अन्जना पौडेल साहित्य साधनामा करिव तीन दशकदेखि अनवरत लागि पर्नु भएको छ। लम्जुङ्ग जन्मभूमि भइ हाल काठमाडाै बसोबास गर्दै आउनु भएका पाैडेल साहित्यका अलावा अध्यापन पेशामा संलग्न हुनुहुन्छ । शताब्दी साहित्य प्रतिष्ठानको अध्यक्ष र अन्य संघसंस्थामा आवद्ध उहाँकाे साहित्य आख्यान चरीमाई उपन्यास प्रकाशित छ । जव वेदना फूल बन्यो (कथा संग्रह), हिउँ खस्ने पर्वत (हाइकु संग्रह), आरुवारीको फूल (हाइकु संग्रह) प्रकाशित गर्नु भएका उहाँकाे गीत र भजन यूट्युबमार्फत सार्वजनिक भएका छन् । विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरू, साहित्यिक पत्र–पत्रिकाहरू, म्यागेजिन तथा अनलाइन फुटकर कविता, गीत, मुक्तक तथा समसामयिक विषयका लेखहरू प्रकाशित छन् । साहित्यमा आख्यान, कविता, कथा,गीत लगायत साहित्य अन्य विविध विधामा उत्तिकै सशक्त कलम चलाउनुहुने साहित्यकार अन्जना पौडेल देश विदेशबाट विभिन्न सम्मान पुरस्कारबाट सम्मानित हुनु भएकाे छ । साहित्यकार पौडेलसँग सहीखबरका लागि आरपी गुरागाईंले गरेको साहित्यिक कुराकानीको सम्पादित अंशः

- सहीखबरमा तपाईंलाई हार्दिक स्वागत छ ।
हार्दिक धन्यवाद
- अचेल केमा व्यस्त हुनुहुन्छ ?
लेखनमा व्यस्त छु ।
- साहित्य लेखनमा लाग्नु भएको कति भयो ?
तीन दशक भन्दा बढी भयो ।
- साहित्य लेखनमा कस्को प्रेरणाले लाग्नु भएको हो ?
मेरी आमा मेनका पौडेलको प्रेरणाले साहित्य लेखनमा लागेको हुँ।
- साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
साहित्य समाजको दर्पण हो ।
- साहित्यको कुन विधामा कलम चलाउनुहुन्छ ?
आख्यान, कविता, मुक्तक, गीत, हाइकु विधामा कलम चलाउँदै आएकाे छु ।
- साहित्यलाई अनुत्पादक क्षेत्र भन्छन् नि ? तपाईको विचारमा के लाग्छ ?
साहित्य प्रत्यक्ष अनुत्पादक क्षेत्र हो । तर साहित्य लेखनले दिने सन्तुष्टी शब्दमा बयान गर्न सकिदैन । साहित्य विशेष गरी समाजकाे लागि स्वभावकाे लागि लेखिने भएकाेले यसले पार्ने प्रभाव र दवावकाे कारण उत्पादनसँग जाेडेर हेर्नु हुन्न जस्ताे लाग्छ मलाई ।
- तपाईंले पुस्तकहरू प्रकाशन गर्नु भएकाे छ । साहित्यिक पुस्तक प्रकाशनमा कतिको अफ्ट्यारो र चुनौती छ ?
प्रकाशन गरेकाे छु । हाल चरिमाई पुस्तर बजार आएकाे छ । मनको मान्छे बोलको आधुनिक गीत आनन्द कार्कीको स्वरमा गत पुसमा युटुवमा सार्वजनिक भएको छ। यस अघि पनि केही कृति सार्वजनिक भएका छन् । पुस्तक प्रकाशनमा अप्ठ्यारा र चुनौतीहरु त धेरै छन् । म चाहिं आत्मसन्तुष्टिका लागि लेख्छु र समाजको लागि लेख्छु। पाठकहरूले मन पराउनु भएको भन्ने लाग्छ ।
- तपाईं विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा पनि आबद्ध हुनुहुन्छ । यसलाई कसरी ब्यबस्थापन गर्नुहुन्छ ? आत्मसन्तुष्टि मिल्छ की मिल्दैन ?
हजुर, समय मिलाएर व्यवस्थापन गर्छु । आत्मसन्तुष्टि मिलेर नैं साहित्य लेखनमा लागेको हुँ।
- साहित्यको आडमा राजनीति गर्नेहरूलाई के भन्नुहुन्छ ?
सवैको आ-आफ्नो आस्था हुन्छन् नैं। तर यो गलत प्रवृत्ति साहित्यमा मौलाउनु दुःखद कुरा हो ।
- मानव जीवनमा साहित्यको भूमिका कस्तो रहन्छ ?
