हटिया र हर्नामाडीलगायतमा पनि ताेरीकाे खेती बढेकाे छ । गहँ लगाउने र बाली उठाउने झण्झट बढी भएकाे र आम्दानी समेत काम भएपछी ताेरी लगाउन थालेकाे मकवानपुरगढी गाउपालिका ५ कि लक्ष्मि संजेलले बताइन् । ‘गहुँ लगायाे उठाउन झण्झट आलु काउलीमा मेहनत धेरै ताेरी लगाउँदा अलि सहज हुन्छ तेलकाे मुल्याे बढेकाे बढेइ छ किनेर खानु पर्ने समस्या पनि ताेरीले टार्छ’ उनले भनिन् ।
यस वर्ष तोरी खेतीकाे क्षेत्रफल बढेकाे मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चौधरी बताउँछन् ।अहिले हेटौंडा उपमहानगरपालिकाको पूर्वी क्षेत्र हटिया, हर्नामाडी, मकवानपुरगढी गाउँपालिका क्षेत्रका धेरै किसानका खेतमा तोरी फुल्न थालेको छ ।
मकवानपुरका किसानले विकास, प्रगती, प्रिती, उन्नती, चितवन जस्ता स्थानीय जातका तोरी लगाउँदै आएकाे चौधरीले बताए । कृषकहरु अन्य हिउँदे बाली छाडेर तोरीखेती लगाउन थालेको किसानहरु बताउँछन् । हिउँदे बालीको रुपमा लगाइने तोरीखेतीलाई धेरै मेहनत नपर्ने हुँदा कृषकहरुको आकर्षण तोरी खेतीतर्फ बढ्दै गएको हो ।
तोरी समशीतोष्ण जलवायु बाली भएकाले यसले धेरै चिसो र कुहिरो सहन सक्दैन । बढी चिसो र कुहिरो हुँदा उत्पादन कम हुन्छ । तोरीमा ४० देखि ४५ प्रतिशत तेल हुने गर्दछ भने पनि पशु आहाराको रुपमा र प्राङ्गारिक मलको रुपमा प्रयोग हुँदै आएको छ । तोरी कात्तिक, मङ्सिरमा छरेर माघ, फागुनमा बाली भित्र्याउने गरिन्छ । अहिले किसानले मकैकाे भित्रिबालीकाे रुपमा समेत ताेरी छरेका छन् याे तरकारीकाे लागि साग र गुन्द्रुककाे रुपमा विक्री हुन्छ ।
मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका वडा ४ ले वडा भित्र रहेकाे भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्नकाे लागि सहजिकरण समिति गठन गरेकाे छ ।
आज वडा कार्यालयमा भएकाे सराेकारवालाहरुकाे भेलाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन सम्बन्धी कार्यविधि, २०७८ अनुसार वडा स्तरकाे सहजिकरण समिति गठन गरिएकाे हाे ।
कार्यविधि अनुसार स्थानीय तहको प्रमुख वा अध्यक्ष संयोजक रहेकाे सहजिकरण समिति गर्नु पर्ने प्रावधान छ । यस अनुसार वडास्तरमा वडा अध्यक्षकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे । वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे । समितिकाे सदस्यहरुमा सानुकान्छा मोक्तान, संगीता परियार, सुमित्रा लामिछानेरहेका छन् ।
यसैगरी राजनीति दलको तर्फबाट नेपाली कांग्रेसका श्यामबहादुर पाख्रीन, नेकपा एमालेबाट केदार नाथ सापकोटा, नेकपा माओबादी केन्दबाट हेमबहादुर योन्जन राप्रपा नेपालबाट हस्तबहादुर लोप्चन रास्वपा स्वतन्त्रबाट जनश्याम सिं ठकुरी रहेका छन् । यसैगरी दलित सदस्यको रुपमा काजी मान विक किसान प्रतिनिधिको रुपमा जानुका सिं ठकुरी, संघा संस्था प्रतिनिधिको रुपमा टुकप्रसाद हुमागाई र समितिको सदस्य सचिवको रुपमा वडा सचिब सरस्वती चालिसे रहेका छन् ।
वडा कार्यालयले केही समय अघि लक्ष्यित वर्गकाे निवेदन संकलन गरेकाेमा ३ दर्जन निवेदन वडामा प्राप्त भएकाे वडा अध्यक्ष तिमल्सिनाले बताए । सहजिकरण समितिले वडामा देखिएकाे समस्याबारे भुमि आयाेगसँग छलफल गरेर समस्यालाई सहजिकरण गर्ने छ ।
