चितवन। साहित्यकार राजन पौडेलको मुक्तकसङ्ग्रह ‘अनिदो मन’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब नारायणगढले गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रम आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, मुक्तककारका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले कृति विमोचन गरेका हुन् ।कृतिका बारेमा प्राध्यापक रमेश प्रभात र सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राखेका थिए । त्यसैगरी उदय अधिकारी, बालकृष्ण थपलिया र गोविन्दराज विनोदीले मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा स्रस्टा पौडेलसँग पुष्प अधिकारी अञ्जलीले संवाद गरेका थिए । ५० को दशकको अन्त्य र ६० को सुरुवातमा चितवनको साहित्यिक गतिविधिमा सक्रिय रहेका पौडेलसँग अधिकारीले पुराना दिनका सन्दर्भमा रहेर कुराकानी गरेका थिए । सोही क्रममा पौडेलले कृतिमा रहेका मुक्तक वाचन गरेका थिए । पौडेल भरतपुर- ८ गौरीगञ्जका स्थायी बासिन्दा हुन् ।
प्रेमवस्ती मावि भरतपुर-७ बाट २०४७ सालमा एसएलसी उत्तीर्ण गरेका पौडेल विद्यालयकालबाटै कविता लेखनमा लागेका थिए । पौडेलले पक्लिहवा क्याम्पस रुपन्देहीबाट कृषिमा प्रवीणता प्रमाणपत्र तह पास गरेका छन् । त्यसपछि रामपुर क्याम्पसबाट कृषिमा स्नातक तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट स्नातकोत्तर गरेका छन् । सीटीइभीटी अन्तर्गत दिपायल, धनकुटा र चितवनमा करिब १५ वर्ष जागिर गरेका पौडेल पछिल्लो ४ वर्षदेखि परिवारसहित क्यानडमा छन् ।
नेपाल रहँदा चितवनसहित देशका विभिन्न ठाउँको साहित्यिक गतिविधिमा सक्रिय पौडेलले विशेषगरी मुक्तक, कविता र गजल लेखनमा कलम चलाएका थिए । पौडेलका यसअघि `गजलपथका यात्रीहरू´ र `गजल बिम्ब´ गरी २ वटा संयुक्त गजलसङ्ग्रह तथा `आधारभूत मत्स्यपालन´ र सहलेखनका रूपमा `कार्प, सिद्रा माछा, तरकारीको एकीकृत पालन प्रविधि´ गरी ४ वटा कृति प्रकाशित छन् । ५० को दशकमा पौडेलका सिर्जना रेडियो नेपाल प्रशारण तथा राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा प्रकाशन हुनेकाे गरेकाे अधिकारी बताउँछन् ।
पौडेलको पाँचौँ कृति अनिदो मन १२६ पृष्ठ र २३० वटा मुक्तक समावेश गरिएका छन् । पुस्तकको मूल्य ४०० रुपैयाँ कायम गरिएकाे छ । मुक्तक संग्रह सार्वजनिक कार्यक्रमलाई गजल मञ्च चितवन अध्यक्ष लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।