मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुरले भूकम्पबाट पीडितलाई आर्थिक सहयाेग गरेकाे छ । कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पिडितलाई संघ मकवानपुरले रकम सहयोग गरेको हाे ।
शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघ मकवानपुरले देउँसी भैलोबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई सहयोग गरेको जनाएकाे छ । संघ मकवानपुरले कार्तिक २७ गते गाइतिहारकाे दिन आयोजना गरेको देउँसी भैलोबाट संकलित ६० हजार १७० रुपैयाँ जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पिडित भएकालाई सहयोग गरेको संघ मकवानपुर अध्यक्ष गणेश हुमागाईंले बताए ।
संघले प्रधानमन्त्री दैविक प्रकोप सहायत कोषकाे खातामा उक्त रकम जम्मा गरेकाे हाे । रकम जम्मा पश्चात सोमबार दिउँसो संघ मकवानपुरका अध्यक्ष हुमागाईकाे नेतृत्वकाे टोलीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईलाई प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा गरेको रकमको बैंक भौचर बुझाएको हाे ।
नेपाल शिक्षक संघ मकवानपुरले देउसी भैलो कार्यक्रमको आयोजना गरेर संकलन भएकाे रकम भूकम्प पीडितहरुलाई सहयोगकाे लागि नेपाल सरकार मार्फत प्रदान गरिएको हुमागाईले बताए ।