चितवन । बिसहजारी ताल बागमती प्रदेशकाे चितवन जिल्लामा अवस्थित ताल हाे । याे ताल रामसार क्षेत्रमा सुचीकृत छ । चितवनको सदरमुकाम भरतपुरबाट दक्षिणमा चितवन राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती क्षेत्र टिकाैली जंगल भित्र रहेकाे ताललाई सन् २००३ अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको थियो ।
थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले याे तालकाे क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वकाे रहेकाेले रामसार क्षेत्रमा सुचीकृत गरिएकाे हाे । सिमसार तथा पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्रलाई रामसारले समेट्ने गरेकाे छ ।
बिसहजारी तालमा गाेही विभिन्न प्रजातीका माछाकाे बासस्थान रहेकाे छ । साथै पानीमा उम्रने विभिन्न वनस्पतिकाे लागि समेत संरक्षण क्षेत्र रहेकाे ताल आन्तरिक तथा वाह्य पर्यटकहरुकाे आकर्षणकाे केन्द्र बन्दै गएकाे छ । विशेष गरी विदाकाे समयमा हजारौ मानिसले यो ताल तथा वरपरकाे क्षेत्रकाे अवलाेकन गर्ने गरेका छन् ।
बर्षातकाे पानी र खगेरी नहरकाे पानी मुख्य स्राेत रहेकाे तालकाे क्षेत्रफल एक सय हेक्टर रहेकाे छ । ताल वरपरकाे समेत कुल क्षेत्रफल ३ हजार २ सय रहेकाेमा जैविक विविधता अन्तरगत वनस्पतीका १५४ प्रजाती, किराफट्याङ्ग्रा ३७ प्रजाती,माछा २५ प्राजाती, उभयचर/सरिसृप ३० प्रजाती, स्तनधारी ३३ प्रजातीका पाइने गरेकाे छ । यसैगरी चराहरु २ सय ७३ प्रजातीकाे रहेकाेमा सिमसार आश्रीत ६० प्रजाती, विश्वमा दुर्लभ १४ प्रजाती, राष्ट्रिय रुपमा दुर्लभ २३ प्रजातीकाे पाइन्छ ।
सन् १९७१ मा इरानको रामसार सहरमा भएको वैज्ञानिक सम्मेलन सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । उक्त सम्मेलनमा पारित सन्धिलाई रामसार महासन्धी भनिएकाे हाे । त्यही महासन्धिअनुसार अन्तर्राष्ट्रिय महत्त्वको सिमसार घोषणा भएको क्षेत्रलाई रामसार क्षेत्र भनी नामाकरण गरिदै आएकाे छ ।
१९८७ मा नेपालले रामसार महासन्धिको सदस्यता लियो । यो महासन्धि सदस्यको सम्मेलन कोप हरेक ३ वर्षमा हुने गर्दछ । नेपालमा १० वटा सिमसार रामसार क्षेत्र घोषणा भएका छन् । बिसहजारी तालसँगै माइपोखरी, कोशीटप्पु, जगदीशपुर जलाशय रिजर्भ्याएर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शे-फोक्सुन्डो, रारा ताल र पोखरा उपत्यका रामसारमा सुचीकृत छन् ।
तस्विरहरुः आरपी गुरागाईं/सहीखबर