मकवानपुर । मकवानपुरकाे हेटौडामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएकाे छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरि अर्घ्य दिएर मनाइएकाे हाे । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व कार्तिक १ गतेदेखि सुरु भएको हो ।
हेटौडाकाे राप्ती नदीमा सिंगारिएकाे छठ घाटमा छठका ब्रतालुहरुले सूर्यदेवको आराधना, उपासना र पूजा गरेका छन् । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन गरिन्छ ।
छठ पर्वका दिन छठ पुजा गरिने देशभरका ताल पाेखरी नदी किनारा सजावट गरिएकाे छन् । मकवानपुरकाे हेटौँडा लगायत आसपासका सहर र ग्रामीण क्षेत्रमा छठ पर्व मनाउन थालिएको छ । हेटौंडाको राप्ती खोला तथा कर्रा खोला लगायत अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वका मुख्य दिन आइतबार व्रतालुहरुले सूर्यकाे पुजा गरी मनाएकाे छठ पूजा मुल समारोह समितिले जनाएकाे छ ।
नेपालको तराई तथा मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । विशेषतः तराई समुदायकाे पर्वको रुपमा मानिदै आएकाे छठ एक दशकदेखि पहाडी समुदायको पनि उत्तिकै महत्व र उपस्थितीमा मनाउने गरेकाे पाइन्छ । पहाडी समुदायले पनि छठ पूजालाई परम्पराकै रुपमा लिन थालेका छन् । यसैले पनि पछिल्लो समय सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्वको रुपमा मानिदै आएको छ छठ पर्वलाई । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व २०६२/०६३ को आन्दोलनपछि पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ । २०६४ सालमा छट पर्वकाे लागि काठमाडाैकाे रानीपाेखरी पहिलाे पटक खुला भएकाे थियाे ।
हेटौडामा पनि तराई मधेस समुदायसहित पहाडी समुदायले समेत छठ पुजा र व्रतमा सहभागिता जनाएका छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । यस वर्ष षष्टी र सप्तमी तिथी आइतबार परेकाे भए पनि साेमबारका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा समापन गरिने भएकाे छ ।
छठले राष्ट्रियस्वरुप ग्रहण गरे पछि सरकारले राज्यभर सार्वजनिक बिदा दिइदै आएकाे छ । छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले पोखरी तथा बनाइएका कृतिम जलासयमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।
छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गरिने भएकाेले सबै समान हुने सन्देश दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

राप्ती छठ घाटमा पुजामा सहभागी व्रतालु
छठका केही पौराणिक मान्यता/कथन
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।