मकवानपुर । थाहा नगरपालिकाकाे १ विद्यालयलाई कम्युटर र प्रिन्टर सहयोग गरिएकाे छ । नेपाली काँग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकाकाे पञ्चकन्या आधारभूत विद्यालयलाई कम्युटर र प्रिन्टर सहयोग गरेका हुन् ।
थाहा नगरपालिका वडा नं. ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई १ थान कम्युटर र १ थान प्रिन्टर विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई हस्तान्तरण गरिएकाे हाे । नेता पराजुलीले विद्यालयमा अभिलेख राख्न तथा कम्युटर शिक्षा समेत प्रदान गर्न सहज हाेस भनेर कम्युटर र प्रिन्टर सहयोग गरिएकाे पराजुलीले जानकारी दिए ।
कम्युटर हस्तान्तरण कार्यक्रममा काँग्रेस प्रदेश सभा १ (ख) का क्षेत्रीय सभापति खड्ग गोपाली, काँग्रेस थाहा नगर समितिका सभापति प्रमोद जोशी र थाहा नगरपालिका वडा नं. ८ इकाइ सभापति रामकुमार घलानको उपस्थिति रहेको थियो । पञ्चकन्या आधारभूत विद्यालयमा अहिले ६६ जना विद्यार्थी अध्ययनरत छन् ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण गरेकाे छ । उद्योग वाणिज्य दिवस २०७८ काे अवसरमा मउवा संघले दृष्टिविहिन परिवारलाई खाद्यान्न सहयाेग गरेकाे हाे । मउवा संघले हेटौंडा बसामाडीका दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण गरी दिवस मनाइएको हो ।
एकै परिवारका ५ सदस्य मध्ये ३ जना सदस्य दृष्टिविहिन रहेको तथा आर्थिक समस्यामा परेको जानकारी भए पछी दिवसकाे अवसरमा सहयोग गरिएको संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी, कार्यसमिति सदस्यहरु तेजराज अधिकारी, सिता भेटवाल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेको सहभागिता रहेको थियो ।
नेपालभरका उद्योग वाणिज्य संघहरुले नेपाल उद्योग वाणिज्य महासंघको आव्हानमा हरेक वर्ष चैत्र २८ गतेको दिन उद्योग वाणिज्य दिवस मनाउने गर्दछन् । महासंघले उक्त दिन वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस मनाउने गर्दै आएकाे छ ।
खाेप लगाऔं स्वस्थ रहौंः हेटाैडा उपमहानगरपालिका वडा नं. १८ मा टाइफाइड विरुद्धकाे खाेप लगाउँदै स्वास्थ्यकर्मी । चैत २५ गतेबाट सुरु भएकाे खाेप अभियान वैशाख १८ गतेसम्म सचालन हुने छ । त्यसपछी नियमित खाेप कार्यक्रममा याे खाेप पनि समावेश हुने छ । बागमती प्रदेशमा साढे १२ लाख, मकवानपुर जिल्लामा १ लाख १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्ध खोप लगाउने लक्ष्य रहेकाे बताइएकाे छ । तस्विरः आरपी गुरागाई
मकवानपुर / स्थानीय हतको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाको ८ मध्ये २ वटा गाउँपालिकको लागि प्रतिनिधि छनौट टुङ्ग्याएको छ ।
नेकपा एमालले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि अध्यक्ष उपाध्यक्षको लागि गाउँकमिटीले नाम सिफारिस गरेको पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।
पार्टी अध्यक्ष श्रेष्ठका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष उपाध्यक्षलेनै दोहोर्याउने मौका पाएका छन् । बाहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानाले पुन पार्टीबाट सर्वसम्मत टीकट पाएका हुन् ।
आज भएको भीमफेदी एमाले गाउँ कमिटीको बैठकले गाउँपालिकाको अध्यक्षमा बर्तमान गाउँपालिकाका अध्यक्ष लामा तथा उपाध्यक्षमा वर्तमान उपाध्यक्ष रानालाई नै उठाउने सर्वसम्मत निर्णय गरेको हो ।
गएको २०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।
२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेबाट उठेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेद्वार रन्जित कुमार रानालाई १४४ मत अन्तरले पराजित गरेका थिए । यसैगरि उपाध्यक्ष पदमा रानाले गठबन्धनको उम्मेद्वार मोमलाल दोङलाई ३ सय ६७ मत अन्तरले पराजित गरिकी थिईन् ।