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले नकारात्मक रुपम बढेको जलवायु परिवर्तन नियन्त्रण गर्न वातावरण मैत्री व्यवहार गर्नुपर्ने बताएका छन् । जलवायु परिवर्तनले सबैपक्षमा समस्या भएकाेले नेतृत्वलाई दाेष दिनुभन्दा सबैले आ आफ्नाे तहबाट वातावरणमैत्री कार्य गर्नुपर्ने बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले भवन प्राप्त गरेकाे छ । मन्त्रालय स्थापनाको सय दिन पूरा भएको अवसरमा मन्त्रालयले बुधबार सरकारी भवनबाट सेवा सुरु गरेकाे हाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको तत्कालीन जिल्ला विकास समितिको भवनमा उक्त मन्त्रालय सरेको हो।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले राज्यलाई आर्थिक भार बढ्ने भन्दै भाडाकाे घरमा मन्त्रालय संचालन गरेनन् । विभागीय जिम्मेवारी पाएको दिनमा नै मन्त्री चित्रकारले भाडाको घरमा मन्त्रालय सञ्चालन नगर्ने घोषणा नै गरेका थिए।
तत्कालिन जिविसकाे जीर्ण अवस्थामा रहेको भवनलाई मर्मतसम्भार गरेर मन्त्रालय सारिएको हाे । मन्त्रालयको भवनमा प्रवेश गर्दै मन्त्री चित्रकारले भने, ‘भाडा लिएकाे घर नयाँ थियाे तर मासिक एक लाखभन्दा बढी भाडा राज्यकाे काेषबाट खर्च हुने हुँदा आर्थिक भार कम गर्न पुरानै भाडा नपर्ने सरकारी भवनमा मन्त्रालय सारिएको हो।’
प्रदेश संरचान निर्माणकाे जग्गा प्राप्ती अन्तिम चरणमा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलसहितकाे उपस्थितिमा बुधबार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकाे भवन प्रवेश कार्यक्रम भएकाे हाे । भवन प्रवेश कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले मन्त्रालयले पुरानै भएपनि सरकारी कार्यालयमा भवन प्राप्त गरेर सरेकोमा खुसी व्यक्त गरे । हेटौंडा–१७ मा प्रदेश सरकारका कार्यालयहरु निर्माण गर्नका निम्ति जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत उनले बताए ।
‘सार्वजनिक क्षेत्रमा खर्च कटौती गर्ने र उत्पादनको क्षेत्रमा बजेट लगानी गर्ने कुरामा प्रयत्नरत छाै’ उनले भने । त्यस्तै प्रदेश नीति तथा योजना आयोग र मुख्य न्यायधिवक्ताको कार्यालय केहिदिन भित्रै अर्काे सरकारी कार्यालयमा सर्न लागेको समेत उनले जानकारी दिए । कृषि क्षेत्रमा जोड दिने र यहि महिना भित्र लगभग ८० वटा पालिकालाई पकेट क्षेत्र घोषणा गर्न लागेको उनले जनाए । हेटौंडामा रहेको मकवानपुर बहुमूखी क्यामपसलाई प्रदेशको सार्वजनिक विद्यालय बनाउने निर्णय भएको उनले बताए ।
मन्त्री रामकृष्ण चित्रकारले गरे १०० दिनको प्रगति विवरण
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफूले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा भएका प्रगति विवरण सार्वजनिक गरेका छन् । गत श्रावण २१ गते मन्त्री नियुक्ति भई कार्यभारसम्हालेका चित्रकारले सय दिनको अवधिमा राम्रो कामको थालनी गरेकाे दाबी गरे ।
आफ्नाे सय दिनकाे अवधीमा मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० मन्त्रीपरिषदबाट स्वीकृत, प्रदेश औद्योगिक व्यवसाय ऐन तथा प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐनको संशोधन गर्न आवश्यक प्रक्रिया सूरु भएको, संविधान दिवसको अवसरमा हेटौंडामा प्रदेश हस्तकला प्रर्दशनी भएको उनले बताए ।
