मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीमा आज विशेष कार्यक्रम गरेर मनाइदैछ । देवकाेटाकाे सम्झना देशका विभिन्न भागमा कविता प्रतियाेगिता एवम् काव्य गाेष्ठी गर्ने गरिएकाे छ । विभिन्न साहित्य संघ संस्थाले उनकाे व्यक्तित्व र कृतित्वकाे चर्चा गर्दै उनलकाे जन्मजयन्ती मनाउने गरिन्छ ।
देवकोटाको जन्म १९६६ कात्तिक २७ गते कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो। नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए। देवकाेटाकाे मुनामदनका अलावा ‘शाकुन्तल’ महाकाव्य, ‘सुलोचना’ महाकाव्य र ‘कुञ्जिनी’ खण्डकाव्य लगायतका कृति प्रकाशित छन् । देवकोटामा तत्काल कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको निधन २०१६ सालमा भएको थियो।