मकवानपुर । मकवानपुरकाे हेटौडामा गाेविन्द गिरी प्रेरणाका कविता सुनिएका छन् । साहित्य सङ्गम मकवानपुरले साहित्यकार गोविन्द गिरी प्रेरणाका एकल कविता वाचन कार्यक्रम गरी उनका कविता सुनिएकाे हाे ।
विहीबार कवि गिरीले १० वटा कविता वाचन गरेका थिए । मकवानपुर थातथलाे भई हाल अमेरिकालाई कर्म थलाे बनाउँदै आएका उनले विभिन्न देशमा रहँदाकाे अनुभवलाई सङ्गाली लेखिएका आमा, छुटेको रेल लगायतका १० कविताहरू सुनाएका थिए । गिरीका आधा दर्जन बढी कथा सङ्ग्रह, उपन्यास र कविता संग्रह प्रकाशित छन् । साहित्यकार गिरीले हेटौंडाबाट साहित्यकाे पाइला टेकेकाे बताउँदै काठमाडौंमा रहँदा त्यसलाई प्रष्फुटन गर्ने वातावरण मिलेको बताए ।
साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले गिरीकाे व्यक्तिगत व्यक्तित्वकाे चर्चा गर्दै उनले हालसम्म मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कारलगायत प्राप्त गरेकाे बताए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले नेपाली साहित्यका लागि महत्वपूर्ण योगदान दिएकाे गिरीले विभिन्न देशमा रहेर साहित्यका विधामा कलम चलाइ रहनु भएकाेमा गर्व गर्दै उनका सृजनाले मकवानपुर तथा राष्ट्रलाई गुन लगाएकाे बताए ।
कविता वाचन कार्यक्रममा मकवानपुरका पुराना पुस्ता र नयाँ पुस्ताका साहित्यिक सर्जकहरुकाे उपस्थितिमा भएकाे कविता वचान कार्यक्रम सर्जक सञ्जाल मकवानपुर संयाेजक निमेष निखिलकाे प्रमुख आतिथ्यता र साहित्य सङ्गम मकवानपुर अध्यक्ष डीबी बर्ताैलाकाे सभाध्यक्षतामा भएकाे हाे । कार्यक्रमलाई संगम सहसचिव भवानी तिमल्सिनाले सहजीकरण गरेकी थिइन् ।