यसैगरी ‘प्रदेश स्तरीय संयुक्त बजार अनुगमन निर्देशिका, २०७५’ लाई विस्थापन गरी ‘प्रदेश स्तरीय संयुक्त बजार व्यवस्थापन अनुगमन निर्देशिका, २०८०’ मन्त्रीपरिषदबाट स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए । विद्यमान नीतिगत एवम् कानूनी व्यवस्थाहरुका सम्बन्धमा सरोकारवालाहरुको राय ,परामर्श सुझाव ग्रहण गर्ने कार्यलाइ प्राथमिकता दिइएको, तल्लाे तह देखि उद्योगी व्यवसायीहरुका पीरमर्का तथा गुनासो सुनुवाई, उपभोक्ता हकहित संरक्षण सम्बन्धी कानूनको मस्यौदा तयार गर्ने प्रक्रिया अघि बढाइएको, बर्हिगमन सेवा सहज बनाउन मन्त्रालयबाट निर्मित उद्योग व्यवसाय तथा व्यापार व्यवसाय सम्बन्धी अनलाइन सफ्टवेयरहरुलाई समय सापेक्ष अपग्रेड गरी सेवाग्राहीलाई घरबाटै सेवा दिने सम्बन्धी छलफल भैरहेको उनले बताए ।
त्यस्तै बजार अनुगमनको कार्यलाई नियमित र प्रभावकारी बनाइएको मन्त्री चित्रकारले बताए । उनका अनुसार चाडपर्वको समयमा आकस्मिक तथा अन्य समयमा नियमित रुपमा गरी १ हजार ५ सय १३ वटा व्यवसायिक फर्महरुको अनुगमन गरिएकाे छ । व्यावसायिक फर्मकाे अनजुगमनबाट करिब ६ लाख रुपैँया जरिवाना गराई ४ लाख रुपैँया बराबरका म्याद नाघेका सामग्रीहरु बरामद गरी नष्ट गर्ने कार्य भएको उनले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।
यसैगरी चालु आ.व २०८०/८१ मा १३ वटा जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुबाट करिब २ हजार ३ सय ४० औद्योगिक तथा व्यवसायिक फर्महरु दर्ता भएको, उद्योग स्थापनाका लागि कोरिया, चीन, तथा जापानका व्यवसायीहरुसँग भेटघाट र लगानीतर्फ प्रेरित, हेटौंडाका उद्योगहरुको स्थलगत भ्रमण लगायतका कामहरु भएको उनले जनाए ।
मकवानपुर । मकवानपुरमा दैनिक ६० हजार लिटर दुग्ध संकलन हुँदै आएको छ । करिब ४० हजार लिटर दुुग्ध उत्पादक सहकारी संघले खरिद बिक्रीको व्यवस्थापन गर्दै आएपनि बाँकी करिब २० हजार लिटर दुग्ध बिक्री नहुँदा किसान मारमा परेका छन् ।
यस्ले सातामा दुई दिन मिल्क होलिडेको अवस्था सिर्जना भएको भन्दै किसान समस्यामा परेका छन् । यस्तै समस्या बागमती प्रदेशका अन्य जिल्लाका किसानले समेत भाेग्दै आए पछि ती जिल्लाका दुग्ध सहकारी संघले समस्या समाधानमा चासाे दिएकाे छ । विहीबार प्रदेशका मकवानपुर चितवन र सिन्धुलीका जिल्ला दुग्ध उत्पादक संघका प्रतिनिधिले दुग्ध किसानहरुकाे प्रतिनिधित्व गर्दै कृषि मन्त्रीलाई भेटेर किसानका समस्या राखेका छन् । यसैगरि नागरिक समाजका प्रतिनिधिहरुले बागमती प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
दुग्ध सहकारी संघका प्रतिनिधिले प्रदेश सरकारलाई किसानका समस्या समाधानकाे लाथि ज्ञापनपत्र बुझाएका छन् । बागमती प्रदेशका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
अहिले दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको गर्न आग्रहसहित बिभिन्न माग राख्दै मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापनपत्रमा बागमती प्रदेशमा दुग्ध उत्पादन क्षेत्रमा कृषकको उत्साह बढेसँगै दुग्ध उत्पादनमा उल्लेख्य वृद्धि भई सिंगो देशलाई दुग्धमा आत्मनिर्भर बनाउन सहयोग पुगेको तथा मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थ बिक्रीमा राज्यको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिएको छ ।अहिले दुग्ध उत्पादक किसानहरुमा उत्साह देखिएकोमा यो उत्साह कायम राखी कृषकको समस्या समाधानमा गरिनु पर्ने ज्ञापनपत्रमा भनिएको छ ।
राज्य कृषकहरुको समस्या समाधान तर्फ केन्द्रीत नभएकोले कृषकहरुमा छाएको निराशा हटाउन बागमती प्रदेश सरकारसमक्ष किसानहरुका बिभिन्न मागहरु समाधान गर्न ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराईएको जिल्ला दुग्ध उत्पादक संघ मकवानपुर अध्यक्ष हरि प्रसाद कंडेलले बताए ।
