मकवानपुर । यमपञ्चक पनि भनिने तिहारकाे आज दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पुजा मनाइदैछ । विहान कुकुरलाई पुजा गरेर साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको अर्काे ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक भनिएकाे हाे ।
आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता रहेकाे छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ ।
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ। यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा रहेको छ। तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ।
तिहारको सांस्कृतिक पक्ष पनि छ। नेपाल कृषि प्रधान देश भएकाेले कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवम् उमङ्गको सीमा हुँदैन। यस खुशीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा-आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।
तिहार पर्व महान् सांस्कृतिक पर्व हो । तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्त्व देखिएका छन् त्यो भन्दा पनि बढी वैज्ञानिक महत्व छ । चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन्। बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउने काम त यसै पनि गर्दै आएका छन् अप्रत्यक्षरूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुजिन्छ । त्यस्तै कुकुरको स्वामीभक्ति त यसै पनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुरपूजाको प्रसङ्गले बुजिन्छ । त्यस्तै गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर हाम्रो जीवन बचाउने वहरले हलो तानेर र पहाडपर्वतले अक्सिजन दिन्छ ।
त्यसैले यतिबेला गरिने गाई, गोरु र गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने हुन्छ । लक्ष्मी पूजाको अर्थ धन सम्पत्ति प्राप्तिको कामना हो । धन कमाउनका लागि शरीर स्वस्थ र निरोगी हुनुपर्छ तथा शरीर स्वस्थ र निरोगी रहन सदैव प्रसन्न चित्त रहन सक्नुपर्छ । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्नु भनेकाे मान्छेले मान्छेको सम्मान गर्न सक्नु र जान्नुपर्छ भन्ने सन्देश दिनु हो ।