मकवानपुर । मकवानपुरकाे हेटौडामा २०७९ माघ २८ गतेदेखि फागुन १० गतेसम्म स्थानीय तह सहिद स्मृति पाँचौ मकवानपुर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ आयाेजना गरिएकाे थियाे । उक्त प्रतियाेगिताकाे आयव्यय भने शनिबार हेटौडामा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १ करोड १९ लाख २२ हजार रुपैयाँ खर्च भएको तथा करिब २ लाख १० हजार रुपैयाँ बचत भएको संघ अध्यक्ष टीकाराम लामाले पत्रकार भेटघाटमा जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा करिब १ करोड २१ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको थियो ।
प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास समितिले ५० लाख, हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, टिकटबाट ९ लाख ९१ हजार रुपैयाँ, विभिन्न गाउँपालिकाबाट २५ लाख ६९ हजार रुपैयाँ तथा हेटौंडा स्कुल अफ म्यानेजेमन्टले ६ लाख ९० हजार रुपैयाँ सहयोग गरेको लामाले बताए ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख, सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख ९० हजार रुपैयाँ बराबरको बुलेट बाइक तथा खेलाडीको टीएडीए, यातायातमा ३२ लाख रुपैयाँ खर्च भएको संघले जनाएको छ ।
पाँचौ संस्करणकाे स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधी मनाङ मर्स्याङ्दी क्लबले हात पारेकाे थियाे । उसले हिमालय शेर्पा क्लबलाई पराजित गर्दै जित हात पारेकाे हाे । फाइनलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो । मनाङको जीतमा एकमात्र निर्णायक गोल रोशन रानामगरले गरेका थिए ।
२०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको थियाे । प्रतियाेगिताकाे दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र २०७९ जेठमा भएकाे चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
अध्यक्ष लामाले आगामी छैटौ संस्करण पुस महिनाभित्र गर्ने तयारी भइरहेको समेत पत्रकार भेटघाटमा जानकारी दिएका छन् ।