‘उपादित दुग्धजन्य पदार्थको बजारिकरण सुनिश्चित गर्नुपर्ने, नियमित भुक्तानीको ब्यवस्था मिलाउनुपर्ने, उत्पादनमा आधारित अनुदान विगत भन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने, दुग्ध उत्पादक किसान र सहकारीका आवश्यक्ताका आधारमा अनुदानको ब्यवस्था गर्नुपर्ने, दुग्ध उत्पादक सहकारी संघहरु र प्रदेश सरकार एवं सम्बन्धित मन्त्रालयबीच त्रैमासिक रुपमा छलफल, अन्तरक्रिया गरी समस्या पहिचान र समाधान गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा छ ।
ज्ञापनपत्र बुझ्दै बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री श्रेष्ठले कृषकहरुको मागको संबोधन गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको र प्रदेश सरकारको लगानीमा हेटौंडा १० मा निर्माण हुदै गरेको पाउडर प्लान्ट संचालन भएपछि दुग्ध क्षेत्रमा आउने समस्या समाधान हुने बताए ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, सिन्धुली जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन देवकोटा, सहायक ब्यवस्थापक दामोदर अधिकारी लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको थियो ।
दुग्धको समस्या समाधानमा सघाउन मुख्यमन्त्रीको ध्यानाकर्षण
यसैबीच मकवानपुरका दुग्ध किसानहरुको समस्या समाधानका लागि नागरिक समाजका प्रतिनिधिहरुले विहीबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलकाे ध्यानाकर्षण गराएका छन् ।
दुग्ध किसानहरुको समस्या समाधानका लागि जुटेको नागरिक समाजले मुख्यमन्त्रीसंगको भेटमा मकवानपुरमा दैनिक २० हजार लिटर दुग्ध बिक्री नभएकोले किसान समस्यामा परेकोमा ध्यानाकर्षण गराएका छन् । नागरिक समाजका प्रतिनिधीहरु गुञ्जनबहादुर न्यौपाने, सन्दीप कुमार सापकोटा, राममणि न्यौपाने, विकास दुलाल, दामोदर दाहाल लगायतको टोलीले मुख्यमन्त्री जम्कट्टेललाई दुग्ध उत्पालक किसानका समस्याबारे जानकारी गराउदै ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले मकवानपुरका किसानले उत्पादन गर्ने गरेका ६० हजार लिटर दुग्ध मध्ये ४० हजार लिटर मात्र विक्री हुँदा मिल्क हाेलीडेकाे मारमा किसान परेकाेले समस्या समाधनमा पहल गरिदिन मुख्यमन्त्रीकाे ध्यानाकर्षण गरेका हुन ।
किसानले उत्पादन गरेर पनि बिक्री हुन नसकेको दुग्ध स्टक गर्ने ठाउँ व्यवस्थापन, दुग्ध बिक्री वितरणको व्यवस्थापन गर्न नीजि डेरीलाई सहुलियत ऋण व्यवस्था लगायतका विषयमा प्रदेश सरकारले ध्यान दिएमा अहिलेको दुग्धमा देखा परेको समस्या समाधान हुने दुग्ध उत्पादकहरु बताउँछन् । दुग्ध उत्पादन गरिरहेकाहरुको समस्या समाधानका लागि कोल्ड स्थापना गर्न तथा अन्य विकल्पबाट दुग्धको समस्या समाधान गर्न नागरिक समाजका प्रतिनिधीको टोलीले सरोकारवालासंग छलफल, भेटघाट, ध्यानाकर्षण लगायतका कार्य गर्दै आइरहेको छ ।
यसअघि प्रदेश दुग्ध विकास बोर्ड, जिल्ला प्रशासन कार्यालय, नीजि डेरी लगायतसंग भेटघाट तथा छलफल गरेको टोलीले विहीबारै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई भेटी अहिले दुग्धमा देखिएको समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।
मकवानपुर । तिहारको अवसरका विक्रीमा राखिएपछि जफत गरिएका अवैध सामग्री नष्ट गरिएको छ । मकवानपुरको हेटौंडा बजारमा किनमेलका लागि आउँने मानिस हिड्नका लागि प्रयोग हुने फुटपाथमा विक्रीका लागि राखेको सामग्री नगर प्रहरीले नष्ट गरेको छ ।
