मकवानपुर । मकवानपुरमा राती ९ बजेसम्म मात्रै देउँसी भैलोकाे कार्यक्रम गर्न पाइने भएकाे छ । राती ९ बजेपछि भने देउँसी भैलाेका कार्यक्रम गर्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले राेक लगाएकाे छ ।
राति ९ बजेपछि देउँसी भैलो खेल्नमा रोक लगाएको प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै जनाएकाे हाे । निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईद्वारा जारी विज्ञप्तिमा राति ९ बजेपछि देउँसी भैलोलगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरिएकाे छ ।
यसैगरी, प्रशासनले देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउने आग्रह गरेको छ । यसैगरी प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री वितरणमा नगर्न आग्रह गरेको छ ।
जुवातास खेल्नेरखेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा नगर्न पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस वर्षको यमपञ्चक (तिहार), नेपाल सम्वत् ११४४, छठ लगायतका पर्वहरूको सुखद उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, निजी तथा संगठित संस्थामा आबद्ध कर्मचारी तथा समस्त मकवानपुर जिल्लावासीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगति कामनासहित विज्ञप्ती जारी गरेकाे प्रशासनले सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलाप नगर्न भनेकाे छ ।
प्रशासनले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ‘२०७९ साल साउन ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको हुँदा सो कार्य नगर्नु, नगराउनु हुन तथा प्रचलित कानून विपरितका गतिविधि/क्रियाकलाप सञ्चालन गर्ने, गराइएको पाइएमा कानून बमोजिम कारबाही हुनेछ ।’