मकवानपुर /कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि आफूमाथि सामाजिक सद्भावपूर्ण व्यवहार नपाएको गुनासो धेरैले गर्ने गरेका छन् । तर यहाँ आफूहरुमा कोरोना संक्रमण नै नभइकन दुर्व्यवहार भोगिरहेका छन् ३ जना बालिकाहरु । मकवानपुरको राक्सिराङ् गाउँपालिका २ सुनारीसौरामा ३ जना बालिकाहरु हेटौंडा बजारबाट फर्केकै कारण एक हप्तादेखि जंगलबीचको गोठमा बस्न बाध्य भएका हुन् । ११ वर्षीकी स्किन मोक्तान तथा १२ वर्षका सुशिला स्याङ्बो र स्वस्तिका दोङ ।
हेटौंडा बजारमा कोठामा बस्दै आएका उनीहरु कोरोना संक्रमणपछि जारी लकडाउन, निषेधाज्ञाको कारण कोठाको खानेकुरा सकिएपछि घर गए मकवानपुरको राक्सिराङ गाउँपालिका २ सुनारीसौरा । लामो समयदेखि हेटौंडा–१० आनन्द टोलको एउटा कोठामा बस्दै आएका उनीहरु घर फर्केर आमा बाबुसँग रमाउने रमाइलो कल्पना गर्दै गाउँ पुगेका थिए । “बजारबाट गाउँ हिडेपछि मन चरी जसरी उडेको थियो, गाउँका पाखाबारीमा आमाबाबाको साथ खुब रमाउँला भन्ने थियो, तर एक साता बित्यो, डरै डरले दिनरात काट्दै आएका छौं” १२ वर्षीया स्वस्तिका दोङले भनिन् ।
“बिहान भएपछि आमाले खाना र पिउने पानी लिएर आउनु हुन्छ, तीन दिदी बहिनी खान्छौ” ११ वर्षीया स्किनले भनिन् “जब रातमा दिदीहरु नै डराउनु हुन्छ मलाई झन् डर लाग्छ ।”
उनीहरुले हेटौंडा बजारबाट घर जानु अगाडि कोरोना संक्रमण भए नभएको बुझ्न पीसीआर जाँच पनि गरेको र रिपोर्ट नेगेटिभ आएपछि घर आएको बताए । “ल्याबबाट रिपोर्ट नेगेटिभ आयो भनेर फोन आयो, अनि दिदीहरुले घर जान सुझाव दिनु भए अनुसार नै हामी घर आएका हौ, तर स्थानीयहरुले पत्याएनन् र हामी गोठमा छौं ।”
जंगलको बिचमा रहेको खरले छाना छाएको गोठमा बस्नुपर्दा डरैडरमा समय काट्नु परेको सुशिला स्याङ्बोले बताइन् । “पानी पर्दा सबै चुहिन्छ, हावा चल्दा गोठ उडाउला जस्तो हुन्छ, कतै बारबेर पनि छैन, खुल्ला छ, राति खुब डर लाग्छ, गाई बस्तुको लागि घाँस राख्ने भुँईमै सुत्ने गरेका छौं, निन्द्रा पटक्कै लाग्दैन” १२ वर्षीया सुशिलाले भनिन् “केही भइहाल्यो भने चिक्याउँदा पनि घरकाले झ्वाट्ट सुनिने ठाउँ छैन ।”
“बिहान भएपछि आमाले खाना र पिउने पानी लिएर आउनु हुन्छ, तीन दिदी बहिनी खान्छौ” ११ वर्षीया स्किनले भनिन् “जब रातमा दिदीहरु नै डराउनु हुन्छ मलाई झन् डर लाग्छ ।” “हामीलाई यसरी वस्तुसँगै घरभन्दा टाढाको गोठमा राखिएला भन्ने सोचेकै थिएनौ” १२ वर्षीया स्वस्तिका दोङले भनिन् । बुबा आमालगायत परिवारका सबै सदस्यहरुले आफूहरुलाई होम क्वारेण्टाइनमा राख्न खोज्दा स्थानीयवासीहरुले परिवारलाई नै गाउँबाट खेद्ने कुरा आएपछि आफूहरुलाई गोठमा गाई वस्तुसँगै राखिएको स्वस्तिकाले बताइन् । “‘सबैले हेटौंडाबाट आको हौ, कोरोना ल्याका छौं, भनेर गालिमात्रै गरे, हाम्रो कुरा कसैले सुनेनन्” उनले भनिन् ।
उनीहरुसँगै कोठामा बस्दै आएकी दिदीलाई कोरोना संक्रमण भएपछि उनीहरु स्थानीयवासीले यस्तो व्यवहार गरेको राक्सिराङ गाउँपालिका वडा २ का वडा अध्यक्ष सुर्यबहादुर मोक्तानले बताए । गाउँपालिकाले क्वारेण्टाइन नबनाएको र, स्थानीयवासीले सम्बन्धित व्यक्तिलाई सम्बन्धित परिवारको जिम्मा लगाएर होम क्वारेण्टाइनमै राख्ने व्यवस्था गर्नै पनि नदिएको कारण बालिकाहरुले दुःख पाएको उनले स्वीकारे ।
