मकवानपुर । मिथिला क्षेत्रमा छठ पर्व सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने यसपर्व अन्तर्गत व्रतालुले आज ‘नहाय–खाय’ विधि गर्दैछन् । तिहार सकिए लगत्तै तराई मधेसमा छठपर्वको रौनक सुरु भएको छ । पहिले तराई मधेसमा मात्र मनाइदै आएकाे छठ पर्व केही वर्ष अघिदेखि पहाड तिर उक्लदै छ ।
छठ पर्व सुरु भएसँगै बागमती प्रदेशकाे राजधानी हेटौडा भएर बग्ने राप्ती नदीमा छठ घाट सजावटको काम तीव्र रुपमा अगाडी बढाइएकाे छ । यो पर्व मनाउन धार्मिक महत्वका तलाउ र नदी परिसरलाई बेहुलीझैँ सिंगार्ने चलन छ । मकवानपुरकाे हेटौडामा समेत तराई मधेस समुदायकाले पछिल्लाे समय छठको रमझम मधेसको जस्तै देखिने गरेको छ । छठकाे विधि पूर्वक व्रत अन्य समुदायकाले समेत बस्ने गरेका छन् । यसै गरी राप्ती नदीमा छठको रौनक हेर्न अन्य समुदायको उपस्थिति पनि उल्लेख्य देखिने गरेको छ ।
व्रतालुले नदी एवम् खोला किनारका निर्माण गरेको घाटमा छठ पर्वको विधि श्रद्धापूर्वक गर्ने गर्छन् । कतिपय गाउँमा छठ पर्वका लागि खोलामा स्थायी घाट नै निर्माण गरिएको छ ।
कात्तिक शुक्ल तृतीयाकै दिन (बिहीबार) व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि गरेका छन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।
मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिरहेका छन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिएका छन् । छठ पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरका मुख्य महिलाले नै व्रत विधि पुरा गर्ने गरेको पाइन्छ ।
आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्पका साथ चोखोनीतो खानेछन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सखर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ ।
पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
हिजो कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि निराहार व्रत बसी राति सखरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ ।
यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।