मकवानपुर । मकवानपुरको हेटौंडामा ११५औँ लक्ष्मी जयन्तीको अवसरमा विद्यालयस्तरीय कविता प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रम भएको छ । साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौंडा ११ को संयुक्त आयोजनामा कविता प्रतियोगिता र सर्जक सम्मान कार्यक्रम भएको हो ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा ३७ जना कविका प्राप्त कवितामध्ये १५ कविका कविता छनौट भइ वाचन चरणमा प्रवेश गरेकाे थियाे । वाचनको लागि प्रत्यक्ष उपस्थित हुनु पर्नेमा छनौटमा परेका १५ कवि मध्ये १२ कविले आआफ्ना कविता वाचन गरेका थिए । वाचन चरणबाट निमिषा निरौला, कृष्मा लौडारी र विशप आचार्यको कविता उत्कृष्ट भएका छन् । यसै गरि रीतिका छत्कुली र इभानी रानाभाटको कविता प्रोत्साहनमा परेको थियो । उत्कृष्ट ३ कविका कविताले २ हजार पुरस्कार र प्रोत्साहन हुनेले लागि १ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन ।
कविता प्रतियाेगितामा उत्कृष्ठ कवि लौडारी हेटौँडा–४ स्थित ब्रह्मदिप एकेडेमीमा कक्षा–८ मा, निरौला हेटौँडा–५ स्थित जिएस निकेतनमा कक्षा–९ मा अध्ययनरत छन् । यसै गरी आचार्य तनहुँ जिल्लास्थित साँस्कृतिक गुरुकुल माध्यमिक विद्यालयमा अध्ययनरत रहेकाे साहित्य संगम उपाध्यक्ष सानु खनालले जानकारी दिए ।
यस्तै प्रतियाेगितामा प्राेत्साहन पुरस्कार प्राप्त गर्ने छत्कुली हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा अध्ययन छिन् भने रानाभाट ब्रहमदिप एकेडेमीमा अध्ययनरत छिन् ।
महाकवी देवकोटा सम्मान–२०८० खरेललाई
मकवानपुरे अग्रज साहित्य स्रष्टा देवराज खरेललाई सम्मान गरिएको छ । १० हजार राशिको महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८० बाट साहित्य सर्जक खरेललाई देवकोटा जयन्तीको अबसरमा हेटौंडामा सम्मानित गरिएको हो । नेपाली साहित्यमा कविता, निबन्ध तथा साहित्यिक पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै खरेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मानबाट सम्मानित गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले बताए । खरेल हाल हाम्राे मातृभूमि त्रैमासिक साहित्यिक पत्रिकामा आवद्ध रहेका छन् ।
कार्यक्रममा दाना कविताका सर्जक साहित्यिक अगुवा तुल्सी थापालाई मरणोपरान्त युगप्रकाश वरिष्ठ साधक सम्मान–२०८० द्वारा सम्मानित गरिएको छ । थापाले विगत ५ दशक भन्दा लामो समयदेखि साहित्य अख्यान, नाटक तथा कविता र दाना कवितालगायतको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै युगप्रकाश वरिष्ठ साधक सम्मान–२०८० बाट सम्मानित गरिएकाे युग प्रकाश क्लब अध्यक्ष दीपक सिवाकोटीले बताए ।
सङ्गमका सल्लाहकार सुवास खनालले लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्वको चर्चा गरेको कार्यक्रममा उपाध्यक्ष सानु खनालले सम्मानित व्यक्तित्व खरेलको चर्चा गरेककाे कार्यक्रममा प्रमुख अतिथि तथा सङ्गम सल्लाहकारहरू आरसी रिजाल र निमेष निखिल, सल्लाहकार तथा निर्णायक मण्डल संयोजक श्यामकुमार बानियाँ, सङ्गम अध्यक्ष डीबी बर्तौला, हेटौंडा उपमहानगरपालिका ११ नं. वडा अध्यक्ष जुना दाहाल मन्तव्य राखेका थिए ।
साहित्य सर्जक, साहित्यप्रेमी तथा राजनीतिक, शैक्षिक क्षेत्रका व्यक्तित्वहरूलगायत कार्यक्रममा उपस्थित रहेकाे थियो । कार्यक्रम सुरु हुनु अघि हेटौंडा ११ स्मारक गेटबाट प्रभातफेरि गरि त्रिभुवन माविमा रहेको देवकोटाको प्रतिमामा माल्यार्पण गरिएको थियो । हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता र युगप्रकाश क्लबका अध्यक्ष दीपक सिवाकोटीको अध्यक्षतामा भएकाे कार्यक्रम स्वर्गीय तुल्सी थापाप्रति मौन धारण गरी सुरू गरिएको थियाे भने सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।