चाडपर्वको समयान फुटपाथमा विक्रीका लागि राखेको मिठाई, फलफुल र तरकारी सहितका सामग्री जफत गर्दै प्रहरीले नष्ट गरेको हो । हेटौंडा १० राप्ति खोला नजिकै खाडल खनेर प्रहरीले जफत गरेको सामग्रीहरु नष्ट गरेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
नगर प्रहरीले असोज र कार्तिक महिनामा फुटपाथबाट पिठोबाट बनेको खुल्ला मिठाई ८५ किलोग्राम र तरकारीहरु २२ किलो ५ सय ग्राम जफत गरेको थियो । मुख्यगरी हेटौंडा बजार क्षेत्रको बुद्धचौक, खोपेगल्ली, राप्तीरोड र तिहार बजारका लागि दिईएको हेटौंडा अस्पताल अगाडि अव्यवस्थित ढंगबाट विक्रीका लागि राखिएका सामग्री जफत गरीएको नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए ।
उपमहानगरले सार्वजनिक सुचना गर्दै फुटपाथमा सामग्रीहरु राखेर विक्री नगर्न व्यवसायीहरुलाई जानकारी गराए पनि कार्यान्वयन नभएपछि सामग्री जफत गरेको ढकालले बताए ।
चितवन । बिसहजारी ताल बागमती प्रदेशकाे चितवन जिल्लामा अवस्थित ताल हाे । याे ताल रामसार क्षेत्रमा सुचीकृत छ । चितवनको सदरमुकाम भरतपुरबाट दक्षिणमा चितवन राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती क्षेत्र टिकाैली जंगल भित्र रहेकाे ताललाई सन् २००३ अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको थियो ।
थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले याे तालकाे क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वकाे रहेकाेले रामसार क्षेत्रमा सुचीकृत गरिएकाे हाे । सिमसार तथा पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्रलाई रामसारले समेट्ने गरेकाे छ ।
बिसहजारी तालमा गाेही विभिन्न प्रजातीका माछाकाे बासस्थान रहेकाे छ । साथै पानीमा उम्रने विभिन्न वनस्पतिकाे लागि समेत संरक्षण क्षेत्र रहेकाे ताल आन्तरिक तथा वाह्य पर्यटकहरुकाे आकर्षणकाे केन्द्र बन्दै गएकाे छ । विशेष गरी विदाकाे समयमा हजारौ मानिसले यो ताल तथा वरपरकाे क्षेत्रकाे अवलाेकन गर्ने गरेका छन् ।
बर्षातकाे पानी र खगेरी नहरकाे पानी मुख्य स्राेत रहेकाे तालकाे क्षेत्रफल एक सय हेक्टर रहेकाे छ । ताल वरपरकाे समेत कुल क्षेत्रफल ३ हजार २ सय रहेकाेमा जैविक विविधता अन्तरगत वनस्पतीका १५४ प्रजाती, किराफट्याङ्ग्रा ३७ प्रजाती,माछा २५ प्राजाती, उभयचर/सरिसृप ३० प्रजाती, स्तनधारी ३३ प्रजातीका पाइने गरेकाे छ । यसैगरी चराहरु २ सय ७३ प्रजातीकाे रहेकाेमा सिमसार आश्रीत ६० प्रजाती, विश्वमा दुर्लभ १४ प्रजाती, राष्ट्रिय रुपमा दुर्लभ २३ प्रजातीकाे पाइन्छ ।
सन् १९७१ मा इरानको रामसार सहरमा भएको वैज्ञानिक सम्मेलन सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । उक्त सम्मेलनमा पारित सन्धिलाई रामसार महासन्धी भनिएकाे हाे । त्यही महासन्धिअनुसार अन्तर्राष्ट्रिय महत्त्वको सिमसार घोषणा भएको क्षेत्रलाई रामसार क्षेत्र भनी नामाकरण गरिदै आएकाे छ ।
१९८७ मा नेपालले रामसार महासन्धिको सदस्यता लियो । यो महासन्धि सदस्यको सम्मेलन कोप हरेक ३ वर्षमा हुने गर्दछ । नेपालमा १० वटा सिमसार रामसार क्षेत्र घोषणा भएका छन् । बिसहजारी तालसँगै माइपोखरी, कोशीटप्पु, जगदीशपुर जलाशय रिजर्भ्याएर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शे-फोक्सुन्डो, रारा ताल र पोखरा उपत्यका रामसारमा सुचीकृत छन् ।
तस्विरहरुः आरपी गुरागाईं/सहीखबर