साहित्य र समाज अनि मानव जीवनको नङ र मासुको सम्वन्ध छ ।
- अहिलेको नेपाली साहित्यलाई कसरी नियालिरहनुभएको छ ?
नेपाली साहित्यको अवस्था राम्रो छ । पहिले छापामा मात्र सिमित थियो। आज धेरै नयाँ सर्जकहरुलाई बिभिन्न सामाजिक संजाल मार्फत अगाडि बढेको देखेर खुसी लाग्छ।
- अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा–साहित्यको स्थान कहाँनेर देख्नुहुन्छ ?
नेपाली साहित्य अन्तर्राष्ट्रियस्तरमा आउन अझै सकेको छैन । धेरै मेहेनत गर्नु पर्ने देखिन्छ। सरकारले पनि साहित्यमा विशेष चासो दिनुपर्ने देखिन्छ।

- स्रष्टा, सिर्जना र सर्जकलाई प्रदान गरिने सम्मान/पुरस्कारप्रति तपाईंको धारणा के छ ?
सही कृति र व्यक्ति चिनेर पुरस्कार दिइनु पर्छ । तर आजकाल पुरस्कार, सम्मान किनवेच भएको देख्दा दिक्क लाग्छ । मलाई व्यक्तिगत रूपमा कुनै पुरस्कारको लोभ छैन र पुरस्कारको लागि कसैसँग चाप्लुसी गर्दिन। सृजना कर्म निरन्तर गरिरहन्छु ।
- साहित्यिक स्रष्टाहरूको समाज प्रतिको दायित्व के हो जस्तो लाग्छ ?
समाजमा जति पनि परिवर्तन भइरहेका छन् । शुरूमा साहित्य कै योगदान रहेको छ। २०४६ सालमा प्रजातन्त्र ल्याउनमा न्यूरोडको पिपलकोटमा बाचन गरिएका क्रान्तिकारी कविताहरूको पनि विशेष भूमिका छ । देश विदेशमा जति पनि नयाँ घटना भए कलमकै कारण भएका देखिन्छन्।
- समाज र साहित्यको सम्बन्धमा कस्तो समानता छ जस्तो लाग्छ ?
साहित्य वीना समाज अपाङ्ग जस्तै हुन्छ।
- साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
साहित्य लेखनबाट सुरुमा त आत्मसन्तुष्टि पाएं । केही मानिसहरू को माझ चिनिन पाए,यही नै हो ।
- पछिल्लो समय साहित्यका पाठक कतिका छन् जस्तो लाग्छ ?
पछिल्लो समयमा साहित्यका पाठकहरू छन् । अहिले साेसलमिडिया मार्फत बढी साहित्य पढिदै र लेखिदै आएकाे छ । लेखकहरु बढेका छन् । तर दिगाे र स्तरीय लेखक अहिलेकाे आवश्यकता हाे । लेखक मात्रै बढेकाे देखेर छक्क परेको छु ।
पछिल्लो समय बुढयौली साहित्यबाट साहित्यिक गतिविधी हुने गरेका छन् । यसलाई कसरी लिनु भएको छ ?
त्यो पनि राम्रो हो, किनकी उहाँहरूले उमेरमा पूरा गर्न नपाएका चाहना पुरा गर्नुभएको होला नि । बुढ्याैली उमेरलाई निष्क्रिय भनिन्छ । साहित्यिक गतिविधिमा लाग्दा उहाँहरुले सक्रिय जीवन बाच्न पाउनु हुनेछ । साहित्यिक गतिविधिले समाजकाे लागि केही याेगदान पुर्याउने छ । उहाँहरुकाे अनुभव र अनुभूति नयाँ पुस्ताले ग्रहण गर्छन् ।
- अरु कुनै विधामा पुस्तक प्रकाशनको तयारी गरिरहनु भएको छ कि ?
चरीमाई उपन्यास मेरो पहिलो अनुसन्धान गरेर लेखेको कृति हो । नयाँ आख्यान लेखनको लागि अनुसन्धानकै क्रममा छु । कविता सङ्ग्रह र मुक्तक संग्रह त पहिल्यै देखि तयारी नै छन् । आफ्ना रचनाहरू कृतिमा संग्रह गरेर राख्ने मेरो इच्छा पनि छ ।
- ….अन्त्यमा केही ?
साहित्यलाई र साहित्यिक सर्जकलाई माया गरिदिनुस् । साहित्यिक पुस्तक पढ्ने बानी बसालिदिनुस् । सर्जकलाई त्यही लाख हुन्छ । मेरा केही कुराहरु राख्ने मौका दिनु भएकोमा सहिखबर परिवार प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद !