मकवानपुर । ग्रामीण महिला दिवसको अवसरमा हेटौंडामा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । एक्सन एड नेपालको सहयोग र मकवानपुर महिला समूहको आयोजनामा महिला दिवसको अवसरमा शुक्रबार सरोकारवालासँग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा नेपालको ७४ प्रतिशत ग्रामीण महिला कृषिमा आश्रित रहेको तथा उनीहरू नै बढी गरीबीकाे चपेटामा रहेको बताइएको छ । यस्तै उनीहरू नै सबैखाले बिपत्तिबाट ग्रसित हुने गरेको बारे छलफल गरिएको थियो ।
होमनेट नेपालको कार्यकारी निर्देशक ओम थपलियाले ग्रामीण महिलालाई समान राजनैतिक अधिकार तोक्दै सकारात्मक शासन पद्धति स्थापित भएमात्रै ग्रामीण भेगमा वस्ने महिलाहरुमा पनि राजनैतिक चेतना आउने बताए । सहभागिता र नेतृत्वदायी क्षमता आवश्यक भएको बताउँदै ग्रामीण महिला नीति मस्यौदाको रुपमा रहेको उनले जानकारी दिए ।
अन्तरक्रियमा विभिन्न बिपत्तिबाट पनि प्रभावित हुनेमा ग्रामीण महिला नै बढी प्रभावित हुने गरेका तथा उनीहरूलाई जोखिमबाट बच्ने उपायकाे सिपमा दक्ष हुनुपर्ने छलफल भएकाे हाे । ‘खाद्य सुरक्षाको दृष्टिकोणबाट पनि ग्रामीण महिला नीति आवश्यक छ’ थपलियाले भने ‘ग्रामीण महिलाको स्वास्थ्य उपचारमा पहुँच बढाउन पर्छ ।’
मकवानपुर महिला समूह अध्यक्ष कमला सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा हिमराइटस मकवानपुर कार्यक्रम संयोजक कुमारी वाईबा, माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामा मकवानपुर महिला समुहको कार्यक्रम संयोजक निशा लामा, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध जिल्ला सञ्जाल अध्यक्ष तथा गैसस प्रदेश अध्यक्ष आरती पाठक, गैसस जिल्ला अध्यक्ष रमिला सापकोटालगायतकाको सहभागिता रहेकाे थियाे ।
होमनेट नेपालको कार्यकारी निर्देशक थपलियाले सहजीकरण गरेकाे कार्यक्रममा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका लक्षित समूहका महिलाको उपस्थिति रहेकाे थियो ।