मकवानपुर । मकवानपुर प्रहरीले लुटपाटमा संलग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । सस्तोमा मोटरसाईकल मिलाईदिन्छु भन्दै एकान्त जंगलमा बोलाएर लुटपाट गरेको अभियोगमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–२, बैकुण्ठ बोटटोलका २५ वर्षीय विशाल मुक्तान र कैलाश गाउँपालिका–२, खारेटोलका ३१ वर्षीय टोकल माईला भन्ने रुद्र मुक्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशाल र रुद्रले गत शुक्रबार दिउँसो मकवानपुरको थाहा नगरपालिका–३, भञ्ज्याङडाँडा खाप्चेखोलास्थित जंगलमा झापा जिल्ला भद्रपुर नगरपालिका–३ का नरेन्द्र लिम्बुको साथबाट ३० हजार रुपैयाँ, मोवाइल एक थान लुटपाट गरी फरार भएकोमा उनीहरु विरुद्ध प्रहरीमा उजुरी परेकाे थियाे ।
उक्त उजुरीकाे आधारमा विशाललाई गत आइतबार पक्राउ गरेको हो तथा रुद्रलाई आज सोमबार पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीले विशाल र रुद्रको साथबाट १४ हजार ५० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंमा घर बनाउने काम गर्ने क्रममा विशाल र नरेन्द्रबीच चिनजान भएको थियाे । विशाल र रुद्रले हतियार जस्तो कालो बस्तु देखाई नरेन्द्रको साथमा रहेको नगद र मोवाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।