जिल्लाको राक्सिराङ गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेको छ । यस गाउँपालिकाको लागि नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा क्रमश: बाबुलाल स्याङतान र सुन्तलीमाया प्रजालाई सिफारिस गरिएको छ । यस गाउँपालिकामा गत चुनावमा नेपाली कांग्रेससंग एमालेले पराजय भोगेको थियो ।
पार्टी अध्यक्ष श्रेष्ठका अनुसार भोलिसम्मा जिल्लाको सबै गाँउपालिकामा एमालेको उम्मेदवारी सिफारिस टुङ्गिने छ । मकवानपुर ८ वटा गाउँपालिका छन् । यता उपमहानगर र नगरपालिकामा पनि भोलि २७ चैतमा नगर कमिटीको बैठक बस्दैछ । उपमहानगरको हकमा नगर कमिटीले सिफारिस गरेको नाम जिल्ला कमिटी प्रदेशमा पठाउने छ, र प्रदेश कमिटिले अन्तिम टुङ्गो लगाउने छ ।
यता मकवानपुरमा एमालेसंग कडा प्रतिस्पर्धा हुन गठबन्धनको तर्फबाट पनि कुन पालिकामा कुन पार्टीको कस्लाई पठाउने भन्ने बारे गृहकार्य भैरहेको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटौंडा १८ का कृष्ण बहादुर पोख्रेलले कृयापुत्री भवन निर्माणका लागि जग्गा दान गरेका छन् ।
हेटौंडा १८ मा रहेको बकुव पबित्र कृयापुत्री भवनको निर्माणका लागि पोख्रेलले ७ घुर जग्गा दान गरेका हुन् । पोख्रेलले कृयापुत्री बस्ने ठाँउ र भवनका लागि उक्त जग्गा दान गरेका बकुव पबित्र कृयापुत्री भवनका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए।
हेटौंडा १८ का स्थानीयलाई पितृकर्म र वडावासीका लागि सहज होस भन्दै उक्त जग्गा दान गरेको पोख्रेलले बताए । पोख्रेलले आफ्नो पितृको सम्झनामा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
मकवानपुर । मकवानपुरे कवि छवि अनित्यको “तुइनको बाटो” कविता संग्रह गृह विमोचन गरिएको छ । गत चैत १८ गते नेपाली लेखक संघकाे केन्द्रीय अधिवेशनमा पोखरामा विमोचन गरिएको कविता संग्रहको मकवानपुरे साहित्यकार छविले शुक्रबार आफ्नै जिल्लामा विमोचन गराएका हुन् ।
बरिष्ठ साहित्यकार एलबी क्षेत्री, साहित्यकार सुमन पोखरेल, मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशी र छवि अनित्यका बुवा आमाले तुइनको बाटोको गृह विमोचन गरेका हुन् । समकालीन विश्व साहित्य र नेपाली कवितामाथि साहित्यकारद्वय एलबी क्षेत्री र सुमन पोखरेलले चर्चा गरेका थिए ।
कृतिमा अझै निखार ल्याउने प्रयत्न रहेको बताउँदै कार्यक्रममा छविले “फुलको बिम्बमा कविता”, “तिमी जो कोहीँ हौँ” र “राष्ट्रवाद” शिर्षकका कविता बाचन गरेका थिए । २ दशकदेखि कविता लेख्न सुरु गरेका छवि अनित्य नेपाली लेखक संघ मकवानपुर अध्यक्ष हुन् । शिक्षण पेशामा आवद्ध उनकाे ८ वर्ष अघि ‘हल्ला’ कविता संग्रह प्रकाशित भएकाे छ ।
मकवानपुर । नेपाल विवेकशील पार्टीले हेटौंडा १७ मा स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शुक्रबार भएकाे पार्टीको वडास्तरीय भेलाले सुमन आचार्यको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको हो । आसन्न स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट १७ नम्वर वडाध्यक्ष उम्मेदवार कृष्णदेव भण्डारीको चुनावी अभियानलाई अघि बढाउने उद्देश्यका साथ समिति गठन गरिएको बताइएकाे छ ।
स्थानीय निर्वाचन परिचालन समिति सदस्यहरुमा अमोद भण्डारी, रविभक्त दाहाल, नविन विष्ट, निररमण रुपाखेती, मिलन ढकाल, सृष्ठि कठायत, सृष्ठि विश्वकर्मा, सन्तोषी खड्कालगायत रहेका छन् । चैत २६ गते शनिवारबाटै चुनावी अभियानलाई तीव्र पारिने समितिका संयोजक आचार्यले बताए । १७ नम्बर वडा अध्यक्षका उम्मेदवार भण्डारीले आफूहरु मानवता, स्वतन्त्रता, समानता र स्वाभिमान पहरेदार भएको बताउँदै यस पटक जनताले आफूहरुलाई नै मौका दिने र जनहितका थुप्रै काम गर्ने योजना रहेकाे बताए ।
भेलामा पार्टीको बागमती प्रदेश समिति संयोजक सिंहबहादुर मोक्तान, र प्रदेश समिति सदस्य सुजन मल्लले सम्बाेधन गरेका थिए।
गोबिन्दी अवस्थी
१.