कोठामा सँगै बस्दै आएको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै आइसोलेशन पठाए पश्चात ति बालिकाहरुमा पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको सञ्चारकर्मी तथा सुशिलाकी दिदी कुमारी स्याङ्बोले बताइन् । “उनीहरु हेटौंडाबाट गाउँमा आएकै कारण यसरी अमानवीय व्यवहार गर्न पाइन्न,गाउँमा परिवारको पीडा सुन्ने कोही भएन” सञ्चारकर्मी स्याङ्बोले भनिन् “गाउँका मानिसहरुले घरमा आउन निषेध गरे, कोरोनाको कारण डरत्रास मात्रै बढेन,आपसी माया ममता हराए जस्तो लागिरहेको छ ।”
कोरोना संक्रमण पुष्टि भएका बालिकाका दिदीहरु हेटौंडा–६ मारहेको आइसोलेसनमा १७ दिन बसेर निको भएर आफ्नो कार्यक्षेत्रमा फर्केको पनि एक साता हुन लाग्यो तर नानीहरुले घर जान पाएनन्” स्याङ्बोले भनिन् । “दिदीलाई आइसोलेनमा लगिएको दिनदेखि नै हामी कोठामा होमक्वारेन्टाइनमा बसेका थियौं । २१ दिनसम्म होमक्वारेन्टाइमा बसेपछि बल्ल हामी घर आएका हौ सुशिलाले भनिन् यहाँ आएपछि बस्न झन् गाह्रो भो ।”
परिवारका मान्छेले हामीलाई खाना पु-याउन आउँदा पनि भेट्न गएको भन्दै स्थानीयले गाउँबाटै लखेट्नु पर्ने धम्की दिएको कुमारी स्याङ्बोले बताइन् । कोरोना जाँच गर्दा नेगेटिभ आएकै कारण गाउँमा आएको तर गाउँको मान्छेले नबुझ्ने १२ वर्षीया सुशिला बताइन् । उनीहरुले गाईबस्तुसँगै ७ रात काटीसके, अझै कति रात काट्नु पर्ने हो थाहा छैन । “कोरोना पोजेटिभ आएकालाई अपराध गरे जस्तो व्यवहार भयो,त्यो त स्वीकार गरियो, रोगसँग जितियो, यि नानीहरुलाई के को सजायँ हो यो ?” कुमारीले भनिन् । जङ्गल नजिक भएको गोठमा जंगली जनावरभन्दा नानीहरुमाथि यौन दुर्व्यवहार होला भन्ने डर बढी भएको कुमारीले बताइन् । अभिभावहरुलाई पनि यसै विषयको बढी चिन्ता रहेको उनले बताइन् ।
“गोठमा नै भन्दा पनि छुट्टै घरमा राख्ने निधो गरेका थियौ, कसैले घर नदिएपछि यसो गरिएको हो” वडाअध्यक्ष मोक्तानले भने ।
“कोरोना लागेकालाई त घृणा ग-यो ग-यो तर नलाग्नेले पनि घृणा सहेर बस्नुपर्ने अवस्था भयो” अभिभावक धनराजले भने । बाहिरबाट आउने मानिसको क्रम नरोकिएकोले यस्तो भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । बाहिरबाट आउनेलाई राक्सिराङ गाउँपालिका ३ को श्री सुर्योदय माविमा रहेको क्वारेन्टाइनमा राख्ने गरेको उनले बताए । बालिकाहरुको सवालमा आफूलाई वडा अध्यक्षले जानकारी नगराएको र आफूले अब चाँडै केही गर्ने बताए ।
राक्सिराङ गाउँपालिकामा अहिले सम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैको अवस्था सामान्य छ । हाल गोठमा बसिरहेका ३ जनालाई बालिकाहरुमा कोरोना नेगेटिभ आएको कारण छुट्टै राख्नु नपर्ने अध्यक्ष मल्लले बताए । “गोठमा राख्नेहरु अब कारबाहीको दायरामा ल्याउँछौं” गाउँपालिका अध्यक्ष मल्लले भने । गाउँपालिकाबाट नै घरमा जान पाउने अनुमति दिएर पठाएको मल्लले जानकारी दिए । तर वडा २ का वडा अध्यक्ष सुर्यबहादुर मोक्तानले स्थानीयवासीको रायको खिलापमा आफू जान नहुने भएकोले गोठमा पठाएको बताए । समाज र समुदायले उनीहरुलाई गाउँमा छिर्न नदिन दबाब दिएको र आफ्नो वडामा क्वारेण्टाइन पनि नभएको कारण गोठमा राखिएको उनले स्वीकार गरे ।
“गोठमा नै भन्दा पनि छुट्टै घरमा राख्ने निधो गरेका थियौ, कसैले घर नदिएपछि यसो गरिएको हो” वडाअध्यक्ष मोक्तानले भने । झण्डै एक महिना अगाडी कोरोना संक्रमण भएर हाल निको भएकी ती बालिकाको दिदीलाई दशै तिहार मान्न समेत गाउँ नआउन स्थानीयवासीहरुले धम्कि दिएको बताइएको छ ।