तिमीले मलाई दिएको तस्बिर उस्तै छ
धोकेबाले उपहार दिएको पिर उस्तै छ
तिम्रो पो भाग्य बद्लियो मन बद्लियो
म त मान्छे उस्तै अनि तग्दिर उस्तै छ ।
२.
पिरैपिर अनि चटारोनै चटारो जीवनमा
जे गर्दा जसोगर्दा पनि सधै गारो जीवनमा
खुसीको क्षण त कसरी बित्छ थाहै हुँदैन
दु:ख मात्रै किन सहन अप्ठ्यारो जीवनमा।
डडेल्धुरा
मकवानपुर । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) र पार्टी को संयुक्त बैठकले कार्कीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यसैगरि,बैठकले बिनोद लामिछानेको नेतृत्वमा ३१ सदस्यीय राप्रयुसं हेटौंडा नगर कार्यसमिति बनाएको छ ।
बैठकमा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला,केन्द्रीय सदस्यहरु बालकृष्ण कार्की र अम्बिका खतिवडा,जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान आजबाट सुरु हुदैछ । १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको हो । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा आज शुक्रबारदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएकाे छ ।
निर्देशनालयले टाइफाइडविरुद्धको खोप अभियान आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । उक्त अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप लगाइने लक्ष्य छ ।
खोप अभियान सञ्चालनको लागि प्रदेशभर ६ हजार पाँच सय २० वटा केन्द्र निर्धारण गरिएको छ । ८० प्रतिशतभन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले बताए । प्रदेशमा खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना स्वास्थ्यकर्मी, १७ हजार ९ सय ६३ जना स्वयंसेवक परिचालन हुने छन् । खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटिएका छन् ।
यसैगरी मकवानपुरमा खोप अभियानको संघीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आज मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविबाट सुरु गर्ने छनन् । खाेप अभियानलाई सफल बनाउन अभिमुखीकरण, खोप केन्द्र, प्रचारप्रसार, खोपको उपलब्धतालगायत तयारी पूरा भएको स्वास्थ्य कार्यालयका खाेप कार्यक्रम फाेकल पर्सन बासुदेव रिमालले बताए । सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको उनले बताए ।
मकवानपुरमा संचालन हुने खोप अभियानमा १ लाख ८ हजार ४ सय ८६ जना बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईंले बताए । गुरागाईका अनुसार जिल्लामा कुल ६ सय ८ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुनेछ । साथै जिल्लामा अभियानमा ८ सय ७० जना खोपकर्ता र १ हजार ३ सय ९० जना स्यमसेवक परिचालित हुने छन् ।
जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार १ सए ६३, थाहा नगरपालिकाका ८ हजार ६ सय १६, बागमती गाउँपालिकाका ६ हजार ६ सय २८, बकैयाका ८ हजार ९ सय ४८, मनहरीका १० हजार ३ सय ७२, राक्सिराङका ५ हजार ६ सय ९२, कैलाशका ४ हजार ८ सय ३८, भीमफेदीका ४ हजार ७ सय ५८, मकवानपुरगढीका ५ हजार ३ सय ३५ र ईन्द्रसरोवरका ३ हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको गुरागाईले जानकारी दिए । लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने समेत उनले बताए ।
यसै गरी हेटौंडा उपमहानगरपालिकामा खोप अभियान चैत २५ देखि बैशाख ५ गतेसम्म चल्ने हेटौडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईले बताए । अभियानको अन्तिम दिन भने खोप सेवा सञ्चालन गर्ने सबै स्वास्थ्य संस्थामा टाइफाइडविरुद्धको खोप दिइनेछ । देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न खोप अभियानले सहयाेग पुग्ने बताइएकाे छ ।
मुलुकमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर उच्च छ । ३ वर्षयताको तथ्यांकअनुसार टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्छ । विगत ५ वर्षको तथाङ्क हेर्दा हरेका वर्ष ४ लाख ५० हजार जनामा टाइफाइडको संक्रमण देखिने गरेको छ ।
‘हेटौंडा उपमहानगरपालिकामा ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई घरमै निमन्त्रणा कार्ड पठाइएकाे छ’ चौलागाईले भने, ‘उपमहानगरपालिकामा १ सय १५ विद्यालय केन्द्र र २० वटा स्वास्थ्य संस्था केन्द्र निर्धारण गरेका छौ ।’ कोभिड-१९ विरुद्धको खोप लगाएको १४ दिन कटेपछि मात्र टाइफाइडविरुद्धको खोप लगाउन मिल्ने बताइएकाे छ । यस खोप लगाए पस्चात सामान्य ज्वरो आउने,सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने जस्ता सामान्य असर देखिने सक्ने बताइएकाे छ ।
सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् ।